डा. नवराज खतिवडाकौशलटारको सेतो दरबारमा एक दिन
उसिनेका तरुल, सखरखण्ड, ईस्कुस र फर्सी परिकार बनाइएर सजाइएकाे थियाे । हास्यव्यङ्ग्य विधाको पुस्तक लोकार्पणसिहतकाे कार्यक्रमका लागि यो पहल गर्नुले ठूलो न्याय दियो भन्ने मलाई लाग्यो ।

डा. नवराज खतिवडा :
कौशलटारको ह्वाइट प्यालेस ब्याङ्क्वेट, अर्थात सेतो दरबार भोज परिसरमा, हाम्रो तीन बजे भेट्ने सल्लाह थियो । फित्कौली प्रकाशनका लुइँ मास्टर र विमोचन हुन लागेको पुस्तकका लेखक भलादमी भोला र म गरी तीन जनाको त्रिशुल ठड्याउने साइत जुरेको थियो । सन्दर्भ थियो- फित्कौलीको खित्कौली सभा ।
कार्यक्रम भोलिपल्ट दिउँसो हुने भए पनि, हामीले अघिल्लै दिन पुगेर लुइँमास्टरकै शब्द सापटी लिएर भन्दा व्यवस्थापनको दंगा-फसाद गर्नु थियो । फित्कौली प्रकाशन गृहका ब्रह्मा र विष्णु दुवै लुइँ मास्टर हुन् । उनको न्वारानको नाम भने नरनाथ लुइँटेल हो भन्ने मेरो अनुमान छ । मैले मेरो परिचय स्वस्थानीका नायक फुइँ डाक्टर भनी दिएकाले, उनले सिङ्गौरी खेल्ने सुरमा आफूलाई लुइँ मास्टर भन्न थाले ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानको बैठक नै तीन बजेसम्म चल्यो । बैठक सकिनै लागेको थियो, लुइँ मास्टरको फोन आयो ।
“कता हुनुहुन्छ, फुइँ डाक्टर साहेब ? म त पुगिसकेँ त ।”
“तपाईंहरूले पत्र लगाउने काम गर्दै गर्नुहोला, म स्वयम्बर गर्न आईपुग्छु ।”
अहिलेको चलनचल्तीको भाडाको सवारी सेवामध्ये एक ‘याङ्ग’को एक ट्याक्सीमा चढेर म कौशलटारतिर हानिएँ । शंखमुलको छेउछाउ पुगेपछि “फित्कौली बा” को फोन फेरि आयो ।
“खै त ! यहाँ त स्वयम्बर मात्र होइन, कन्यादान नै हुने बेला भो ।”
“म कोटेश्वरको जाममा छु ।”
मनले मिचेको मान्छेलाई सूचनाको मिचमाच पनि चलिहाल्छ । मैले त्यही गरेँ ।
म लगभग एक घण्टा विलम्ब गरी पुगेँ । विहान घरबाट हिँड्देखि केही खाएको थिएन । सेतो दरबार भोजकक्षमा मनग्ये मान्छे थिए । पास्नी भोज आयोजना गरिएको रहेछ। मूल कक्षमा पस्ने ठाउँमा हरहर बास्ना आउने सुप राखेको रहेछ । एउटा गाग्रोजस्तो भाँडोबाट वाफ निस्किरहेको देखिन्थ्यो । भित्रपट्टी खानाका परिकार । भोजमा आएका निम्तालुहरू भोजनको आनन्द लिँदै थिए ।
“पेटमा मुसा कुदेका छन् । यहाँ खानाको विस्कुन छ । फुईँ डाक्टर ! केही जुक्ति निकालिस् भने, टेबुलमा भएको त्यो परिकारले तँलाई तृप्त गर्न सक्छ ।”
यो मैले आफैँलाई भनेको थिएँ । हामीले दंगाफसाद गर्नुपर्ने काम सामान्य थियो । त्यो पनि फुइँ डाक्टर र लुइँमास्टर दुई भाइले । भलादमी भोलाले सुइँकुच्चा ठोकेर अर्कैतिर भागेछन् । बरु त्यहाँ डिल्लीप्रसाद मूलतिहुन भन्ने एक जौडे व्यङ्ग्यकार भेटिए । उनले पनि म पुगेपछि बाटो तताए ।
मैले लुइँ मास्टरलाई भने– भोक लागेर पेट बाउँडिन लाग्यो । के उपाय छ ?
