साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताको पीडा

उनीहरूको पारो तात्यो । अनि सबै नेताले सपनामै ती बिचरा घाइतेलाई कराए- हेर हेर यिनको बिजोग !! खुब आन्दोलन गरिखाने भाका । अझ ऐया रे ! यिनका नाटक पनि कति हो !?

Nepal Telecom ad

रामकृष्ण ढकाल :

देशमा अचानक भदौरे पानीजस्तो ह्वार्र आन्दोलन मच्चियो । भर्खर दाह्री जुँगा पलाउन थालेका कलकलाउँदो उमेरका व्यक्तिहरू आन्दोलनकारी थिए । राजधानी लगायत देशका विभिन्न जिल्लाहरूमा एकैचोटी डढेलो लागे झैं भयो । सरकार भनाउँदोले बिचरा कलम बोक्ने साना बोलिमाथी क्रुरतापूर्वक गोली चलायो । दर्जनौं लालाबालाका जीवन अनि परिवारको भविष्य काला भए ।

भोलिपल्ट आन्दोलन झन उग्र भयो । देशभरिका हजारौं सरकारी कार्यालयहरू, राजनीतिक भनिएका तर अहोरात्र देश र जनता विरुद्ध खनिनसम्म खनिएका दलहरूका टोलटोलका सम्पर्क कार्यालय समेत खरानी भए । देशका अमूल्य संरचना स्वाहा भए । मै हुँ भन्ने कोहि नेता मेरो घरको कुकुर र म उस्तै हो भनेर रुँदै थिए । कसैले पेट भरी नभए पनि उनीहरूले असाध्यै मनपराएकाे संविधानर व्यवस्था हुँदाहुँदै कुटाइको रूपमा त्यसको स्वाद चाखेका थिए । कसैका घरका कोठा नामका पक्की भकारीहरूमा राखिएका अरबौं रुपैयाँ नगदै खरानी भयो । मनभन्दा पर मात्र हरि भएकाले प्रहरी भनिएकाहरू बेस्सरी लुतोले ग्रस्त पारेका कुकुर झैं भए । सेना सडकमा आउन बाध्य भयो । कर्फ्यु लाग्यो । प्रधानमन्त्री मन्त्री खै कता भागे भागे । यस्तै हृदय बिदारक घटनाहरू अनगिन्ती भए । यो क्रम तेस्रो दिनमा रोकियो । बिस्तारै वातावरण मूर्दाशान्तिको मार्गमा आयो ।

भगुवा मन्त्री हरू कुनचाहिँ घारीमा लुके वा दूलोमा थाहा भएन । तर सत्ता र भत्ता अनि हतियार र मतियारबाट टाढा रहेर औडाहा भएपछि तिनको रात जागराममै जान लाग्यो । कसोकसो बिहान हुने बेलामा यस्सो झकाए । सपनामा उनीहरू समूह मिलेर जलेका दरबारहरू हेर्न गए । जब खण्डहर बनेको संसद भवन र देशको मुख्य कार्यालयमा पुगे तब ती सबै एक्कासी भकानिए ।

थचक्क भुइँमा बसे आँसु झारे अनि बर्बराउन थाले । उनीहरू भन्दैथिए- हेर संसद भवन अनि दरबार आज तिमीहरूको यस्तो गति भयो । यो देख्दा हाम्रो साह्रै चित्त दुखेको छ । किनभने तिमीहरूलाई पुन निर्माण गर्ने भनेर हामीले फेरि कुम्ल्याउन नपाउने भयौँ । हाम्रो लागेको बानी पनि तिमीहरूको आँगनमा राखिएका गाडी जस्तै खरानी भयो । अब हाम्रा बफादार झोले झाम्टे जुम्रे जगल्टे कौडे मुन्द्रेहरूका अगाडि हामीले कसरी मुख देखाउने !! हाम्रा विदेशी प्रभुहरूलाई के जवाफ दिने । अब न तिमीहरुको भित्रका कुर्सीमा बसेर कुशासन चलाउन, कुहिगन्धे कानून बहुमतको आधारमा जबर्जस्ती पारित गर्न पाइयो । हे दरबारहरू हो ! तिमीहरू त दुई तीन दिन आगोमा जल्यौ ठिकै भयो तर हामीलाई हेर त हामी त अब बाँकी रहेको जीवनभर जल्ने भयौँ ।

