रामकृष्ण ढकालमनुवाहरूको विवेक
ती त जङ्गलका सिंह बाघ स्याल भन्दा पनि महाधोखेबाज महाहत्यारा महाअपराधी हुन् । त्यसैले मनुवारुपका यी हिंश्रक दुईखुट्टे दानवकर्मी सबैले अब अरण्य हिंश्रक दलको सदस्यता लिनुपर्नेछ ।

रामकृष्ण ढकाल :
संसार नौरथाको रथमा सवार भएर गतिमान थियो । नौरथाका नौ दिनमध्ये छवटा दिनले यसपालिको ऋण बुझाएर आफ्नो बाटो लागुसकेका थिए । सातौं दिनमा जङ्गलछेउको चौरमा हालिएको रोंटे र लिङ्गे पिङकाे आडैबाट एउटा जुलुस आयो । जुलुसको नेतृत्व कर्ता बाघ थियो भने उसका पछिपछि चितुवा, ब्वाँसो, स्याल, आदि हिंस्रक जन्तुहरूको लामो लाइन थियो । दशैंमनाउन भनेर पिङमा रमाइरहेकाहरूको सातोपुग्लो सात कोष पर गयो । उनीहरू दौडिँदै आत्तिंदै रुँदै कराउँदै डराउँदै आआफ्नो ज्यान बचाउनतिर लागे ।
गाउँभरी हल्लाभयो जङ्गलका ज्यानमारा जन्तुहरू दशैं मनाउन जुलुसै बनाएर गाउँ नामको ठाउँतिर आइरहेका छन् भनेर । गाउँभरी हावा होइन डर भरियो । यस्तो जन्तुहरूको जुलुसै आएको त कहिल्यै सुनिएको थिएन, हैन आज के अचम्म सुन्नुपर्यो, शहरको दुर्गन्धे राजनीतिको लाजमर्दो रोग जङ्गलमा पनि सल्किएछ कि के हो ? कताबाट आउँदै छ रे ? पिङ तिरबाट !! ए लौन ! अब के गर्ने होला !! आफ्नो ज्यान जोगाउने कि गाई भैंसी बाख्राको ?! कस्तो बित्यास हो !! आदिआदि ध्वनिहरू गाउँभरी ब्याप्त भयो ।
गाउँलेहरू मध्ये बलिया बाङ्गाहरूले तत्कालै लाठा घोचा लौरा भाटा ढुङ्गा आदिसहित एउटा मनुवा जुलुस तयार पारे । यसो हेर्दा लाग्थ्यो मनुवाहरूको र हानुवाहरूको बिचमा छिट्टै घोर घमासान लडाइँ हुनेछ । तर त्यस्तो भएन । जन्तुहरूको जुलुस गाउँमा त आयो तर त्यो जुलुसका सहभागीले कोहि कसैलाई अनि कुनै पनि घरपालुवा पशुहरूलाई कुनै आक्रमण गरेनन् । बरू उनीहरूले मनुवाहरूलाई आग्रह गरे कि उनीहरू अरण्य हिंश्रक दलको संगठन विस्तारको कामले दलका सदस्यहरू एकैचोटि गाउँमा आएका हुन् । जङ्गली जुलुसका सदस्यहरूले भने अनुसार यो दशैंको पर्वमा उनीहरूको संगठन विस्तार कार्य सजिलो हुन्छ र यसरी सजिलो हुनुमा संसारकै सर्वश्रेष्ठ बुद्धिमान भनिएका मनुवाहरूको व्यवहार जिम्मेवार छ ।
जसको घरको आँगनमा अबोध निर्दोश सुन्दर पशु पन्छीका रगत झरेको छ, भुत्ला सिङ खुर प्वाँख नङ्ग्रा हाड आदि देखिन्छन तिनीहरू अरन्य हिंश्रक दलको सदस्य बन्न एकदम उपयुक्त छन् । संसार रूपले आकारले होइन व्यवहारले र विश्वासले चल्छ । जब गोठमा बाँधेर खान बस्न दिई औषधि उपचार गरि काखमा खेलाइ पाल्नेको आवरणमा गर्धनमा खुकुरी खुँडा प्रहार हुन्छ भने त्यहाँ व्यवहार र विश्वास कहाँ बाँकी रह्यो । अनि जसले बुद्धिमान प्राणिको मुकुण्डोभित्र रहेर जङ्गलका बाघ भालु चितुवा सर्प स्याल ब्वाँसो भन्दा झन कता हो कता बढी महाजङ्गली महाहिंश्रक महाक्रूर भए ।
त्यसकारण यहि दशैंको मौकामा गाउँका सबैको आँगनको र त्यस वरपको दृश्य अनि घरभित्रक गन्धको आधारमा बानी ब्यहोरा छुट्ट्याइ अरण्य हिंश्रक दलको सदस्यता वितरण कार्यक्रम गर्न जङ्गलबाट यो जुलुस गाउँमा आएको हो । जनावरको जुलुसकोतर्फबाट गाउँ भ्रमणको उद्देश्यका सम्बन्धमा स्पष्टीकरण आयो ।
मानव हौं भन्ने , अनेक ज्ञानङुनका धर्मकर्मका बिज्ञानका उन्नतिका बिकाशका यन्त्रका यानका लाखौं नौटङ्की गफ लगाउने तर बिज्ञनले व्याख्या गरेको ढुङ्गे युगको शिकारी सिनो आहारी कुकर्मको नालीबाट निस्केर धान खेतका आलितिर, बुद्धका पालितिर, लाग्न नजानेका नसकेका निर्दोष पशुपन्छीलाई बलि भाकल पौष्टिकता आदिको अन्धविश्वासि अचानोमा राखेर गिँड्नेहरू यो व्यवहार ले कहिल्यै मानव हुँदैनन । ती त जङ्गलका सिंह बाघ स्याल भन्दा पनि महाधोखेबाज महाहत्यारा महाअपराधी हुन् । त्यसैले मनुवारुपका यी हिंश्रक दुईखुट्टे दानवकर्मी सबैले अब अरण्य हिंश्रक दलको सदस्यता लिनुपर्नेछ ।
जब जनावरहरूले यति बुझाए तब मनुवाहरूको अनुहार हेर्न लायक भयो । उनीहरू रुझेको बिरालोजस्तै मुद्रामा आफ्नो आफ्नो घरतिर लागे । जनावरहरूले त्यति कुरा गर्दा पनि मनुवाहरूको अनुहारमा आफ्नै कार्य व्यवहारप्रति पश्चात्ताप भाव देखिएन । सुध्रने सल्लाह गरेको देखिएन । धन्य रहेछ महाबुद्धिमानी मानवहरूको विवेक !?
०००
२०८२ असोज १३
चितवन।
Subscribe
Login
0 Comments
Oldest




































