रामकृष्ण ढकालनेताको पीडा
उनीहरूको पारो तात्यो । अनि सबै नेताले सपनामै ती बिचरा घाइतेलाई कराए- हेर हेर यिनको बिजोग !! खुब आन्दोलन गरिखाने भाका । अझ ऐया रे ! यिनका नाटक पनि कति हो !?

रामकृष्ण ढकाल :
देशमा अचानक भदौरे पानीजस्तो ह्वार्र आन्दोलन मच्चियो । भर्खर दाह्री जुँगा पलाउन थालेका कलकलाउँदो उमेरका व्यक्तिहरू आन्दोलनकारी थिए । राजधानी लगायत देशका विभिन्न जिल्लाहरूमा एकैचोटी डढेलो लागे झैं भयो । सरकार भनाउँदोले बिचरा कलम बोक्ने साना बोलिमाथी क्रुरतापूर्वक गोली चलायो । दर्जनौं लालाबालाका जीवन अनि परिवारको भविष्य काला भए ।
भोलिपल्ट आन्दोलन झन उग्र भयो । देशभरिका हजारौं सरकारी कार्यालयहरू, राजनीतिक भनिएका तर अहोरात्र देश र जनता विरुद्ध खनिनसम्म खनिएका दलहरूका टोलटोलका सम्पर्क कार्यालय समेत खरानी भए । देशका अमूल्य संरचना स्वाहा भए । मै हुँ भन्ने कोहि नेता मेरो घरको कुकुर र म उस्तै हो भनेर रुँदै थिए । कसैले पेट भरी नभए पनि उनीहरूले असाध्यै मनपराएकाे संविधानर व्यवस्था हुँदाहुँदै कुटाइको रूपमा त्यसको स्वाद चाखेका थिए । कसैका घरका कोठा नामका पक्की भकारीहरूमा राखिएका अरबौं रुपैयाँ नगदै खरानी भयो । मनभन्दा पर मात्र हरि भएकाले प्रहरी भनिएकाहरू बेस्सरी लुतोले ग्रस्त पारेका कुकुर झैं भए । सेना सडकमा आउन बाध्य भयो । कर्फ्यु लाग्यो । प्रधानमन्त्री मन्त्री खै कता भागे भागे । यस्तै हृदय बिदारक घटनाहरू अनगिन्ती भए । यो क्रम तेस्रो दिनमा रोकियो । बिस्तारै वातावरण मूर्दाशान्तिको मार्गमा आयो ।
भगुवा मन्त्री हरू कुनचाहिँ घारीमा लुके वा दूलोमा थाहा भएन । तर सत्ता र भत्ता अनि हतियार र मतियारबाट टाढा रहेर औडाहा भएपछि तिनको रात जागराममै जान लाग्यो । कसोकसो बिहान हुने बेलामा यस्सो झकाए । सपनामा उनीहरू समूह मिलेर जलेका दरबारहरू हेर्न गए । जब खण्डहर बनेको संसद भवन र देशको मुख्य कार्यालयमा पुगे तब ती सबै एक्कासी भकानिए ।
थचक्क भुइँमा बसे आँसु झारे अनि बर्बराउन थाले । उनीहरू भन्दैथिए- हेर संसद भवन अनि दरबार आज तिमीहरूको यस्तो गति भयो । यो देख्दा हाम्रो साह्रै चित्त दुखेको छ । किनभने तिमीहरूलाई पुन निर्माण गर्ने भनेर हामीले फेरि कुम्ल्याउन नपाउने भयौँ । हाम्रो लागेको बानी पनि तिमीहरूको आँगनमा राखिएका गाडी जस्तै खरानी भयो । अब हाम्रा बफादार झोले झाम्टे जुम्रे जगल्टे कौडे मुन्द्रेहरूका अगाडि हामीले कसरी मुख देखाउने !! हाम्रा विदेशी प्रभुहरूलाई के जवाफ दिने । अब न तिमीहरुको भित्रका कुर्सीमा बसेर कुशासन चलाउन, कुहिगन्धे कानून बहुमतको आधारमा जबर्जस्ती पारित गर्न पाइयो । हे दरबारहरू हो ! तिमीहरू त दुई तीन दिन आगोमा जल्यौ ठिकै भयो तर हामीलाई हेर त हामी त अब बाँकी रहेको जीवनभर जल्ने भयौँ ।
