रामकृष्ण ढकालदल, मादल र बादल
सकारात्मक पक्ष भनेको हामीले जतन गर्नुपर्ने, जोगाउनु पर्ने हो त्यसलाई चलाउने होइन बरू बढाउने हो सकेदेखि । अनि नकारात्मक पक्षलाई चाहिँ सकेसम्म चिथोर्ने कोपर्ने टोक्ने ठोक्ने रोक्ने उधार्ने भत्काउने...

रामकृष्ण ढकाल :
खै कता हो सुनिएको थियो जस्तो नाम उस्तै काम । हुन त यो भनाई कतै कतै मात्र मिल्न जाने हो । कतिपय स्थानमा अवस्थामा यो भनाइले उत्तानो टाङ लगाएको पनि भेटिन्छ । हाम्रो देशको केही दशकहरूको भोगाई र बयासीसाले असोजको झरिबादल भने त्यही भनाइको साख्खै मीत पर्न आए । शायद विश्वकै महाअभागी सूचकाङ्क निकाल्ने हो भने सर्वप्रथम हुनेमा हामीहरू नै पर्छौं होला । संस्कृतमा एउटा निकै प्रचलित श्लोक छ — उष्णो दहती चाङ्गार शीत कृष्णायते करम । अर्थात आगोको तातो कोइलोले छोइयो भने पोल्छ र यो सेलाएर चिसो अर्थात अङ्गार भएपछि छोए पनि हातलाई कालो पार्छ । तातोमा होस् कि चिसोमा कुनै न कुनै तरिकाले नराम्रै गर्छ । हाम्रो देशको इतिहास पनि दुर्भाग्यवश यस्तै बन्यो ।
अस्तिको राणाकाल, हिजोको पञ्चायतकाल आजको बहुदलीय वा गणतन्त्रकाल भएभरका सबै हाम्रा लागि महाकाल । दल नामका दलेहरू हुँदा होस् कि नहुँदा होस् उहीँ आगोको कोइलाको कुरो जस्तो नै भयो । नेताको मनमा गुञ्जने एउटा गीत- दल खोलेको जनतालाई दल्न हो, विदेश गाको उतै पाउ मल्न हो । कुनै बेला सिर्जनाको रूपमा फुरेको यो गीतले भने जस्तै दलहरूले दल शब्दलाई नाम होइन कृयापदको रूपमा मात्र व्यवहारमा उतारे ।
दलको दलाइ नै अतिसार भएपछि भदौरे आन्दोलन जन्मियो अनि तानाशाही सत्ता घाटपटिको यात्रामा अन्मियो । यो अवस्थासम्म आइपुग्दा देशले आफ्नो सभ्यतामै नराम्रो असर पर्नेगरी धक्का मुक्का, रुखा, सुख्खा, दुख खायो पायो । धर्ती रोयो जनलोक रोयो ।
अहिले आएर हिजो आज आकाशमा आएको बादलले पनि दलकै जस्तो हर्कत देखायो । राजधानीलाई सबैतिरबाट नाकाबन्दी गर्यो । त्यो बादल पानीको रुपमा धर्तिमा झर्नुसम्म झर्यो अनि हामीलाई दिनसम्म दुख दिने काम गर्यो । गहिरो ठाउँतिर डाँडापाखाका केही खण्डको ओइरो झर्नु नै पहिरो हो क्यारे । यो परिभाषा हाम्रो देशको धेरै स्थानमा कार्यान्वित भयो । कैयौंको सातो गयो । केहिको सास गयो । कतै कतै बास गयो । अनि कतै आस गयो । पृथ्वी राजमार्ग सबैभन्दा पीडित राजमार्ग भयो । अल्लि सुरक्षित जस्तो ठाउँमा यात्रुहरूको यात्राको जात्रा भयो ।
अब हाम्रो देशमा राजनीतिक दल मात्र होइन मादल बादल सबै समाज र सभ्यताको बिरोधी भए । फेरि यस्तो लेख्दा भन्दा कोहिकसैले मेरै विरुद्धको धन्दा पनि शुरु गर्न सक्छन् । कुरो को चुरो कहिले बुझ्छ र भुरो चाहिँ नहोस् । मादल बन्नका लागि कुनै न कुनै जीवजन्तुको ज्यान जानुपर्यो नत्र छाला नामको टाला बन्दैन । नामै त मृत * अङ्ग = मृदङ्ग (संस्कृत भाषाबाट ) अनि त्यो सभ्यता बिरोधी भएन त ? अबको पालो आकाशको बादल कहिले सेतो कहिले कालोको ।
बादलले पानी पोखेपछि धर्तिको हालत वर्षैपिच्छेको बाडी पहिरो भू-क्षय आदिले गरेको ताण्डव हाम्रा अगाडि छर्लङ्ग छँदैछ । त्यसैले दल भन्ने टुक्रो जोडिएको भएपछि सबै अफापसिद्ध नै हुन्छन् कि जस्तो लाग्यो । यति गन्थन गर्दा यसको आँखामा के रोगले ढोग गरेको रह्व्छ कुन्नी ? सकारात्मक पक्ष नामको अमूर्त जन्तु राजनीतिक दलमा कत्ति पनि नभए पनि मादल र बादलमा त छन् नि !! त्यो चाहिँ किन नदेखेको ? भन्ने होला ।सकारात्मक पक्ष भनेको हामीले जतन गर्नुपर्ने, जोगाउनु पर्ने हो त्यसलाई चलाउने होइन बरू बढाउने हो सकेदेखि । अनि नकारात्मक पक्षलाई चाहिँ सकेसम्म चिथोर्ने कोपर्ने टोक्ने ठोक्ने रोक्ने उधार्ने भत्काउने मिल्काउने हो ।
त्यसैले यो बर्खाको मुग्लिन नारायणगढको पहिरो जस्तै गरि यो नकारात्मक पक्षको खोइरो खनेको । दलले मात्र सताएर अत्त्याएर गरेको जिन्दगीमा बादलले पनि यातना सास्ती थपेको र अघोषित तरिकाले दलकै पक्षमा र हाम्रो विपक्षमा उभिएर- जहाँ कान्ला कान्लामा पहिरोको त्राश छ, जहाँ बाटोघाटोमा महाकालको बास छ, त्यही हो मेरो देश त्यही हो मेरो देश भनेर गीत गाउन बाध्य बनायो । डाँडापाखाका ढुङ्गालाई झोले बनायो । पानीलाई विश्वकै उत्कृष्ट नीतिनियम कानून बनायो अनि हामीहरूको सके पाए औतारको पाटोमा नसके यात्रा गर्ने बाटोमा खन्यायो । यस्तै हर्कतले दल मादल र बादललाई उस्तै उस्तै बनायो ।
०००
२०८२ असोज १९
चितवन ।
Subscribe
Login
0 Comments
Oldest




































