साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शौचालय भ्रमण

वातावरण इन्जिनियर वा सेवा प्रदायक संस्थाहरुले अब बन्ने सार्वजनिक शौचालयमा पुरुष र महिला दुवै समूहको लागि आवश्यक पर्ने शौच-कक्षको सङ्ख्याको पूर्वानुमान गरी व्यवस्था गर्न बाञ्छनीय छ ।

Nepal Telecom ad

डा. नवराज खतिवडा :

धुलिखेल केन्द्रीय क्याम्पसमा दुई घण्टाको कक्षा सकेर भर्खर बाहिर निस्केको मात्र थिएँ । मोवाईलको घण्टी बज्यो । यसो हेरेँ । ल्यान्डलाइनको कुनै अपरिचित नम्बर थियो । कुनै कार्यालयकै होला भन्ने अड्कल काटेँ ।

“सर नमस्ते । म हिमालय टाइम्सबाट पार्वती थापा मगर बोल्दैछु ।” शिष्टाचारयुक्त स्पष्ट बोली र परिचित जस्तै गरी व्यक्त गरिएको अभिवादन सुनियो । पार्वतीसँग यसअघि भेट भएको वा कुराकानी भएको सम्झना फ्याट्ट आएन ।

“म के सेवा गर्न सक्छु त पिटियमजीलाई ।” उनको नाम र थरका सिरानका तिनवटा अङ्ग्रेजी अक्षर टिपेर सम्बोधन गरेँ । उनको हाँसो प्रष्ट सुनियो । मेरो प्रत्युत्पन्न शैली उनलाई रोचक लागेछ ।

भोलिपल्ट शनिवार ‘विश्व शौचालय दिवस’ थियो । यो मौकामा उनको पत्रिकाले एक परिशिष्टाङ्क प्रकाशित गर्ने निधो गरेको रहेछ । त्यसका लागि सामग्री बटुल्न मेरो अन्तर्वार्ता लिन खोजेकी रहिछन् ।

मैले दिँउसो तिन बजे पुल्चोक पुग्नु थियो । यसर्थ हामीले दुई बजे कोटेश्वरमा भेट्ने सल्लाह मिलायौँ । कोटेश्वरको सार्वजनिक शौचालयको पनि संयुक्त निरीक्षण गर्ने योजना बन्यो । उनलाई मोवाईलबाट मिस कल गर्न लगाएँ । नम्बर नोट गरेँ ।

कोटेश्वरमा ओर्लिएर सार्वजनिक शौचालय र ट्राफिक प्रहरी कार्यालयको बिचमा पर्खने ठाउँको खोजीमा लागेँ । एक चमेना गृहले राखेका खाली स्टुलहरु देखिए । म घाम परेको एउटा रोजेर बसेँ । दुई बजिसकेको थियो । पार्वतीलाई फोन सम्पर्क गरेँ ।

“हेलो पिटियमजी ! हजुर कता पुग्नु भो ?”

“म तिनकुने आइपुगेँ सर ! हजुर कहाँ पुग्नु भयो ?”

“म त कोटेश्वर पुगिसकेँ ।”

“हजुर कहाँनिर हुनुहुन्छ ? अनि मैले कसरी चिन्ने होला ?” उनले सोधिन् । पहिलो वाक्यमा कौतुहलको अंश अधिक थियो । दोस्रोमा विनोदी भावको ।

“ट्राफिक प्रहरी कार्यालय र शौचालयको बिच भागमा छु । त्यहाँ स्टुलमा बसेर बदाम खाइरहेको राजकुमार जस्तो सुन्दर युवक नै तपाइँले खोजेको व्यक्ति हुनेछ ।”

मेरो जवाफ सुनेर उनी फेरि खित्का छोडेर हाँसिन् । मैले नजिकै पसल थापेकी आमैसँग बदाम किनेँ । पारिलो घामको सितनसँग बदाम खान थालेँ ।

उनी मुस्कान छर्दै आइपुगिन् । हट्टाकट्टा गठिलो शरीर । खाँट्टी मङ्गोलियन अनुहार । आँखामा चस्मा । जिन्स पाइन्ट र ज्याकेटको पहिरन । कानमा सुन्ने ठेडी कोचिएका । मोवाईल खल्तीमा राखेर उनी सुन्ने तारमा जडित माइक्रोफोनबाट मसँग कुरा गर्दै थिइन् भन्ने अनुमान गर्न बेर लागेन ।

“कस्तो रमाइलो हुनहुँदो रहेछ सर त ।”

