साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नमस्ते मोडेल

कसैलाई ठूलो साँठगाँठ बनाउन, कसैले कसैलाई सानो देखाउन या धाक लाउन नमस्ते नतमस्तक बनेर उदाउँदो रहेछ । कसैले कसैलाई दशैको खसी खुइल्याए झै खुइल्याउन नमस्ते गरिदो रहेछ ।

Nepal Telecom ad

खै म लुच्चो भएर कसरी नमस्तेको मोडलको परिभाषा गरूँ ! कसरी नमस्तेको सुरुवाल खोलुँ ! नमस्तेशात्रीहरूले यसको उच्चारण जान्नु् होला । यो मेरो नमस्तेवादी यक्ष कुरा हो । मैले गरेको कुरा सबैले स्वीकार गर्नैपर्छ भन्ने पनि छैन । नमस्तेको न्वारन कसले गर्‍यो त्यो पनि भाषाशात्रीहरूले बताउलान् । मेरो यो निम्छरो कलमले के सक्ला र ? जे पायो उहि तरहले विचार गरेर नमस्तेको मोडेलले पुल्टुङवाजी खान्छजस्तो लाग्छ । यसो भन्दा पाठकले मेरो कलमलाई चिथोरेर पनि नमस्तेको ह्याकुलो नापिसक्नु भएकै हुनुपर्छ भन्ने मेरो ठम्याइ छ । दुईको जम्काभेटमा चिम्टाजस्तो जुम्ल्याहातलाई कपासजस्तो हलुङ्गो जोडी बनाई दश औंला जोड्नाले नमस्तेको आकार बन्ने गरेको ठान्छु् म । यसैलाई कसैले नमस्ते धनुष्टङ्कार पनि भन्दै आएका छन् । नमस्ते गर्दा टाउकोलाई पुनर्ताजगी बनाउन सजिलो हुन्छ अरे भन्छन् ।

नमस्तेका खाने अवसरवादी पनि लाटागाँडा यहिँ छन् । अड्डा अदालत जानु होस् कि त कार्यालय धाउनु होस् । नमस्तेकै खाँचो छ । जता हेर्‍यो उतै नमस्तेकै रजाइँ देखिन्छ । बजारमा हेलमेल गर्नुहोस् त यो नमस्तेकै प्रभाव हो । विस्तरामा घिड्घिडाउँदो सास फेर्नै नसकिरहेको मान्छे पनि नमस्ते सुनेपछि पुलुक्क हेरेर आनन्दको मुख फेर्छ । यो जुगाको जुगमा जोर हात उचालेर मोडेल मोडेलका नमस्ते झुपडीदेखि दरवारसम्म वफादारी गरिरहेको छ । परिस्थितिले नमस्तेको उत्पादन बिजुली पानी भ्याउनेदेखि तोरीको फूल देख्नेसम्मले रामरी देखेका छन् । म समेत यो क्रियामा सहभागी पात्र नभए पनि अनुभव गर्ने गरेको छु ।

यो नमस्तेकै हुङ्कार गर्ने आधुनिक जमाना हो । पहिले जदौमा चिप्ले हुने कुरो पनि आजभोलि नमस्तेमा चिप्लिएको छ । आजभोलि जे कुरा पनि नमस्तेमा ठोक्किन थालेको अजुभव हुन्छ । नमस्ते जुग भएकोले पनि जुनसुकै पहिरनमा र भेष भुषाको भातमा पनि नमस्ते पस्किइन्छ । उभिएर, निहुरिएर, कुप्रिएर, कुरुप भएर, मपाईं भएर, तपाईं भएर, कतै पेलिएर, कतै दबिएर, कतै तानिएर, जुन बेला पनि नमस्ते गर्न सकिन्छ । भंसारको संंसारमा पनि अट्ने नमस्ते गर्न सकिन्छ । नमस्ते नै अपटुडेट छैन भने सबैले खानु पर्छ भन्ने छैन ।

