साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो बहर विद्यार्थी

तिनले मलाई केही भने जस्तो लाग्छ । “तिम्रो कक्षामा मैले कति सजिलै नियम उलङ्घन गरेको छु । चुईगम खाँदा पनि तिमीले केही गर्न सकेनौ । ४० वर्ष भयो शिक्षक भएको भनेर के फुर्ती लगाउँछौ ? “

Nepal Telecom ad

डा. नवराज खतिवडा :

गायिकाले लगाएको “बोलीको बार” लाई भत्काउने उदघोष गर्दै दोहोरी गीतको घम्साघम्सीमा एक गायकले यसो भनेका रहेछन्-

“हुन्न भने झन नजिक आउँछु
बहर हुँ म भीर पनि भत्काउँछु”

गीतको आशय “बहर गोरुसँग भीर पनि भत्काउने ताकत हुन्छ” भन्ने हो । त्यस्तो बल भएको बहर गोरुलाई दाउने काम गर्नु अर्थात जोत्न सिकाउनु कति कठिन काम होला ?

हिजो आज म एक इन्जिनियरिङ कलेजमा पढाउँछु । कोटेश्वर महादेवस्थानको लोकप्रिय कमला दिदीको चिया पसलमा हरेक दिन विहान एउटा जत्थाको सत्सङ हुन्छ । जत्थाको नामाकरण भएको छ- कोटेश्वर प्रात: साँय मैत्री समूह । अधिकांश सेवा निवृत्त भएका भूतपूर्व नौजवानहरु यो समूहका सदस्य छन् । केही दिन अघि मलाई सुटेड बुटेड भएर कतै जान लागेको देखेर एक सदस्यले सोधे-कता जान लाग्नु भो ?

“आज बहर बाछी दाउने काम छ। त्यतै जान लागेको ।“

“भनेपछि फुईँ डाक्टर साहेबको काम कठिन नै छ । उहिलेका बहर जुवा नै भाँच्ने खालका हुन्थे । कहिलेकहीँ हलीलाई नै पछार्थे ।” म कलेज जान हिँडेको थिएँ । उनको जवाफले मेरो कक्षाका “जुवा भाँच्ने बहर” को सादृष्य मष्तिष्कमा फनन घुम्यो ।

आमाको दुध भर्खर छोडेको बुर्कुसी मारेर हिँड्ने बहर । त्यसलाई काँधमा जुवा राखेर दाहिने देब्रे मिलाएर अर्को उमेरदार गोरुसँग जोडा मिलाएर जोत्नु । “कति सकस ?” “कति कठिन काम ?”

बहर दाउने कामको पहिलो कठिन क्रिया हो बहरको गर्धनलाई जुवाका सैलाभित्र पारेर डोरीले बाँध्ने । यो कामका लागि त्यो बबुरो आफैँ तयार हुँदैन । फकाएर वा घाँस आदि देखाएपछि मात्र काम फत्ते हुन्छ ।

लगभग त्यस्तै भयो । कक्षा कोठामा प्रवेश गर्नासाथ देखियो- विद्यार्थीहरु एउटै सिटमा पाँच जनासम्म कोचिएर बसेका छन् । केही सिटहरु खाली छन् । कोचिएर बस्दा एक जनाको शरीरले अर्को जनालाई छुन्छ । केही लेख्नु पर्यो वा आफ्नो सामान अघिल्तिर राख्नु पर्यो भने सकस हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरो त कक्षालाई काबुमा राख्न कठिन हुन सक्छ ।

“एक सिटमा दुई जना भन्दा बढी नबस्ने ।” मैले कुनै भूमिका नबाँधी आदेश जारी गरेँ ।
स्वत:स्फूर्त रुपमा जुवामा बाँधिन बहर तयार नभएको जस्तो मेरा विद्यार्थीले पनि मुखामुख गरे । उनीहरुको मनोविज्ञानले भने जस्तो लाग्थ्यो- हाम्रो स्वतन्त्रतामाथि किन दखल ?

