मरुभूमि नारायणजे गर्छ सरकारले गर्छ …
खतरा गर्ने कार्य सूचिको लिष्टमा के छैन ? चरीचुच्चे नक्साको कुरा छैन । त्यहाँ खाम सि सीको कुरा छैन । कालापानी, लिपुलेकको कुरा छैन । त्यहाँ बि आर आइको कुरा छैन ।

मरुभूमि नारायण :
हिजो अस्तिसम्म पनि मान्छेहरूले भन्दै थिए, नेपालमा सरकार बनेन । सरकार बन्न किन ढिलो गरेको होला ? हैन यो सरकार नबनेर के हेरिरहेको छ ? चुनाव हसुरेर आएको पनि यतिका दिन भइसक्यो तर सरकार बन्ने चाँजोपाँजो नै छैन । चार तिरको तनाव खेपेर हस्याङफस्याङ गर्दै नयाँ टिलिक्क टल्केको चम्किालो सरकार बन्यो । सरकारमा बालकदेखि बृद्धसम्मका मन्त्री बने । सानो मान्छेले ठुलो मन्त्रालय पायो, ठुलो मान्छेले सानो मन्त्रालय पाउनुभयो, जेहोस् समग्रमा पाए । मान्छेहरूलाई लाग्यो कि अब सरकार बन्यो केही गर्छ । नभन्दै सरकार बनेको धेरै समय नहुँदै र पेट भरी सपथ खान नपाउँदै आक्रामक रुपमा काम गरिहाल्यो । मान्छेहरू भन्छन्, यो सरकार गर्न आएको हो । खोइ थाहा छैन के गर्न आएको हो ?
पहिलाको काठपुतली सरकारले ठुलो माछा भनेर नानाभाँती गरेर मर्न लागेको झिंगे माछा समाउँथ्यो । सबैभन्दा ठुलो माछा भनेर बुदुने माछो बल्ल बल्ल त्यो पनि कनी कनी समाउँथ्यो । उसको कुरा सानो काम ठुलो थियो । एकदमै ठुलो माछा भनेर शंख फुुकेर बल्ल बल्ल भोटी माटा समाउँथ्यो, तर यो टापटिपे सरकारले ठुलै प्रगति गर्यो । अहिले यो सरकारले ठुलो माछा नभनीकनै ठुलै भ्यागुतो समायो । भ्यागुतो पनि चानचुने होइन यो । मलाई लाग्छ, यहाँ भ्यागुतो र भोगटेको अनुन्याश्रित सम्बन्ध छ । भ्यागुतो समाइदा भोगटे ट्यार ट्यार गर्नु स्वभाकिक नै हो । यो तिरेमिरे सरकारले धमाधम काला माछाहरू समाउन थालेको छ । त्यहाँ माछा मात्रै परेका छैनन् कि कतिपय त सेता भ्यागुताहरू पनि परेका छन् । तसर्थ सरकारले काम गरेन भन्ने पे्रतात्मालाई मुख भरीको तातो जवाफ दिएको छ । यो भारेभुरे सरकार गर्न आएको हो नगरी बस्छ त ? यसले गर्छ । यसले के गर्छ त भन्दा धेरै गर्छ ।
काला माछा, सेता भ्यागुताहरू र राता सर्पहरू समाउन यो रंगीन सरकार रातिमा पनि लागि परेको छ । कति भोगटे, भ्यागुताहरू सम्पर्क बिहीन भएर कुलेलम ठोकिसके । यो सरकार गर्न आएको हो माछा, म्यागुताहरू जहाँ भागे पनि यसले सजिलै समाउनेछ, किनभने यो सरकार गर्न आएको हो, यसले रातिमा पनि गर्छ । भ्यागुतालाई चिलले समाएको झोकमा पाहाहरू सडकमा नाचगान गर्न आइपुगे । सडकमा भागदौड शुरु भयो । लाठीचार्ज भयो । कतिका बांगा ढाड सोझिए । कतिका टाउको सञ्चो भए । कतिका पैतलाले सुख पाए । अपराधिले मिठो यातना पाउनुपर्छ, यो हाम्रो माग हो, चैत होइन । मान्छे अपराधि नै भए पनि एउटा झुन्डले होइन भन्छ ।
