अरुणबहादुर खत्री ‘नदी’युगल बसेलकाे ‘छक्का’ पढेपछि
माले गाई शीर्षकभित्र पानी मिसाएको दूध दिइस् भने त मैले मान्ने छैन नि । अल्लि नरम हुँदै उसले शर्त राख्दछ । त्यसो भए दूध मिसाएको पानी दिउँला । मैले मनमनै भने । गाईको कारणले यस्तो सङ्कट झेल्नु परेकोमा म साह्रै क्रोधित थिएँ ।

रुणबहादुर खत्री ‘नदी’:
हास्यव्यङ्ग्यात्मक निबन्ध लेखनका क्षेत्रमा आफ्नो नाम चम्काइसकेका व्यक्तित्व हुन् युगल बसेल । यस विधाका अतिरिक्त कथा र कवितामा पनि उनले कलम चलाउदै आइरहेका छन् । उनका कथामा जन्मेका पात्र र हिँडिएका ठाउँ, प्रतिबिम्बित समय र त्यसलाई टिप्ने अकृत्रिम भाषा अनि शैलीले उनलाई धेरै प्रसिद्धि प्रदान गरेको छ । साहित्य लेखनको क्षेत्रमा कविताबाट नै प्रवेश गरेका बसेलले हाल पनि साहित्यका विविध विधालाई निरन्तरता दिइरहेका छन् । उनको छक्का नामक व्यङ्ग्य सङ्ग्रह २०७० सालमा प्रकाशित भएको छ । प्रस्तुत सङ्ग्रहमा सांसद फोन इन, माले गाई, चिकित्सकलाई निम्तो, नमस्कार महात्म्य, विद्यार्थीलाई नेता बनाउने शिक्षण संस्था लगायत विभिन्न शीर्षकका ७५ वटा हास्यव्यङ्ग्य राखिएका छन् । तिनमा वर्तमान दशकले ल्याएका परिस्थिति चित्र छन् ती परिस्थितिमा नेपाली मानसिकता कसरी प्रतिबिम्बित छ भन्ने कुरा प्रस्तुत गरिएको छ ।
सांसद फोन इन शीर्षकभित्र सांसदले विदेशमा श्रीमती सुत्केरी हुँदा सार्वजनिक पदधारी पतिले सुत्केरी खर्च पाउने चलन छ । तसर्थ पुरुषले सुत्केरी खर्च लिनु गलत होइन । अविवाहितले पनि सुत्केरी हुन वा गराउन नसक्ने होइन । हो, बाँझा सांसद्ले भने यो खर्च लिनुहँुदैन । लिएमा नाजायज ठहर्छ भनिएको छ ।
माले गाई शीर्षकभित्र पानी मिसाएको दूध दिइस् भने त मैले मान्ने छैन नि । अल्लि नरम हुँदै उसले शर्त राख्दछ । त्यसो भए दूध मिसाएको पानी दिउँला । मैले मनमनै भने । गाईको कारणले यस्तो सङ्कट झेल्नु परेकोमा म साह्रै क्रोधित थिएँ । लौरो भाँचिने गरी गाईको ढाड मस्काउने मन नभएको होइन तर गर्भ तुहिएला कि भन्ने डरले हान्न सकिनँ बसेलले लेखेका छन् ।
चिकित्सकलाई निम्तो शीर्षकभित्र नाइदर कोल्ड नर हट । कोल्ड ड्रिङ्क्समा मिसिएको रसायन, चिसो र गुलियोपनले दाँत र आँत दुबै बिगार्छ । आतङ्कवादले सामाजिक, आर्थिक दुबै दुरावस्था ल्याएजस्तै हट ड्रिङ्क्स यानि चिया र कफीमा मिसिएको निकोटिन र क्याफिनले चुनावी नेता र अपराधीको जस्तै नीद गुन गराउँछ भनिएको छ । नेपाली मानसिकताका विविध आयामहरु उनका व्यङ्ग्यहरुमा भेटिन्छन् । लाग्छ यो पुस्तक पढ्दा प्रत्येक नेपालीको आम, भोगाई छर्लङ्ग हुन्छन् ।