उता बहर जुवामा त बाँधियो तर अब ऊ डेग चल्दैन । घोसेमुन्टो लाउँछ । ‘कुनै हालतमा पनि म तिमीले भनेको गर्दिन’ भन्ने भावभङ्गी निकाल्छ । यता मेरो कक्षाको बहर पनि के कम ? सिधा बस्न जान्दैन । ऊ कक्षा कोठाको सेतो पाटीतिर फर्काउनु पर्ने टाउको साथीतिर फर्काउँछ । दुवै खुट्टा अगाडि फर्काउनु पर्नेमा ऊ बेन्चलाई घोडा चढे जस्तो गरेर बस्छ । उसको ध्यान शिक्षकतिर छैन भन्ने स्पष्ट हुन्छ ।

“यता फर्केर सिधा भएर बस बावु ।” बहरलाई घाँस दिएर फकाए जस्तो म माया गरेर उसलाई सतर्क गराउँछु । ऊ मतिर पुलुक्क हेर्छ तर गिनिज बुकमा नाम दर्ता गराउने शैलीमा एकदमै धीमा गतिमा बेन्चको पश्चभागमा रहेको खुट्टोलाई विस्तारै विस्तारै अगाडि ल्याउँछ ।

कक्षा सुरु भएको केही दिन भएको थियो । मैले सबैलाई एउटा अभ्यास गर्न दिएँ । एक जनासँग कलम र लेख्ने कापी रहेनछ । उसले साथीसँग चिर्कटो माग्यो । टाउकोको भाग एक तिहाई जति च्यातिएको एक पन्ने कागजमा ऊ लेख्न ठिक्क पर्यो । दाएर कैयौँ विघा खेत जोतौँला भन्ने कल्पना गरेको हलीको सपना चकनाचूर् भएको जस्तो आधुनिक विश्वकर्मा बाबा अर्थात आर्टिफिसियल ईन्टेलिजेन्सको जमानामा मेरो अगाडि लम्पसार परेको भविष्यको इन्जिनियर देखेर मेरो मन अमिलो भयो । मैले उसलाई जिन्दगीभरिका लागि पुग्ने गरी जोत्न सिकाउने तरिका निकालेँ । झोलाबाट एउटा डटपेन निकालेँ ।

“ल यो लेख्ने पेन तिम्रा लागि । तर मेरा दुईवटा शर्त छन् ।” पहिलो शर्त थियो कक्षाको अन्त्यमा उसले मलाई त्यो कलम फिर्ता गर्नु पर्ने । दोस्रो, झन जौडे थियो । मैले गायत्री गुरुले मन्त्र सिकाएको जस्तो गरी उसलाई सबैले सुन्ने गरी भन्न लगाएँ ।

“कक्षामा शिक्षकसँग कलम मागेर लेखेको यो मेरो जीवनकालकै अन्तिम पटक हो ।” उसले शपथ ग्रहण गरे झैँ मेरो अभिव्यक्तिलाई दोहोर्यायो ।

बहर दाउने कार्य गर्नुको उद्धेश्य खेत जोत्नका लागि मात्र होइन । गोरुले गर्ने अरु पनि कामहरु छन्- जस्तै धानको पराल वा तोरीको गटे दाईं गर्ने र गोरुगाडा चलाउने । यी तिनवटै कामको प्रकृति फरक छ । तर तीनवटै कामका लागि आवश्यक प्रवृत्ति भनेको हलीको आदेश मान्ने र अनुशासनमा बस्ने । कक्षा कोठामा सिकाईलाई अधिकतम तहमा पुर्याउनका लागि यी दुवै अपरिहार्य कारक हुन् । तर हली र बहर परस्पर विरोधी उद्धेश्य बोकेर मैदानमा उत्रिएका हुन्छन् ।

हली सोच्दछ- मैले जसरी पनि यो बहर दाउनै पर्छ । बहर सोच्दछ– मैले जसरी पनि यो मनुवाको आदेश उलङ्घन गर्नै पर्छ । “कुनै कुनै बहर कान्लाबाट हाम फालौला झैँ गर्छन् । कुनैलाई खेतबारीमा नभएर बालुवामा लगेर दाउनु पर्छ ।“ कसैले भनेको संझिएँ ।

खेतबारीको मनोविज्ञान मेरो कक्षामा पनि सहज प्रवेश गर्छ । मेरो कक्षाका केही बहरहरु कक्षा कोठाको मर्यादा तोड्दै विपरितधर्मी संस्कार पस्कन्छन् । केही बहर र बाछीहरु चुईगम खाँदै कक्षामा बस्छन् । मलाई भित्रभित्रै औडाहा हुन्छ । म मुर्मुरिन्छु । फुक्काफाल भएर बुर्कुसी मार्दै खोलाको बगरमा बहर र बाछीले दौडिए जस्तै लाग्छ । चुईगम खानेका आँखामा हेर्छु । तिनले मलाई केही भने जस्तो लाग्छ ।

