रामकृष्ण ढकालनून : गुन र बैगुन
खान नमिल्ने नूनले धेरैथरी अन्यायलाई बल दिन्छ र केही आफै सिर्जना गर्छ । जसरी देशको लागि कष्ट उठाउनेहरू त्यही खान नमिल्ने नूनको फन्दामा पारिएर कष्टडीमा पुग्छन् ।

रामकृष्ण ढकाल :
हुन त बजारमा यतिबेला सबैभन्दा सस्तो भनेकै नून होला । यसको धूलोपिठो अवतारपनी सयको चार किलो किने चाँडो नकिने ढिलो हुनेगरी पाइन्छ ।अझ सिक्का बजेजस्तै बज्न खोज्ने ढिकाखाले पाँच किलो पाइन्छ सय रुपैयाँ हाले । यो नून भन्ने चिज पनि अचम्मको छ । बढी सेवन गर्न वा कम खान नहुने । कतिपय रोग बढाउने, स्वास्थ्य घटाउने ।
अल्लिवर्ष पहिले धेरै नेपालीहरू पाचन समस्याको रोग ग्यास्ट्रिकबाट आक्रान्त थिए । त्यो क्रम अझै रोकिएको छैन । त्यतिबेला ग्याष्ट्रिककाे व्यापकता हेरेर त्यसलाई नेपालको नागरिकता पनि भनिन्थ्यो । तर अहिले आएर गलाबाट शुरु गरेर धेरैतिर थलापार्ने रोग थाइराइड झन व्यापक भएको छ । जमिनमा अमेरिकी साम्राज्यवादि लहरा माइकेनिया मिक्रान्ता र ज्यानमा थाइराइड उत्तिकै फैलिएका छन् । अर्को कुरा थाइराइड नामक रोगको बीउ रहेछ अत्यधिक आयोडिनयुक्त नून । खाएपछि तिनगुणा बढी आयोडिनयुक्त नून के भएर लागोस् शरिरलाइ गुन भन्ने त उखानै बनिसक्यो ।
कुनैबेला अझ नेपालमा पञ्चायत कालको शुरुआत ताका कैयौं पहाडी जिल्लामा गलगाँडको महामारी थियो । आयोडिनको सेवनबाट गलगाँडको हल हुन्छ भनेर नूनको पिठोमा आयोडिन मिसाएर बजारमा ल्याइयो । तर आयोडिन शरीरको लागि चाहिने भन्दा तीन गुणा बढि मिसाइएपछि त्यो मोरो हेर्दा गोरो नून पनि रिसायो । आफ्नो रिस सेवनकर्ताको गलामा बिसायो ।
रुद्रघण्टीलाई बिगारेर छुद्रघण्टी बनायो । कसैको हात खुट्टा झमझमायो कसैको आँखा तर्साउने जस्तोगरी बाहिर आयो । कसैको टाउकोमा साहूको ऋणले थिचेझैं गरायो । जे होस् अनेक तरिकाले डराउनु पर्ने गरायो । हुन त नेपालीहरू पनि त्यस्तै हुन् । लात हानेर कोदो मकै गहुँ फापरको ढिँडो पिज्जा र बर्गर चाउमिन खान हिँड्यो । अनि कसरी हुन्छ राम्रो । स्वास्थ्य नामकाे अदृश्य शक्तिलाई त स्वात्तै बिगारेर भिरबाट खँगारेर छोड्यो ।
फेरि हाम्रा पितापूर्खाले खाने गरेका सिधे नून बिरेनून देख्यो कि एक भकारी गाली खाएर हिँडेको मान्छे जस्तो गरि सद्दे अनुहार कुच्च्याउँछन्। हाम्रा लागि त सबैभन्दा उपयुक्त नून नै तिनै हुन् । पोके नूनले भन्दा लेकबाट बोकेर ल्याइएको बोके नूनको हुन्छ धेरै गुन । जसको नाम त आयो नून । आयो स्वास्थ्य भएको भए पो राम्रो गर्थ्यो । नामै आयो नून भएपछि त्यसले पनि त्यस्तै गर्यो- आयो नून गयो स्वास्थ्य । अनि परेन त हत्ते । पल्लो घरकी बज्यैले आयोनून खाइन अल्लि वर्षपछि अस्पतालमा लाइन त्यसै त भनिएको हुँदै होइन ।
यी त भए खाने नूनका कुरा । नेपालमा खान नमिल्ने नून पनि छ । त्यसको विशेषता साह्रै जर्रो छ । स्वाद निमपत्ताको रसमा फिटकिरी चोबेर खाएको जस्तो । उच्च पदासिनका लागि निकै सस्तो तर हामिजस्ता दु:खजिवीहरूका लागि असाध्यै महङ्गो । खान मिल्ने नूनले एउटा शरीरमा मात्र असर गर्छ । तर खान नमिल्ने नून धेरै हानिकारक हुन्छ । यसले एकैपटकआ सिङ्गै देशलाई रोगी बनाउन पनि सक्छ । यो नूनको नाम हो कानून । नेपालको कानून दैवले जानून त्यत्तिकै गफको तालमा भनिएको कहाँ हो र ! त्यति कुरो थाहा पाउन पनि सभ्यताले धेरै नै पापड बेल्नुपरेको छ।
नूनको सोझो गर्ने भनेर विदेसिएका नेपालीहरूको कथा व्यथा अझै बेग्लै छ । अनि नामले कानून तर कामले हानून खानून गर्नेहरूको लाजमर्दो हालीमुहाली चलेकै छ । फेरि यो कानून भन्ने कुरो दुखी गरिब पीडित निमुखा अबोला अशिक्षितहरूका लागि मात्र रहेछ साँचो भनेको साँचो व्यवहार गर्नेका लागि मात्र हो चोर डाँकाको लागि ढोकामा झुन्डिएको होस् कि खल्तिमा लुकाइराखेको दुवै झुठै हुन भनेजस्तै । शासक भनेका जङ्गलदेखि मङ्गलसमा उस्तै बानी व्यबहार बोली भएका हुँदारहेछन् । जसरी सिंहदरबारका सिंहहरूले होस वा राष्ट्रिय निकुन्जका सिंहहरूआफूभन्दा निर्धा सोझा राम्रा सबैलाई उस्तै कानून लगाउने ।
कतिपय अवस्थामा अनेक रोग लगाउने नून र अनेक झमेला लगाउने कानून एक आपसमा मीत मीत पर्छन् कि जस्तो । खान मिल्ने नूनले धेरै रोगलाई मलको रूपमा काम गर्छ । केही रोगै उमार्छ । खान नमिल्ने नूनले धेरैथरी अन्यायलाई बल दिन्छ र केही आफै सिर्जना गर्छ । जसरी देशको लागि कष्ट उठाउनेहरू त्यही खान नमिल्ने नूनको फन्दामा पारिएर कष्टडीमा पुग्छन् ।
अनि हरामदायी भ्रष्टहरू कुर्सीमा आरामदायी समय बिताउँछन् । यसरी हेर्दा खान मिल्ने नून होस कि खान नमिल्ने नून अर्थात् कानून धेरै बैगुन र थोरै मात्र गुनका बाहक हुन् ।
०००
२०८२ साउन २२
चितवन
Subscribe
Login
0 Comments
Oldest




































