कुमार खड्काबौद्धिकताको मौलिक चोरी…?
ढोंगी गुरुका कपटपूर्ण माग आदेश र दासरुपी शिष्यका मुर्ख्याइँ र विवश मानशिक उपजले पौराणिक इतिहासमै अत्यन्तै दुखदायी क्षतिपूर्ति स्वरुपको गुरु दक्षिणा र त्यागको अँध्यारो पक्षले नाम लेखाएझैँ लाग्दछ ।

कुमार खड्का :
“पहिलेको चोर चकार बनेर फर्किन सक्छ
झाडीको गुन्दरगानो खहरेमा लर्किन सक्छ
मौलिकता जाहेर गर्छ, अवसरवादी वृत्तिले,
डढेको तेल फोहोर पानीमा तर्किन सक्छ ।”
०००
“चोरेर भए पनि किताब पढ्नुपर्छ, शत्रुको पाउमा परेर भएपनि ज्ञान आर्जन गर्नुपर्छ…!” भन्ने नीतिगत मान्यता थियो, हाम्रो ऐतिहासिक गुरुकुल युगमा । त्यही मान्यता र सोच बोकेका मनुवा भएकोले होला, कुनै जमानामा पाताललोकका लागि नेपाली दुतको रुपमा प्रतिनिधित्व गरेका विशिष्ट व्यक्तित्वले अमेरिकी पुस्तकालयबाट जाबो एउटा औषधि विज्ञानको किताब झोलामा हालेर निस्कँदा चोरीको आरोप लागेको र सगरमाथाको देशको अन्तर्राष्ट्रिय साखमा धक्का लागेको थियो । उनले त्यहाँ सिसि क्यामेराको निगरानी हुनसक्ने कुरा र आफू कुन युगमा छु, भन्ने थाहा नपाएपछि धोखा खाएका रहेछन्, भन्ने छ । यसमा मैले जानेबुझेसम्म नीतिशास्त्रको पालना गर्दागर्दै जान अन्जानमै औपचारिक अन्तर्राष्ट्रिय “बौद्धिक चोर…” को रुपमा नाम लेखाउने प्रथम विशिष्ट नेपाली हुन पनि सफल भए उनी ।
प्रसङ्ग : १
मलाई बाल्यकालको स्कुले जीवनको एउटा घटना याद आयो । सँगै पढ्ने एकजना मित्रको कलम हरायो, खोजी भयो, खानतलासी हुँदा कक्षाकै अर्को साथीको झोलामा भेटियो । कलम चोर्ने मित्रले चोरेको हैन, अर्कैले उनको झोलामा राखिदिएको वकपत्र गरे पनि देखिजान्ने साक्षीको साथ पक्डिएका उनले कलमको ठाउँसारी मात्रै गरेको हो, चोरेको भने हैन भनेर नकार्न सक्ने अवस्थानै रहेन । त्यसै दिनदेखि कक्षाका सबै सहपाठीहरुले रीस उठेको बेला उनलाई चोर चोर भन्न थाले । जसको किताब, कापी, कलम हराएपनि उनैलाई आरोप लाग्थ्यो । सारै बेइज्जत भएपछि एकदिन सरलाइ उनले रिपोर्टिङ गरे, “सर ! मैले एकपटक मात्र कलम चोरेको हो नि, सबै साथीहरु जहिले, जस्को जे हराए पनि मलाईनै दोष दिन्छन्, चोर ! चोर ! भन्छन्…!”
