साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विशेषज्ञ हुनु नै जाती !

यी सब कुरा सुन्दा तपाईंलाई पनि येन केन प्रकारले विशेषज्ञ बन्न इच्छा जागिसक्यो होला । तर विशेषज्ञ बन्नु पनि सधैं रमाइलो र आनन्दपूर्ण हुँदैन। कहिलेकाहीँ त डा. तुंगनाथ जस्ता मान्छे पनि तीन चित पर्छन् ।

Nepal Telecom ad

शरच्चन्द्र वस्ती :

डा. तुंगनाथलाई तपाईँ चिन्नु हुन्न होला । उनी विशेषज्ञ हुन् । केका विशेषज्ञ भनेर नसोध्नु होला किन भने यो रहस्य मैले पनि पत्तो लाउन सकेको छैन । तर यति चाहिँ पक्का हो, उनी विशेषज्ञ हुन् । उनको धेरै ठाउँमा राम्रो चिनजान छ । त्यसैले खर्दार, सुब्बा, अधिकृत जस्ता पदका उम्मेदवारहरुको अन्तर्वार्ता लिन उनलाई विशेषज्ञका हैसियतले जहाँतँहीबाट निम्तो आइरहन्छ । उनी गइरहन्छन् ।

दैवसंयोग नै भन्नु पर्छ, एक दिन म पनि उनीसँग अन्तर्वार्ता लिन जानेमा परेँ । अन्तर्वार्ता दिनेहरु १४ जना रहेछन्, लिने चाहिँ हामी दुई बाहेक अरु चार जना । उता अन्तर्वार्ता शुरु भयो, यता म संकोचले खुम्चने क्रम ।

“ताप्लेजुङ र दार्चुलामध्ये कहाँ बढी जाडो हुन्छ ?”-पहिलो उम्मेदवारलाई डा. तुंगनाथले सोधे । ऊ जिल्ल पर्यो । “मोरंग जिल्लाको नाम कसले राखेको हो ?”-अर्को उम्मेदवार निरुत्तर भयो। “मृगस्थलीबाट वाग्मती ओर्लँदा भरयाङमा कति खुड्किला छन्?” तेस्रो चुप भयो । “काग संसारका कति देशहरुमा पाइन्छ ?”-अर्काको वाक्य फुटेन । “हावाबाट बिजुली निकाल्ने वैज्ञानिक कति सालमा जन्मेको थियो ?” अर्को मौन रह्यो । “भक्तपुरमा जम्मा कति वटा मन्दिर छन् ?”, “मुनामदनमा ‘हुन्छ’ भन्ने क्रियापद कतिपल्ट प्रयोग गरिएको छ ?” “बिरालाले बाटो काट्दा अपसकुन हुन्छ भने गैंडाले बाटो काट्दा के हुन्छ ?” आदि इत्यादि यस्ता प्रश्नहरु उनले सोधे, जसमध्ये कुनैको पनि उत्तर कसैले दिन सकेन ।

डा. तुंगनाथका प्रश्न सुनेर खुम्चँदा खुम्चँदा मैले उनका सामु आफूलाई साह्रै सानो र तुच्छ महसूस गरेँ। हात्तीका अगाडि मुसोजस्तो अथवा सोर्सवाला उम्मेदवारका अगाडि सोर्सविहीन उम्मेदवारको जस्तो । मलाई पनि त ती मध्ये एउटै प्रश्नको उत्तर आउँदैनथ्यो । मनमनै लाग्यो-धन्न अन्तर्वार्ता लिनेमा परेँछु। उम्मेदवारमा परेको भए के हालत हुन्थ्यो होला ।

सात जनाको अन्तर्वार्ता लिइसकेपछि ‘जलपान’ आयो र आधा घण्टा जति हामी त्यसमा व्यस्त भयौँ । डा. तुंगनाथको अगाध ज्ञान र प्रतिभाबाट अभिभूत भएको मैले यही मौकामा उनका काननेर मुख लगेर खुसुक्क भनें- “ओहो, डाक्टर साहेब ! तपाईंको विद्वता साँच्चै गजपको रहेछ। मलाई त यस्ता कुरा थाहै छैन। भरे, यी सब प्रश्नको उत्तर मलाई बताइदिनु पर्छ है, म डायरीमा टिपेर राख्छु।“

मेरा कुरा सुनेर उनी मुसुमुसु हाँसे र उसैगरी साउती गर्दै भने- कसरी बताउनु नि ! यिनको उत्तर मलाई पनि कहाँ आउँछ र ! अन्तरवार्तामा सोधेको जम्मै कुराको उत्तर आफूसँग हुनै पर्छ भन्ने के छ ? आखिर उत्तर दिनु पर्ने हामीले होइन क्यारे। कसैले उत्तर दिइ हाल्यो भने ठीकै भो नभए पनि अरुका सामु आफ्नो धाक त राख्नै पर्यो नि, कसो ?”

