
‘कुराको कथा कुरौटो’ : सङ्क्षिप्त समीक्षा
प्रस्तुत निबन्धमार्फत निबन्धकार हरिप्रसाद सिलवालले आफूलाई बौद्धिक, निजात्मक व्यङ्ग्यात्मक र सचेत स्रष्टासर्जकको परिचय दिन खोजेका छन् । यस सङ्ग्रहमा विविध विषयका ११ ओटा बौद्धिक व्यङ्ग्यात्मक निबन्ध सङ्गृहीत छन् ।

विमल अधिकारी :
१. परिचय
नेपाली विषयको प्राध्यापन एवं साहित्य लेखनमा निकै लामो समयदेखि सक्रिय धादिङ जिल्लाका डा.हरिप्रसाद सिलवालले ‘कुराको कथा=कुरौटो’ (वि.सं. २०७७ : सानरव प्रकाशन) नामक हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह बजारमा ल्याएका छन् । उनले विविध विधाका पुस्तकाकार कृति पनि प्रकाशित गराई आफ्नो स्रष्टा/द्रष्टा व्यक्तित्वको परिचयसमेत दिइसकेका छन् । उनले रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातक तह पढ्दादेखि नै ‘नवआकाश’ नामक निबन्धसङ्ग्रह प्रकाशित गराई आफूलाई निबन्धकारका रूपमा चिनाइसकेका छन् । वि.सं. २०५५ मा उक्त निबन्ध कृति प्रकाशन गराइसकेपछि सिलवाललाई नेपाली विषयका एक असल विद्यार्थीका रूपमा मात्र होइन, एक क्षमतावान् निबन्धकारका रूपमा समेत चिन्न थालिएको हो ।

२.‘कुराको कुरौटो’ निबन्धसङ्ग्रहको समीक्षात्मक टिप्पणी
साहित्य लेखनका क्रममा गद्य विधाअन्तर्गत निबन्ध पनि पर्दछ । निबन्ध दुई प्रकारका हुन्छन्, ती हुन् – निजात्मक र वस्तुपरक । नेपाली साहित्यको इतिहासमा लक्ष्मीप्रसाद देवकोटाले निजात्मक निबन्धको प्रवर्तन र प्रवद्र्धन गरे । त्यसपछि अरू स्रष्टा पनि देखिए । निजात्मक निबन्धमा बौद्धिकता, भावना एवं कल्पना हुने गर्छ । लाक्षणिक, अभिव्यञ्जनात्मक अभिव्यक्ति प्रकट गरी आफ्ना विचार प्रकट गर्नु आत्मपरक या निजात्मक निबन्धको विशेषता हो । त्यस्तै वस्तुपरक निबन्धमा वर्णनात्मक, विवरणात्मक अभिव्यक्तिहरू हुन्छन् । सामान्य पाठकका लागि समेत बुझिने भाषामा लेखिएका हुन्छन् वस्तुपरक निबन्ध । यो एक किसिमले सामान्य लेखन हो ।
नेपाली निबन्ध साहित्यको इतिहासमा भैरव अर्यालले व्यङ्ग्यात्मक निबन्ध लेखनको सुरुआत गरे । हास्यव्यङ्ग्यमार्फत समाजका विकृति तथा विसङ्गतिलाई झटारो हान्दै सजग गराउने अर्याल विशिष्ट सिर्जन क्षमताका थिए । ‘जयभुँडी’जस्ता निबन्धले उनी हास्यव्यङ्ग्य निबन्ध लेखनमा अब्बल साबित भए । केशवराज पिँडाली जस्ता स्रष्टा पनि यस्ता व्यङ्ग्यात्मक निबन्धमार्फत नेपाली साहित्यमा चिनिए । निबन्धकार डा. हरिप्रसाद सिलवालले