परशुराम पराजुलीआन्दोलन
‘चुनाव होला नहोला कुर्सीको भाग लगाउँछन् भोला’ भनेझैँ गरेर ‘नानी पाउनु कहिले कहिले कोक्रो बुन्ने अहिले’ भन्ने उखानलाई चरितार्थ गरेको देख्दा भने उदेक लागेर आउँछ ।

परशुराम पराशर :
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा नेपाल राष्ट्रको सरहदभित्रको सन्दर्भमा जनआन्दोलन भन्नाले जनताका नाममा गरिने विशुद्ध स्वार्थपूर्ण सङ्घर्ष वा जनतालाई उक्साएर केही व्यक्तिहरूले आफ्नो भुँडी भर्न गरिएको क्रान्ति सम्झनुपर्दछ । यसमा नेता बन्नेले सोझासिधा जनतालाई फकाएर, छक्याएर, धम्क्याएर जनताकै खजाना चप्काएर अराजक कार्य गर्न लगाउँछन्, अनि पुलिस आएपछि नभाग, नभाग भन्दै आफू भने पहिले नै भागिसक्छन् । अर्थात् सोझो रूपमा भन्नुपर्दा जनआन्दोलन भनेको जनतालाई झुक्याएर, विपक्षीलाई मुक्याएर आफ्नो स्वार्थ भर्ने सजिलो उपाय हो । जनतालाई हार्दिकताका साथ सिन्को र नेतालाई बडो कष्टका साथ ठन्डाबरफ भाग लगाउने सहज उपाय पनि हो ।
नेपालको इतिहासलाई नियाल्दा आजसम्म भएका आन्दोलनले देखाएको र आन्दोलनको नाममा भएको पनि यति नै हो । जनताका लागि लडेका नेताले आफ्नै परिवार भित्रका र श्रीमतीका मित्रका लागि पद दिलाएर घिउ खाने ठाउँमा पुर्याएका छन् अनि जनतालाई भने धन्यवादका साथ विना बिलौना कालो बिलौनी खाएर मख्ख पर्नू है भनेका छन् ।
यस्ता आन्दोलन धेरै प्रकारका हुन्छन्– जनआन्दोलन, धनआन्दोलन, मनआन्दोलन, तनआन्दोलन, जेन्जीको गन्जी लगाएर गरिएका आन्दोलन आदि । जब जनआन्दोलन पूर्ण हुन्छ तब नेताहरूका लागि धनआन्दोलन पूरा भएको मान्ने संस्कार हामी सबैको छ । जनआन्दोलनमा मौका पर्दा झ्याप्प पारेको सम्पत्ति कार्यकर्ता भनाउँदा जनताबाट च्याप्प पार्यो अनि घरबार छोडेर दरबार जोड्यो बस्यो । सुरु जनआन्दोलनको नामबाट गर्ने अनि धनआन्दोलनमा लगेर पूरा गर्ने, आहा क्या तरिका ! हेरौँ त क्या काइदा ! जता फर्क्यो उतै फाइदा ! बिचरा ! ती हनुमान मति भएका जतिलाई जे अनुमान लगाएर भने पनि भैहाल्छ । त्यसपछि आन्दोलनमा साथ दिने जनहरूको नाममा आफ्ना छोराबुहारी, छोरीज्वाइँ, भान्जाभतिजा आदिलाई जोडेर अन्यलाई त्यत्तिकै छोडेर पद, पुरस्कार, पगरी र पैसा बाँड्यो खायो । आखिर नेताहरूका लागि त कहाँ पोखियो दुध आफ्नै भागमा । अनि त स्वतः धनआन्दोलन पूरा भएन त । तरिका जाने ‘तेलका लागि तोरी पेलाइरहनु पर्दैन, मिठो खानका लागि छोरी बोलाइरहनु पर्दैन’ भनेको पनि यही होला ।
जनता भनिएका व्यक्तिहरू ‘हामी नागरिक हौँ’ भन्न पनि नपाई एक नम्बरका रैती बनिसकेका हुन्छन् । आन्दोलनमा साथ दिने र काँध थाप्ने सोझालाई थपथपाएर आफू घुरीमा पुगेर तल नहेरी तुरी गरिदिन्छन् धनआन्दोलनका नेताहरू । माथि हेरेर खुसी हुँदै हामीले गर्दा तपाईंहरू त्यहाँ पुग्नुभएको हो भन्न पनि भ्याउँदैनन् बिचारा जनता तलबाट ! नेताको भर्याङ बनेका नागरिकलाई तिनै नेताले मर्याङमर्याङ चपाएपछि हुन्छ धनआन्दोलन सफल । यसरी नै मनआन्दोलन र तनआन्दोलन पनि उही र उस्तै उस्तै तरिकाले सफल हुने गर्दछन् । आन्दोलनका मुखिया लकडाउनको सङ्क्रमणको बेला छतमा गएर दाउराको चुलोमा मासु पकाएर खायो अनि अरूलाई चाहिँ चाउचाउ, दालमोटचिउरा पाएमा रमाएर खानु है भनेर भनिने खालका आन्दोलन हुन् मनआन्दोलन र तनआन्दोलन ।