एक अर्काले खोजेका व्यक्ति हामी नै हौँ भन्ने ठोकुवा भएपछि उनको पहिलो प्रतिकृयामा नै प्रशंसाका फुल फुलेका थिए ।

“यो त कास्टिङ मात्रै हो । चलचित्र त पुरै बाँकी छ ।” घाँटीसम्म आइपुगेको यस्तो जवाफ मैले दबाएँ ।

आखिर बोलीको पनि त साइत हुन्छ । जवाफ भित्रै दबाए पनि बाहिर भने म मुस्कुराएँ ।

हामी दुवै हलुका स्नायुमा एकसुरले कुरा गर्दै शौचालयको साझा कक्षमा पुग्यौँ ।

“सर, हजुर उता अनि म्याडम हजुर चाहिँ यता ।”

हामी दुवै ‘शौच गर्न आएका अनि अलमलमा परेका’ जस्तो भान भएछ त्यहाँका शौचालय हेरालुलाई । उनले हामीलाई सतर्क गराउँदै महिला र पुरुष कक्ष देखाइदिए ।

मेरो मन आत्तियो । “काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर” हुने पो छाँट आयो । त्यसैले मैले हाम्रो भ्रमणको विवरण दिन ढिला गर्नु नहुने ठानेँ ।

“उहाँ पत्रकार अनि म इन्जिनियर । भोलि विश्व शौचालय दिवस मनाइँदै छ । यस विषयमा उहाँको पत्रिकाले एक परिशिष्टाङ्क निकाल्दै छ । काठमाडौँमा भए मध्येको राम्रो शौचालय तपाईँहरुकै हो भन्ने सुनेकाले आएका हौँ। हामी दुवै जना पुरुष र महिला दुवै कक्षको निरीक्षण गर्न चाहन्छौँ ।”

“महिलातिर म्याडमले हेर्नु । पुरुषतिर हजुरले हेर्नु, हुँदैन र ? कोही आइहाल्यो भने हामीलाई अप्ठ्यारो हुन्छ ।” व्यवस्थापन पक्षले हाम्रो इच्छा पचास प्रतिशत मात्रपूरा गर्ने उपाय सुझायो ।

“एकै छिन त हो । हजुरहरुले यहाँ पहरा दिए कसो होला । कोही आइहाल्यो भने एक छिन पर्खन अनुरोध गर्नू ।” मैले उपाय सुझाएँ ।

वास्तवमा सामान्य अवस्थामा महिला शौचालयमा पुरुष प्रवेश वा पुरुष शौचालयमा महिला प्रवेश भनेको अनौठो नै हुन्छ । म पनि आक्कल झुक्कल यस्तो दुर्घटनामा परेको छु । विश्वविद्यालय लगायत अन्य सार्वजनिक निकायहरुमा शौचालयमा सरसफाइका लागि पनि पुरुष कक्षमा लोग्नेमान्छे र महिला कक्षमा स्वास्नीमान्छे खटाएको पाइन्छ । थाइल्यान्डमा भने पुरुष कक्षमा पनि निर्धक्क स्वास्नीमान्छेहरुले सरसफाइ गरेको देखेको थिएँ ।

“हुन्छ नि त । तर चाँडै गर्नु होला ।” सञ्चालकले अनुमति दिए ।

ओलम्पिक खेलकुदमा सिठ्ठी फुक्नासाथ खेलाडी दौडे जस्तो पत्रकार र इन्जिनियरको जोडी महिला शौच कक्ष भित्र प्रवेश गर्‍यो । ढोकाको व्यवस्था गरिएका स-साना छ वटा खण्ड देखिए । खुट्टा टेकेर बस्न मिल्ने प्यान, पानीको धारो र पानी थाप्ने मग देखिए ।

“फ्लस गर्ने ट्याङ्की चैँ भाँचे ।” सञ्चालक मित्रले भने । उनी हाम्रा पछि उभिएका रहेछन् ।

“बाहिर पहरा दिने भनेको हैन । हजुर त भित्रै आउनु भएछ त फेरि ।” मैले अलिकति रमाइलो सिर्जना गर्ने धेयले भने ।

“यस्तो विशेष परिस्थितिमा त भित्र पनि पहरा दिनु पर्‍यो नि । बाहिर साथीलाई अराएको छु ।” उनले पनि वार्तालापमा बेजोडको रङ थपे ।

मैले पार्वतीको अनुहार हेरँ । उनले मेरो अनुहार हेरिन् । हामी मुखामुख गर्‍यौँ। अनि एकै चोटि खित्का छोडेर हाँस्यौँ । हाम्रो हाँसोसँग सञ्चालक महोदयको मुस्कान मिसियो ।

