अज्ञात युवकमपाईं
तपाईंका हातबाट पड्किरहेका तालीका तेलीहरू मपाईंका कानले उल्टो सुनेका बोलीका लोलीहरू भेलामा आकर्षण केन्द्र थिए उहाँ थकितथकित हुनुभो अनि चकितचकित हुनुभो ।

उहाँ भुँडी हल्लाउँदै पाल्नुभो
तपाईं जुँगा मुसार्दै पाल्नुभो
मपाईं भुँडी सुमसुम्याउँदै पाल्नुभो
थान्कोअनुसारका कुर्सीहरूले
उहाँ,
तपाईं
र
मपाईंलाई चुम्बकझैँ सुटुक्कै तान्नुभो
बहु रङ्ग र ढङ्गका
उहाँ, तपाईं र मपाईं
थान्कोमान्कोमा लुटुक्कै थच्चिनुभो
पालो उहाँकै थियो
खोक्नुभो, नराम्ररी खोक्नुभो
दोहोर्याएर खोक्नुभो
तपाईं र मपाईंलाई
उहाँको सुन्दर मुहारमा केन्द्रित गर्नुभो
भूमिका बाँध्नुभो, बाँधिरहनुभो
तपाईंले ताली पडकाउनुभो
मपार्इंले गाली सुनिरहनुभो
उहाँले जोडले खकार्नुभो
कति सजिलै फड्कार्नुभो
घरकैलाई झैँ हकार्नुभो
भरपेट डकार्नुभो
आफैँलाई एक पटक थचार्नुभो
तालीको सौखिन तपाईं ताली पड्काइरहनुभो
शब्दशब्दमा ताली
शब्दशब्दमा गाली
शब्दशब्दमा नाली
शब्दशब्दमा घरवाली, बहारवाली फलाकिरहनुभो
मपाईं सुन्दै रहनुभो
उहाँ र तपाईं देख्दै रहनुभो
उहाँ र तपाईंलाई भोग्दै रहनुभो
अझै चाउरिएर झ्याउरिएर उहाँ र तपाईंलाई बुझ्दै रहनुभो
उहाँका मुखारवृन्दबाट बर्सिएका आवाजका ठेलीहरू
तपाईंका हातबाट पड्किरहेका तालीका तेलीहरू
मपाईंका कानले उल्टो सुनेका बोलीका लोलीहरू
भेलामा आकर्षण केन्द्र थिए
उहाँ थकितथकित हुनुभो
अनि चकितचकित हुनुभो
हुने पनि हुनुभो
नहुने पनि हुनुभो
तपाईं हरित हुनुभो
गलित हुनुभो
नुन खाएको झैँ हुनुभो
मपाईं ऊर्जावान् एक गौप्राणी
सुन्दरसुन्दर दृश्यपानमा
नरमनरम भाषणमा
बुझ्नेभन्दा धेरै बुझेर
या बुझ्दै नबुझेर
ट्वाँ परिरहनुभो
स्वाँ-फ्वाँ गरिरहनुभो
आँ गरिरहनुभो
गर्ने पनि गरिरहनुभो
नगर्ने पनि गरिरहनुभो
हुने पनि हुनुभो
नहुने त झन् हुने नै हुनुभो
एउटा मूकदर्शक गौप्राणी बनेर
उहाँ, तपाइँ र मपाईंलाई नियालिरहे
झियालिरहे ।
०००
गोकर्णेश्वर ३, सुन्ताखान, काठमाडौँ
९८४१८५१०२०
Subscribe
Login
0 Comments
Oldest







