मूलतः भैरव अर्यालबाट विशेष प्रभावित भएर ‘कुराको कथा = कुरौटो’ निबन्धसङ्ग्रह तयार गरी प्रकाशन गराएको पाइन्छ । यद्यपि उनले सिलवालशैली अपनाए पनि अर्यालको लेखनबाट प्रभावित भई व्यङ्ग्यात्मक निबन्ध लेखेको स्पष्ट हुन्छ । पाठक/समीक्षकले यस्तो टिप्पणी पनि गर्न सक्छन् । प्रस्तुत निबन्धमार्फत निबन्धकार हरिप्रसाद सिलवालले आफूलाई बौद्धिक, निजात्मक व्यङ्ग्यात्मक र सचेत स्रष्टासर्जकको परिचय दिन खोजेका छन् । यस सङ्ग्रहमा विविध विषयका ११ ओटा बौद्धिक व्यङ्ग्यात्मक निबन्ध सङ्गृहीत छन् ।
३.‘कुराको कथा = कुरौटो’ निबन्धसङ्ग्रहको विशेषता
पुस्तक पढिसकेपछि समीक्षकले कृतिको विशेषता केलाउने हो । अहिलेको व्यस्त संसारमा त्यस्तो खाले टिप्पणी उचित मानिन्छ । प्रस्तुत सिलवालकृत निबन्धसङ्ग्रहका विशेषतालाई यसरी खुट्याउँदै टिप्पणी गर्नु उचित हुन्छ –
३.१ निजात्मक शैली
निबन्धकार सिलवालले ‘कुराको कथा = कुरौटो’ सङ्ग्रहमार्फत आफ्नो बौद्धिकता भावना, कल्पना र क्षमताको प्रदर्शन गरेका छन् । भैरवीय लेखनबाट विशेष प्रभाव परे पनि लेखक हरिप्रसादले आफ्नै मौलिक शैली बनाएको पाइन्छ ।
३.२ व्यङ्ग्यात्मक शैली
हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह भनिए पनि प्रस्तुत कृति मूलतः व्यङ्ग्यले भरिएको छ । अभिव्यक्तिमा व्यङ्ग्य, उद्देश्यमा व्यङ्ग्य, लाक्षणिक र अभिव्यञ्जनात्मक अभिव्यक्ति सङ्ग्रह रचनाका विशेषता हुन् । विशिष्ट भाषामार्फत व्यङ्ग्यात्मक विचार प्रकट गर्नु निबन्धकार हरिप्रसाद सिलवालको सिर्जनात्मक कला हो ।
३.३ शब्दको चातुर्य
सङ्ग्रहको मूल शीर्षकको निबन्ध ‘कुराको कथा = कुरौटो’ शब्दको चातुर्यको उत्कृष्ट नमुना मान्न सकिन्छ । ‘क’ वर्णबाट सुरु भएका शब्द, पद, पदावली, वाक्य हेर्दा बेजोड लाग्छन् । शब्दलाई राम्रोसँग खेलाइदिन सक्नु, प्रतिभा–क्षमतालाई धाराप्रवाह प्रस्तुत गर्न सक्नु, निजात्मक एवं काव्यिक अभिव्यक्ति दिन सक्नु उक्त निबन्धको विशेषता हो । अन्य निबन्धहरूमा पनि शब्दको चातुर्य छ । मूल शीर्षकको निबन्ध नवीन निबन्ध हो । बौद्धिकताको नमुना हो ।
३.४ काव्यात्मक भाषाशैली
सिलवालका प्रायः निबन्धहरूमा काव्यात्मक भाषा पाइन्छ । सङ्ग्रहभित्रका प्रायः निबन्धहरूमा कवितांश पाइन्छ । सुरुमा कविताका अनुच्छेद राखी त्यसपछि मात्र निबन्धकारको कलम अघि बढेको देखिन्छ । सिलवालले निबन्धमा नवीन प्रयोग गरेझैँ लाग्छ ।
३.५ भाषणात्मक शैली