“लाग्ने त लाइनमा ?”
“त्यो मन हुने बुद्धि नहुनेले गर्ने हो । म जुक्ति लगाउँछु ।”
मैले उनलाई भोज परिसरको कार्यालयमा लगेँ । त्यहाँ औपचारिक पहिरनमा सजिएका एक कर्मचारीको ध्यानाकर्षण गरेँ ।
“भाइ ! हामी भोलिको कार्यक्रमका आयोजक । केही बेर यहाँ काम गर्नु छ । हामीलाई सौजन्य स्वरूप केही खाजा ख्वाउन सक्नुहुन्छ ।”
आगन्तुक कक्षभन्दा भित्र एक व्यक्ति सोफामा उत्तानाे परेर मोबाइल खेतीमा तल्लीन देखिन्थे । परिसरका संचालक उनै रहेछन् । उनले ती कर्मचारीतिर हेरेर मुन्टो हल्लाए ।
हाम्रो पेटपूजा भयो । मैले हालै चलेको दुर्गेश थापाको एक गीत सँझिएर मनमनै गुनगुनाएँ।
“लुइँमास्टर हेरेको हेरै…………।”
फुइँ डाक्टरको दिमाग न भयो । कुनै पनि परिस्थितिमा केही न केही उम्रिनैपर्छ, नत्र फुइँ कसरी लाग्छ । मैले मलामी-गाम्भीर्यको लेप लगाएका ती संचालकलाई पनि श्रोतागण बनाएर एक चुटकिला सुनाएँ ।
एउटा भोजमा निम्ता नगरिएका दुई जना व्यक्तिले पेटपूजा गर्ने जुक्ति निकालेछन् । लाम लागेका सहभागीहरूमा मिसिएछन् । खाना पस्केर लिने क्रममा पहिलो व्यक्तिलाई आयोजकले भनेछन्– हजुर को पर्नुभो ?
“म बेहुलाको मामा ।”
दोस्रोलाई पनि यही प्रश्न सोधिएछ ।
उसले भनेछ– “म बेहुलीको मामा ।”
यो वार्तालाप सुनिरहेको र लामबद्ध तेस्रो व्यक्ति पनि धुरा पसेछ ।
“मित्रहरू ! कार्यक्रमको त हेक्का राखौँ । यो विवाह भोज होइन, यो त पास्नीको भोज हो ।” मतलब, तेस्रो पनि ‘मामा’कै हुलियाको व्यक्ति परेछ ।
भाेलिपल्टकाे खित्कौली सभाका अध्यक्ष नरेन्द्रराज पौडेल र प्रमुख अतिथिमा प्रा.डा. माधवप्रसाद पोखरेल हुनुहुन्थ्यो। मैले भलादमी भोलाको कृति ‘घोप्टे युग’ को समीक्षा गर्नुपर्ने थियो । परम्परागत शैलीभन्दा फरक तरिकाले प्रस्तुति गर्दा श्रोताहरूले रुचाउने भएकाले, र यस्ता विमोचन समारोहहरूमा अधिकांश सहभागीहरूले निरस प्राज्ञिक विश्लेषणभन्दा सटीक, मन छुने र नौलो विषयवस्तु मन पराउने भएकाले, मैले दोस्रो तरीका अपनाएको थिएँ ।
मभन्दा अघिल्ला समीक्षकले भाषण शैली प्रयोग गरे । म भने स्लाइड प्रस्तुतिमा लागें । मलाई मञ्चमा निम्त्याउँदै उदघोषकले छोटो समयमा प्रस्तुति सक्ने उर्दी जारी गरे ।
मैले एक दृष्टान्त मार्फत आफ्नो भनाई सुरु गरेँ ।