यस्तै रुवाबासी एकघण्टा गरेपछि उनीहरू बल्ल तल्ल उठे अनि आइपुगेको बेला चारैतिरको अवस्था हेरौं भनेर घुम्न थाले । दरबारहरूको पछाडि पटि रहेको झ्याङ्गमा एकदुई जना घाइते आन्दोलनकारी ऐया ऐया गर्दै रहेछन्। पछाडिको घारीमा लडेकाले तिनीहरू अस्पताल लगिनबाट छुटेका रहेछन् । त्यो देख्दा ती नेतालाई सहिनसक्नु भयो । उनीहरूको पारो तात्यो । अनि सबै नेताले सपनामै ती बिचरा घाइतेलाई कराए- हेर हेर यिनको बिजोग !! खुब आन्दोलन गरिखाने भाका । अझ ऐया रे ! यिनका नाटक पनि कति हो !?
हामीले त्यत्रा चिया बगान खायौँ, त्यत्रा ललिता निवास खायौँ, शरणार्थी बनाएर कति खायौँ, वाइडबडिमा खायौँ, कैयौँ सडक पुल आयोजना खायौँ । हामीले कहिल्यै ऐया बचाउ भनेनौँ । यी सड्कमा बल देखाउन आएका जाबो एउटा औँलोजत्रो गोली खाँदा ऐया ऐया ! लाजै मर्नु । त्यत्रा नदी खाँदा, त्यत्रा युवाहरू खाँदा, होलिवाइन खाँदा देशको प्रकृति खाँदा, धर्म खाँदा, संस्कृति खाँदा, कमिसन खाँदा, घुस खाँदा हामीले कहिल्यै ऐया आत्थु केही भनेनौँ । यिनीहरू यो ढुङ्गा पनि पचाउने उमेरमा जाबो एक दुई वटा गोली खानुपर्यो भनेर कहिँ नभाको ऐया र आत्थु ! हे विदेशी प्रभु ! के सुन्नु परेको यस्तो ।
अझ हामीजस्तो महान दयालु शासक त कुनै राष्ट्रिय निकुञ्जमा पनि पाइँदैन । हामीले त समृद्ध नेपाल सुखी नेपाली बनाउने प्रक्रियाको सत्य सेवा सुरक्षणम खण्डको कार्य अन्तर्गत गोली हान्न आदेश दिएका हौँ, त्यत्तिकै जथाभावी हो र ?! अझ त्यसमा पनि हाम्रा लागी संसारकै सर्वोत्कृष्ट संविधान र अत्यधिक गन्हाएको गणतन्त्र अनि सङ्घियता जसले अधर्म सापेक्षताको गहना लाएका छन्, ती सबैको आधारमा मच्चाएको गोलिकाण्ड हो यो । त्यत्तिकै बुझ्दै नबुझी ऐया ऐया गर्न पाइन्छ ? ….
एउटा संयोग के परेछ भने ती नेताहरूले सपनामा बोलेका यी कुरा बिपनामा सुनिने गरी बर्बराएछन् । जब कोहि कसैले यो बर्बराहट सुन्यो, उसले अल्लि परबाट केही सामुदायिक कुकुरहरू लखेटेर त्यहिँ नेताहरू सुतेको ठाउँमा ल्याएछ । ती नेताहरूको बोलीको सम्मानमा तिनका मुखैमा पर्ने गरि ती कुकुरहरूले खुट्टा उचाले तब ती नेताहरू झल्याँस्स बिउँझेन् ।
०००
२०८२ भदौ २७
चितवन ।
Subscribe
Login
0 Comments
Oldest




