उनको उत्तरले म छाँगाबाट खसे जस्तो भएँ । अनि ठट्टा गरेँ । “त्यसो भए तपाईं जस्तै मान्छे, अन्तर्वार्ता लिने पर्यो र तपाईँ चाहिँ अन्तर्वार्ता दिनेमा पर्नु भयो भने ?”

“कुरो खत्तम छ। अन्तर्वार्ताको त कुरै छाडौँ लिखितमै पास हुनु पनि गाह्राे पर्ला। म मात्र के, म त ठोकेरै भन्न सक्छु, एक्का दुईलाई छाडेर अधिकांश हाकिमहरु यस्ता हुन्छन् जसलाई खर्दारको प्रश्नपत्र दियो भने पनि उत्तर दिन सक्तैनन्।” उनले धक नमानी भने र अनुरोध गरे-“तर मेरा प्रश्नहरुको यो रहस्य अरुलाई नभन्नु होला है नत्र कति मुश्किल गरेर जमाएको प्रभाव सब खत्तम हुन्छ।”
त्यसबेला मलाई लाग्यो, यिनी अरु कुराका नभए पनि अन्तर्वार्ता विशेषज्ञ चाहिँ पक्कै रहेछन्। यस्ता मानिसलाई पियनदेखि हाकिमसम्म, प्रशिक्षकदेखि प्राध्यापकसम्म र माझीदेखि वैज्ञानिकसम्मको अन्तर्वार्ता लिन जसले बोलाए पनि के फरक पर्याे र !

डा. तुंगनाथको नाम लिएपछि म सम्पादन विशेषज्ञ भनेर कहलाउन खोज्ने भद्रवंश प्रसादलाई पनि संझिहाल्छु। उनीकहाँ कसैले केही लेखेर लग्यो कि पहिले कोटका खल्तीहरु छामछुम पारी रातो मसीको कलम निकालेर बिर्को खोल्छन्, अनि मात्र पढ्न शुरु गर्छन् । हुँदा हुँदा अब त कसैले पठाएको निम्तो र शुभकामना पढ्न लाग्दा पनि उनका हातले अनायस कलम निकालेर खोलिसकेका हुन्छन् । अरुले लेखेकोमा केही काटकुट नगरेसम्म उनलाई चित्तै बुझ्दैन। सुध्याउन पाइएन भने आफ्नो सम्पादकीय व्यक्तित्व लगभग अपमानितै भएको संझन्छन् उनी। मैले स्वयं धेरै पल्ट देखेको छु । उनी ‘उत्साह’ लेखेको भए त्यसलाई काटेर ‘जाँगर’ पारिदिन्छन् । ‘जाँगर’ भए ‘उत्साह’ बनाइदिन्छन् । “दियो बाल्न” लेखेको देखे भने “अलि साहित्यिक बनाए पो रसिलो हुन्छ” भनेर ‘दीप प्रज्वलित पार्न’ लेखिदिन्छन्, ‘दीप प्रज्वलित पार्न’ रहेछ भने “बोलिचालीको भाषा हुनु पर्छ” भनेर “दियो बाल्न” बनाईदिन्छन् ।

एकदिनको कुरो हो । एक जना लेखकले केटाकेटीका लागि दशैंको सामान्य र छोटो परिचय लेखेर ल्याएका थिए । त्यसमा एक ठाउँमा लेखिएको रहेछ-“हामी दशैंमा नयाँ लुगा लगाउँछौँ।” सम्पादन विशेषज्ञ भद्रवंश प्रसादले पहिले त काटकुट पार्ने ठाउँ कतै नभेटेर पुरै रचना दोहोर्याई तेर्याई पढे अनि त्यस वाक्यमा अडिएर एउटा ‘पनि’ शब्द थपे र लेखकलाई भने-“हामी दशैंमा घर बस्ता अथवा सुत्दा त पुरानै लुगा लगाउँदछौँ नि होइन ?” त्यसो हुँदा, हामी, दशैंमा, नयाँ लुगा लगाउँछौं भनेर हुँदैन, ‘हामी दशैंमा नयाँ लुगा पनि लगाउँछौं भन्नु पर्छ, बुझ्नु भो ?’