नातागोता नजुरे पनि अरु थोक नजुरे पनि प्रेमपूर्वक सम्मान गरिने नमस्ते जुनसुकै जात, धर्म, पेसा र व्यवसायका हातहरूले गर्न सक्ने कर्म हो । थालको भातदेखि खानपानमा नमस्तेको सितन पाइन्छ । । नमस्तेसित मिल्दोजुल्दो नाम जय नेपाल, लाल सलाम, जय हिन्द, कतै जदौ, जे जहाँ जुन फिट हुन्छ उहीँ चले चलाएको देखिनु अस्वाभाविक होइन । नमस्तेमा मपाईं र तपाईंवाद भन्ने हुँदैन । लगाएको धोती खुस्के पनि जुनसुकै भाषामा पनि पहिलो व्यक्तिले दोश्रो र दोश्रोले पहिलोलाई जसले पनि नमस्ते भन्न सक्छ । मान्छेको नव मोडेल मोडेल भए झैं । नमस्तेले पनि कुर्सीको मोडेल अनुसार जनजिब्रो प्रिय नभए पनि आदानप्रदान गरिरहेकै छन् ।

जिन्दगी एउटा नमस्तेको एउटा मोडेल पनि हो । प्रत्येक हिडाईंमा, प्रत्येक हँसाईमा, प्रत्येक गराईमा नमस्तेको बहस हुन्छ । कहीँ नभएको खण्डमा यो नून नहालेको तिहुन जस्तो खल्लो हुन पुग्छ । भोजको नमस्ते । मोजको नमस्ते । सत्यको नमस्ते । असत्यको नमस्ते ।

मेरो एउटा सानो संसारमा कहलिएका औतारी वकिल छन् । नमस्तेको बहसलाई उनी कवितामा देख्छन् । निबन्धमा ओकल्छन् । गध्यमा लेख्छन् । आख्यानमा कल्पना गर्छन् । उपन्यासमा भट्भट्याउँछन् । लहलाउदो जोवनमा लरखराउँदो नमस्ते गरे पनि नमस्तेको वेलिबिस्तारमा नमस्तेको बहस लट्टाई रुपी धागोमा पनि कुँदेकै हुन्छन् ।

आलुजस्तो उसिनिएर गरिने नमस्ते पनि भेटिन्छ । नमस्तेको बाबु नमस्ते नै हो । नमस्तेले ठिमाहा सधियारले गरे पनि नमस्ते नै हुन्छ । सधियारेले सन्धियारेलाई गर्ने नमस्ते आलु नमस्ते हो । मिलनसार नमस्ते भए पनि तारेजस्तो नमस्ते साँच्चिकै बौद्धिक नमस्ते हो । नमस्तेको काइदा मात्रै होइन फाइदा पनि छ । नमस्ते गर्ने मान्छे अलोकप्रिय नहुनु यसको विशेषता हो । नमस्ते गर्ने मान्छे सधै सैलुन गएर आएजस्तो अप्टुडेट हुन्छ । डेटइस्क्पायर भएको हुँदैन । धोबीको गधा नपुगेको ठाउमा पनि नमस्ते पुगेको हुन्छ ।

प्रत्येक नमस्तेको स्वभावले सेलुज गएर आएकोजस्तो । स्वाभिमानको चङ्गा गुडेझै गुड्ने होला । नमस्ते खान पल्केकाहरूले नमस्तेका पनि मोडेल मोडेलका खोज्छन् । यसलाई सौभाग्य भन्ने कि दुर्भाग्य भन्ने ? नमस्ते गर्न त्यति सजिलो भने छैन । नमस्तेको मोडेल पुरानो हार होइन, जीवनको उपहार हो ।

हामी जुन मोडेलमा नमस्कार गरी विनम्र मुद्रा देखाउँछौ यो नै हाम्रो संस्कार हो । दुई हात जोडिने भएको हुँदा योगको क्रिया कराए पनि कसरतमा हुन्छ भनेर रमाए पनि हुन्छ । हामी कसैसँग दुई आँखा जुधाएर गर्धन मात्र सिधा पार्दैनौ हात पनि जोड्छौ । यहि हो नमस्कार भनेको एक्यूप्रेसर विधि पनि हो । हामी हात जोडेर बेठीकलाई ठीक भन्न सक्दछौंै । जस्तो परिवेस भए पनि सन्चो विसन्चो आराम विरामका कुरा गर्दा नमस्ते अनायासै आइहाल्छ । नमस्ते भेटघाटको पुरानो मोडलको थात्रो कपडा जस्तै हो । जति पुरानो भयो उति मोडल हुने । आफूसँग बास उठा गर्ने जोरिपारिको अगाडि नमस्ते नगरे बदनामको भागीदार हुनुपर्छ ।