राजनीतिमा असत्य सत्य हुन्छ र सत्य असत्य हुन्छ । जेहोस् झोलेहरूले के राम्ररी बुझेका रहेछन् । देशभन्दा ठुलो पार्टी हो, पार्टी भन्दा ठुलो व्याक्ति हो भन्ने कुरा राम्ररी बुझेका रहेछन् । कुरो सुरो नबुझ्नेलाई चाहिं यो पार्टी, सार्टी भन्दा देश ठुलो हो भन्ने लाग्न सक्छ । झोलेहरू झोलमा झोलिए पछि आफ्नो आहाराको रेखदेख त गर्ने नै भए नि । सबै पार्टीका काला माछाहरू समातिने क्रममा छन् । कुनै पार्टीले नांगो सडकमा नजाने भनिसके । अपराधिलाई कतिञ्जेलसम्म थुकपानी छर्केर चोखो बनाउन सकिन्छ र ? फेरि तिनीहरूको सडकमा विरोध गर्न लायकको थुतुनो पनि त छैन । के भनेर आउने सडकमा ? कुबुद्धि पुर्याउनेहरू सडकमा आउन चाहेनन् । बुद्धि पुर्याउनेहरू सडकमा आएर तमासा देखाए, लाठो खाए, टन्न अघाए अनि लुसुक्क घर भागे । वाँदरहरूले आफ्नो घर बनाउँछन् अरुको घर बन्न दिंदैनन् भनेको यही हो । यो बालिके सरकार यस्ता नाथे सुकिला मुकिला कुराहरूमा अल्झिदैन । यो सरकार गर्न आएको हो निन्द्रामा पनि गर्छ ।
मान्छेसँग अनगिन्ती वर्षौ देखिका ताजा तथा उग्र समस्याहरू छन् । मान्छेलाई आशा पनि छ यसले गर्छ । हो पक्कै हो यसले गर्छ । तपाईंको बिहे भयो ? भए ठिकै छ नत्र नभएको भए तपाईंको बिहे पनि यो सरकारले गरिदिन्छ । तपाईंको घर माथि धुरीमा बाटो बन्यो ? चिन्ता नलिनुहोस् अब यो सरकारले त्यहाँ बाटो बनाइदिन्छ । तपाईं थोरै अनपढ हुनुहुन्छ ? चिन्ता नगर्नुहोस् अब तपाईंलाई यो सरकारले बोर्डिङमा सर्लक्कै पठाइदिन्छ । तपाईं बिरामी हुनुहुन्छ ? ढुक्क हुनुहोस् तपाईंको उपचार सिधै विदेशमा हुन्छ । तपाईंले खाना खानुभयो ? तनाव नलिनुहोस् यो सरकारले अब तपाईंलाई खाना पनि खुवाइदिन्छ । तपाईंले जंगलमा सिंचाई गर्नुभयो ? पिर नगर्नुहोस् अब तपाईंको यो काम पनि सरकारले नै गर्छ, किनभने यो सरकार गर्न आएको हो, नगरी बस्नै सक्दैन ।
सरकारले बडो लोभलाग्दो किसिमले गर्ने कामहरूको सुचि तयार पार्यो । तिनमा सम्पूर्ण गर्ने कुराहरू समेटिए । त्यहाँ जनजीविकाका कुरा छन्, स्वास्थका कुरा छन् । पढाइका कुरा छन् । सुधारका कुरा छन् । प्रशासन चुस्त बनाउने कुरा छ । रोजगारीका कुरा छ । त्यहाँ के कुरा छैन ? सबै कुरा छन् । त्यहाँ त गर्ने कुराहरूको लामो लिष्ट नै छ । खतरा गर्ने कार्य सूचिको लिष्टमा के छैन ? चरीचुच्चे नक्साको कुरा छैन । त्यहाँ खाम सि सीको कुरा छैन । कालापानी, लिपुलेकको कुरा छैन । त्यहाँ बि आर आइको कुरा छैन । एस पी पी को चर्चा छैन । अन्तराष्ट्र्र्र्रिय सन्धी सम्झौताको कुरा छैन । जे होस् यी सामान्य कुराहरू चाहिं त्यो गर्ने लिष्टमा छैनन् । त्यहाँ सिमानाको कुरा छैन, होस् पनि कसरी ? उतैबाट त आउँछ यहाँ मल, जल, फल र ढल अनि कसरी उठ्छ र सिमानाको कुरा ? यसै त मान्छेहरूले यो पराईको सरकार हो भन्छन् त्यहीं माथि देशको हितमा काम गर्ने एउटा कुरा उल्लेख छैन ।
यदि यो सरकार गर्नै आएको हो भने पहिला देशको हितमा काम गरोस् । देश भए हामी हुन्छौं । देशको सिमाना लुटिनबाट बचाओस् । अन्तराष्ट्र्र्र्रिय सम्बन्ध फलफूलदायी बनाओस् । देशको हितमा काम गरोस् । विदेशीको इशारामा पौडी नखेलोस् । के गरेर हुन्छ, कसरी हुन्छ देशको हितमा काम गरोस् । जनताको हितमा काम गरोस् किनभने यो सरकार गर्न आएको सरकार हो । जे गर्छ अब यही ना…मर्द सरकारले गर्छ ।
०००
तनहुँ
Subscribe
Login
0 Comments
Oldest







































