कुरै त हो सम्धी

तपाईंलाई लागे जस्तो छ सम्धी, कुरा ठिकठिक गर्न थाल्नु भयो मलाई पनि ठिकठिक भए जस्तो छ, संविधानको मात्रै कुरा आउन थालेको छ नेताहरू हामीलाई यस्तो लाग्या छ, लागिराछ, लाइराछ भन्थे हामीलाई पनि आज त ठ्याम्मै त्यस्तै लागिराछ हगि सम्धी ?

फुर्सद तपाइँलाई पनि छ, फुर्सद मलाई पनि छ
समय काट्न गाह्रै छ, आउनोस्,
यो चिया पसलमा बसौं कि त्यो भट्टीमा पसौं ?
एक फुलबोतल अर्डर गरौं, अनि कुरा गरौं
यस्तो महँगो रक्सी खाएपछि, चानचुने कुरा नगरौं
कुरै त हो सम्धी, कुरा चैं त देशकै गरौं ।

सबै संविधान संविधान भन्छन्
संविधानले के हुन्छ सम्धी ?
हाम्रो भैंसी ब्याउने गराउँछ ?
कि हाम्रो बाँझो खेत जोत्न मान्छे पठाउँछ ?
देशलाई निकास दिन्छ कि विकास दिन्छ ?
आखिर नभई नहुने रहेछ त संविधान
नयाँ नबनाईकन पुरानो किन फ्याँकेका सम्धी ?
मैले त पुरानै संविधान पनि पढेको छैन
मलाई नयाँ संविधान किन चाहिएको सम्धी ?
सप्पै नयाँ संविधान चाहियो चाहियो भन्छन्
हामीलाई केही नयाँ दिँदैन संविधानले, बुझ्नुभो सम्धी ?
केही दिने भए पनि यिनै नेतालाई दिने होला
खोई ल्याउनोस् एक पेग यता थपौं
कुरै त हो सम्धी, कुरा चैं त देशकै गरौं ।

कान्छोको बिहे गरिदिउँ भनेको गाउँमा केटी नै छैनन्, सब विदेश लागे
छोरीकै चैं गरिदिउँ न त भनेको आफ्नो सर्कलमा केटानै बाँकी छैनन्
यी दुई पनि कुन दिन देश छोडेर जाने हुन्, ठेगान छैन
यो बुढेसकालमा एक्लै पो परिने भैयो
मर्ने बेलामा पानी खुवाउने पनि कोही नहुने भयो
नेताले पाए हाम्रा लासमाथि पनि भाषण गर्लान्
जति धेरै शहीद भयो उनलाई उति राम्रो हुने रहेछ
हामीलाई पनि शहीद भन्लान् त सम्धी ?
संविधानमा हाम्रा कुरा लेख्लान् त सम्धी ?
दिक्क लाग्छ, कसलाई के भनौं, के गरौं
खोई थाप्नोस् एक पेग त्यता थपौं
कुरै त हो सम्धी, कुरा चैं त देशकै गरौं ।

यो गणतन्त्र, प्रजातन्त्र, लोकतन्त्र भनेको के हो सम्धी ?
हाम्रो गाउँमा त गणतन्त्र आयो रे भन्छन्, जानै डर लाग्छ
हिम्मत गरेर २-४ चोटी जान खोजेको, बन्दैबन्द परेर जान पाइएन
नयाँ संविधान बनेपछि गाउँ जान पाइएला त सम्धी ?
गाउँमा कुटो कोदालो गरिखान पाइएला त सम्धी ?
तल्लाघरे कुप्री बूढीको नाति संविधान लेख्नेमा जितेर आयो रे
त्यसलाई अक्षर मैले नै चिनाएको हो,
सावाँ अक्षर बल्लबल्ल लेख्छ
त्यसैलाई संविधानमा मेरा कुरा पनि लेखिदे भनौं त सम्धी ?
के रहेछ यो संविधान, छ सय जनाले एकैचोटी मिलेर लेख्नुपर्ने ?
महंगीको टेन्सनले यहाँ लोग्ने स्वास्नी त मिल्न गाह्रो भैसक्यो
यी ६०१ मिल्न सक्लान् त सम्धी ?
मैले त बुझ्नै सकिन सम्धी
खोइ ल्याउनोस्, यता सानो एक पेग थपौं
कुरै त हो सम्धी, कुरा चैं त देशकै गरौं ।