उनको अनुहार गौरले नियाल्दै सरले भन्नू भो, “एक पटकको चोर सधैं चोर हुन्छ बाबु !” अर्को चोर निस्क्यो भने दोश्रो चोर हुन्छ, तर पहिलोपटक चोर्ने “अगुवा चोर” हुन्छ, दोश्रोपटकको चोर पहिलो पटक चोरेरै हुने हो, अनि क्रमशः पटके बन्ने हो नि बाबु । सबै हाँसे, उनले पिल्पिलाउदै आँसु झारे ।
प्रसङ्ग : २
वि.सं. २०३८ ताका म इ.अ.सं.पुल्चोक, अध्ययन गर्दा एकजना गणित सरको बारेमा संस्मरण गर्न मन लाग्यो । जसले हामीलाई ‘क्याल्कुलस’ पढाउनु हुन्थ्यो । प्रायः जसो गम्भीर देखिनुहुन्थ्यो । दोहोरो सवाल जवाफ हुन्नथ्यो, एकोहोरो पढाउनु हुन्थ्यो, जानु हुन्थ्यो । त्यसबेला विद्यार्थीहरुले क्युविसी (क्वार्टर ब्रेन क्र्याक) सर भन्दा रहेछन् उनलाई । किनहोला भन्ने जिज्ञासा उठ्यो मनमा । सोधखोज गर्दै, बुझ्दै गैयो, आखिर म्याथमा विद्यावारिधी गर्ने सोधपत्र तयार गरेर थन्क्याएको केहि दिनमै ठाउँको ठाउँ फाइनल पाण्डुलिपि गायब भएको रहेछ उहाँको । हप्तौं दिन खोजि गर्दा पनि नभेटेपछि सर निराश हुनुभएछ । अन्ततः त्यही चिन्ताले कहिल्यै नहास्नेगरि ‘साइको’ हुनुभएको रहेछ । हातलागि गर्ने अमुक व्यक्तिले भने सहजै उहाँको काँध चढेर, धोका दिदै विद्यावारिधिको उपाधि हात पार्नु भयो अरे ! भन्ने रहेछ । त्यसपछि सरको दिमागमा गहिरो चोट परेर क्युबिसी हुनुभएछ विचरा…! अहिलेको जस्तो इलेक्ट्रोनिक, कम्प्युटर युग थिएन त्यो, सरसँग फाइनल कपिको दोश्रो प्रति नभएको र फेरि गर्ने हो भने पाण्डुलिपि तयार गर्नै वर्षौ लाग्न सक्ने, त्यत्रो मेहनत बालुवामा पानी हाले झैँ भएपछि उहाँ पागल जस्तै विक्षिप्त हुनुभएछ । “बोलबोल मछली, मुखाभरी पानी…!” कस्लाई दोष दिनु ? आफ्नो थैलीको मुख बन्द गर्न नसक्दा चुक्चुकाउनु परेछ, के गर्ने, कस्लाई दोष दिने ?
“वास्तविक विद्वान, उत्तानो टाँग, चोरीका विज्ञ, चर्को स्वाँङ…” भएछ । चोर्ने र चोरिने १८/२० र्याङ्कका विद्वान गणितज्ञ नै भएपछि सद्दे, किर्ते, को हो, के हो भन्ने परिक्षण गर्नु पनि जटिल कुरो हुने भयो । फेरि हचुवा र अनुमानको भरमा अरुलाई दोष दिएर बरबराउनु बौद्धिक मान्छेको धर्म र नैतिकता पनि त हुँदैन । एउटा सफल बौद्धिक चोरीको शृङ्खलाले अर्को पक्ष असफल हुनुपरेको होनाहार बौद्धिकको पीडादायी कथा कस्ले बुझ्ने हो र ? बुझेर पनि के गर्न सकिने हो र ? केवल बौद्धिक दरिद्रता को घटनाक्रम र विगत सम्झने प्रयास गरिएको मात्र हो ।
प्रसङ्ग : ३
ऊ हुन्, ती हुन्, जो हुन्, सृष्टि देखिनै चोरी, चकारी, नक्कल हुँदै र गरिँदै आएका छन् । कतिपय प्रत्यक्ष वा कति परोक्ष, हुबहु वा भाषिक बिम्ब, प्रतीक, आवरण, मिठास, व्यङ्ग, भनाई जे मिल्छ त्यो मिलाएर, सोझै वा घुमाएर, नक्कल, प्रतिलिपी उतारका चोरी क्रमशः भएकै हुन्छन्, कस्ले कसरी, कुन प्रसङ्गमा गर्छ भन्ने हो, कतिको कलात्मक र बौद्धिकताको रङ्गले लेपिएको हुन्छ, भन्ने मात्र हो । कहिलेकाहीँ दृष्टि र दृष्टिकोण मिल्दा पनि कुरो उस्तै भाव, भावना,आसय झल्किन सक्छ । चाहे साहित्य, सङ्गीत या कलानै किन नहोस् ? कार्ल मार्क्सले भनेझैं ” मानिसको चेतनालाई उसले बाँच्ने सामाजिक–आर्थिक परिवेशले निर्धारण गर्छ…!”
