पराशर रिजाललोग्ने मान्छेको घर
किन फुत्त देखा पर्दैनन् ? दाल भात किन ठुसुक्क पर्छ ? अच्चार किन ट्वाक्क हुँदैन ? यस्तो कठिन घडिमा भित्तामा साक्षी बनेर झुन्डिएका फोटाहरु पनि किन उपहास शैलीमा ङिच्च मात्र गर्छन् ?

पराशर रिजाल :
घरभित्र चारैतिर सुनसान छ
जता फर्के नि छिचोलि नसक्नु
सबैतिर सन्नाटाको एकछत्र राज छ,
चुरा बज्दैनन्, गीत गुन्जँदैन,
हाँसो रन्कँदैन, सुन्दरता चम्कँदैन
धुस्रो फुस्रो मनुवा मात्र
टुसुक्क एक छेउमा
चुपचाप खडा छ ।
यता सोफा, टिभी र दराजहरु
उता टेवल, कुर्शि र चकटीहरु
खाट, सिरक–डसना र तकियाहरु
घरका सबै सामानहरुको आज मतो मिल्छ
जसरी मनलाग्यो,
जता मनलाग्यो
त्यसरी नै त्यतै त्यतै विचरण गर्छन्–
कोही सोफा पछाडी छिर्छन्
कोही दराजमाथि चढ्छन्
कोही सिरानी मुनी पस्छन्
कोही ओछ्यान भित्र घुस्छन् ।
आफ्ना दुइटा कपडा छान्न खोज्दा
सबै कपडाहरुको
ठुलै जमघट, कचहरी र खैलाबैला हुन्छ–
पेन्ट सर्ट टोपी र कट्टुहरुको
बलियो एकता हुन्छ,
कोही यता फर्किएर हाँस्छन्
कोही उता फर्किएर खिज्याउँछन्
यत्रतत्र सर्बत्र रजाईं गर्दै
बिना काम गाँठो परेर
त्यसै त्यसै अल्झाउँछन् ,
भित्र बाहिर हिँडडुलमा
हतारोमा अबरोध पुर्याउँछन् ।
ओछ्यान् असरल्ल छ
खालि चियाकप र चुरोटका ठूटाहरु
बियर र वाटर बोतलहरु
गाडीका ढाटहरु झैं ठाउँ कुठाउँ तेर्सिएका छन्
किचेनभित्र करिडोरमा
कुचो तन्किएर बाटो छेक्छ
चुल्याँसी, खुकुरी र चक्कुहरु –
भाँडाहरुको जथाभावी तमासा छ
कुकर, कराइ र थालहरु
पुन्यु, काँटाचम्चा, कप प्लेट र ग्लासहरु
कसैलाई छुनै हुँदैन
सबै बिथोलिएर चिच्याउँदै
चौतर्फि मुख फर्काउँछन् ,
बिस्तारो बोलाउँदा बतास लाग्दैन
कस्सेर बोलाउँदा सबै एकै साथ गर्जन्छन् ।
टेबलमा केही किताब कपिको चाङ् छ
कलम मसि र होल्डरहरु छन्
त्यहिँ क्रिम, औषधीहरु छन्
उनीहरुको मेलमिलाप पनि कम बलियो छैन,
कुन कता टाँसिन खोज्छ, कुन कता लुक्न पुग्छ
एउटालाई बोलाउँदा अर्काे आउँछ
अर्काेलाई बोलाउँदा
हजुर भनेर
सबै जर्याक् जुरुक्क उठ्छन् ।
दराज भित्र क–कसको कताकता आशन छ
भन्न सकिँदैन
मौका अनुसार
सबै खालेको बसोबास त्यहिँ हुन्छ
सुट, टाई र सर्ट,
प्रशंसा पत्र, मेडल र सर्टिफिकेट,
नागरिकता, परिचयपत्र र पासपोर्ट,
तमसुक, एलबम्, लालपुर्जा
को कता छन्, को कता
जता मन लाग्यो त्यतै विराजमान हुन्छन्
एकजनालाई भेट्न खोज्यो
अर्काे अगाडी सरेर आउँछ
चाहेको बेला कोही भेटिँदैनन्
महिनौं पछि नचाहेको बखत
म यहाँ छु भन्दै टुप्लुक्क देखा पर्छन् ।
फोनमा कति फत्फताउने ?
सँगै बसेर कसैसित बातचित गर्न मन लाग्छ,
घरि खुशि साटौं लाग्छ,
घरि दुःख पोखौं लाग्छ,
भित्ताहरु निरपेक्ष भावमा चुपचाप खडा छन्
सिलिँग निहुरेर हेर्छ मात्र
घरैका डिभाइसहरु बोल्छन् बरु
स्वाँ…… गर्दै इन्डक्सन बोल्छ
मध्यम स्वरमा फ्रिज श्वास फेरिरहन्छ
ठूल–ठूलो स्वरमा वासिँग मेसिन गुड्ग्डाउँछ
मच्चि मच्चि कुकर सिटी बजाउँछ
धारो सुसेल्छ ,
ढोका चुँईंकिन्छ
सबै आ–आफ्नै भाषा तालमा
मान्छेले नबुझ्ने गरी बर्बराइ रहन्छन् ।
अँ, बुझ्ने गरी
रेडियो बोल्छ
टिभि– गाउँछ, भित्रभित्रै नाच्छ, उफ्रन्छ
यिनीहरुले चाहिँ बुझ्लान भनेर
मनका व्यथा सुनाउन खोज्दा
सुन्ने धैर्यता नगरी
प्रतिकृयाबिहिन एकहोरो बोल्छन् मात्र
बोलाउँदा
हजुरसम्म बोल्दैनन्,
आफ्नै शुर तालमा
छेउ न भित्तोको कुरा गर्छन्
भोक लाग्दा निद्राको कुरा ।
तिर्खा लाग्दा रक्सीको कुरा ।
लोग्ने मान्छेको घर भित्र
सामानहरु किन यसरी बिथोलिन्छन् हँ ?
तौलिया किन ठिक ठाउँमा आफैं झुण्डिदैन ?
चाहिएको बेला –
मोजा, मोवाइल, चस्मा, साँचो
किन फुत्त देखा पर्दैनन् ?
दाल भात किन ठुसुक्क पर्छ ?
अच्चार किन ट्वाक्क हुँदैन ?
यस्तो कठिन घडिमा
भित्तामा साक्षी बनेर झुन्डिएका फोटाहरु पनि
किन उपहास शैलीमा ङिच्च मात्र गर्छन् ?
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































