पराशर रिजालकालुले बिताएछ !
सले आज प्रत्येक गराको आली खनेर पानी पुछारको गरासम्म पुर्याएको भएभरको आफ्ना मेहनतको रिठ्ठो नबिराई सगर्व बेलिबिस्तार सुनायो । कुरा सुनिसकेर बुढाबढीको ओठमुख सुक्यो ।

पराशर रिजाल :
कालुको घर दुर्गम गाउँमा थियो । ऊ कक्षा पाँचमा पढ्थ्यो । उसका बुबा आमा शिक्षाप्रति सचेत भएको हुँदा जहिले पनि उसलाई पढ्–पढ्, पढ्–पढ् भन्दथे । स्कुलको निरन्तरता र घरमा समेत किताब पढ्न जोड दिएकोले उसको पढाइ राम्रै भयो । स्कुलमा ऊ पहिलो दोश्रो भयो । तर घरको काममा भने उसको कुनै चाख, ज्ञान र शिप भएन । काम नगर्ने बानीले उसलाई अलिअलि अल्छी पनि बनाउँदै लग्यो ।
घरायसी काममा ज्ञान, शिप, अभिरुचि छैन भन्ने थाहा पाएपछि बुबा आमा र अरु अभिभावकहरूले पनि उसलाई घरको काममा कमै मात्र संलग्न गराउन थाले । त्यतिबेला छोरी मान्छेहरूलाई स्कूल पढाउने चलन नभएको हुँदा उनीहरू घरैको काम धन्दामा व्यस्त हुन्थे । कालुका दिदी बहिनीहरू पनि स्कुल नजाने हुँदा घरभित्रको र बाहिरको सबै काममा उत्तिकै तत्पर, फुर्तिला र सिपालु थिए ।
असारको महिना थियो । गैरी खेतमा धान रोपाईं गरेको दश दिन बितिसकेको थियो । रोपेकै दिन भोलिपल्टबाट खडेरी शुरु भएको अझै पनि पानी पर्ने लक्षण देखिएको थिएन । हुन त त्यस खेतको नजिकैबाट एउटा पानीको ठूलै खोल्सो बग्दथ्यो । त्यो खोल्सो पनि अहिले खडेरीले सुक्दै गएको थियो । फेरि त्यसलाई छेकथुन नगरी आफैं खेततिर पानी फर्कने कुरा थिएन । त्यहाँ पुग्न घरबाट एक घण्टा भन्दा बढी समय लाग्ने भएको र अन्यत्र असारे धमाधम भएको हुँदा गैरी खेतमा पुग्न कसैलाई फुर्सद भएन ।
त्यसदिन खेतमा पानी लगाउन जाने कुरा चल्यो । यतिबेला स्कुल बर्खे विदा भएकोले कालुले तम्सिएर भन्यो– मलाई सधैं अल्छी भन्छौ ल आज म खेतमा पानी लगाएर देखाउँछु । श्रममा सहभागी नभए पनि सानैदेखि बुबा आमाको साथ लागेर ऊ धेरै पटक गैरी खेत पुगेको थियो । भीरको फेदमा छुट्टिएर अलग्गै रहेकोले उसलाई यस खेतको साँध सिमाना छुट्याउन गाह्रो थिएन । तर कहिल्यै केही काम नगरेको हुँदा उसको कुरामा बुबा आमालाई आधाउधी मात्र विश्वास लाग्यो । तै पनि म जान्छु भनेर तम्सिएको देख्दा हेरौं न त यस्को पाइन् भनेर बुबा आमाले स्वीकृति दिए । उनीहरूले भने लौ जा न त ! तर बाटामा कतै नअल्मलिनु नि । बुबा आमाको यति अनुमति पाएपछि अब कालु खेतमा जान जुर्मुरायो ।
विहानको खाना खाइसकेपछि कालु सानो कोदालो काँधमा राखेर खेततिर बाटा लाग्यो । हिँड्ने बेलामा बुबा आमाले सम्झाउँदै भने खेतको सिरानबाट पानी फर्काएर पुछारसम्मै पुर्याएर मात्र आउनु है । फेरि फर्कने बेलामा पानी बन्द गर्न चाहिँ नबिर्सनु नि । बाटामा कतै पनि नअल्मलिनु । हुन्छ, भन्दै उउफ्रिँदै खेल्दै एक डेढ घण्टामा खेतमा पुग्यो । रोपेको दिनदेखि पानी नलगाएको र बिचैमा खडेरी परेकोले खेतका गह्राको बिच बिचमा पट्पटी चिरा पर्न थालेको थियो । भर्खरै रोपेको धानको गाँज सुकेर पराल जस्तै हुन लागेछ । उसले हतारहतार खोल्सामा बग्दै गरेको पानीलाई ढुँगा माटो लगाएर छेक्यो र पानी खेततिर फर्कायो । पानीको दौडने स्वभाव देखेर आज उसलाई सारै अचम्म र रमाइलो लाग्यो ।