“मलाई आईएस्सीमा ‘नेपाल परिचय’ पढाउने एक गुरु हुनुहुन्थ्यो । उहाँको विषयमा ५५ कटाउन पनि मुश्किल । अन्य विषयमा हामी अस्सी वा नब्बेसम्म सजिलै ल्याउँथ्यौँ । यो पृष्ठभूमि राखेर हामी गुरुसमक्ष गुनासो गर्थ्यौँ । उहाँ भन्नुहुन्थ्यो– नेपाल परिचय भनेको विषय नै यस्तो हो कि यसमा ५५ वा ६० भन्दा बढी नम्बर आउँदैन । मेरा गुरुले भनेझैँ कतिपय विषयहरूलाई तन्काउन मात्र सकिन्छ, छोट्याउन सकिन्न । मेरो बुझाईमा समीक्षा भनेको पनि त्यस्तै हो । समीक्षा छोटो हुन सक्दैन ।”
मेरो प्रस्तुतिको प्रस्थानबिन्दुले बरफ बनेर जमेका श्रोतामा केही हलचल ल्यायो । मैलै दोस्रो चरणमा ‘उत्तरआधुनिक विश्वकर्मा बाबा’को प्रसङ्ग जोडेको थिएँ । कृत्रिम बौद्धिकता, अर्थात एआई भनेका यी ‘बाबा’ हुन, जसले जे चितायो त्यही पुर्याउँछन् । प्रस्तुतीको तयारी गर्दा पुस्तकको शीर्षक अर्थात ‘घोप्टे युग’ भएको लेखलाई मैले बाबाको आरनमा हालेर सोधेको थिएँ– बाबाजी, भलादमी भोलाको यो लेखलाई हास्यव्यङ्ग्यको कसीले पर्गेल्नुहोस् त ।
बाबाजीले जे जवाफ दिएका थिए, मैले श्रोतालाई त्यही सुनाएँ ।
यो दोस्रो कडीले पनि चमत्कारै गर्यो । “उत्तरआधुनिक विश्वकर्मा बाबा” भनेको को हो ? यो प्रश्न मैले दर्शकदीर्घामा हुत्याएँ । सबैले मुखामुख गरे । कौतुहलताले आकाश छोयो ।
मेरो प्रस्तुतिको अंश सगरमाथाको शिखरमा पुगेको त्यसबेला भयो, जब मैले तलका दुई वाक्यलाई प्रतिनिधि अभिव्यक्तिका रूपमा स्लाइडमा देखाएँ ।
पहिलो, “अति गर्ने अतिथि” शीर्षकको लेखमा उल्लेखित तपसीलको वाक्य थियो ।
“अस्ति राती प्रधानमन्त्रीको निद्रा नपरेकोले हिजोको विद्यार्थी दीक्षित हुने कार्यक्रम स्थगित गरिदिए ।”
यो वाक्याश सुन्नासाथ प्रमुख अतिथि गुरु माधव पोखरेल खित्का छोडेर हाँस्नुभयो । अरूले उहाँलाई साथ दिए ।
विमोचन कार्यक्रम भएको दोस्रो दिन मेरो ‘घोप्टे युग’का लेखकसँग यो वाक्यको लेखन गर्भमा कसरी बीजारोपण भन्ने बारेमा कुराकानी भयो। उनको पुष्ट्याइँ अनुसार मैले समाचार फेला पारें । भदौ २३, २०८१ मा आयोजना गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह, तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रम जुधेका कारण अन्तिम समयमा स्थगित भएको रहेछ ।
