साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कक्षा बङ्क गरेर पौडी

पहिलादेखि नै बङ्क गरेर पौडिखेल्न जानेहरु सबैको रेकर्ड निकालेको रहेछ, सबै एक एक गरेर पहिचान भयो । हामीलाई विद्यालयको ग्राउण्डमा सार्वजनिकरुपमा लाइन लगाइयो र सबैले पालैपालो सजाय पाइयो ।

Nepal Telecom ad

पराशर रिजाल :

तिस एकतिस साल तिरको कुरा हो । घर नजिकै रहेको चाँगे मिडिल स्कुलको पढाइ पुरा गरेपछि आठ, नौ र दश कक्षा पढ्न सरस्वती डिएस्पि हाइस्कूल हाङ्पाङ् जानु पर्ने भयो । हाङ्पाङ् गाउँ हाम्रो नयाँ बसाई पंडितडाँडाको घरबाट करिब डेढघण्टाको पैदल दुरीमा खोलापारि पर्दथ्यो । हाँगपाँग र चाँगे गाउँलाइ माथिदेखि तलसम्म सोबुवा खोलाले छुट्याएको थियो, जुन खोलो तेह्रथुम र ताप्लेजुँगको सिमाना देउराली शिरबाट उत्पत्ति भएर उत्तर तर्फ बग्दथ्यो र तल तमोरमा पुगेर मिल्दथ्यो । यसले अफ्नो मार्गमा माथिदेखि तलैसम्म विभिन्न ठाउँमा अनगिन्ती सुन्दर सुन्दर गहिरा दहहरू बनाएको थियो । जुन दहहरुले त्यस क्षेत्रका यात्रु, खेताला, गोठाला र विद्यार्थीहरूलाइ परम आनन्द दिलाउँथ्यो । यसको सुन्दरताले धेरैलाई अल्मल्याउँथ्यो र बेला कुबेला यसका वरिपरि रमित हेर्न र पौडी खेल्न भनेर मानिसहरु झुमिरहन्थे । सोबुवा खोलो कुनै कुनै बेला त होसै गुमाउने गरि बौलाउँथ्यो । तर कति विद्यार्थीहरु दिनै जस्तो वारी पारी विद्यालय र घर गरिरहनु पर्थ्यो । यस परिस्थितिले बुबा आमा अभिभावकहरुलाई असाध्यै चिन्तित गराउँथ्यो ।

सोबुवा खोलाको ठिक मास्तिर चुवाँको दहमा कहिलेकाहीँ बानरका शाखा सन्तान नै पोडी खेलिरहेका हुन्थे । मान्छे त्यहाँ पुगेपछी विस्तारै एक एक गर्दै भाग्थे । त्यसको केही माथिबाट जामुनाको जंगल शुरु हुन्थ्यो र त्यो बान्द्रे थुम्कि नजिकसम्म नै फैलिएको थियो । त्यहाँ बाँदरहरू आफ्ना कुल कुटुम्ब नातागोता र इष्टमित्र सहित भेला भएका हुन्थे । विद्यार्थीहरू पनि उनीहरूकै हुलमा मिसिएर जामुनुको जंगलमा कतिबेरसम्म अल्मलिरहन्थे । सिजन, ठाउँ र मौका अनुसार अम्बा, सुन्तला, जामुनु आदी टिफिनकोरुपमा उपयोग हुन्थे । खेत, कुलो, जंगल, खोला, भिर पहिरोहरुले विद्यार्थीलाई कतिबेर अल्मल्याउँथ्यो । कहिले काँही सिम खेत र खोल्सा खाल्सीमा गंगटो खोज्न र खोलामा माछा मार्न पनि केही साथीहरू अल्मलिन्थे । यसरी घरबाट विद्ध्यालय सम्मै विद्यार्थीलाइ अल्झाउने र अल्मल्याउने अनगिन्ति कुराहरू थिए ।