ख्याउटे भुँडीको चिन्ता शीर्षकभित्र सानैदेखि दिमागमा भुँडीको छाप परेकोले आफ्नो भुँडी बेलुनजस्तो फुलेको होस् भन्ने धोको मनमा राखिएको थियो । भुँडी फुलाएपछि जीवन सफल हुन्छ भन्ने मनमा लागिरहे पनि भुँडी फुलाउन भने सधैँ असफल भइयो । घरमा न जोईको भुँडी सप्रियो न पोईको भनेर लेखिएको छ । म हुँ तान्त्रिक नम्बर एक शीर्षकभित्र मकहाँ आउँन प्रथम श्रेणीका मान्छेमा नेता नै पर्छन् । निष्टदेखि अनिष्टसम्म र कमनिस्टदेखि सोसलिस्टसम्मका नेता आएको देख्दा भविष्यप्रति सबैभन्दा बढी संवदनशील यिनै रहेछन् भन्ने ठहर गरेको छु मैले भनिएको छ ।
मास्टरी पाउँदाको सम्झना शीर्षकभित्र बाल्यावस्थादेखि नै आमाले आशीर्वाद दिँदा सधैँ मास्टर भएस् बाबु भन्नुहुन्थ्यो । त्यसैकारणले गर्दा सानै उमेरमा मास्टर हन ममा सयौ मन हुटहुटी पैदा भएको थियो । जागिरदार हुन पाए कसैलाई कति नगनी, नगद नोट मात्रै गनिरहने थिएँ भन्ने इरादा मेरो उमेरसँगसँगै बढ्दै गइरहेको थियो भनिएको छ ।
गुरु र गोरु शीर्षकभित्र गुरुआज्ञा पालना नगरेर म आफूलाई गोरु बनाउँन चाहन्नथे । त्यसैले आज्ञा स्वीकारे र शीर्षक हेरेँ । गुरु र गोरु बीचको समानता भन्ने शोध शीर्षक पढेपछि मेरो टाउको चकरायो बसेलले लेखेका छन् । पूर्वमन्त्रीको हिजोको दैनिकी शीर्षकभित्र चिया सुर्काइरहेको बेला खबर सुन्नका लागि रेडियो खोलेँ । समाचारमा मेरो एकपटक पनि नाम आएन । मन्त्री भएको बेला मेरो नाम पुकारेर नथाक्ने रेडियोले आज मेरो नामै नलिदा मलाई रेडियो फुटाऊँजस्तो लाग्यो तर पार्टी फुटाउने बेलाको जस्तो जोस यतिबेला नआएकाले फुटाउनुभन्दा छुटाउनु बेस भनेर मैले बिजुलीको कनेक्सन छुटाइदिए भनेर बसेलले लेखेका छन् ।
नेपाली समाजको विभिन्न पक्ष र पाटाहरुलाई उदाङ्गो हुने गरी उधिन्ने कार्य भएको छ यस कृतिमा । समाजका विभिन्न क्षेत्रमा हुने असामाजिक चरित्र र क्रियाकलापप्रति हास्यको जलप लगाउँदै अन्त्यतः व्यङ्ग्यको कोर्रा लगाउन खप्पिस बसेलको कलम एक इमानदार नागरिकको समर्थ हतियारका रुपमा प्रस्तुत गरिएको छ । कहीँ मानव मनको सूक्ष्म विश्लेषण त कहीँ यथार्थको गहिराइ अभिव्यञ्जित व्यङ्ग्यहरुले सङ्ग्रहको वैशिष्ट्यतालाई मूर्त तुल्याएका छन् । छक्काभित्र रोचक, घोचक तर यथार्थपरक विषयवस्तु भएका रचनाहरु रहेका छन् । आगामी दिनमा यस्तै अन्य कृतिहरु पनि निस्केर हामीले पढ्न पाउने आशा राखेका छौं ।
लेखकः युगल बसेल
कृतिः छक्का (व्यङ्ग्य सङ्ग्रह)
प्रकाशकः उरोजा बसेल
संस्करणः वि.सं. २०७०
मूल्यः रु. ३००।–
पृष्ठः २६०
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