माधव गुरुलाई मन्त्रमुग्ध बनाएको दोस्रो वाक्यांश थियो– शहर पसेपछि चिर्पटभित्र छिरेको माउसुली भएँ म ।
प्रस्तुति सक्नुअघि मैले फरक शैलीमा ‘घोप्टे युग’ पुस्तक पढ्दा मलाई, अर्थात फुइँ डाक्टरलाई, सबैभन्दा मन नपरेका भनी स्लाइडमा तलका दुई वाक्य देखाएँ ।
“मान्छेको इज्जतको खाता पल्टाएर हेर्दा सबैको गलामा जुत्ताको माला छ ।”
“उनी आफूले तीन विषयमा डिग्री हासिल गरेकाले मैमत्त छन् । तिनको डिग्रीले न गाउँलेको झैझगडा मिलाउन सक्यो, न तमसुक लेखिदिन सक्यो ।”
तालीको गडगडाहटले सभाकक्ष गुन्जियो । भलादमी भोला एक सफल हास्यव्यङ्ग्यकार हुन भन्ने कुराको स्पष्ट संकेत थियो त्यो ।
खित्कौली सभा आयोजना गरिएको दिन एकादशी परेकाले, सेतो दरबार भोज परिसरको पनि बाह्र बजेको थियो । आयोजकले सहभागीहरूलाई फलाहारको भोज गराउने आदेश दिएका थिए । फलस्वरूप उसिनेका तरुल, सखरखण्ड, ईस्कुस र फर्सी परिकार बनाइएर सजाइएकाे थियाे । हास्यव्यङ्ग्य विधाको पुस्तक लोकार्पणसिहतकाे कार्यक्रमका लागि यो पहल गर्नुले ठूलो न्याय दियो भन्ने मलाई लाग्यो ।
फलाहार सेवन गर्दा केही महिना अघि विमोचन भएको कृति “जङ्गबहादुरको फ्रेण्ड रिक्वेष्ट” का लेखक भोजराज रेग्मी ‘मुखाले’ लगायत अन्य केही सहभागीहरूसँग भेट भयो ।
पुस्तक समीक्षाको कौशलका बारेमा चर्चा भयो ।
मैले एक चुटकिला सुनाएँ । पुराण वाचन गर्ने एक पण्डितजी बडा गजबका थिए । उनी चाहन्थे– उनले भनेको कथा सबैले ध्यान दिएर सुनुन् । तर त्यस्तो भएको थिएन । भक्तजनहरू कोही मोबाइलमा व्यस्त थिए, कोही एकआपसमा गफ गर्दै थिए । यो देखेर दिक्क मानेका पण्डितजीले आफ्नो वाचनको गियर बदले । उनले घरी शृङ्गार रसको स्वाद चखाउन थाले, घरी करुणाको । दोस्रोले काम गर्यो । दर्शक दीर्घाको पश्चभागमा बसेकी एक बृद्धा रुन थाल्नुभएछ । विश्राम लिएका बेला पण्डितजी आमा नजिक पुगेछन् । उनी आमासँग भलाकुसारी गर्न थालेछन् ।
“आमा ! आज हजुरलाई मेरो कथाले भावनात्मक बनायो होगि ?”
“त्यस्तो केही होइन, नानी ।”
“हजुर त आँखाभरी आँसु पारेर सुँक्कसुँक्क गर्दै हुनुहुन्थ्यो त !”
“त्यसको कारण अर्कै छ, बाबु !”
“के कारण हो त, आमा हजुरलाई भावनात्मक बनाउने ?”