हाँगपाँग र चाँगेको सिमानाबाट छड्के छड्के, करीब पैंतालिस डिग्रीमा भिरालो हुँदै सोबुवा बग्दथ्यो भने चुवाँ खोला हाँगपाँग तर्फबाट ठाडै झरेर सोबुवामा मिसिन्थ्यो । चाँगे तर्फबाट गैरी खोलो ठाडो बग्दै उहि सोबुवामा मिसिन्थ्यो । सोबुवा र चुवाँको दोभानदेखि ठिक मास्तिर चुँवा खोलामा छाँगो खसेर पहरोमा गहिरो दह बनेको थियो र त्यो कालो नीलो देखिन्थ्यो । आकारमा गोलो चिल्लो चिटिक्क परेर कुँदिएको हुँदा जो कोही पौडी पारखी र बटुवाहरूलाइ नलोभ्याइ छोड्दैनथ्यो । यसको सुन्दरताले चाँगे हाँगपाँग ओहोर दोहोर गर्ने दुवै किसिमका यात्रुहरुलाइ एक पटक पौडी खेलेर आनन्द लिन लालायित पार्दथ्यो । सर र अभिभावकको डरले आज चाहीँ पौडी नखेली बाटो लागौं है भन्दा भन्दै पनि त्यहीँ पुगेपछि मन थाम्नै सकिँदैनथ्यो । बिहान स्कूल पुग्न जस्तै हतार हुँदा पनि र बेलुका ढिलो भएर अँध्यारो हुँदा समेत दुइ चार पटक पानीमा डुबुल्कि लगाएर मात्र चित्त शान्त हुन्थ्यो ।

विशेष गरी विद्यार्थीहरुलाई यी दहहरुले सारै नै लोभ्याउँथ्यो र दिनमा एक पटक नपखाली पठाउँदैनथ्यो । अक्सर गरेर टाढाबाट आएर डेरा गर्ने विद्यार्थीहरुलार्य यी खोलाले धेरै अल्मल्याउँथे । पढाइमा अलिक ध्यान दिने विद्यार्थीहरुलाई छोडेर अधिकाँश बिद्यार्थी आइतबार र शुक्रबार पौडितिरै अल्मलिन्थे । घरबाट आउँदा ढिलो भएको भनेर र शुक्रबारका दिन घर फिर्नु पर्ने निहु गरेर विद्यालयमा धेरै विद्यार्थीहरु गयल हुन्थे । हामीसंगै आवत जावत गर्ने केही केटी साथीहरु पनि थिए, उनीहरू भने हामी जस्तो पौडी खेलेर अल्मलिँदैनथे र विद्यालयमा नियमित हुन्थे । घरतिर पनि समयमै पुग्थे । शुक्रबार आधा छुट्टी भएर घर तर्फ फर्कँदा चाहीँ कहिले काहीँ केटीहरु पनि बाटाको डिलमा बसेर रमित हेर्दै केटाहरुलाई पर्खन्थे । यी दहहरुले कति विद्यार्थीहरूलाइ दिनभरी दिनभरी अल्मल्याएर पढाइ नै बिगारी दिन्थ्यो । कतिपय शिकारुहरु पानीमा डुबेर निकै आपत पर्दथ्यो । बर्खाको समय भेल आएको दिनमा मात्र खोलाले थोरै फुर्सद पाउँथ्यो ।

चुवाँ खोलाको त्यो दहकै छेउबाट सोबुवा खोलावारी चाँगेको पाटोमा निकै उचाइबाट एउटा सुन्दर झरना बाह्रै काल छंगछंग गरेर झर्दथ्यो । जो कोही जतिबेला त्यहाँ पुगेपनि त्यस झरनातर्फ एकपटक दृष्टि नदिइ बाटो काट्न सक्दैनथ्यो । एक हिसावले यो बाताबरण प्रकृतिमा रमाउनेहरुकोलागि स्वर्गीय आनन्द दिने अत्यन्त मनमोहक थियो । हिजो आज जस्तो हुने हो भने कति मानिसहरुले यो सँगै जोडिएर फोटो, भिडियो र टिकटक खिच्दथे होला ।

कहिले काहीँ बर्षा अधिक भएर खोलामा भिषण बाढी आउँथ्यो र त्यो क्षेत्रै थर्कमान बनाउँथ्यो । दहको छेउनेरबाट चुवाँ खोला तर्न एउटा चिलाउने काठको मुढा तेर्स्याएको हुन्थ्यो । बाढी आउँदा पानीले त्यो मुढो नै नदेखिने गरि पुरेको हुन्थ्यो । कतिपटक हामी खुट्टाले छाम्दै जोखिम मोलेरै खोला तर्थ्यौं । कतिपटक पानीको छालले खुट्टा नै लर्बर्याउँथ्यो । अहिले सम्झँदा खोला बढेको देखेर हाम्रा बुबा आमा र अभिभावकहरू त्यतिबेला कति चिन्तित हुनुहुँदो हो । उहाँहरु हामीलाई बराबर होसियारीपुर्वक पुल तर्नु है भनेर सम्झाइ रहनु हुन्थ्यो । हामीलाई भने यो बाताबरण एकदमै मनोरन्जनपुर्ण, खेलखेल्ने अवसर झैं लाग्दथ्यो । यस्तो क्षणमा यो ठाउँ क्रिडास्थल जस्तै सम्झन्थ्यौं र उहाँहरुको कुरा एक कानले सुनेर अर्को कानले उडाइ दिन्थ्यौं ।

