पराशर रिजालशख्खर चोरको उपद्रो
पिरा र मुढा आट नजिक त्यही ठाउँमा जस्ताको तस्तै दसीको रुपमा अझै खडा रहेछन् । कुप्पी घोप्टिएको पनि उठाउन बिर्सिएछ । आट भरि जताततै शख्खर लत्पत्तिएछ ।

पराशर रिजाल :
तीन–चार वर्षे उमेरमा कालु असाध्यै चकचके थियो । त्यो उमेरमा मिनेट मिनेटमा अनगिन्ति बदमासीहरू गर्थ्यो । उसकी आमाको भनाई अनुसार ऊ उच्च स्तरको चाहिँ होइन, मध्यम स्तरको उद्रयाहा थियो । सानामा आफूले गरेका राम्रा नराम्रा धेरै काम कुराहरूको अहिले उसलाई झल्याक झुलुक्क मात्र सम्झना आउँछ । अलि ठूलो भएर गरेको उपद्रो त भन्न नमिल्ने लाज लाग्ने किसिमका पनि थिए, ती चाहिँ सबै त्यत्तिकै दबिएर गए । सानामा गरेको कतिपय उपद्रोको बारेमा परिवारभित्र र छरछिमेकमा समेत चर्चा भइरहने हुँदा ती विषयमा छलफल गर्न चाहिँ उसलाई लाज पचिसकेको थियो । उमेर बृद्धिसँगै उसले गरेका बद्मासीहरू अलि अलि गर्दै धेरै जसो बिर्सिसक्यो र अहिले ऊ भलाद्मी देखिएको छ । केही उपद्रो, बदमासीहरू त यस्तरी रेकर्ड भएको छ कि उसको स्मरणमा जहिले पनि ताजै रहने गरेको छ । त्यसमध्ये एउटा उपद्रोको विषयमा उसकी आमा र दिदीहरू पनि बेला बेला चर्चा गरिरहने हुँदा अहिले पनि ताजा बनेर आउँछ ।
कालु पहाडको कुनै गाउँमा बस्थ्यो । उस्ले आफ्नो गाउँमा चक्लेट, मिठाई बिस्कुट मिश्री नरिवल केही पनि देखेको थिएन । शायद तराईतिरका केटाकेटीहरूलाई यी चिजहरूको बारेमा जानकारी भैसकेको थियो होला । पहाडी स्थानीय बजारहरूमा यी चिजहरूको किनबेच धेरै पछि मात्र शुरु भयो । त्यतिबेलासम्म चिनी समेत देखा परेको थिएन ।
कालु सानो हुँदा एक दिन अचानक उसका घरमा भारी बोकेर दुइ जना भरियाहरू आए । उनीहरूले आफ्ना भारी बिसाए र त्यसबाट साना ठुला दुइवटा डल्ला बाहिर निकालेर आमालाई देखाए । यो के चिज होला भन्ने उसलाई जिज्ञाशा भयो । के हो के हो भन्दै अरु केटाकेटीहरू पनि त्यसरी नै वरिपरी झ्याम्मिए । उनीहरूले शख्खर ल्याएका रहेछन् । शख्खर खाने कुरा हो र यो धेरै मिठो हुन्छ भन्ने कुरा आमाबाट थाहा पायो । कुरा सुन्नासाथ उसको मुखमा पानी आयो । उसलाई यो बस्तु चाख्न असाध्यै हतारो भयो । उसकी आमाले चामल मकै के दिएर हो एउटा ठुलै डल्लो शख्खर खरिद गरिन् । त्यतिबेला नगदको कारोबार भन्दा सामान साटासाट गर्ने (बार्टर सिस्टम) को प्रचलन थियो । मानिसलाई आवश्यक पर्ने धेरै चिजहरू आफूसँग भएको बाली नाली वा बस्तुहरूसँग साटासाट गर्ने चलन थियो ।
शख्खर खरिद गरेपछि आमाले त्यहाँ भएका केटाकेटीहरूलाई तत्काल फोरेर साना साना टुक्रा पनि बाँडिन् । यति मिठो बस्तु पनि यो पृथ्वीमा हुन्छ भन्ने कुरा कालुले पहिलो पटक थाहा पायो । शख्खर निकै मिठो हुन्छ भन्ने कुरा उसको जिब्राले थाहा पाएपछि यो कहाँ फल्छ होला भन्ने जिज्ञाशा पनि बढ्यो । यस्तो मिठो चिज अब उसकी आमाले कुन ठाउँमा थन्क्याउँछिन् त भन्ने कुरामा उसको मुख्य दिलचस्पी गयो र गोप्यरुपमा चियोतर्फ लाग्यो । केटाकेटीहरूले नदेखुन्, नभेटुन् भनेर बाँकी रहेको शख्खर आमाले धानको भकारीमाथि कपडाले छोपेर राखिन् । उसले यो कुराको चियो आमाले थाहा नपाउने गरि गर्यो ।