“तिम्रो कक्षामा मैले कति सजिलै नियम उलङ्घन गरेको छु । चुईगम खाँदा पनि तिमीले केही गर्न सकेनौ । चालिस वर्ष भयो शिक्षक भएको भनेर के फुर्ती लगाउँछौ ?“

मैले कोरोना कालखण्डको संघारमा छिमेकी मित्रराष्ट्र चीनको सेन्जेन शहरमा दुई हप्ता बिताउन पाएको थिएँ । काम थियो-चुङ्ग्ह्वा सेन्जेन ईन्टरनेशनल ग्राजुएट ईन्टरनेशनल स्कूलका स्नातकोत्तर तहका विद्यार्थीलाई अतिथि प्राध्यापकको रुपमा पढाउने । मेरा मित्र प्रा.डा. ग्वान वान्ताओले यो अवसर जुराइदिएका थिए । कक्षामा ७० जना जति विद्यार्थी थिए । अधिकांश छात्रा । उनीहरुको पहिरन र व्यक्तित्व हेर्दा अर्कै आनन्द आउने । कक्षामा जाज्वल्यमान मुद्रा लिएर मूर्तिवत बसेका ती विद्यार्थीको चित्र अहिले पनि मष्तिष्कमा ताजा छ । संभवत त्यति गम्भीर र शालिन कक्षा मैले अहिलेसम्म लिएको छैन । लगभग डेढ सय आँखाले एकटक लगाएर लगभग दुइ घण्टा समय मलाई एकाेहोरो हेरेका थिए र मेरो प्रवचन सुनेका थिए । शून्य हलचल, पूर्ण मौनता, शतप्रतिशत शान्ति । मेरो गुरुत्वले गर्व गरेको थियो । मलाई लाग्यो- मैले जीवनकालकै विशिष्ट गुरुदक्षिणा पाएको थिएँ ।

तर यता मेरो कक्षाको भने बेहाल छ । बाउ आमाले पुल्पुल्याएर पालेका र अहिलेसम्म कक्षा लिने शिक्षकहरुले “आँखा भएका धृतराष्ट्र” को पगरी गुथेका कारणले होला कक्षा अनुशासन तोड्न माहिर केही बहरहरुले त मलाई हायलकायल बनाएका छन् । अस्ति एक दिन त्यही भयो । घोसेमुन्टो लगाएर हलीलाई “म तिमीले भनेको मान्दिन, के नापिन्छ नापियोस्” भन्ने भावमा एक डिग पनि अघि नसर्ने बहरको झल्को आयो । यस्तो अटेरी र झन्डु बहरको पुच्छर निमोठ्दा पछाडिका दुई खुट्टाले एकै चोटी आकाशै छेड्ला गरी उफारेको जस्तो मेरो विद्यार्थी पनि जङ्गियो ।

म पढाउनमा तल्लिन थिएँ । दुई विद्यार्थीले खासखुस गरेको सुनेँ । मैले जसलाई देखेँ, उसकै छेउमा गएर अङ्ग्रेजीमा कक्षा कोठा नै थर्किने गरी कराएँ । “किन एक आपसमा कुरा गरेको ?”

काठमाडाैं विश्वविद्यालयको धुलिखेल केन्द्रिय क्याम्पसमा मैले सात वर्ष सह-प्राध्यापकको जिम्मेवारी निभाएँ । कक्षामा पढाउने होस् या विद्यार्थीसँग अन्तर्क्रिया गर्ने कार्य होस, म मूर्तिभन्जक हुने प्रयास गर्थेँ । धृतराष्ट्रले भीमको मूर्तिलाई धुलाेपिठो पारेको सन्दर्भसँग जोडेर धनुषचन्द्र गोतामेले आफ्ना निबन्धमा यो शब्द प्रयोग गरेका छन् । मलाई खुबै मन पर्ने शब्दमध्येको एक हो यो ।

प्राध्यापकले पनि परीक्षामा निरिक्षक हुनुपर्ने चलन छ का.वि.वि.मा । म परीक्षा कक्षमा पनि आफूलाई पृथक बनाउने कोशिस गर्थें । प्राय: विद्यार्थीसँग अङ्ग्रेजी भाषामा संवाद गर्थें । निर्धारित समय सकिएपछि विद्यार्थीको उत्तरपुस्तिका खोस्दिनथेँ । म स्वविवेकले उत्तरपुस्तिका नबुझाउने विद्यार्थीको नजिक जान्थेँ । पहिला, विस्तारै बोल्थेँ । कतिपय जडताको पोको बोकेर बसेका अटेरी विद्यार्थी हुन्थे । उनीहरु हलचल नगरी लेखिरहन्थे ।

