साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महान् महासम्मिलन

अब संसद पुनर्स्थापना हुन्छ । म एक महिनालाई बनौँला । चुनाव तपाईँले हाँक्नुस् । चुनाव हाँक्दा छैटौँ हुन्छ । चुनावपछि सय दिन बनेर छाडिदिनुहोस् । तपाईँको पण्डित भाइरल भइहाल्छ । अनि हामी माहिलो र कान्छो सल्लाह गर्नेछौँ ।

Nepal Telecom ad

ईरानराई :

नौ ग्रहबाट घटेर आठ ग्रह मात्र रहेको सौर्य परिवारको मङ्गल ग्रहका सबैभन्दा ठुला त्रय राजनैतिक दलका प्रमुखहरुमाथि बुढो मात्र होइन, वृद्ध भएर पनि प्रमुख नेतृत्व हस्तान्तरण नगरेको आरोप दिन दुई गुणा, रात चौगुणा भएपछि उनीहरु नैतिक दबाबका कारण रातभरि सुत्न र दिनभरि झुल्न पाएनन् । के गरेर दबाब र विरोधको खड्गो काट्ने भनेर तीन जनाको मात्र महान् महासम्मिलनको आयोजना गर्ने सल्लाह गरे ।

“म त नेपालीहरुको सरदर आयु त्रिहत्तर पुगेँ साथी हो । त्यही कारणले मानसरोबर पनि देखिने, छलफल पनि एकान्तको उच्च भूमिमा गर्न पाइने भएकोले महान् महासम्मिलन कैलाशमा गरौँ भनेर प्रस्ताव गर्दछु । यसमा धेरै विवाद नगरौँ । बरू खाना, खाजा र आवासको प्रबन्ध गर्ने जिम्मा म लिन्छु ।” एक नेताले कुरा कोट्याएर अरु दुई नेताहरुको मुखमा एक पटक हेर्दै बैठक–पुस्तिकामा सहमति–निर्णय लेख्न तयार भयो ।

“मने, तपाईँ हतार नगर्नु न कमरेड । तपाईँ जहिल्यै पेल्नुहुन्छ । दाइ नबोली मैले सहमति गर्न सक्दिनँ । भोजन र बैठानको प्रबन्ध गर्छु त भन्नुभयो तर म विश्वास गर्दिनँ । धेरै पटक मलाई अभर पार्नुभयो । दाइले मान्नुभयो भने मानौँला । तर उक्त महान् महासम्मिलन हामी उमेरले मात्र होइन, विचारले शिखर पुगेर अर्थशास्त्रको ह्रासको नियमजस्तै वैचारिक र व्यवहारिक रुपमा पनि ह्रास–कट्टीमा परिएका ज्येष्ठहरुले कैलाशको चिसो खप्न सक्छौँ जस्तो लाग्दैन । त्यसर्थ हाम्रो महान् महासम्मिलन कुतुब मिनारमा गरौँ । तपाईँले भने जस्तै अग्लो टावर पनि हो । फेरि टावर भनेपछि तपाईँलाई पनि मन पर्ने भयो । खाने, बस्ने र जाने व्यवस्था म गर्नेछु । तपाईँहरुलाई त्यहाँ नरिवलकै भाँडामा बनाइएका नरिवलकै भात, नरिवलकै खिर, नरिवलकै तेलमा पकाइएका नरिवलकै तरकारी, नरिवलकै अचार, नरिवलकै पानी, नरिवलकै दुध र क्रिम, नरिवलकै पापड, नरिवलकै मिठाइ खुवाउनेछु ।” ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता पाउन लागेको कुमरेड नेताले बेलिविस्तार लगायो ।

“के भनेलाई, तिमी दुईको कुराले मलाई दिक्क लाग्यो । यत्रो महान् महासम्मिलन नजिकमा गर्ने नै होइन, विरोधी र ठिटाहरुले चाल पाउनेछन् । तसर्थ, म्याकिन्ली शिखरमा गर्नु पर्दछ ।  यो माहिलो भाइले भनेको ६,६३८ मिटर अग्लो कैलाश जति उचाइमा पनि छैन र कान्छो भाइले भने जस्तो बुढेसकालमा करिब ७३ मिटर उँचो ठाउँमा पुग्न ३७९ ओटा भर्‍याङका खुड्किलाहरु चढ्नु पनि पर्दैन । म्याकिन्लीलाई डेनाली शिखर पनि भनिन्छ । हेलिमा सिधै जाने, खाने, बस्ने र घुम्ने; सबै जिम्मा मेरो भयो ।” एक कम चार कोरी पुगेका जेठो नेताले लगभग अन्तिम निर्णय नै सुनायो ।