त्यसो त डा. तुंगनाथ र भद्रवंश प्रसाद मात्र होइन, यस्ता अरु पनि धेरै विशेषज्ञहरु मैले भेटेको छु। पढेर, जानेर, मिहिनेत गरेर विशेषज्ञ बन्न अलि मुश्किल भएकाले चिनजान, नातासम्बन्ध र कसैलाई “खुशी” पार्न सक्ने कलाको व्यापक प्रयोग जस्ता छिटा-छरिता माध्यमबाट विशेषज्ञ बन्नेहरुको ताँती बढिरहेको त तपाईँले पनि देख्नु भएकै होला । अझ जसरी तसरी अलि राम्रो कुर्सी हात लागेपछि मानिस बहुमुखी विशेषज्ञ नै बनेर निस्केको देख्ने मौका पनि तपाईंले पक्कै पाउनु भएको होला। गाउँघरतिर प्रमुख जिल्ला अधिकारीले, शहर-बजारतिर अञ्चलाधीशले र राजधानीतिर आएपछि मन्त्रीहरुले दर्शनशास्त्रदेखि अन्तरिक्ष विज्ञानसम्म, शिक्षाशास्त्रदेखि गृहविज्ञानसम्म, काव्यशास्त्रदेखि भटमास उद्योगसम्म, झिंगादेखि जेट र उपग्रहसम्म अनि थोत्रा मिनिबसदेखि एयर बससम्मका बारेमा उत्तिकै आत्मविश्वासपूर्ण मुद्रामा आधिकारिक एवं धारावाहिक भाषण गरेको नदेख्ने को होला ? केहीवर्ष अघिसम्मको कुरा हो, एक जना मन्त्री थिए जसलाई दर्शन र संस्कृत त के, चतारामा मानबज्र बज्राचार्यले लेखेको पहिलाे किताप पनि खर्र पढ्न आउँदैनथ्यो तर उनी हरेक वर्ष गीता जयन्तीका दिन स्वयम्भुको मन्दिरमा पुग्थे र गीताको आध्यात्मिक महत्वका बारेमा लामो प्रवचन दिन्थे ।

यी सब कुरा सुन्दा तपाईँलाई पनि येन केन प्रकारले विशेषज्ञ बन्न इच्छा जागिसक्यो होला । तर विशेषज्ञ बन्नु पनि सधैं रमाइलो र आनन्दपूर्ण हुँदैन। कहिलेकाहीँ त डा. तुंगनाथ जस्ता मान्छे पनि तीन चित पर्छन् । शुरुमा भनिएकै अन्तर्वार्ताको कुरा हो, बाह्राैँ हो कि तेर्हौं उम्मेदवारलाई उनले सोधे-
“रेडियो कत्तिको सुन्ने गर्नु भएको छ ?”
उत्तर आयो ”जागिर-सागिर छैन घरबाट पठाएको पैसाले दुई छाक धान्न त धौ-धौ छ । के खाएर रेडियो किन्नु र सुन्न् नि ?”
“आजको गोरखापत्र पढ्नु भो ?”
“क्याम्पसको पुस्तकालयमा गएर दिउँसो पढ्ने गरेको थिएँ । आज त भात खाएर सिधै यता आइयो । कतिवेला पढ्नु ? अब गएर पढौँला।”
“त्यसो भए भन्नु होस्, आज त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त हुनु भएका हरिराज पाठकको उमेर कति हो ?”
“कहाँको हरिराज नि ? नयाँ उपकुलपतिको नाम त शंकरराज पाठक पो हो त !”
गोरखापत्र पनि पढेको छैन, भन्नु हुन्छ, रेडियो पनि छैन भन्नु हुन्छ अनि कसरी चाल पाउनु भयो त यो कुरा ?
“आफ्नो नभए पनि अरुका कोठामा त रेडियो छँदैछ नि ! यसो यताउति हिँड्दा कहिलेकाहीँ केही न केही कानमा परिहाल्छ। आज बिहान साग किनेर फर्कन लाग्दा रेडियोबाट सुनेर थाहा पाएको !”
“……….?!”
तर… तर डा. तुंगनाथ भन्थे, यस्तो अवस्था बाह्र वर्षमा एक चोटी मात्र आउँछ । त्यसैले सामान्य मान्छे हुनु भन्दा विशेषज्ञ नै हुनु जाती । कि कसो ?

०००
गोरखापत्र, कार्तिक २१, २०४६

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
भलादमी भोला
भलादमी भोला
3 months ago

नामधारी र दामधारी मुठीभरका नाममा विशेषज्ञ पल्टनेहरूले आफूलाई बुद्धिजीवी ठान्ने र मान्ने प्रवृत्तिप्रति खरो टिप्पणी भएको लेख पढ्न पाइयो। जय होस् ।

Ishwor Pokharel
Ishwor Pokharel
3 months ago

हो, फित्कौलीमा यस्ता सामग्री आइरहून्; शुभकामना ।

Nepal Telecom ad
घोर आपत्तिजनक

घोर आपत्तिजनक

शरच्चन्द्र वस्ती
दुई हप्ताको उपलब्धि

दुई हप्ताको उपलब्धि

शरच्चन्द्र वस्ती
हत्याराको छनोट

हत्याराको छनोट

शरच्चन्द्र वस्ती
अवतारको प्रतीक्षामा

अवतारको प्रतीक्षामा

शरच्चन्द्र वस्ती
कडा सुरक्षा व्यवस्था

कडा सुरक्षा व्यवस्था

शरच्चन्द्र वस्ती
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
माथिको आदेश

माथिको आदेश

राजेन्द्र पुडासैनी
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
2
0
Would love your thoughts, please comment.x
()
x