आजकल कसैलाई खुशी पार्न कतै आकाशै छोला जस्तो अग्लो नमस्ते । पाताल जस्तो गहिरो नमस्ते । यो औडेखौडे नमिलेको नमस्तेको सतह कहाँ मिलेको छ ? बाटोघाटोमा भेटिँदा गरिने नमस्तेले कसको भलो गरेको छ र ? न त कतै कुभलो नै गरेको छ । कोही गोजीको पैसा तान्न नमस्ते गर्छन् ।

नमस्ते शब्द आफैं खराब कहाँ हो र ? कतै अलिकता भएको मन पापी भएर भरर कुभिण्डो जस्तो कुडिन्छ होला । पालो र बाटो मिचे पनि । टाउको भूइमा दले पनि । जस्तो चाहिन्छ उस्तै नमस्तेका पनि मोडेल छन् यहाँ । चोरले चोरलाई गर्ने धनुष्टङ्कार नमस्ते लोकप्रिय भए पनि नाफामा छैनन् । घमण्डीले घमण्डीलाई गर्ने जय नेपालको नमस्ते अमिलिएर डकार आउँछ । डर र धकले गर्ने गरेका नमस्ते पनि छन् । मान्छे छानिछानी नमस्ते गर्नुहोस् । यी सबै नमस्तेका मोडेल हुन् । मान्छेले उड्नेमा सग्लो हावाको महलदेखि हवाईजहाजको पुच्छर देखे । खै कसलाई मात्र नमस्ते भन्ने । नमस्तेको मोडेल बेला बेलामा फरक भएपछि यसको चर्चा चासो र चिन्ता पनि फरक ढंगको चलेको हुन्छ । नमस्तेका सम्बन्ध उडेको जेटदेखि हसको हसम्म हुने गरेको हुन्छ ।

जीवन एउटा नमस्तेको मोडेल हो । प्रत्येक हिडाईमा हामी नमस्ते कमाउँछौं । जुन बेला चाहियो उही बेला नमस्ते हुन्छ । चाहे हाँसको चालमा हिडेको होस् । त्यो कतै नालीमा मुख गाडेर हिँडेको होस् । आफ्नो एकसरो मानु खाएर अरुको चरित्र चुहाएर पनि नमस्ते प्रहार गर्छौ हामीहरू ।

नमस्तेको रुप बारम्बार बदलिरहेको हुन्छ । वल्लो पाखो र पल्लो भित्ता नाप्ने नमस्ते । अब त मोबाइलको कतै डोबले नमस्ते हान्छ । नमस्तेको डोबलाई कसरी अस्वीकृत गराउने यो मन पनि उस्तै हुन्छ । नमस्ते नमस्ते नंै हो हेण्डसम के बुद्धिजीवी, के पत्रुकार के असाधारण मान्छेले शंका गर्ने कुरा चाहिँ होइन । नमस्तेले हाण्डसमसित पनि सम्बन्ध गाँसेको हुन्छ । यति भन्दैमा तपाईंको होसहवास उडेको छ छैन ? तर पनि चाहेको मान्छेले मुसुक्क नहाँसेपछि नमस्ते गर्नेलाई बढि पिर पर्छ ? नमस्तेको टन्टामा फस्छ मान्छे कुन्नि किन ? कुरा हिउँजस्तो चिसो भए पनि नमस्ते खुसार्नीजस्तो पिरो भए पनि नमस्तेले मान्छेको जिब्रोको मस्तिष्क दैनिक नाप्छ र गजबको गुलेली ताक्छ । कागती जस्तो अमिलो नमस्ते भए पनि राहतको प्याकेज दिन्छ । दिमाग क्रान्तिकारी भए पनि शाान्तिकोे पर्दामा नमस्ते नै हुन्छ । नमस्ते आगो भएर पुतपुत धुवाँ छोडेर कालो आकाशमा उडे पनि सबै विद्रोही चिजलाई निभाएर पचाउँछ ।