अर्को प्रकारको आन्दोलन भनेको खाओवादी आन्दोलन हो । गरिब जनताका लागि गरिएको आन्दोलनमा लुटिएको सम्पत्ति भागबन्डा लगाउँदा नमिलेर पार्टी फुटाएको, नातासम्बन्ध टुटाएको अनि धन जुटाएको नाटक कसले पो देखेन होला र ! यसरी मिलीभगतमा शिकारीले विलो बाँडेजस्तै आन्दोलनको उपलब्धि बाँड्ने प्रवृत्तिलाई नै खाओवादी आन्दोलन भनिएको हुन सक्छ । यस आन्दोलनमा लागेर नेतालाई मुखियाको फेटा गुथाउन सफल लडाकुहरूको बन्दुक बोकेका हातको ठेला सुक्न नपाउँदै भागबन्डाको खेला देखाएर ‘फाइदाको डोको, आफ्नै काँधमा बोको’ भन्ने उखानलाई सिरानी हाल्न पुग्नु नै यस आन्दोलनको उत्कर्ष हो । त्यस बेला गोली खाएर र भोकले मुख बाएर बसेका लडाकुको हिसाब नगरी नेता आफू डाकु बन्नु नै यस आन्दोलनको सार्थकता हो । यस्ता आन्दोलन गरेर चुलीमा चढेका नेता र उसका आफन्तभन्दा अरू कसैले फाइदा लिन कतै पाएका छन् त अहिलेसम्म ?
नेताले आफ्नो घरसम्म जाने बाटो बनाउँदा कत्ति जनताका लागि सजिलो भएको छ भनेर उखान ओकल्न र हास्यपात्र बनी मुख खोकल्न पाउने देश भनेको नै हाम्रो मौलिक देश हो । नेताले गधा भने पनि गाई सुन्ने र गोरु भने पनि गुरु ठान्ने अन्धभक्तले आफ्नो लहडी नेताका लागि रक्त चढाउन पनि तम्तयार भएको देख्दा भने देशविकासको गति हाम्रै मतिले पछाडि परेको हो भन्न मन लाग्छ । झोला बोक्ने झोलेदेखि गाँजा तान्ने भोलेसम्मले सिँगान पुसेको र नाक काटेको पत्तो नपाएर भिरबाट लड्न खोज्छन् भने ‘राम राम’ मात्र भन्ने हो । बाँकी देखा जाएगा …….।
आन्दोलनको नायक हुन लायक भए पनि कतिले मायकसम्म पुग्न नभ्याएर खुम्चनु परेको छ भने कतिले नन्दीका फल खान स्याल झैँ पछिपछि कुदेर पनि बाँच्नुपरेको छ । बोकेको कुकुरले मृग मार्दैन भन्ने उखान यो आन्दोलनको मामलामा लागु नहुने रहेछ । बोकिएको नेताले फेटा पाउँछ । यस्तो अवस्थामा बोक्ने केटाले भने सेता दाँत देखाएर किच्च हाँसेझैँ गर्नुपर्ने हुन्छ । हुन त कतिपय आन्दोलनले नेताको भन्दा नेता बोक्ने केटाको भलो नगरेको पनि होइन । यस्ता आन्दोलन त बिरलै होलान् ।
हामीले जबसम्म जनआन्दोलनलाई धनआन्दोलन बनाइरहन्छौँ, तबसम्म नेपाल र नेपालीको भलो हुने कुलो खन्न सकिने देखिँदैन । यस्ता आन्दोलनका नाइकेहरू साधु बनेका बिराला हुन् कि बिराला बनेको साधु हुन् खुट्याउन नसकिने भयो है । ‘चुनाव होला नहोला कुर्सीको भाग लगाउँछन् भोला’ भनेझैँ गरेर ‘नानी पाउनु कहिले कहिले कोक्रो बुन्ने अहिले’ भन्ने उखानलाई चरितार्थ गरेको देख्दा भने उदेक लागेर आउँछ ।
०००
झापा, हाल : काठमाडौं










































गजबले नेताको चरित्र र भ्रष्टाचारका पाटालाई खाटा बस्नेगरी हान्नुभएछ । अनुप्रासीयता पनि राम्रै अवलम्बन गरेर ठाउँठाउँमा सुहाउने उखान हालेकाले यो फित्कौलीको तकाइ अचुक लाग्यो ।