विनाेद सुवेदीभन्न खोजेको यत्ति मात्र, आइ लभ यु !…
तिम्रा सबै विवशता, सङ्घर्ष, इच्छा, आकाङ्क्षा, सपनाहरु मेरा जस्तै लाग्न थाल्यो मनले तिमी, तिमी, अनि तिमी मात्र माग्न थाल्यो... भन्न खोजेको यत्ति मात्र, आइ लभ यु ! आइ क्यान्ट लिभ विदाउट यु !

विनाेद सुवेदी :
भन्न खोजेको यत्ति मात्र, आइ लभ यु !
आइ क्यान्ट लिभ विदाउट यु !
हो त नि हो, मैले मानेँ,
हिजो मात्र हो तिमीलाई देखेको
आज पनि तिम्रै दर्शनको लागि
यो मन्दिरको प्राङ्गण टेकेको
आजै त के भनि हालम् र खै,
किन किन हिजो राति निद्रै लागेन
सेतो सुरुवाल, त्यो रातो टल्किने जुत्ता
गुलाव फूलले झपक्कै त्यो भाग्यमानी कुर्था
देख्ने बित्तिकै हो नाम सोध्न
नम्बर माग्न मन लागेको
मन थर्थर्, तन खलखल,
तर धर्यताले बाँध नाघेन
को हौली परी तिमी, कहाँबाट आयौ झरी तिमी ?
पहिले नै छ कि राजकुमार, खाली देखिन्छ सिउँदो पनि
मलाई नै हौ कि परी तिमी, मेरै लागि आयाै र झरी तिमी ?
लिएर आउन निँदरी, सक्दिनँ सुत्न अब त बिना तिमी
बिहान उठेर चिया होला कि, कफी लिनी ?
चिया मन पराउने भए ल्वाङ्, सुक्मेल, दालचिनी,
तेज पत्ता, सबै राख्ने होला कि, सुकमेल मात्रै
अनि कति नि, चिनी ?
हो त नि हो
भर्खर भर्खरै हो देखेको भेटेको
हो, हो एकै झल्को हो देखेको
तर किन किन बिहान तिमी भन्दा अघि उठी
तिम्रै लागि चिया नास्ता पकाउन मन लाग्यो
तिमीसँगै यो सारा जीवन सकाउन मन लाग्यो
हो त नि,
हुन त नपर्ने हो यस्तो हरीबिजोग एकै झल्कोले,
दिनरात भरि तिमीनै तिमी, खायो मुटु कुटुकुटु
क्याँरु त नि
तिम्रो छातीमा सपक्क टाँसिएको, त्यो मखमली बर्कोले ।
मिरिक्क परेको सुडोल बनावट, कता कता भित्र भासिएँ
अनि उज्यालो हँसिलो मुहार, सेता टमक्क मिलेका दाँत
हाँस्दा दायाँ गालामा पर्ने डिम्पल, मनभरि लिपिक्क टाँसियो ।
हो त नि,
हो मैले मानेँ, हिजो मात्र हो तिमीलाई देखेको
जवानीले लोलाएका ती तिम्रा मृगनयनले
मलाई रोजेनन् पनि होलान्
तिम्रा ती चञ्चल, मदमस्त हेराई, ठमक लचक चालले
रातो मेहेन्दीको रङले रङ्गिएको त्यो लामो कपालले
त्यो जवानीको वासनाले,
मेरो उपस्थितिलाई धुमिल्याए पनि होलान्…
तर किन किन बिहान उठ्ने बित्तिकै
पहिलो दृश्यमा तिमीलाई नै पाउन मन लाग्यो
कस्ती देखिन्छौ होला त्यो लथालिङ्ग कपालमा,
मेकअप बिनाको सुन्दर स्वच्छ,
छलकपट बिनाको कञ्चन निर्मल मुहारमा ?
मेकअप गर्दा पहिले आँखीभौंबाट सुरु गर्छौ होला कि परेला ?
कस्तो देखिन्छौ होला है लाग्दा मेकअपहरुका मेला ?
लिपिस्टिकमा ग्लस पनि थपी सकेपछि
पोटिला, सुन्तला केस्रे ओठहरु जोडेर
लिपिस्टिक मिलाउँदा निस्किएको
मनै चञ्चल पार्ने तिम्रो ‘प्वा प्वा’ आावज सुन्न मन लाग्यो
अगाडिको ऐनामा बनेको तिम्रो तातो श्वासको
बादलमा माइली औँलाले पानको पात कोर्दै
मायाको वाणले छेड्न मन लाग्यो
तिमी हिल जुत्तामा चडेर साडीको मुजा मिलाउँदा
तिम्रो अगाडि बसेर मुजा मिलाइदिँदै,
तिम्रो धपक्क बलेको,
अलि अलि लाज्, अलि अलि घमण्ड मिश्रित
मुहारमा आफैलाई खोज्न मन लाग्यो
तिम्रो ब्लाउजको हूक लगाइवरी
घण्टीफूलको आकारमा बनेका चोली तुना मिलाएर
एउटा फुर्को अलि माथि, अर्को अलि तल हुने गरी
चटक्क, बाँधिदिन मन लाग्यो …
होला, होला यो अलि हतारै होला
किन किन मेरो संसारै तिमी नै हौ जस्तो लाग्न थाल्यो,
तिम्रो बारेमा सबै जान्न मन लाग्यो,
के के कुराले होला है तिमीलाई हाँस्दा हाँस्दै रुवाउने ?
रुदारुदै हँसाउने ?
तिम्रा ती कहिले शब्दमा नभनिएका,
मनका भित्री पत्रहरुमा गुम्सिएका
तर
आँखाबाट चिहाइरहेका विवशता र सपनाहरु
केलाउन मन लाग्यो
समाजका रीतिथिति, छोरीमाथि थोपरिएका
अपेक्षा र कुरितीले थिचिएका, मिचिएका
तिम्रा ती सबै सपनाका पोकाहरु एक एक खोल्दै,
तिम्रा उकुस मुकुसलाई स्वतन्त्रताको चित्कारमा
बदल्न मन लाग्यो,
अनि ती तिम्रा छचल्किएका, ठाउँठाउँबाट चियाइरहेकाे
वैँशालु उखुमलाई
मायाको अमृत पिलाई शीतलता दिन मन लाग्यो,
मेरा योजना र सपनाहरु
मात्र तिमीसँग साट्न मन लाग्यो ।
हो, हो
यति छिट्टै, एकै नजरमा
रात जाग्रम, निँद हराम दिमाग खराब
नहुनु पर्ने हो
तर, अचानक, क्याँरु त नि
तिम्रा सबै विवशता, सङ्घर्ष, इच्छा, आकाङ्क्षा, सपनाहरु
मेरा जस्तै लाग्न थाल्यो
मनले तिमी, तिमी, अनि तिमी मात्र माग्न थाल्यो…
भन्न खोजेको यत्ति मात्र, आइ लभ यु !
आइ क्यान्ट लिभ विदाउट यु !
०००
क्यानडा
Subscribe
Login
0 Comments
Oldest








