त्यसपछि म कक्षा कोठा नै थर्किने गरी उच्च स्वरमा कराउँथे । “सबमिट योर सिट ।“ अर्थात ठाडो भाकामा “बुझा तेरो कापी” ।

उहिले यस्तो अप्रत्यासित ठूलो आवाज सुने भने केटाकेटीको सातो जान्छ भन्थे । मैले भनेको नटेरेपछि सातो जाओस् कि मथिङ्गल खलबलियोस्, मलाई मतलब हुने कुरो भएन ।

परीक्षा भैरहेको अवस्था त्यो विद्यार्थी आइलाग्ने कुरो भएन । तर, कक्षाकोठामा त्यो भएन । जसलाई मैले मथिङ्गल खलबलिने गरी थर्काएँ । ऊ पनि त्यही शैलीमा जङ्गिरयो । “मैले कुरा गरेको छैन, सर ।”

आखिर ऊ पनि त भीर भत्काउने बहर हो नि त । मैले त्यो मौकाको फाइदा लिएँ । “उसो भए म माफी चाहन्छु । तर अब आइन्दा गफ गरेर मलाई बाधा भयो भने म छोड्दिनँ ।”

यसरी मेरो विद्यार्थी बहर जुवा भाँच्नेसम्मको हरकत गर्छ । मेरो दिमागमा नयाँ विचार उत्पन्न हुन्छ । “एउटा जुवा भाँचिए पनि अर्को जोहो गर्नेछु । तर, यो बहरलाई दाउने छु । एकाध विघाह बाँझो जमिन जोतेरै छोड्ने छु ।“

तर मेरा अनुशासनका सीमा त्यसबेला भत्किन्छन् जब कक्षामा जुवा भाँच्ने वा बहरले सकस भएर गोब्र्याउने वा जल सेचन गर्नेसम्मको काम गर्छ ।

मेरो विद्यार्थी डेढ घण्टाको लागि तयार भएर कक्षामा प्रवेश गर्दैन । विचमा “मलाई शौचालय जानु पर्यो” भन्दै जुरुक्क उठ्छ । मलाई ताज्जुव त त्यसबेला लाग्छ जब एकैचोटी एक भन्दा बढी विद्यार्थीले जलसेचन गर्न जाने अनुमति माग्छन् । मसँग उनीहरुको ईमान्दारिता जाँच्ने लिटमस पेपर हुँदैन ।

कक्षाकोठाको अनुशासन र मर्यादामा अप्रत्यक्ष रुपमा अभिभावकको पनि हात हुन्छ । अहिले कक्षाकोठामा र शैक्षिक गतिविधिमा देखिएका जति पनि बेथिती र विपरितधर्मी संस्कार छन् तिनका हिस्सेदार बहर, बाछीका बाउआमा पनि हुन् ।

एकदिन मेरो नदी झैँ सलल बगेको प्रवचनलाई बिथोल्दै एक विद्यार्थी ‘मेरो फोन आयो’ भनेर मोवाईल हातमा लिएर कक्षाको आधा भागसम्म आयो ।
“सर ! म बहिर जान सक्छु ?”
“खै ! हेरौँ त कस्को फोन रहेछ ?”

यस्तो काम गरेकोमा आरोपीहरुले मलाई कसैको “नीजि मामिलामा दखल” गरेको भन्लान् । तर, यस विषयमा मेरो आफ्नै विधान छ । ट्याक्सी चलाउँदा चालकले, सामान बेच्न बसेको पसलेले वा कक्षामा विद्यार्थी वा शिक्षक आफैँले अत्यन्तै आकस्मिक र अनपेक्षित फोन उठाउन सक्छन् । तर सामान्य गफगाफका लागि मात्र भए त्यो कर्म अमान्य हुन्छ ।

ती विद्यार्थीले मलाई फोन दिए । मैले फोनलाई लाउडस्पीकर मोडमा राखेँ । “म यो कक्षाको शिक्षक बोल्दैछु, हजुर को बोल्दै हुनुहुन्छ ?” उनी ती विद्यार्थीका दाइ रहेछन् ।

“कोही विरामी भएर अस्पताल लग्न लाग्नु भएको हो ?” “त्यो त होइन ।”

“के हजुरको भाइको एक दुई करोड आम्दानी हुने केही चिठ्ठा परेको हो त ?” “त्यो पनि होइन ।”

