साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाँचिएको हात र पाइजामा

पुरानो व्यवस्था ढलेर नयाँ राजनीतिक व्यवस्था आयो, नयाँ सरकार बन्यो र नचिनिएका नयाँ हाकिम नियुक्त हुन थाले । कर्मचारीलाई आपत पर्यो— तिनलाई चाकरी गर्ने कसरी ? त्यसका लागि तिनले निकाले, एकदमै 'मौलिक' आइडिया ।

Nepal Telecom ad

शरच्चन्द्र वस्ती :

…यसरी निक्कै लामो र कडा संघर्षपछि त्यस पार्टीको सरकार बन्यो । हिजोसम्म प्रहरीले पिटेका, कर्मचारीले दुत्कारेका, समाजसेवी भनाउँदाहरूले हेपेका र सत्तापक्षको दूध–कुराउनी अथवा जुठो–पुरो उपभोग गर्नेहरूले अछूत सम्झेका मानिसहरू मन्त्री भए ।
अब कर्मचारीतन्त्रमा पनि फेरबदल हुने हल्ला चल्न थाल्यो । के कसो गर्दा जागिर नखोसिने हो भन्ने चिन्ताले धेरैलाई सताउन थाल्यो । नयाँ मन्त्रीहरूसँग सम्पर्क गाँस्न मानिसहरू दौडधूप गर्न थाले ।

एक दिन एउटा विभागमा हल्ला आयो— बहालवाला निर्देशकलाई हटाएर फलानोलाई नयाँ निर्देशक बनाइँदैछ ।

विभागका कर्मचारीहरू मूलतः दुई समूहमा थिए । दुवै समूह भावी निर्देशकको आँखामा पर्ने र आफ्नो ‘योग्यता’ देखाएर उनलाई प्रभावित पार्ने उद्देश्य लिएर उनका बारेमा जानकारी भेला गर्न व्यस्त भए ।

एउटा समूहको एक जना सदस्यले सुन्यो— भावी निर्देशकको देब्रे हात केटाकेटीमा रूखबाट लडेर भाँचिएको थियो; अहिले त्यो हात ठीक त देखिन्छ तर त्यसबाट उनी खास काम लिन सक्तैनन् । यो जानकारी पाउनासाथ समूहको आपतकालीन बैठक बस्यो र साढे चार घण्टाको गम्भीर छलफलपछि एउटा सर्वसम्मत निर्णयमा पुग्यो ।

अर्को समूहको एक जना सदस्यलाई कसैले सुनायो— भावी निर्देशकलाई पाइजामा खूब मन पर्छ रे; उनी घरमा सधैं पाइजामा लगाएर बस्छन् रे ! यस समूहको पनि रातारात बैठक बस्यो र डेढ घण्टामै निष्कर्ष निकालेर टुंगियो पनि ।

भोलिपल्टदेखि विभागमा अनौठा दृश्यहरू देखिन थाले । केही कर्मचारीहरूको देब्रे हात अचानक भाँचिएछ । कोही प्लास्टर बाँधेर हात घाँटीमा झुन्ड्याई आएका थिए, कसैले काम्रो बाँधेर हात कोटका गोजीमा हालेका थिए । दुई जना शाखा अधिकृतले ‘बाथरूममा लडेर देब्रे हात भाँचिएको’ जनाउँदै आकस्मिक बिदा मागी पठाएका थिए भने एक जना उपसचिवज्यूलाई आफू केटाकेटीमा मेचबाट लड्दा मर्किएको देब्रे हात एक्कासि साह्रै दुख्न थालेको अनुभव भएको थियो ।

अनि, केही कर्मचारी चाहिं पाइजामा लगाएर कार्यालय आएका थिए । कमीज, कुर्ता र शर्टसँग पाइजामा लगाउनु त सामान्य नै भयो, लेखापालले त माथ्लो गोजीबाट रुमाल झल्किंदै गरेको कोट र चड्किलो रंगको टाई मुन्तिरै पाइजामा पहिरेका थिए । बड़ा लेखापाल आफ्नो मोटरसाइकलबाट ओर्लंदा कालो टोपी, दौरा र कोट भन्दा तल पाइजामा हावामा फर्फराएको निकै रमाइलो देखिएको थियो ।

सबै भन्दा रमाइलो कुरा त के थियो भने, देब्रे हात भाँचिएकाहरू आफ्ना विरोधीले रातारात पाइजामा–क्रान्ति गरेको देखेर छक्क परेका थिए अनि पाइजामाधारीहरू आफ्ना विरोधीलाई ‘भाग्य’ ले छानी छानी देब्रे हातमा प्रहार गरेको देखेर चकित थिए । दुवै पक्षलाई ‘यसमा केही रहस्य छ’ भन्ने लाग्न नखोजेको होइन तर आ–आफ्नो चतुर्याइँमा दंग पर्ने क्रममा उनीहरू त्यसबारे बढी खोजतलाश गर्नतिर लागेनन् ।