त्यसैले ” उस्तै विचार, चिन्तन र सामाजिक आधार भएका मान्छेहरु संसारको जुनसुकै कुनामा बसे पनि उस्तै परिवेशमा उनीहरुका भाव, भावना, उनीहरुले सोच्ने र विश्लेषण गर्ने विषय वस्तुहरु उस्तै उस्तै प्रकारका हुन्छन् रे …!” अध्ययनको साधन, श्रोत, विचारको संश्लेषणात्मक चेतना, पर्यावरण, लेखकिय स्तरको कारणले पनि नक्कल वा सक्कल करिब दुरुस्तै हुन जाने अवस्था सृजना हुनसक्छन्, तर यस्तो अवस्था भने ज्यादै न्यून हुन्छन् । तथापि बौद्धिक चोरीका घटनालाई अन्यत्रै तर्काउन र “लाटो देशको गाँडो तन्नेरी बन्न…!” भने माथिको भनाई एउटा बलियो र जबर्जस्त आधार भएकै छ । बौद्धिकताको आडमा, आशा वा लोभमा पारेर सोझै वा छड्के वृत्तिले भुलाएर वा झुलाएर, बुझाएर वा झुक्याएर हरण गर्ने वृत्ति त झन् ठगी, चोरी, लुट्पाट भन्दा पनि ज्यादै डरलाग्दो र घातक अवस्था हो, जस्तो लाग्छ ।
भनिन्छ, ईतिहास कलमले त लेखिन्छ, तर त्यसको पछाडि तरबार तेर्स्याइएको अवस्थामा अर्थ र निष्कर्ष अन्यथा हुनसक्ने अवस्थालाई इन्कार गर्न सकिदैन । कयौं सहि र तथ्य, सत्यमा आधारित घटनाहरु मेटिदै, मेटाइँदै गलत मान्यता स्थापित भएका, गरिएका दस्तावेजहरुनै इतिहासको रुपमा कायम भएका पनि छन् । त्यस्ता झुठो इतिहास शिलापत्रमा कृतिम तथ्यको आधारमा कुँदिनु र त्यसैको पृष्ठभूमिमा दुनियाँले मान्यता दिने अवस्था सृजना हुँदा झुठकै विरासत कायम भएका कयौं उदाहरण छन् । अझै बौद्धिक चोरीमा त विज्ञापन, प्रबर्द्धन, प्याकेजिङ र वितरणको तामझामले वास्तविक पात्र, घटना, योगदान, भूमिकाको नामोनिसाना मेटिदा अवास्तविक अतिरञ्जनाका थुप्रोहरु झाङ्गिदै चुलिन पुगेका तिक्तताहरु इतिहासले नकार्न सक्दैन । अहिले गीत, सङ्गीत, साहित्य, कलामा भएका त्यस्तै अपराधीकरणले गर्दा कयौं स्रष्टाहरु पीडित भैरहेका छन् । “काम गर्ने कालू, मकै खाने भालु…!” का उपमा सृजनात्मक क्षेत्रमा कयौं हद र तहसम्म बग्रेल्ती देखिएका छन् ।
प्रसङ्ग : ४
एकलव्यले द्रोणाचार्यसँग धनुर्विद्या सिक्ने अनुमति नपाएपछि उनकै प्रतिमालाई गुरु मानेर उनले सिकेका धनुर्विद्या, र ज्ञान प्राप्ति पश्चात केही न केहि गुरुभेटी स्विकार्न उनै शिष्यले गरेको आग्रहबाट फाइदा उठाउदै गुरुले मागेको भेटीमा बुढीऔंला चढाउनु परेको बाध्यतालाई के भन्ने हो कुन्नि ? तर ढोंगी गुरुका कपटपूर्ण माग आदेश र दासरुपी शिष्यका मुर्ख्याइँ र विवश मानशिक उपजले पौराणिक इतिहासमै अत्यन्तै दुखदायी क्षतिपूर्ति स्वरुपको गुरु दक्षिणा र त्यागको अँध्यारो पक्षले नाम लेखाएझैँ लाग्दछ । केलाउन सकियो भने पौराणिक, धार्मिक, ऐतिहासिक प्रसङ्गमा यस्ता कयौं उदाहरणहरु विद्यमान छन्, समाजमा अझै तिनका प्रभावले अप्रत्यक्ष रुपमा काम गर्ने गर्छन् ।
प्रसङ्ग : ५
