माणिकरत्न शाक्यतीन ठट्यौली
तपाईंको अनुहार पनि थापाकै जस्तो छ नि ! त्यही भएर संयोग मिलेको होला ।

१. ट्वाँ
एकताका म साहित्यिक पत्रिका प्रकाशन गर्थें । त्यही सिलसिलामा एकदिन त्यसबेलाका जल्दोबल्दो कथाकारसँग रचना माग्न उहाँको घरमा पुगेँ ।
भेटपछि, नमस्कार आदानप्रदान र एकैछिन भलाकुसारी गरेँ । मैले पत्रिकाको लागि एउटा रचना पाउँछु कि भन्ने बित्तिकै मलाई त काँच्चै खाउँला जस्तै गरि मुर्मुरिदै रिसाएर हेरे, अनि भटटट पड्के ।
के के भने भने के के । अन्तिममा- तपाईंहरू आउने वित्तिकै रचना दिन के मेरो दिमाग टुथपेष्ट हो र ! तलबाट निर्चोदा माथिबाट निस्कने ।
म त ट्वाँ !
२. गाईजात्रामा
मलाई हेरेर सबैले कस्तो थापाको जस्तो अनुहार पर्या मान्छे भन्थे ।
गाईजात्रा पत्रिका कामनाले त मलाई प्रमाणितै गरिदियो । एकदिन सम्पादकलाई भेटेर भने- तपाईंको पत्रिकाले त म माणिकरत्न शाक्यलाई माणिकरत्न थापा बनाइदिएर गाईजात्रा बनाई हाल्नु भएछ नि !
संपादकले हाँस्दै भन्यो- माणिकजी ! कपि पेष्ट गर्दा चिप्लिएर तपाईं थापा बन्नु भएकोमा बधाई छ है ! तपाईंको अनुहार पनि थापाकै जस्तो छ नि ! त्यही भएर संयोग मिलेको होला ।
हामी हाँस्यौँ ।
३. बिहेको प्रसङ्ग
मेरा कृतिहरू विक्री गर्न मेरै संस्थाको हाकिमसाब कहाँ पुगेँ र आफ्ना कुरा भनें । उहाँहरूले कृति किनेर सहयोग गर्नुभयो । केही दिन पछिको भेटमा उहाँले प्रतिक्रिया दिँदै भन्नुभयो- माणिकजी ! तपाईको १५ वटी शीर्षकको विहेको प्रसङ्ग त औधी मज्जा लाग्यो ।
मैले भने- हो र सर !
साथीलाई दैनिक प्रसङ्ग सुनाउने मेरो बानी थियोे, सुनाएँ । मेरो कुरा सुन्ने बित्तिकै उनै साथीले हाकिमसाबको विषयमा हाँस्दै भन्यो-
पूर्वतिर लाग्यो कि त उसका जस्ता अनुहार भएका छोरा मान्छेहरू कति भेटिन्छन् कति ! त्यही भएर विहेको प्रसङ्ग त उहाँलाई राम्रो लागि हाल्छ नि !
साथीको कुरा सुनेर म त ट्वा परें ।
०००
चाबहिल, सरस्वतीनगर
Subscribe
Login
0 Comments
Oldest







