यस्तै रुवाबासी एकघण्टा गरेपछि उनीहरू बल्ल तल्ल उठे अनि आइपुगेको बेला चारैतिरको अवस्था हेरौं भनेर घुम्न थाले । दरबारहरूको पछाडि पटि रहेको झ्याङ्गमा एकदुई जना घाइते आन्दोलनकारी ऐया ऐया गर्दै रहेछन्। पछाडिको घारीमा लडेकाले तिनीहरू अस्पताल लगिनबाट छुटेका रहेछन् । त्यो देख्दा ती नेतालाई सहिनसक्नु भयो । उनीहरूको पारो तात्यो । अनि सबै नेताले सपनामै ती बिचरा घाइतेलाई कराए- हेर हेर यिनको बिजोग !! खुब आन्दोलन गरिखाने भाका । अझ ऐया रे ! यिनका नाटक पनि कति हो !?

हामीले त्यत्रा चिया बगान खायौँ, त्यत्रा ललिता निवास खायौँ, शरणार्थी बनाएर कति खायौँ, वाइडबडिमा खायौँ, कैयौँ सडक पुल आयोजना खायौँ । हामीले कहिल्यै ऐया बचाउ भनेनौँ । यी सड्कमा बल देखाउन आएका जाबो एउटा औँलोजत्रो गोली खाँदा ऐया ऐया ! लाजै मर्नु । त्यत्रा नदी खाँदा, त्यत्रा युवाहरू खाँदा, होलिवाइन खाँदा देशको प्रकृति खाँदा, धर्म खाँदा, संस्कृति खाँदा, कमिसन खाँदा, घुस खाँदा हामीले कहिल्यै ऐया आत्थु केही भनेनौँ । यिनीहरू यो ढुङ्गा पनि पचाउने उमेरमा जाबो एक दुई वटा गोली खानुपर्‍यो भनेर कहिँ नभाको ऐया र आत्थु ! हे विदेशी प्रभु ! के सुन्नु परेको यस्तो ।

अझ हामीजस्तो महान दयालु शासक त कुनै राष्ट्रिय निकुञ्जमा पनि पाइँदैन । हामीले त समृद्ध नेपाल सुखी नेपाली बनाउने प्रक्रियाको सत्य सेवा सुरक्षणम खण्डको कार्य अन्तर्गत गोली हान्न आदेश दिएका हौँ, त्यत्तिकै जथाभावी हो र ?! अझ त्यसमा पनि हाम्रा लागी संसारकै सर्वोत्कृष्ट संविधान र अत्यधिक गन्हाएको गणतन्त्र अनि सङ्घियता जसले अधर्म सापेक्षताको गहना लाएका छन्, ती सबैको आधारमा मच्चाएको गोलिकाण्ड हो यो । त्यत्तिकै बुझ्दै नबुझी ऐया ऐया गर्न पाइन्छ ? ….

एउटा संयोग के परेछ भने ती नेताहरूले सपनामा बोलेका यी कुरा बिपनामा सुनिने गरी बर्बराएछन् । जब कोहि कसैले यो बर्बराहट सुन्यो, उसले अल्लि परबाट केही सामुदायिक कुकुरहरू लखेटेर त्यहिँ नेताहरू सुतेको ठाउँमा ल्याएछ । ती नेताहरूको बोलीको सम्मानमा तिनका मुखैमा पर्ने गरि ती कुकुरहरूले खुट्टा उचाले तब ती नेताहरू झल्याँस्स बिउँझेन् ।

०००
२०८२ भदौ २७
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कारण

कारण

रामकृष्ण ढकाल
साँच्चै हो रहेछ

साँच्चै हो रहेछ

रामकृष्ण ढकाल
भिल्लपुर वाङ्मय

भिल्लपुर वाङ्मय

रामकृष्ण ढकाल
उहाँ त  ह्वाँ ह्वाँ !!

उहाँ त ह्वाँ ह्वाँ...

रामकृष्ण ढकाल
सिङ्बिहिन तिखे गोरु

सिङ्बिहिन तिखे गोरु

रामकृष्ण ढकाल
संयोजक

संयोजक

हरिशंकर परसाईं
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
0
Would love your thoughts, please comment.x
()
x