तीन नेताका तीनतिरका कुराले तीनै जना तीनछक्क परे र आफ्‌नो कुरा पारित गराउन नसकेकोमा तीनचित्त खाए ।
अन्तिममा कथित् महान् महासम्मिलन नेपालकै कुनै सैनिक अड्डाछेउतिर गरे ।

“आफैँले तह नघाएर स्वाट्टै माथि तानेको केटाबाट हैरान भइसकेँ । मने, केटोलाई फकाउँदा पनि फकिँदैन, तर्साउँदा पनि तर्सिँदैन, कराउँदा पनि टेर्दैन ।” कान्छोले दिक्दारी प्रस्तुत गर्‍यो ।

“हामीबाट चुँडेर लानुभा’काहरु छन् त । तिनीहरुसँग एकीकरण भनिदिनुहोस्, र ठिटोलाई अल्प मतमा मात्र होइन, झिनो मतमा झारिदिनुहोस् । तपाईँलाई त सजिलै देख्छु म ता ।” माहिलोले सजिलो उपाय कान्छोलाई सुझायो । “तर मलाई पो आफ्‌नै मान्छेले अप्ठ्यारोमा पारिन् । पहिला आफैँले हुर्काएको, बढाएको, पढाएको हुनाले यो हदसम्म आउँदिनन् होला भनेर, कम वास्ता गरेँ । अहिले त तपाईँजस्ताको सङ्गत र उक्साहटले बोलीनसक्नुकी भइसकिछन् । बराबरी शक्ति आर्जन गरिसकिन् भन्छन्, तर मैले पत्याएको छुइनँ । उनीसँग डराउँदिनँ पनि, उनीलाई टेर्दिनँ पनि र उनीबाट भाग्दिनँ पनि ।”

“हेर माहिला, धेरै बकबक नगर । कति धेरै बोल्छौ हँ ? म बोल्दिनँ, र पाे सबैभन्दा ठुलो पार्टी बनाएको छु । त्यसैले ठिक्क बोल । तिमी ढुक्क होऊ न । संसारको सबैभन्दा वैभवशाली, शिक्षित अमेरिकामा त दुई दुई पटक राष्ट्रपति पदका महिला उम्मेदवारहरुलाई जनताले हराइदिए । हाम्रा मुलुकमा पनि बम्फाजी र बञ्जिताजी राजनैतिक दलका अध्यक्ष बने तर चल्न/चलाउन सकेनन् । यी उदाहरणहरुले तिमीसँग भिडिन् भने पनि, उनी हार्छिन् र तिमीले नै जित्छौ ।” जेठाले कडा रुपमा सुझाव दियो ।

“अनि कान्छा, तिमी पनि धेरै लप्पनछप्पन नगर । अब सानातिना वामपन्थी दलहरुलाई मिलाऊ, र तिम्रो विपक्षमा जान सक्ने केही शक्ति भएका नेताहरुलाई मपछि तिमी नै हौ भनिदेऊ न । पर्खिन्छन् नि । नपर्खिए, भाग्छन् । भागे भने भगुवाहरुलाई के भनेर गाली गर्ने, अझै धेरै टाढो कसरी खेदाउने भन्ने ज्ञान र कला मसँग भन्दा तिमीसँगै बढी छ । खास समस्याचाहिँ मलाई छ । गाली त खाइरहिएकै थियो, अनाहकमा कुटाइ पनि खाइयो । भौतिक कारबाही पहिलो पटक पाएको होइन । तिमी दुई भाइले पनि सजाए चाखेकै छौ । त्यता मेरो खासै चिन्ता छैन । एकोहोरो लागेर नेतृत्व हस्तान्तरण भन्छन् । तीन पटक भन्दा राणा भन्छन् भनेर पाँच पुर्‍याएँ । पाँच भन्दा पञ्च भन्छन् भन्ने पिरलो छ । मलाई त पाँचले पनि पुग्यो । घाम र पर्वतपुत्रभन्दा कम भइनँ तर म तिमी दुई जस्तो धर्म नमान्ने नास्तिक होइन, आस्तिक हुँ । मेरो कारणले त्यो बिचरो पण्डित बदनाम हुने भयो । त्यस पुरोहितमाथि दया र चिन्ता छ । पुछारको पुस्ताले मुखमा आइसकेको ‘छैटौँ पटक’ खुस्काइदिए । अनि पार्टीभित्रका भुसुनाहरुचाहिँ अहिले नै नेतृत्व हस्तान्तरण गर् भनेर बहुलाइसके । नेतृत्व हस्तान्तरण शब्दावली धेरै सुन्न नसकेर हिजोआज त कोठामै बस्छु, तान्छु, पिउँछु र निदाउँछु ।”

“मलाईभन्दा तपाईँलाई बढी सजिलो छ लोभको जालमा फसाउँन । शिखर र आकाशलाई बेग्लाबेग्लै भेटेर अबको दल‘पति’ तपाईँ नै हो भनिदिनुहोस् । पृथ्वीप्रकाश त पति बन्ने मनस्थितिमा छैन होला ।” कान्छोले जेठोलाई काइदाको उपाय दियो ।