निबन्धकार सिलवाल ‘कुराको कथा = कुरौटो’ सङ्ग्रहमार्फत आफ्नो नेतागिरी शैली देखाउँछन् । मञ्चमा गएर भाषण गरेझैँ गरी अभिव्यक्ति दिन्छन् र आफ्ना आक्रोशात्मक अभिव्यक्तिमार्फत, समाजलाई सचेत गराउँछन् । सङ्ग्रह पढिसकेपछि जो कोहीले सिलवालको नेतागिरी शैली सहजै थाहा पाउँछन् । यो सिलवालीय निबन्धकारिता हो ।
३.६ पत्रात्मक शैली
प्रस्तुत सङ्ग्रहमा समेटिएको ‘मेलम्चीलाई पत्र’ भन्ने निबन्धमा लेखक हरिप्रसाद सिलवालले पत्रात्मक शैली प्रयोग गरेका छन् । उनी काकाकुल काठमाडौँले मेलम्ची माताको दर्शनका लागि लामो प्रतीक्षा गरिहेको र माताबाट आशीर्वाद चाहिरहेको भन्दै व्यङ्ग्य गरेका छन् । समसामयिक र सान्दर्भिक उक्त निबन्धमा निराशा –आशा– प्रतीक्षा प्रकट छ ।
३.७ बौद्धिक व्यङ्ग्य
सङ्ग्रहका प्रायः निबन्धमा व्यङ्ग्य पाइन्छ । हास्यको कमी व्यङ्ग्यको अधिकता यस सङ्ग्रहका विशेषता हुन् । आफ्नो बौद्धिकता प्रदर्शन गर्दै व्यङ्ग्यमार्फत विचार प्रकट भएको पाइन्छ । ‘कुराको छुरा’ निबन्धमा कुरा भनेको कला हो, चतुर्याइँ हो, कुराको कलाले शक्ति र भक्ति प्राप्त हुन्छ भन्ने तर्क प्रस्तुत छ । मिठा कुराले नै यो संसार चल्छ भन्दै नारद ऋषिको जगजगी भएको भनी व्यङ्ग्यात्मक अभिव्यक्ति पाइन्छ उक्त निबन्धमा । सिलवालका प्रायः निबन्धमा बौद्धिक व्यङ्ग्य नै पाइन्छ ।
३.९ विकृति –विसङ्गतिप्रति व्यङ्ग्य
निबन्धकार सिलवाल ‘ठक्करवाला पार्टी’ नामक निबन्धमार्फत भ्रष्टाचार, दुराचार, व्यभिचार र कमिसनतन्त्रको विरोध गर्छन् । भ्रष्टाचारीलाई बचाउ गर्ने काम राजनीतिक वृत्तबाट भइरहेको प्रति लेखक असन्तुष्ट छन् । आफ्नालाई बचाउने नाउँमा पार्टीहरूले आफ्नो छवि धुमिल पारिरहेको भन्दै व्यङ्ग्य गर्छन् र तिनीहरूलाई सजग गराउँछन् ।
३.१० वर्तमान सामाजिक अवस्थाप्रति व्यङ्ग्य
धर्म–संस्कृतिका नाममा लिइने व्रत स्वैच्छिक हो भने सामाजिक परिवेशका कारण लिइने व्रतचाहिँ बाध्यताका व्रत हुन् । नेपालीहरू वर्तमानमा बाध्यताका व्रत लिन बाध्य भइरहेका छन् । यो दुखद पक्ष हो भन्दै सम्बन्धित निकायलाई व्यङ्ग्य गर्छन् निबन्धकार । व्यङ्ग्यात्मक अभिव्यक्तिमार्फत बाध्यताका व्रत भोग्न बाध्य नेपालीहरूको आवाज उठाएका छन् सिलवालले ‘ह्यापी व्रत’ निबन्धमार्फत ।
३.११ अन्त्यानुप्रासको प्रयोग
निबन्धकार सिलवालले यस सङ्ग्रहभित्रका प्रायः निबन्धहरूमा अन्त्यानुप्रास युक्त शब्द, पद, पदावली र वाक्यको प्रयोग गरेर आफूलाई पृथक् खाले बौद्धिक सर्जकका रूपमा चिनाउन खोजेका छन् ।
