पराशर रिजालपाहुना आएको दिन
उनले तुरुन्तै ठाडो प्रतिकृया दिइन् देख्नु भो नि फुर्ती र शिप ! कहिले न मैले, ढंग न रंग देखाउन खोज्दा कस्तो हुन्छ !

पराशर रिजाल :
त्यस दिन बेलुका पाहुना आए
उनले खाना बनाईन्,
म भलाकुसारी तर्फ लागें ।
खाना पछि लाग्यो–
पाहुनालाई पनि
प्रभावित पार्नु पर्छ
आज भाँडा
आफैंले धस्काउनु पर्ला ।
उनलाई खुसुक्कन कानमा भने–
केही नभन है–
आज भाँडा माझ्ने
मेरो पालो !
उनले तीन चित खाइन्
र बोलिन्
ए ! के सुन्नु परेको ?
हजुरलाई चाहिँ
आजै किन यस्तो भुत चढेको !
पाहुनाले देखेर के भन्लान् ?
गाल पर्दैन ?
आ परे परोस् !
जे पर्ला पर्ला
आज मेरै पालो !
मैले अड्डी कसें ।
उनलाई ठुलो पीर पर्यो–
घरी दायाँ, घरी बाँयाँ फर्किन् ,
ओल्लो छेउ र पल्लो कुनो गरिन् ।
किचेन भित्र भाँडा माझ्ने जुठेल्नामा
मैले पाखुरा सुर्केर हात पसारेपछि,
थाल बटुका भाँडाकुँडाहरु
सबै वाल्ल परे !
सोचे होलान्,
फूलबुट्टे पहिरनमा आउने सुन्दर मान्छे
आज किन धुस्रोफुस्रो छ हँ ?
मेरो खस्रो स्पर्श पाउनासाथ
सबै भाडाकुडाहरु एकैचोटी मुर्मुरिए !
नरम कोमल हातहरुले मिलाइ फकाइ
मसाज पाइने
हैन किन आज यी खस्रा रुखा अरिमठ्ठे हातहरु ?
उनीहरुले ठाने होलान् र
चित्त नबुझेर बिद्रोह गरे ।
सधैं शान्त भावमा,
आ-आफ्नो ठाउँ ठेगानामा
मर्यादा साथ बस्ने उनीहरु
बिथोलिँदै खैला बैला मच्चाए !
भाँडा र कराईहरु
थाल बटुका र कप प्लेटहरु
छुट्टा छुट्टै श्वरमा
सधैंको भन्दा भिन्न भाषामा
चिनियाँ वा मद्रासीहरुले
झर्को फर्काे गर्दै
ठुल ठुलो श्वरमा बातमारे जस्तै
गणलंग् र मंडलंग्
ट्याङ र टिङ्ग गर्दै
तीखो रुखो भाषामा झर्किए ।
शायद पल्लो कोठाका पाहुनाहरुले केही बुझेनन् होला ।
उनले किचन छोड्नै मानिनन्
मलाई त्यहाँबाट हटाएर
अबगालबाट जोगिन–
निक्कै जोड लगाइन्,
केही नलागेपछि
घरि चुलो पुछिन्,
घरि कुचो लिएर यताउति गरिन् ,
ढोका र म छेउ गरिन् ।
पखालिएर चोखोनितो भैसकेपछि
ठिक ठिक स्थानमा मिलेर बस्नु पर्ने भाँडाकुँडाहरु ,
आज आशन नपाएका जन्ती जस्तै
सबै वाल्ल परेर छरपस्ट भए ।
त्यतिबेलै–
ठिक त्यतिबेलै-
हैन आज के हुँदैछ भीत्र भन्दै
कोर्शे कोर्शे पारामा
छिमेकी आन्टि
फुत्त किचेनमा छिरीन् ,
अघिदेखि आँट गर्न नसकेका पाहुनाहरु पनि
लोसेलोसे हुँदै सँगसँगै छिरे ।
उनले रातो पिरो हुँदै,
मतिर शंकेत गर्दै
गुनाशो पोखिन् –
हेर्नु न उहाँलाई !
के तमासा गर्नु परेको आज ?
अान्टिले उल्टाे प्रतिक्रिया दिेंदै भनिन्
ओहो ! कति फूर्ति !
कति सहयोगी !
अनि कति सिपालु ,
हेर्नु त हाम्रा–
न त जाँगर छ !
न ग्लास उठाउनेसम्म ढंग !
आन्टीको प्रशंसाले
मेरो नाक जुरुक्क उठ्यो
छाती ढक्क फूल्यो,
म त फुर्ती र शिपालु छु भन्न मात्र खोज्दै थिएँ
हात लल्याक्क लुलियो,
पखाल्दै गरेको कप
थाहै नपाई सुलित्तै चिप्लियो,
ए ए ए भन्दा भन्दै
एकैचोटी मझेरीमा झुरुम्मै भयो ।
म अवाक ! हेरेको हेर्यै भएँ
उनले तुरुन्तै ठाडो प्रतिकृया दिइन्
देख्नु भो नि फुर्ती र शिप !
कहिले न मैले, ढंग न रंग
देखाउन खोज्दा कस्तो हुन्छ !
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































