रामकृष्ण ढकालहो रहेछ
जब यो कुरो बिस्तारै बाहिर आयो तबजनताले भन्न थाले- टाउको कुच्चिएको सर्पले काल बोलाउँदा पुच्छर हल्लाउँछ भन्थे हो रहेछ । आफू सत्तमा हुँदा हाम्रो भनाइ त कहिल्यै सुनेनन् हाम्रो पीडा कहिल्यै देखेनन् ।

रामकृष्ण ढकाल :
ओप्रदे समशेर तानाशाह एउटा पहाडी देशका शासक थिए । यिनको शासनकालमा देशमा भ्रष्टाचार मौलाएको र जनता पीडाले बौलाएको थियो । गाँडतन्त्र, नाङ्गियता र अधर्म सापेक्षता यिनको शासन व्यवस्थाको नाम थियो भने यिनले आफूलाई पौराणिक कालका देविदेवताहरूद्वारा मारिएका असुरका तत्कालीन अवतारहरूका चेला सम्झन्थे । यिनको भासन देशलाई बेस्सरी भासमा डुबाउन उद्यत हुन्थ्यो भने राशन यिनका चण्डमुण्ड ताम्र धूम्राक्ष बिडाल रक्तबीज चिक्षुर चल क्रोध आदिले मात्र पाउँथे । देशको शताब्दीऔं लामो इतिहासमा यिनी नै सबैभन्दा कुमतिका शासकमा दर्ता भएका थिए । देशका सेना प्रहरी मात्र होइन आउरे बाउरे चुल्ठे मुन्द्रे मण्डले कुन्डले जुम्रे जगल्टे भुस्तिघ्रे बुद्धिबिग्रे आदि पनि यिनकै वरपर भन्किने गर्थे । यिनको अपरम्पार जनदेशद्रोही चालामाला बुझिनसक्नुको थियो । जताबाट भए पनि जसरी भए पनि देश जनता समाज सभ्यतालाई यिनी साउने झरी झैं बर्बरता बर्साउने स्थान मान्दथे र विधिदेखि व्यवहारसम्म त्यस्तै मात्र गर्थे ।
अति गर्नु अतिसार नगर्नु भन्ने समाजको उखान थियो तर देशमा अतिसारको हजरगुणा चाहिँ भएको थियो । अन्तिम नै अवस्था आएपछि केतुग्रहको बाहनले पनि झम्टिन्छ भने झैं एउटा वर्षमा भर्खरका विद्यार्थी केटाकेटीहरूले छोटकरी आन्दोलन निकाले । बिचरा कलम र आवाज मात्र बोकेका कलिला लालाबालाहरूमाथी गोली नामका फलाम र धोखेबाज बर्सिए । झन्डै सातदर्जन होनहार आत्माहरू बीरगतिको बाटो हुँदै चीरशान्तिको कामना गरिनुपर्नेमा हाजिर भए । कोहि अर्धजीवित भएर अस्पतालको शैयामा ऐया ऐया गरिरहन विवश भए । तर कलम आवाज जनता र शान्तिपूर्णताको अगाडि क्रुरताको गाडी पल्टियो । खै कति समयलाई हो कुन्नी देश दल नामक छलबलको दलदलबाट आंशिक रुपमा अलग्गियो । नयाँ सरकार बन्यो । शीघ्रताको मामिलामा यो पनि ठसठसी कन्यो ।
उता ओप्रदे समशेर तानाशाह र उसको दलका दलालहरूलाई खपिनसक्नु भयो र आफ्नै वरपर भन्किने आउरे बाउरे चुल्ठे मुन्द्रे जुम्रे जगल्टे भुस्तिघ्रे गुन्द्रुके बाघभुत्ले चण्ड मुण्ड उद्दण्ड आदिको घेरामा बसेर भुसको राँको सल्काउने धृष्टता गर्नथाले । जब यो कुरो बिस्तारै बाहिर आयो तबजनताले भन्न थाले- टाउको कुच्चिएको सर्पले काल बोलाउँदा पुच्छर हल्लाउँछ भन्थे हो रहेछ । आफू सत्तमा हुँदा हाम्रो भनाइ त कहिल्यै सुनेनन् हाम्रो पीडा कहिल्यै देखेनन् । अर्थात हाम्रो पीडा र आवाजप्रति यिनीहरू अन्धा र बहिरा बने । यिनीहरू क्रुर कसाही हामी जनता अबोध पशुपन्छि हो जस्तो हर्कतलाई विश्वकै सर्बोत्कृष्ट बिधान संविधान अवस्था व्यवस्था भनेर रौरबराग अलापे ।
यिनले हामीलाई यस्तो व्यवहार गरे कि मानौँ हामी जनता मूला काँक्रो फर्सी हौं अनि हाम्रो मातृभूमी हामिमुनिको अचानो । न हामीलाई राम्रो न धर्तिलाई प्रकृतिलाई । हजारौं युवा विदेशमा मरिरहे । स्वदेशमा बाल बृद्धको आँसुधारा झरिरहे । तर हामी पनि तिनै दलका दलेहरूजस्तो अन्धो बहिरो र कृतघ्न बन्नु हुन्न । उनीहरूको माग पूरा गरिदिनुपर्छ । यदि बेलैमा यसो गरिएन भने देशको इतिहासले हामीलाई पनि धिक्कार्छ ।
०००
२०८२ असोज २१
चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































