डिल्लीराज अर्यालनयाँ नेपाल बन्ने भयो
आफै दङ्ग परी, कुरी, स्थिर बनी,गन्दैछु मैले घडी चारैतर्फ छ द्वन्द्व,मानिस कुनै खोज्दैन के हो कडी ? बस्ती शून्य,उराठ गाउँ घर छन् आत्मीयता रित्तियो मान्छेको मुटु चस्कियोस् अब नयाँ नेपाल बन्ने भयो !

डिल्लीराज अर्याल :
ब्यर्थै खल्बलमा परी समय यो खेरा गएकै थियो
मान्छेले मनमा अमूर्त सपना देख्ने गरेकै थियो
केही हुन्छ अवश्यमा रहरमा मान्छे उडेकै थियो
यो नेपाल नयाँ बनाउन नयाँ वादा छरेकै थियो
मान्छे दङ्ग थियो, त्यसै मनमनै, अभ्यासमै थन्कियो
चर्का भाषण, बन्दमा, जुलुसमा अभ्यास चल्दै गयो
हामी मख्ख थियौँ सधै सदनमा जात्रा चलेकै थियो
सिङ्गै देश, समाजका हित चले–चर्चा सबै सिद्धियो
बन्दा वादविवाद–केन्द्रित सबै सङ्कल्प त्यत्रो गयो
खुल्दै तथ्य गयो, परिस्थिति बन्यो अर्कै,बहाना भयो
सारा ध्यान कमाउनेतिर हुँदा आधार मिल्ने गयो
बुझ्दै बल्ल गयौँ सबै अब नयाँ नेपाल बन्ने भयो !
मान्छेका मनमा विषाद अहिले बढ्दैछ, आशा गयो
जम्मै नीति, विवेकहीन नरको लाचार छाया भयो
जम्मै भ्रान्ति रहेछ, सोच यिनको देखेर थाहा भयो
उल्टो चाल चलाउँदा अब नयाँ नेपाल बन्ने भयो !
शिक्षा नै अब व्यावसायिक भयो, पढ्नै नपर्ने भयो
पैसामा बलिया चलेपछि सबै सञ्चार मर्ने भयो ।
आफै मार्न र मर्न तत्पर भयो उद्योग यै फैलियो
त्यै उद्योग बढेर नै अब नयाँ नेपाल बन्ने भयो !
बारी, खेत घटे, बजार चुलिए, आवास बढ्दै गए
नेपाली जनले विदेश भरिँदा बस्ती यहाँ रित्तिए
सारा सोच, विचार नै बदलिए जस्तै भयो, फेरियो,
आफ्नो भन्नु रहेन क्यै,अब नयाँ नेपाल बन्ने भयो !
कैल्यै ध्यान गएन द्वन्द्व घरको पर्गेल्न, टुङ्ग्याउन
खै सामर्थ्य रहेन पाइन दिई अर्झाप्न, चम्काउन ?
खोजेका किन फेरि आरन उही के गर्न बाँकी रह्यो
बुझ्दा सोच समग्र लाग्दछ नयाँ नेपाल बन्ने भयो !
फैलाई झगडा, अशान्ति, सपना साँच्ने कहाँसम्म हो?
सोचै छैन कि भिन्न भै नबुझिने आधार बन्दै गयो ?
लोभी, धूर्त जमातको मनपरी आदेश चल्दै गयो
लाग्दै दाउ गएछ, लौ अब नयाँ नेपाल बन्ने भयो !
काँडा, फूल सँगै भए, नचिनिने चिन्नै नमिल्ने भए
हाम्रा हात र पाउ चर्र चिरिए, झन् घाउ बढ्दै गए
भित्रैसम्म समाज चर्र चिरियो, मिल्नै नसक्ने भयो
चिर्ने तत्व चिनिन्न तैपनि नयाँ नेपाल बन्ने भयो
दानामा गहुँका लडी दिन बिते, हाम्रो हरायो फिनी
कोही छैन सिपालु चिन्न सजिलै सक्दैन मान्छे चिनी
यस्तो दुर्गति देशमा बढिरह्यो घट्दै नघट्ने भयो
भन्छन् तैपनि लाजले अब नयाँ नेपाल बन्ने भयो ।
आफै दङ्ग परी, कुरी, स्थिर बनी,गन्दैछु मैले घडी
चारैतर्फ छ द्वन्द्व,मानिस कुनै खोज्दैन के हो कडी ?
बस्ती शून्य,उराठ गाउँ घर छन् आत्मीयता रित्तियो
मान्छेको मुटु चस्कियोस् अब नयाँ नेपाल बन्ने भयो !
०००
पाल्पा
Subscribe
Login
0 Comments
Oldest







