परीक्षामा इमान्दार भएर अनुत्तीर्ण भइन्छ कि भन्ने शङ्का पाल्नुभन्दा जसरी पनि उतिर्ण हुने चेष्टा राख्नु उत्तम होला । चिट चोरेर होस् वा अरुको कापी सारेर होस् वा अन्य तरिकाले, अनुत्तीर्ण हुनेलाई उतीर्ण, उतीर्ण हुनेलाई राम्रो स्थान प्राप्त गर्ने चाह हुनु नाजायज हैन । जतिनै दिग्गज भए पनि औपचारिक विश्वविद्यालय परीक्षा उत्तीर्ण हुन नसकेमा लोक मान्यता राजी हुँदैन । राज्यको खास अङ्गको निश्चित प्रमाणिकरणको अनिवार्यताले मात्र संसारिक रीतिमा अस्तित्व हुने कुरा आधुनिक समाजले स्विकार गरिनुको वाध्यताले पनि त्यस्ता खाले चोरीका प्रसङ्ग अपरिहार्य र रोचकनै हुने गर्छन् । विगत वर्षमा युएसएएमेलीले एनोमलौस पर्फर्मेन्सको (USMLE) आधारमा केही परिणाम “स्कोर इनभ्यालिडेटेड” (score invalidated ) समेत गरेर सयौं चिकित्साशास्त्रका विद्यार्थीलाई निष्कासन र डिपोट आदेश गर्यो । विज्ञहरुले परिक्षाको भिडियो फुटेज अध्ययनबाट अनियमित कार्यनै नभए पनि अकल्पनीय परिणाम र स्कोर कायम भएको सन्दर्भलाई समेत परीक्षामा “म्याच फिक्सिङ” हो कि भन्ने शङ्काको सुविधा अनुसार माथि उल्लेख भएझैं बौद्धिक चोरीको लाइनमा राखेको जस्तै प्रमाणित हुन्छ ।
“जति पल्ट ऐना हेरेपनि उस्तै हुन्छ अनुहार
देखिने कालो धब्बा हो जहाँ कालै छ सार
बुझेर पनि अबुझभै अभिनय किन गर्दर्छौ ?
अझै हण्डर हुनसक्छ दम्भका हर्कतले अपार ।”
त्यसैले,
बुझ्नुपर्ने कुरो के हो भने समाजको मूल्य,मान्यता भनेकै त्यही समाजमा रहने मानिस वा संस्थाकै चारित्रिक बिम्ब र प्रतीकहरु हुन सक्छन् । मानिसले आफ्नै नैतिक आचरण, विचरण, शिक्षा, स्वास्थ्य, रहनसहन, धर्म, संस्कार, संस्कृतिमा आधारित सामाजिक सभ्यताको निर्माण गर्ने हो । समाजभित्रै राम्रो नराम्रो, असल खराव, सुन्दर विकृत सारा पक्षहरु हुन्छन् । मत, मतान्तर कस्तो छ, भाव, भावना, विचार, सिद्धान्तको बाहुल्यता कसरी प्रस्तुत हुन्छन् । कुन शक्ति प्रभावी हुन्छन् ? राज्य सरकार र शक्ति कुन आधार र कस्तो धरातलमा गतिशील हुन्छन् वा गतिहीन हुनसक्छन् भन्ने कुराहरुले यावत राजनैतिक, सामाजिक, आर्थिक, साँस्कृतिक, धार्मिक धरातलका पूर्वाधारहरु प्रभावित हुन्छन् । तिनैका पृष्ठपोषण र सन्दर्भमा सभ्यताको गति पनि उत्पादनमुखी वा उपभोगमुखी हुने हो, त्यहि दिशामा लम्किदै तय भैरहेका हुन्छन् ।
सभ्यताको उत्थान र गुणात्मक समुन्नति जति उकालो चढ्दै जान्छ, यावत नकारात्मक सुचिको पारो तल झर्दै र सकारात्मक सुचिको पारो उकालो लाग्दै जाने हो । त्यसकै पृष्ठभुमिमा बौद्धिक चोरी र तिनका आधारभूत अवयवहरु पनि न्युनतम बिन्दुमा झर्दै जाने हो । आशा गरौं ! भविष्यले निकृष्टताका सृजनाहीन बौद्धिक चोरीको त्याग र बहिष्कार गर्न सकोस् ! सृजनात्मक प्रवृतिको विकास निम्ति आत्मिक दृढताले लगनशील हुन सकोस् ! त्यसकै पृष्ठभूमिमा सभ्य समाजको निर्माण गर्न सकियोस् ! बौद्धिक चोरीको अवसानसँगै भौतिक विकृति, चोरी र अपराधिक प्रवृत्तिगत जडहरुको न्यूनीकरण होस् ! सकारात्मकताको सधैं जय होस् !! अस्तु…!!!
०००
आलापोट, काठमाण्डौं ।
Subscribe
Login
0 Comments
Oldest







