३.१२ समसामयिक विकृतिप्रति विमति
वि.सं. २०७२ पछि नेपालमा सङ्घीय गणतन्त्र घोषणा भयो । गणतन्त्र आयो भन्दैमा ऐतिहासिक विकास, गौरवलाई मेटाउनु घात हो । इतिहासको सम्मान गर्न नजान्नेहरूलाई धिक्कार भनेका छन् । राजमार्ग र विश्वविद्यालयको इतिहास मेटाएर नयाँ नामकरण गर्नु बेकार हो । पश्चातापबाहेक केही हुन्न भन्दै त्यस्ता गतिविधिमार्फत निबन्धकारको विमति देखिन्छ ।
३.१३ भाषाशैली
ठेट नेपाली भाषाः अन्त्यानुप्रासयुक्त शब्द, वाक्य, पदावली, नवीन शब्दनिर्माण भाषिक कला, भाषिक चमत्कार र काव्यात्मक शैली सिलवालको यस सङ्ग्रहका निबन्धमा पाइन्छ ।
३.१४ विश्वजनीन चिन्तन
सिलवाल विद्यावारिधि गरेका बौद्धिक सर्जक हुन् । उनको चिन्तन राष्ट्रतर्फ मात्र केन्द्रित नभएर विश्वतर्फ पनि देखिन्छ । महाशक्ति राष्ट्रहरूको टकरावले विश्व द्वन्द्वमय बन्नेछ । विश्वमा भइरहेका हत्या–हिंसा, द्वन्द्व, युद्ध, हातहतियारको होडप्रति निबन्धकार असन्तुष्ट छन् । मानव अधिकार, दिगो शान्ति एवं भाइचाराको कामना गर्दै विश्वलाई हिंसा–द्वन्द्व–युद्ध त्याग्न अनुरोध गर्छन् । संसारमा प्रेम नै ठुलो हो भन्दै ‘प्रेमशालामा आगो’ निबन्धमार्फत आफ्ना विचार प्रकट गर्छन् । दिगो शान्ति नै निबन्धकारको उद्देश्य देखिन्छ ।
४. निष्कर्ष
वर्तमान नेपाली निबन्ध फाँटमा डा. हरिप्रसाद सिलवाल पृथक् व्यङ्ग्य निबन्धकारका रूपमा चिनिएका छन् ‘कुराको कथा = कुरौटो’ मार्फत । पुस्तकको मूल शीर्षक पनि रोचक लाग्छ । सङ्ग्रहभित्रका प्रायः निबन्ध स्तरीय छन्, व्यङ्ग्यपूर्ण छन् । विविध विषयका निबन्ध भएकाले पाठक झिँजो मान्दैनन् । कृतिका सुरुका दुई निबन्धलाई पाठकले ढर्रा, जटिल, कठिन मान्न सक्छन् । बौद्धिकताको प्रदर्शन गर्दै समाज र सम्बन्धित निकायलाई सजग गराउन सफल छन् निबन्धकार । शब्दको चातुर्य, सिर्जनक्षमतामा निखारता यस कृतिका विशेषता हुन् । लेखक कतिपय तत्सम शब्दमा झुक्किएझैँ लाग्छ । आगन्तुक शब्दको पहिचानमा अलमल हुनु र कतिपय स्थानमा शुद्धिपठनमा अलमल हुनु यसका दुर्बल पक्ष हुन् । पुस्तक छपाइमा प्रेसको ठुलो त्रुटि देखिन्छ । समग्रमा सिलवाल बौद्धिक एवं व्यङ्ग्य सर्जकका रुपमा चिनिएका छन् । विचारमार्फत आक्रोश प्रकट गर्नु पनि कला हो । निबन्धकार सिलवाललाई कतिपयले बौद्धिक पाठकका लागि मात्र लेखेको भन्न सक्लान् । सिलवाललाई शुभकामना !
०००
Subscribe
Login
0 Comments
Oldest