“हजुरहरु हाँसेको के बुझेर हो मैले बुझिनँ । मैले भित्र पनि पहरा दिनु पर्छ भन्नुको कारण हजुरले यहाँ महिला कक्षमा शौच गर्नु होला कि भनेर हो । कोही कोही केटा मान्छे त कस्तो न होला भनेर हौसिन बेर छैन नि त ।” उनले शौचालयको भित्री भागमा पनि पहरा दिनुको कारण दिए । “हजुरले” भन्दा मतिर पुलुक्क हेरे । उनको तर्कमा दम थियो ।

“हो त नि ‘महिला शौचालयमा पुरुष प्रवेश’ भन्ने त समाचारको मूल शीर्षक नै बन्न सक्छ नि, होइन त पत्रकार महोदय ?” मैले पार्वतीलाई सम्बोधन गर्दै कुरो किनारा लगाएँ ।

भित्तामा शौचालय प्रयोग गर्दा र स्नान गर्दा लाग्ने शुल्क लेखिएको थियो, दिसा गरेको दश रुपैँया र पिसाब गरेको पाँच रुपैँया । शुल्क सूचीमा महिला र पुरुषमा विभेद थिएन, तर मैले समस्याको एउटा चुरो कुरो बुझेँ । पुरुष कक्षमा दिसा र पिसाब गर्ने छुट्टा छुट्टै सुविधा थियो तर महिलातिर थिएन।

“महिलालाई दिसा गरेको कति रुपैया शुल्क लिने गर्नु भएको छ नि ?” मैले सञ्चालक मित्रको ध्यानाकर्षण गराएँ ।

“समस्या नै यही हो सर । लामो छोटो के गरिस् भनेर सोध्न मिल्दैन । पुरुषको जस्तो छुट्टै व्यवस्था भएको भए जता जान्छ त्यसको हिसाबमा शुल्क लिन हुन्थ्यो । महिलाको त जे गरे पनि पाँच रुपैया लिन्छौँ ।” उनले भने ।

“यसको मतलब सार्वजनिक शौचालयमा महिलाले दिसा गर्दैनन् । राजस्व सङ्कलनको आकडाले त्यही देखाउने भो, हैन त ?” पार्वती त आखिर पत्रकार न परिन् । रोचक निचोड निकालिन् ।

हामी महिला कक्षपछि पुरुषको पिसाब फेर्ने कक्षतिर लाग्यौँ । उभिन मिल्ने युरिनलहरुको व्यवस्था रहेछ । कतिपय शौचालयहरुमा स-साना नानीहरुका लागि होचा युरिनल राखिएको हुन्छ । विदेशका सार्वजनिक शौचालयमा भने फरक क्षमताका प्रयोगकर्ताका लागि पनि छुट्टै व्यवस्था हुन्छ । नेपालमै पनि भृकुटीमण्डपको एक शौचालयमा सीमान्तकृत वर्गका लागि मैले एउटा यस्तो शौच-कक्ष देखेको स्मरण भयो । देख्दा सामान्य लागे पनि प्राविधिकहरुले शौचालय बनाउँदा विचार गर्नु पर्ने यस्ता महत्वपूर्ण विषय छन् । हामी यिनै विषयहरुको टिपोट गर्दै थियौँ । मैले फेरि रमाइलो उमार्ने जमर्को गरेँ ।

“यहाँ त उहाँ महिला पत्रकार महोदयले शौच गर्ने सम्भावना शून्य छ नि त । फेरि किन पहरा दिइरहनु भएको छ ।”

मैले आँखा झिम्क्याउँदै सञ्चालक मित्रलाई सोधेँ ।

“के ठेगान, मौका पाए महिलाले पनि उभिएरै फेर्न के बेर ?” मित्रले अनपेक्षित उत्तर दिए ।

“सही हो । अहिले अन्य कतिपय मुलुकमा महिलाले पनि उभिएरै पिसाब फेर्ने सुविधा छ ।”

मैले केही समय अघि दि इकोनोमिस्ट पत्रिकाले लेखेको एक समाचार सम्झिँदै भनेँ ।

“वाह ! इन्जिनियर साहब । क्या बात ! शौचालय प्रयोगमा पनि लैङ्गिक समानता । अधिकार्मीहरुको लागि त यो हरियो घाँस नै भयो । अनि हाम्रा लागि पनि पहिलो पृष्ठमा नै छापिने समाचार बन्न सक्छ ।” पत्रकार मित्रको रसिलो उद्गार प्रस्फुटन भयो ।