देश गम्भीर अवस्थामा छ भन्दैथियो हिजो एक नेता
यो अवस्था ल्याएको त उसैले होइन र सम्धी ?
देशमा विदेशी चलखेल बढ्यो पनि भन्दै थियो
बढाएको उसैले होइन र सम्धी ?
हाम्रो राष्ट्रियता खतरामा परेको छ पनि भनेको सुनें
पारेको त उसैले होइन र सम्धी ?
तिनले आफ्ना उपलब्धिको धाक लगाएका हुन् ?
कि जनता तर्साएका हुन् ?
पाप धुरी चढेर कराउँछ भनेको यही होला हगि सम्धी ?
नत्र त्यस्तो भन्न लाज लाग्नु पर्ने होइन त ?
यस्ता लबस्तराहरूको के कुरा गरौं ?
खोई ! यो सिसी त सकिएछ, अब हाफ अर्डर गरौं ?
कुरै त हो सम्धी, कुरा चैं त देशकै गरौं ।

‘म विश्वास दिलाउँछु’ भन्दै थियो अर्को नेता
बाठो त नेता बाठो रहेछ, दिलाउँछु भन्छ, दिन्छु भन्दैन !
त्यसले दिलाएको विश्वास कसले लिने होला ?
कसैले नलिने विश्वास उसले कसलाई कसबाट दिलाउने होला ?
‘म विश्वस्त छु’ पनि भन्दै थियो अर्को
त्यसका कुरा कसले पत्याउँछ भनेर भनेको होला ?
‘म यसमा ढुक्क छु’ भन्दै थियो अर्को फटाहा
ऊ ढुक्क भएर हामी ढुक्क हुन मिल्छ त सम्धी ?
ऊ ढुक्क त जहिले पनि छँदैछ नि, हामी जस्ता जनता पाएपछि
ल्याउनोस् म पनि सानु एक पेग थपौं
कुरै त हो सम्धी, कुरा चैं त देशकै गरौं ।

तपाईंलाई लागे जस्तो छ सम्धी,
कुरा ठिकठिक गर्न थाल्नु भयो
मलाई पनि ठिकठिक भए जस्तो छ,
संविधानको मात्रै कुरा आउन थालेको छ
नेताहरू हामीलाई यस्तो लाग्या छ, लागिराछ, लाइराछ भन्थे
हामीलाई पनि आज त ठ्याम्मै त्यस्तै लागिराछ हगि सम्धी ?
उनीहरू त सधै पिउँदा होलान् र पो जहिले पनि लागिरहँदो हो
हामीलाई त आज बल्ल मौका मिलेर लागिराछ
एक वर्षमा संविधान बन्ला जस्तो त अहिले मलाई पनि लागिराछ
के तपाईंलाई पनि त्यस्तै लागिरा छ ?
मलाइ त अब एक क्वार्टर थप्यो भने ६ महिनामानै बन्ला जस्तो लागिराछ
ओहो ! त्यत्रो चमत्कारी अग्रगामी छलाङ्ग नमारौ सम्धी
एक बर्षबाट तल न झरौं, बाँकि कुरा पछि गरौँ, अब घर हिडौं
नयाँ संविधान भए घरसम्म पुर्‍याइदिन्थ्यो होला
छैन, खुट्टा लर्बराए पनि नलडि़कन आफैं घरघर पुगौं
कुरै त हो सम्धी, कुरा चैं त देशकै गरौं ।
कुरै त हो सम्धी, कुरा चैं त देशकै गरौं ।

०००
बत्तिसपुतली, काठमाडौं

फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
भाग नेपाली भाग !!

भाग नेपाली भाग !!

चट्याङ मास्टर
ज्याकी

ज्याकी

चट्याङ मास्टर
यिनै हुन्

यिनै हुन्

चट्याङ मास्टर
भाग नेपाली भाग !!

भाग नेपाली भाग !!

चट्याङ मास्टर
यिनै हुन्

यिनै हुन्

चट्याङ मास्टर
आमालाई ठग्ने ?

आमालाई ठग्ने ?

चट्याङ मास्टर