“हिजोदेखि मेरो बोको हराइरहेको छ । त्यसको र हजुरको दाह्री ठ्याक्कै मिल्दो रहेछ । हजुरले हल्लिएर वाचन गर्दा मेरै बोको हल्लिएको जस्तो लाग्यो । त्यसकै झझल्को आयो, अनि मन थाम्नै सकिन ।”
मैले फलाहारको तृप्ती लिँदै फुइँ डाक्टरको वाचन सुनिरहेका मेरा मित्रहरूलाई भने– पुराण भन्ने पण्डितजीको हालत कसैको नहोस् भन्ने मेरो चाहना हो ।
कतिपय वक्ताहरूलाई श्रोतासँग जोडिने यो कौशलका बारेमा ज्ञान हुँदैन । कतिपय अहंकारको जालोले घेरिएका हुन्छन् । समीक्षकहरू पनि अछुता छैनन् । उनीहरू पनि परम्परागत तौरतरीकाकै फेरो समात्ने खालका छन् । अबको जमाना मूर्तिभन्जकहरूको हो । जसले जान्यो, उ चक्रवर्ती हुन्छ; जसले जानेन, उ डाइनासोरको कित्तामा जान्छ ।
वक्ताले बोलेको श्रोताले सुन्नु मात्र होइन, त्यसलाई हजम गरेर प्रत्युत्पन्न शैलीमा प्रतिक्रिया दिनु एक जटिल कला हो । त्यसमा पनि हास्यव्यङ्ग्य विधामा यो विषय अझ प्रखर हुन्छ ।
खित्कौली सभाका प्रमुख अतिथी एवं मेरा सदाबहार गुरु, उनै माधव पोखरेलले, केही महिना अघि लुइँ मास्टर र फुईँ डाक्टरले लिएको एक अन्तर्वार्तामा यस विषयमा रोचक अभिव्यक्ति दिएका छन् ।
“वास्तवमा हँस्यौली भनेको संस्कृतिजन्य विषय हो । जेलाई विषय बनाएर हाँसिन्छ, त्यसमा त्यो सुन्ने र भन्ने दुवैको ज्ञान हुन जरुरी हुन्छ । त्यो तालमेल मिल्यो भने श्रोता हाँस्छ, नत्र हाँस्दैन । बिबिसीमा भनेका थुप्रै हँस्यौली म बुझ्दिनँ ।”
फलाहार सेवनपश्चात म घर फर्कने उपक्रममा लागें । लुइँ मास्टरकै सौजन्यमा कलङ्की जाने एउटा सवारी साधन फेला पर्यो ।
म मेरो हातमा झुण्ड्याउने झोला र प्रोजेक्टर राखेको अर्को झोला बिसाएको टेबुलमा पुगें । मेरो उझिण्डो भएको छालाको झोला आकर्षक छ । त्यो सँगै एउटा स्त्रीजन्य थैलीजस्तो सानो झोला टाँसिएर बसेको पाइयो । त्यो लेडिज व्यागले मेरो ध्यान आकर्षण गर्यो । मैले नजर घुमाएँ । तीन जना अधवैँसे नारीहरू नारिएर तस्वीर खिचाउन व्यस्त रहेछन् । मैले उनीहरूको रङमञ्च बिथोलेँ । भनेँ– यो हजुरहरूको ब्याग त, मेरो ब्यागसँग साथी हुन आईपुगेछ नि ?
“हजुरजस्तोको साथी बन्न पाउनु भाग्य त होला ।”
नारिएर तस्वीर खिचिने दुई मध्ये एकले भनिन् । त्यो ब्याग तस्वीर खिच्ने चेलीकै परेछ ।
“अब ब्याग साथी भएपछि, ब्याग धनी पनि त साथी बन्नुपर्छ । एउटा फोटो खिचे कसो होला ।”
तिनैले भनिन् ।
मैले मौन स्वीकृति जनाएँ ।
ती चेलीसँग उभिएर फोटो खिच्दै गर्दा मैले फेरि उनीहरूको ध्यानाकर्षण गरेँ ।
“फोटो त खिचियो, तर एउटा शर्त छ ।”
“त्यो के होला ?”
“यो तस्वीर फेसबुकमा नराख्नु होला । राखी हाल्नुभयो भने ट्याग नगर्नु होला ।”
“त्यो गर्दा के हुन्छ र ?”
यो प्रश्न उनैको थियो अर्थात मसँग जोडी बाँधिएर फोटो खिच्ने नायिकाको ।
“वकिल पछि लाग्छन् ।”
मेरो आशय थियो– घरका मान्छेले थाहा पाउँछन् र वकिलसम्म कुरा पुग्छ भन्ने । उनीहरू मुस्कुराए मात्र । के बुझे भगवान जानुन् । म भने खित्कौली सभाको अन्तिम उपलब्धीमा दङ्गदास परेर सवारी साधनतिर लम्किएँ ।
०००
मङ्सिर ०२, २०८२
१२६ जनकल्याण गल्ली
कोटेश्वर, काठमाडौँ








































मीठो आलेख ।
वकिल पछि नलागून् : शुभकामना व्यक्त गर्दछु ।