“अब संसद पुनर्स्थापना हुन्छ । म एक महिनालाई बनौँला । चुनाव तपाईँले हाँक्नुस् । चुनाव हाँक्दा छैटौँ हुन्छ । चुनावपछि सय दिन बनेर छाडिदिनुहोस् । तपाईँको पण्डित भाइरल भइहाल्छ । अनि हामी माहिलो र कान्छो सल्लाह गर्नेछौँ । तर हामी तीनचाहिँ आगामी अवधिसम्म छुट्टिनु भएन है दाइ ।” माहिलोले गज्जबको विचार पोख्यो । यो प्रस्तावले जेठो र कान्छो दुवै उज्याला भए । “हाम्रो कान्छो अलिक ध्वंसवादी छ । छेरूवा पनि छ । सांसद भएन वा सरकारमा भएन भने, कान्छो हेगको यात्रा हुन्छ भनेर डराइरहन्छ । हेर कान्छा, तिमी धेरै नडराऊ, हामी छौँ । घरको मुली जेठो दाइ हुनुहुन्छ । उहाँले मिलाउनुहुन्छ तर धेरै नउम्ल पनि । दाइले पनि ‘पटक’ पुर्‍याउने तर ‘अवधि’ नपुर्‍याउने है दाइ !”

“के भनेलाई, मलाई अवधि पनि चाहिएन, आजीवन पनि चाहिएन । मैले त्यो खोजेकै छैन तर पटकचाहिँ चाहिन्छ चाहिन्छ । अघि भनेँ नि, राणा नै ठहरिएर ससुरालीतिर लाग्यो भन्ने आरोपबाट बँच्न तीनबाट पाँचसम्म पुगेँ । पाँचमै अड्किँदा त, पञ्चे भइने । पञ्चे हुँदा सासूतिर लाग्यो भन्ने अर्को आरोप लाग्ने । त्यसैले नेपालको सात प्रदेशजस्तो राष्ट्रवादी, सप्तऋषिजस्ता साधु, सात महादेशजस्तो विश्वस्तरको कीर्तिमान र सात समुद्रजस्तो विशाल इतिहास राखेर अग्निदाह गर्ने संकल्प गरेको छु । तिमी दुईले यसमा भाँजो हाल्ने होइन नि । मानेनौ भने, मेरो पनि टाढाको भए पनि नातेदार दाइ हुनुहुन्छ । उनलाई बोलाएर पाता कसेर भकुर्छु नि । के भनेलाई, मेरो शेषपछि तिमी दुईले मिलेर आलोपालो गरेर गरिखानू ।” जेठोले माहिलो र कान्छोतिर आँखा गाडेर हेर्‍यो । दुवै जनाले मुख मिठ्याए ।

“आ–आफ्‌नो दलमा चाहिँ तत्काललाई कसरी नेतृत्व हस्तान्तरणको दबाब टार्ने नि ?” कान्छो एक्कासि चिन्तित बन्यो ।
“कि, जिल्ला प्रसासन कार्यालयबाट निदाएको, खाएको, डुलेको जस्ता फोकटिया समयलाई कटाएर नागरिकतामा हाम्रो उमेर घटाउन लगाऊँ; नत्र तथ्याङ्क विभागबाट नेपालीहरुको सरदर आयु ७३ बाट बढाएर सुनसरी, दुहबीका वीरनारायण माझी चौधरीको उमेरझैँ १४१ वर्ष बनाउन लगाऊँ । त्यसो गरियो भने हामी अधबैँसे नै ठहरिन्छौँ । उमेरका आधारले नेतृत्व हस्तान्तरणको मुद्दा नै चट् ।” माहिलोले बौद्धिक तर्क पेस गर्‍यो ।

जेठो हौसियो – “पहिलो उपायमा दुईटा नागरिकता हुन्छ कि माहिला, तिम्रो जस्तै । माता होइन, पिता दुर्गा पनि छ भन्ने बिर्सिनु भएन । के भनेलाई, त्यस कारण दोस्रो उपायचाहिँ ठिक : औसत आयु नै बढाउन लगाऊँ ।”

“सर्वोत्कृष्ट निचोडसहित बडो स्वादिलो बसाइ भयो । हाम्रो महान् महासम्मिलन सफल भयो । हामी आ–आफैँलाई हार्दिक बधाई तथा सफल कार्यान्वयनका लागि मङ्गलमय शुभकामना !” जेठाेले मुस्कुराउँदै महान महासम्मिलन टुङ्ग्याे ।

०००
बेलबारी नपा–०१, मोरङ, नेपाल
२०८२/०७/१९ गते बुधवार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x