आमा शख्खर हातमा बोकेर बिस्तारै ढोकाभित्र छिरिन् । उनी भित्र पस्दा नपस्दै कालु पनि पछि पछि चाल मारेर पुगि हाल्यो । आमाले एकछिन यताउता गरिन् । शायद यता राखौं कि उता भनेर उनी थोरैबेर अलमलमा परिन् । उसले अलिकति लच्किएर अन्तै कतै ध्यान दिए जस्तो गर्यो । धन्न आमाले देखिनन् । शख्खर राख्ने ठाउँ भकारीमाथि भयो । यति टुँगो भएपछि ऊ ढुक्क भएर केही थाहा नपाए जस्तो नाटक गर्दै आमाले संकेत नपाउने गरि लुसुक्कन बाहिर निस्कियो ।
कालु त्यस दिन दिनभरि मौकाको प्रतिक्षा गर्दैरह्यो । राती सुत्नु अघि पनि एक दुइ पटक शख्खर छेउ पुग्ने जमर्को गरिहेर्यो । अहँ कतिबेलै साइत जुरेन । अर्को दिन दिउँसो आमा, काका काकीहरू घर बाहिर आफ्नो कामको शिलशिलामा निस्किए । दिदीहरू घाँस दाउरा गर्न, बस्तु बाख्रा चराउन गए । उसका बुबा पनि केही दिनको लागि घरबाहिर कतै गएका थिए । हजुरबुबा बाहिर खाटमा बसेर महाभारत पढिरहेका थिए । हजुरआमा हजुरबुबाकै छेउमा बसेर बात्ती कात्तै अलमलिरहेकी थिइन् । ऊ पिँडीमा खेल्दै अल्मलिएको जस्तो नाटक गर्दै बस्यो । आमाहरू निस्किएपछि अब घरभित्र कोही छैन भन्ने कुरामा ऊ ढुक्क भयो । लुसुक्कन घरभित्र छिर्यो । घरको ढोका विस्तारै चाल मारेर लगायो । आग्लो तान्यो । अनि त्यो शख्खर राखेको ठाउँमा कसरी पुग्न सकिन्छ भनेर विभिन्न उपायको खोजी र प्रयाश गर्यो । डाडु उठायो, पुन्यु तन्कायो, हँसियाले भेट्ने कोशिस गर्यो । अहँ भएन । बरु उल्टै आटमा राखेको कुप्पी घोप्टियो र तेल पोखियो ।
भकारीको सँगै गाह्रो लगाएर आट बनाइएको थियो । कालुले एक पटक आटमाथि उक्लिन प्रयास गर्यो । सफल भएन । अब नयाँ उपायको खोजी गर्योे । त्यसमा पुग्न काठको पिरा ओछ्यायो । आटमा चढ्न सकेन, त्यहाँसम्म मुख पुगेन । त्यसपछि मुढा ओछ्यायो अँ अब भने उक्लन सजिलो भयो । त्यसमा चढेर आटमा फड्कियो । भकारी आफूभन्दा केही होचो, ठिक्कको उचाइमा भयो । अब भने रुमालमा पोको पारेर राखेको शख्खरमा सजिलै हात पुग्यो । तर गाँठो कसेकोले खोल्न गाह्रो भयो । दाँतले बेस्सरी टोक्यो र तान्यो । निकै प्रयत्न पछि मुलगाँठो फुकाउन सफल भयो । बाहिर कुनै आवाज आउँदैछ कि एक पटक चाल मारेर सुन्यो । अहँ छैन । अब हातले विस्तारै रुमालको अन्तिम गाँठो फुकायो । रातोमाटोको डल्लोको रंगमा शख्खर फुत्त देखा पर्यो । आफूतिर नजिक तान्न खोजेको सकेन । केही तन्कियो । बल्ल भकारीमा रहेको शख्खरमा आफ्नो मुख पुर्याउन सफल भयो । निकैबेर बढो ध्यानमग्न भएर दाह्र्यो, चाट्यो र अघाएपछि मात्र विस्तारै ओर्लियो । यो काम बेलाबेला बिराएर त्यस दिन दिनभरि जस्तै चल्यो ।