नभन्दै एक दिन साँझ रेडियोले बहालवाला निर्देशकलाई हटाएर नयाँ निर्देशकको नियुक्ति गरिएको समाचार फुक्यो । कर्मचारीहरू भोलिपल्ट बिहान वेलैमा कार्यालय पुगे । नयाँ निर्देशकले कार्यालय प्रवेश गर्न लाग्दा उनीहरू स्वागत गर्न लाम लागे । भनिरहनु नपर्ला, एउटा लाम देब्रे हात भाँचिएकाहरूको थियो भने अर्को लाममा पाइजामाधारीहरू मात्र थिए ।

‘यो कस्तो विभाग हो ? म अपांगहरूको छात्रावास अथवा तालीम केन्द्रमा त आइपुगिनँ ?’ गाडीबाट ओर्लन लाग्दा नयाँ निर्देशकले छक्क परेर सोधे । ड्राइभरले बतायो, ‘यो हजूरकै अफिस हो, हजूर !’

निर्देशकको कार्यकक्षमा दिनभरि नै देब्रे हात भाँचिएकाहरू र पाइजामाधारीहरूको चहलपहल भइरह्यो । आफ्ना विरोधी पक्षको अनौठो ‘रणनीति’ देखेर अब दुवै पक्ष सशंकित भइसकेका थिए । त्यसैले निर्देशकसँग विरोधी पक्षले मात्र कुराकानी गर्ने मौका नपाओस् भनेर दुवै पक्ष दिनभरि सतर्क रहे ।

पाँच बज्न पाँच मिनट बाँकी थियो । हाकिमसँग ‘एकान्त’ गर्न नपाइने देखेर देब्रे हात भाँचिएको पक्षका उपसचिवले सबैका सामुन्ने नै निर्देशकज्यूलाई आउँदो शनिवार बिहान ‘लन्च’ का लागि आफ्नो घरमा निमन्त्रणा गरे । यति भएपछि अर्को पक्ष चूप लाग्न सम्भव थिएन । पाइजामाधारी बडा लेखापालले एक हात अघि बढेर शुक्रवारै साँझ ‘डिनर’ का निम्ति हाकिमलाई निम्तो गरिहाले ।

‘डिनर’ मा पुग्दा निर्देशक छक्कै परे । लोग्नेमान्छे त लोग्नेमान्छे नै भए, त्यहाँ त गृहिणीहरू र वृद्धाहरूले समेत पाइजामा लगाएका रहेछन् । कुकुरलाई पनि सेतो पाइजामा पहिर्याइएको ! पाइजामा आकारको टेबुलपोश र त्यस्तै पर्दाहरू, पाइजामा लगाएका देवी–देवताका तस्वीरहरू, भित्तामा चट्ट मिलाएर टाँसिएका पाइजामाहरू । गफ पनि पाइजामासँगै सम्बन्धित मात्र !

शनिवार ‘लन्च’ को हालत झन् भयंकर थियो । आइमाई, केटाकेटी, बूढाबूढी, नोकरचाकर— त्यो घरमा एउटा पनि त्यस्तो मान्छे थिएन, जसको देब्रे हात नभाँचिएको र प्लास्टर नबाँधिएको होस् । त्यति मात्र भए पनि हुन्थ्यो, त्यहाँ त बैठक कोठामा समेत देब्रे हातहरू झुन्ड्याएर सजावट गरिएको थियो । देब्रे हात भाँचिएका मानिस, बाँदर र गुरिल्लाहरूका तस्वीर झुन्ड्याइएका थिए, सोफाको खोलमा देब्रे हातका मात्र बुट्टा थिए, देब्रे हात नभएर पनि काम गरिरहेका मानिसहरू बारेको ‘साहित्य’ टेबुलभरि फिंजाइएको थियो ! उनले तीन चित खाए ।

तैपनि, आफ्नो ‘गम्भीर व्यक्तित्व’ कायम राख्तै उनले भाँचिएका देब्रे हात र पाइजामा बारे केही सोधेनन् । निर्देशक र कर्मचारीहरूबीच ती दुवै विषयमाथि कहिल्यै कुराकानी भएन । कर्मचारीहरूले आ–आफ्नो ‘रणनीति’ छाडेनन् ।

धेरै दिन पछिको कुरा हो, विभागले एउटा वनभोज आयोजना गरेको थियो । त्यहाँ सोमरसले अलिअलि प्रभाव देखाउन थालेपछि कुरा उठ्यो, चल्यो, अघि बढ्यो र निर्देशकबाटै कर्मचारीहरूले चाल पाए— न उनको देब्रे हात कहिल्यै भाँचिएको रहेछ ! न त उनले कहिल्यै पाइजामा नै लगाएका रहेछन् !!

०००
गोरखापत्र (२०४७ वैशाख ३१ गते सोमवार)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गर्ने–गराउने उनै हुन् !

गर्ने–गराउने उनै हुन् !

शरच्चन्द्र वस्ती
विशेषज्ञ हुनु नै जाती !

विशेषज्ञ हुनु नै जाती...

शरच्चन्द्र वस्ती
गर्ने–गराउने उनै हुन् !

गर्ने–गराउने उनै हुन् !

शरच्चन्द्र वस्ती
सञ्जालको जञ्जाल

सञ्जालको जञ्जाल

पुन्य कार्की
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
धमिरा

धमिरा

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x