यसरी खोलाको पौडीखेल जति रोमान्चक थियो त्यति नै जोखिमले भरिपुर्ण पनि । हामीले पौडी खेल्ने सोबुवा लामो दहको किनारा सेतो कमेरे माटोको थियो । अलिक पानी आएको बेला त्यो ठाउँ पहिरो बनेर बगिरहन्थ्यो । पहिरो झर्ने र पुर्ने संभावना पनि हुन्थ्यो । सिकारूहरूकोलागि त्यही लामो दह थियो जहाँ सबैले पहिलो पटक पौडी खेल्न सिक्थे । त्यो दह त्यति गहिरो त थिएन तर जोखिम चाहिँ त्यत्तिकै हुन्थ्यो । कहिलेकाहिँ नदीको शिरतिर थाहै नपाई पानी पर्थ्यो र नदीमा अचानक बाढी आएर बगाउन सक्दथ्यो । कुनै कारणले अलिकति मात्र त्यहाँबाट बगियो भने चाहिँ त्यसको नजिकैबाट शुरु हुने अग्लो छाँगाबाट तलको ठूलो दहमा खस्ने संभावना हुन्थ्यो । त्यसैले त्यसको सिह्रानतिर पानी आउँदैछ कि भन्ने कुरामा साबधान भइरहनु पर्थ्यो । सधैं चनाखो भएर खेल्नु पर्ने हुन्थ्यो । त्यो साढे तीन फिट गहिरो दहमा पारंगत भएपछि बल्ल तल्लो ठूलो दह र चुवाँको घुमाउरो दहमा खेल्न सकिन्थ्यो । वरिपरिका अरू दहहरूमा खेल्न योग्य भइन्थ्यो । तल्लो ठुलो दहलाई काली दह भनिन्थ्यो । त्यो भन्दा अझ तल कुमारी भन्ने अझै ठुलो दह थियो । हामी सिपालु भएपछि ती सबै दहहरूमा पौडी खेल्यौं । शुरुशुरुमा सिक्दा निकै आतेस भयो, धेरै पटक पानी पिइयो । लिला भट्टराई झण्डै डुबे, मनरथ न्यौपाने र अरु कतिपय साथीहरुको पनि त्यस्तै अवस्था भएको थियो तर केही सिपालु साथीहरुको प्रयत्नले अप्रिय दुर्घटना हुन पाएन ।

त्यसो त पौडी खेल्दा यस्ता सानातिना घटनाहरु बराबर भैरहन्थे । एक पटक तेम्बे स्कुलबाट मैवाखोलाको खोलाखेत नजिकै पिकनिक जाने भइयो । पर्शु गौतम दाई नदीमा मुडोको सहायतामा पौडी खेल्दै हुनुहुन्थ्यो, चिप्लीएर झण्डै डुब्नु भयो । हर्कशेर दाई र म कपडासंगै दहमा हाम फाल्यौं र उहाँलाई सम्हाल्यों । हाँगपाँग स्कुल पढ्न जाने साथीहरु दलबहादुर आँगबुहाँग, अम्बलबहादुर तामाँग, देवनारायण न्यौपाने पौडी खेल्न हामी भन्दा अघि नै सिपालु भैसकेका थिए । उनीहरुको संगतले नै मैले र तारा घिमिरेले पनि जानिसकेका थियौं । सुर्य आँगबुहाँग, गणेश आँगबुहाँग पनि हामीसंगै पौडी खेल्ने साथी थिए । राजकुमार प्रसाइँ, गंगा वोली, मिना आँगबुहाँग, जयेन्द्र आँगबुहाँग, जयप्रसाद भट्टराई, मदन भट्टराई र टिकाराम न्यौपाने खोलामा त्यति समय खेर फाल्दैनथे विद्यालयमा नियमित हुन्थे ।