यो क्रम विहान, वेलुका, दिउँसो मौका मिलाएर शख्खर नसकिउन्जेल कति दिन चलिरहन्थ्यो कुन्नी । तर कच्चा चोरको योजना लामो समय टिक्नै सकेन । दसी खोज्न अभिभावकहरूलाई पनि धेरै समय माथापच्ची गरिरहनु परेन । त्यस दिन बेलुकीपख कालुकी आमा घरमा आइ पुगिन् । सधैं आमा आउनासाथ नजिकै झ्याम्मिने छोरो आज टाढा टाढैबाट छेउकुनातिर लाग्छ । हैन आज यसले के उपद्रो गर्यो भन्दै उसकी आमाले शंका गरिन् र नजिकै आइन् । उसको अनुहार र कपडा जाँच गरिन् । एकै छिनमा सबै रहस्य खुल्यो, ऊ पक्डाउ परि हाल्यो । घरभित्र बाहिर सबैतिर चोरीको हल्लिखल्ली मच्चियो ।
कालुले कहाँनेर गल्ति भयो भनेर राम्ररी बिचार गर्योे । मान्छे नभएको मौका पारेकै हो । ढोका बन्द गरेर आग्लो पनि लगाएकै हो । बुद्धि नपुर्याएको हुँदै होइन । तर मुख बाहिर टाँसिएको शख्खरले धोका दिएछ । त्यस दिन बिचबिचमा बिसाउँदै बिसाउँदै तीन चार पटक शख्खर दारेको थियो । प्रत्येक पटक खाइसकेपछि साबधानी अपनाएर हात बाहुलाले पुछेको थियो । बाहुलामा टाँसिएछ । अझै मुखमा लत्पतिएछ ।
आमा बाहिरबाट आएर पहिलो पटक नै उसको मुखतिर हेरिन् र भनिन् हैन आज यस केटाले अनुहारमा के दलेछ ? हैन आमालाई चाहिँ सबैभन्दा पहिला मेरै अनुहारमा किन हेर्नु परेको होला भन्ने उसलाई लाग्यो । के शख्खर खाएको कुरा आमाले अनुहार देख्दै थाहा पाउनु हुन्छ कि कसो ? उसलाई थोरै डर लाग्यो र अर्कोतिर फर्कियो । आमा उतै फर्किन् । अझै राम्ररी अनुहारमा जाँच पड्ताल गर्दै भनिन् लौ यसले त बिताएछ नि माइली ! उसकी काकीलाई संबोधन गर्दै आमा भित्रतिर दौडिइन् । अब काकी पनि आमासँगै लागिन् । पिरा र मुढा आट नजिक त्यही ठाउँमा जस्ताको तस्तै दसीको रुपमा अझै खडा रहेछन् । कुप्पी घोप्टिएको पनि उठाउन बिर्सिएछ । आट भरि जताततै शख्खर लत्पत्तिएछ ।
आमाले भकारी नजिक गएर हेरिन् । बलियो गाँठो पारेको रुमाल खुकुलिएको थियो, हैन त्यस्तो बलियो गरि कसेको गाँठो कसरी खोल्यो होला यस्ले, आमाले छक्क पर्दै काकीलाई भन्दै थिइन्, कालुले मुखले, दाँतले यसरी टोकेर खोलें भनेर बहादुरी देखाउन खोज्यो, थेत्तरो फटाहा भन्दै आमाले पिट्न लखेटिन् । ऊ एक पटक दौडिएर बाहिरसम्म पुग्यो र फेरि तुरुन्तै फर्किएर आयो । गुटुमुटु पारेको रुमाल खोलेर हेर्दा शख्खरको डल्लोको माथिल्लो भाग सबै दर्फर्याएको देखियो र सोधिन् अए केटा यो कसरी खाइस् हँ ? उसले यसरी खाएँ भनेर मुखले दर्फर्याएको जानकारी गरायो । हँ भन्दै आमा विस्मित र दुखित हुँदै भनिन् लौ न नि सबै जुठो पारेछ अब के गर्ने माइली ?
कालुकी आमाको पिरलो देखेर उसकी काकीले सान्त्वना दिँदै भनिन् ‘भो भो दिदी अब चुप लागौं । देउतालाई चढाउन चाहिँ अर्कै खोज्नु पर्ने भयो । ‘आफ्नै छोराछोरीको जुठो हो, क्यै हुँदैन खानु पर्छ,, कसैलाई हल्लाखल्ला चाहिँ गर्नु हुँदैन ।’ त्यति सल्लाह भैसकेपछि आमाले हतार हतार शख्खरलाई रुमालले बाँधिन् र लौ भेटा त अब भन्दै घरको पर्खालमाथि खड्प्वालमा राखिन् । आमा नभएको मौकामा फेरि पनि कालुले शख्खर चोर्ने प्रयत्न गर्यो । तर जति उफ्रिँदा पनि त्यत्ति उचाइसम्म चाहिँ ऊ कहिल्यै पुग्न सकेन ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