“तर पार्वतीजी, असमानताको खाडल पनि त हेर्नुहोस् न । महिलाका लागि छ वटा शौच-कक्ष छन् । पुरुषका लागि भने त्यसको दुई गुणा भन्दा पनि बढी । अझ पुरुषलाई भने दिसा र पिसाब गर्न अलग अलग सुविधा छ ।”

मैले हाम्रै आँखा अघि देखिएको यथार्थलाई प्रतिनिधि बनाउँदै अधिकांश सार्वजनिक शौचालयमा भएको सङ्ख्यात्मक असमानता इङ्गित गरेँ ।

अहिले सडकमा, सार्वजनिक स्थलमा र सेवाप्रदायक निकायहरुमा नारी उपस्थिति ह्वात्तै बढेको छ । महिला चालक भएको कुनै सार्वजनिक सवारी साधनमा शतप्रतिशत यात्रु महिला भएको दृश्य अब अनौठो भएन । केही समय अघि सम्म काठमान्डौँ लगायत मुलुकका प्रमुख सहरहरुको भिडमा महिलाको उपस्थिति न्यून हुन्थ्यो । उपस्थित महिला पनि या त काखमा सानो बच्चा च्यापेर हिँडेका देखिन्थे या त आफ्नो अभिभावक वा कोही दौँतरीसँग हुन्थे । एक्लै हिँड्दैन थिए । बिहान झिसमिसेमै या रात्रीको समयमा एक्लै हिँड्ने युवतीको सङ्ख्या त शून्य बराबर हुन्थ्यो । अहिले परिस्थिति फेरिएको छ । अर्थशास्त्रीहरु या नीति निर्माताहरुका लागि अर्थतन्त्रमा भएको उल्लेखनीय नारी सहभागिताको यो आयाम विभिन्न हिसाबले अर्थपूर्ण होला । वातावरण इन्जिनियर वा सेवा प्रदायक संस्थाहरुले अब बन्ने सार्वजनिक शौचालयमा पुरुष र महिला दुवै समूहको लागि आवश्यक पर्ने शौच-कक्षको सङ्ख्याको पूर्वानुमान गरी व्यवस्था गर्न बाञ्छनीय छ ।

अध्ययनले पुष्टि गरे अनुसार पुरुषलाई पिसाब गर्न सालाखाला आधा मिनट लाग्छ भने स्त्रीलाई एक मिनट । यो जैविक आवश्यकता हो । यसकारण उत्तिकै भिड हुने स्थानमा शौचालयको योजना बनाउँदा पुरुषको भन्दा महिलाको शौच-कक्ष सङ्ख्या दुई गुणाले बढी हुनु जरुरी हुन्छ । महिला शौचालयमा ढोका बन्द गर्ने सुविधा पनि हुनु पर्छ । ढोका नभएको वा बन्द नहुने शौच-कक्षमा कतिपय प्रयोगकर्तालाई असाध्यै अप्ठेरो लाग्छ । बदलिँदो परिवेश अनुसार खासगरी महिलाको पहिरनमा पनि परिवर्तन आएको छ । अहिले अधिकांश महिलाले पाइन्ट लगाउँछन् । सार्वजनिक शौचालयका अधिकांशप्रयोगकर्ता सक्रिय उमेरका युवायुवती हुन्छन् । बृद्ध र बालबालिकाको सङ्ख्या कम हुन्छ। यसकारण सुविधा प्रयोग गर्दा पहिरनको पनि असर पर्छ । सेवा प्रदायक निकायहरुले विचार गर्नु पर्ने केही महत्वपूर्ण विषय यिनै हुन् ।

“अहो ! इन्जिनियर साहब ! सार्वजनिक शौचालयसँग जोडिएका समस्या त बग्रेल्ती पो रहेछन् ।” मेरो कुरा सुनेर पार्वतीले लामो श्वास फेर्दै भनिन् ।

“हो त नि । पुगेन त अब पत्रकार महोदयलाई भारी ?” जवाफमा मैले भने ।

“आजलाई भारी पुग्यो । अब जानु पर्छ ।” पार्वतीले भनिन् ।

“थप केही हुँदा फेरि आए पनि हुन्छ नि म्याडम । अर्को पल्ट आउनु भयो भने पहरा बस्न नपर्ने गरी आउनु होला है ।” सञ्चालकले पनि रमाइलै गरी बिट मारे ।

हामी हाम्रो काम र दिन सफल भएको अनुभूति गर्दै आ-आफ्नो बाटो लाग्यौँ ।

०००
काेटेश्वर, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
बोली

बोली

देवीप्रसाद चापागाईं
हामी उल्लूहरु !

हामी उल्लूहरु !

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x