टंक निरौला, नर बहादुर मोक्तान, जगन्नाथ अधिकारी र साँग्लुपा तिरका गोपाल थोप्रा अरू पनि धेरै साथीहरू थिए कतिको नाम त अहिले बिर्सी पनि सकियो । केही केटीसाथीहरूमा सीता चुडाल, अम्विका चुडाल, लीला चुडाल, पवित्रा आँगबुहाँग, कल्पना आँगबुहाँग अदि थिए । उनीहरू विद्यालय नियमित हुन्थे । कोही कोही बेला हामीलाई पर्खनु पर्यो भने खोला किनारा मास्तिर पढेर बस्दथे । हर्कशेर आँगबुहाँग, कुमारबाजे उपेन्द्र खपाँगी दाइहरु हामी भन्दा पौडीमा निकै सिपालु थिए । उनीहरू शुक्रबार विद्यालय छुट्टी भएपछि हामी भन्दा छिटो दौडिएर खोलामा आइपुग्थे । कुमार बाजे, उपेन्द्र खपाँगी त यति सिपालु थिए कि पौडेर तमोर नदी पनि पार गर्न सक्छन् भन्थे । उनीहरुको घर हाँगपाँगमै भएको हुँदा शुक्रवार शनिवार मात्र उम्किने मौका पाउँथे । हाँगपाँगतिरका साथीहरुले हाम्रा उमेरमा हाम्रै जस्तो डेरा बसेको अनुभव गर्न कहिल्यै पाएनन् । त्यसैले हामीले जस्तो यसरी निस्फिक्रि विग्रिने मौका पनि उनीहरूलाइ कमै भयो । उनीहरु शुक्रवार शनिवार मात्र मौका मिलेमा बुबा आमाको आँखा छलेर खोलातिर झर्ने गर्दथे ।

हामीले कैयौं पटक सोबुवाको ठुलो दह भित्र सामान खसाउने र भेटेर ल्याउने प्रतिस्पर्धा गर्यौं । एक पटक यहि क्रममा हामीले दह भित्र सामान डुबाउने र खोजेर पत्ता लगाउने खेल प्रतियोगीता जस्तै गरिरहेका थियौं । त्यति नै बेला आकाशमा बादल मडारिएर आयो र सर्वत्र अँधकार भयो । जति कोशिस गर्दा पनि दह भित्र अब केही देख्न नसकिने भयो । हामीले निकैबेर प्रयत्न गर्यौं तर सामान पत्ता लगाउन सफल भएनौ । थोरै बेर पछिबाट मुसलधारे वर्षा हुन थाल्यो र एकैछिन्‌मै छेउ कुना भत्काउने गरी बाढी आयो । झण्डै हामीलाई नै नबगाएको । मुस्किलैले जोगियौं । हाम्रो एक जना पौडी नखेल्ने साथी दुर्गा भट्टराई (स्व. सानो दुर्गा )को उसै दिन किनेको नयाँ चप्पल र रुमाल चाहिँ दहभित्रै गायब भयो । रुमालमा ढुँगा बाँधेर दहमा डुबाउँदै पत्ता लगाएर निकाल्दै गरेका थियौं । बाढीले सोरसार बगाएर लग्यो । साथी हामीसंग बेस्सरी रिसायो ।

यो विषयले हामीले पनि घरमा नराम्रो गरि खप्की खानु पर्यो । उसका बुबा आमाले अब स्कुलमा उजुरी गरेर यिनीहरुलाई जरिवाना गराउन पर्छ भनेछन् । त्यसले हामीलाइ निकै तनाब भयो । पछि कसरी हो त्यो अप्ठ्यारो टर्यो । तर यो हल्ला त्यतिमा मात्र सिमित रहेन विस्तार विस्तार सबैतिर फैलियो । एक कान दुइकान हुँदै विद्यालयमा हेडसर गणेश राइ, प्रलाद सर र काजी सरको कानमा समेत पुगेछ । विद्यालय भरी हल्लाखल्ला मच्चियो । पहिलादेखि नै बङ्क गरेर पौडिखेल्न जानेहरु सबैको रेकर्ड निकालेको रहेछ, सबै एक एक गरेर पहिचान भयो । हामीलाई विद्यालयको ग्राउण्डमा सार्वजनिकरुपमा लाइन लगाइयो र सबैले पालैपालो सजाय पाइयो । त्यहीँदेखि हाम्रो भागेर पौडी खेल्ने कुरा कम हुँदै गयो । तर बानी भनेको यति खतरनाक हुँदो रहेछ कि अब चाहिँ खेल्दै नखेल्ने भनेर जति कबोल गरेर पनि मन थाम्नै सकिँदैनथ्यो । स्कूल जाँदा र घरफर्कँदा लुकिछिपी एक दुइ पटक त पानीमा डुबुल्की लगाउनै पर्थ्यो । यति गरेपछि बल्ल चित्त शान्त हुन्थ्यो ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x