कालु कुलोमै अलिबेर खेलेर अल्मलियो र खेतको गरामा पानी सँगसँगै ऊ पनि डुल्न रमाउन थाल्यो । खडेरीले चिरिएको खेतको गरामा पानी धेरैबेर त्यतै त्यतै बिलायो र अर्को गरामा झर्न निकै समय लाग्यो । यति ढिलो भयो भने त आज दिनभरिमा पनि खेत भर्न सकिँदैन भन्ने उसलाई लाग्यो । अर्को गरामा किन पानी खसेन, किन यति ढिलो भइरहेको छ भनेर उसले समाको राम्ररी जाँच–निरीक्षण गर्यो । तिनीहरू खेतको सतहभन्दा केही अग्ला थिए । फेरि गराहरूको बिच बिचमा परेका चिराहरू पुरिएर पानी बाहिर निस्कन पनि थप समय लाग्ने रहेछ भन्ने उसले बुझ्यो । यसरी त कहिले खेत भरिन्छ र ! उसलाई यो समा बनाउनेले अग्लो बनाएर गल्ति गरेछन् भन्ने ठान्यो । त्यसो भए के गर्ने त । समालाई खेतको गराकै सतहमा मिलाएर काट्नु ठिक होला भन्ने निस्कर्ष निकाल्यो । उसले खेतको सिरानको आलीदेखि पुच्छारसम्मै, भएभरका गराका समाहरू खेतको सतहमा मिल्ने गरि तीन चार घण्टा लगाएर कोदालोले ताछ्यो ।
यति गरिसकेपछि पानी सिरानबाट पुच्छारसम्म सललल सजिलै बगेर पुग्ने भयोे । अब ऊ मख्ख पर्यो । विहान खाना खाएर गएको कालु खेतमा पानी लगाई सकेर भोक र थकाइले लखतरान परेर दिउँसो तीनबजेतिर बल्लबल्ल घर आइपुग्यो । ऊ खुइय गरेर खाटमा बस्यो । बुबाले सोधे यति छिट्टै भरियो त खेत ? भरियो नि । कत्रो पानी थियो र यति चाँडै भरियो ? आमाले जिज्ञाशा राखिन् । ए ठूलो लगाएँ । पानी फर्काउन कम्ति गाह्रो परेन । सिरानदेखि पुच्छारसम्म नै पुर्याइस् त ? पुर्याएँ, तर खेत सबै बिगारेको र छ । किन र ? छेउमा अग्लो डिल बनाएर छेकेको र छ नि । पानी हतपत्त तल्लो गरामा झर्दै झरेन । बल्लतल्ल सबै गराहरू खनेर पानी तलसम्म पुर्याएँ, अनि मात्र बल्ल पानी तल्लो गरामा खस्न थाल्यो । हँ…. भनेर बुबाले वाल्ल परेर सुनिरहे ।
के भयो रे फेरि भन भन भन्दै आमा समेत मिसिइन् । उसले आज प्रत्येक गराको आली खनेर पानी पुछारको गरासम्म पुर्याएको भएभरको आफ्ना मेहनतको रिठ्ठो नबिराई सगर्व बेलिबिस्तार सुनायो । कुरा सुनिसकेर बुढाबढीको ओठमुख सुक्यो । खुइय गर्दै आबाज निस्कियो– लौ बिताएछ ! अरु सबै काम छोडेर भोलिपल्टै तीनजना खेताला लिएर बुबा गैरी खेत पुगेछन् । माथिदेखि तलसम्म हेर्दै जान्छन् त नखनेका आलीहरू कुनै छैनन् । समा कहिँ बाँकि छैन । खेतको बिच बिचमा पनि कुल्याँसो बनाएर पानी सिधै समातिर झारेको छ । हिजो खेतको सिरानको गरादेखि पानी लगाएको भनेको खेत आज पानी सुकेको कुलो जस्तो सुख्खा भएछ ।
धान रोपेको खेतमा फेरि आली लगाउन र समा परिवर्तन गर्न कम्ता गाह्रो भएन । साँझसम्ममा बल्लतल्ल आली मिलाइ सकेछन् र अँध्यारो भएपछि मात्र बल्लतल्ल घर आइपुगेछन् । घरमा आइपुगेर आमातिर हेर्दै बुबाको पहिलो वाक्य निस्किएछः यत्रो बर्ष स्कुल पढाएर छोरालाई त कस्तो विद्वान् बनाइएछ !
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