“उसो भए कक्षामा पढिरहेको मान्छेलाई किन फोन गर्नु भएको हो त ?” कक्षाका विद्यार्थी सबै हाँसे । फोन गर्ने दाइ मौन बसे ।

कक्षाको चुस्त व्यवस्थापनका लागि कलेज प्रशासनको पनि ठूलो हात हुन्छ । मेरो कक्षामा स्लाईड प्रस्तुत गर्न प्रोजेक्टर र स्क्रिन प्रयोग गर्नु पर्छ । उदेक लाग्ने कुरो त के छ भने कक्षाकोठाभित्र प्रयोग गर्ने सुविधाको स्विच भने कोठा बाहिर छ । यो देखेर मलाई “सिकर्मीको भर्याङ् भाँचिएको हुन्छ” भन्ने उखान स्मरण भयो । भित्तामा भएको पर्दा पनि उज्यालो नछेक्ने किसिमको छ । कक्षा कोठामा ईमेल सुविधाका लागि त मैले विशेष अनुरोध गर्नु पर्यो ।

यसरी विद्यार्थी बहर दाउने काममा म नयाँ नयाँ चुनौतिहरु सामना गर्छु । पुन: एक पटक सोचमग्न हुन्छु ।

“मेरो वर्तमानको बहर दाउने काममा अब कुन चुनौतिको उदय होला ?”

०००
आषाढ ११, २०८२
कोटेश्वर

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
राम आचार्य
राम आचार्य
4 months ago

“बुढी मरी भनेर नरुनु काल पल्क्यो भनेर रुनु” – भनेको सुनेको थिएँ। कक्षा कोठामा नत देखेको नत सुनेको कुरा लेखकले पश्किनु भयो। बिरक्त लाग्यो। यस्ता बाच्छा बाच्छिबाट कस्ता कर्णाधार बन्ने? यो त कर्मशील इन्जिनियरको निर्माण नभै बेइमान ठेकेदार निर्माणको बाटो पो हो। ठूलो चुनौती लाग्यो सर, कस्तो भरण पोषण हाम्रो ?!

Sushmita pandey
Sushmita pandey
4 months ago

मेरो वर्तमानको बहर दाउने काममा अब कुन चुनौतिको उदय होला ?”
नव सर हजुरको सबै लेख मन पर्छ सफलताको कामना अझै उत्कृष्ट रचना पस्केर हामीलाई पढ्ने मौका दिनुहोला

Lila Khari
Lila Khari
4 months ago

हुन त मसंग कलेज स्तरको अनुभव छैन तर यो प्रवृतिको शुरूवात भने विद्यालय स्तरबाटै हुन्छ।शिक्षण पेशामा लागेकाहरुको लागि उपयोगी लाग्यो।

Sunil
Sunil
4 months ago

लेखक,डा. नवराज खतिवडा, सुन्दर प्रस्तुती। बहर र अहिलेका इन्जिनेरिङ्ग विधाका विद्यार्थीहरूको समानतालाई राम्ररी केलाउनु भएकोमा धन्यवाद। हामीले भूल्न नहुने कुरा के हो भने को किन विद्यार्थीकालमा किन बहर बन्छ? कारण के होला? मकसद के होला? शिक्षकको रूपमा बहर विद्यार्थीहरूलाई कसरी बहरै तर अबिनासक बनाउने भन्ने कुरा हाम्रो जिम्मामा रहन्छ। त्यसमा तपाईँले भन्नु भए झै शिक्षण संस्थाको पनि रहन्छ। शिक्षण संस्थाहरू शिक्षामा केन्द्रित अर्थात विद्यार्थीलाई ज्ञान, सिप, विचार, र व्यवहार दिन उत्प्रेरित नभएको अबस्थामा शिक्षकहरूले कसरी बहरलाई अवेविकी बन्न रोक्ने? त्यसको बारेमा चर्चा गरौ।

Nepal Telecom ad
महादेवीको उर्दी

महादेवीको उर्दी

डा. नवराज खतिवडा
ह्याप्पी ग्रीन डे

ह्याप्पी ग्रीन डे

डा. नवराज खतिवडा
शौचालय भ्रमण

शौचालय भ्रमण

डा. नवराज खतिवडा
बहुदल पार्टी

बहुदल पार्टी

काशीनाथ मिश्रित
जंगे कुकुरको सुरक्षा

जंगे कुकुरको सुरक्षा

फित्काैली डटकम
एक लाखको इनाम

एक लाखको इनाम

हरिशंकर परसाईं
4
0
Would love your thoughts, please comment.x
()
x