आफै गम खानुहोस् कतै निभेको आगो सल्काउने को छ ? यो नमस्ते मोडेलको युग हो । प्रत्येक फूलकवि नमस्तेमा हाँस्छ । अतः दुई चार हरफको मन्तव्य मोड्न तोड्न र जोड्न पनि नमस्तेको आवश्यक्ता परिरहेको छ । यो नै नमस्ते सुस्केराको भाषाभित्र पर्छ पर्दैन मलाई वास्तवमा थाह छैन । रुखमुनि वसे पनि पाटीमुनि घुस्रे पनि नमस्तेकै मोडेल वहस हुन आवश्यक छ ।

अब म नमस्तेलाई कुन मोडेलमा ढालिदिउँ ? भेटघाटमा अनायास जुजुमान भेटे पनि जजमान भेटे पनि नमस्ते गर्नैपर्छ । कहिलेकाहीँ व्यङ्ग्यमा भनिन्छ- मान्छेसम्मलाई नमस्तेको थोत्रो प्रडक्ट मन पर्छ । कसैको कुभलो नचिताए पनि ठाउँ अनुसार नमस्तेको मोडेलमा पनि विशाल र बिस्तृत परिवर्तन भएको हुन्छ । मान्छेलाई चिनजानमा छेट्याउने नमस्ते शब्द हो भन्ने कुरा तपाईले पक्कै थाहा पाइसक्नु भएको होला । नमस्ते यो आदर्रार्थी ढोग भए पनि यसले जिस्क्याओ नभन्नु होला । यो विश्वव्यापी चलेको चलन हो । नमस्तेको नून खानेलाई भन्दा नजिरको सुन चाट्नेलाई यसैले बढी झटारो हान्ने गरेको संकेत नमस्तेले दिन्छ ।

मान्छे नमस्तेको एउटा पात्र मात्र होे । मान्छे सिहदवार छिरेको नातेदार खुर्सानी जस्तो पिरो होस् वा त आर्यघाटको आयुमा लगेको लाश । कागतीजस्तो अमिलो र धमिलो होस् म नमस्ते नै गर्छु । कति काम गर्न नमस्तेले सहयोग गरेको हुन्छ । नमस्तेलाई बैगुनी शब्द भन्न पनि मिल्दैन । यो कर्ममा फिट हुन्छ । यो एक्काइसांै शताब्दीमा मान्छेलाई चाहे जस्तो नमस्तेको स्वाद नआउँदा पनि मान्छेलाई भिमसेनपातीले पुजेका छन् । ढुगालाई भने पनि नमस्ते गरेकै छौँ हामीले । हो त्यहि भएर अत्यास आउँदा पनि नमस्ते मासिएको छैन ।

नमस्ते कतै सल्केर भास्सिएको पनि छैन । कतै मान बढ्दा, कतै शक्ति घट्दा नमस्तेले चाकरीको चलन दर्शाएकै हुन्छ । नमस्तेको इतिहास भन्दा जम्काजम्की भेटमा नमस्ते बूढो भएको छ । टिकटकमा कसैले कसैलाई ठूलो साँठगाँठ बनाउन, कसैले कसैलाई सानो देखाउन या धाक लाउन नमस्ते नतमस्तक बनेर उदाउँदो रहेछ । कसैले कसैलाई दशैको खसी खुइल्याए झै खुइल्याउन नमस्ते गरिदो रहेछ । शान्तिपूर्वक बाँच्नेले पनि नमस्तेको मोडेल बुझेकै हुनुपर्छ । नत्र त उही हो, कुरो बुझियो नि हैन ??

०००
२०७९ मङ्सिर २६
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
टुकुचा !

टुकुचा !

ठाकुरप्रसाद अधिकारी
बडोहरूको तगडो चर्चा

बडोहरूको तगडो चर्चा

ठाकुरप्रसाद अधिकारी
हल्ला जस्तो हल्ला किन ?

हल्ला जस्तो हल्ला किन...

ठाकुरप्रसाद अधिकारी
आधुनिक नाता आतङ्क

आधुनिक नाता आतङ्क

ठाकुरप्रसाद अधिकारी
खुट्टा

खुट्टा

ठाकुरप्रसाद अधिकारी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x