पराशर रिजालअण्डा पकाउन बहुत गाह्रो !
तावाको तेल चट..ट..ट गर्दै उछिट्टियो र उसको हत्केला पछाडि टाँसिएर दुइ तीनवटा फोकाहरू उठे । आगोको ज्वालाले तेललाई भेट्टाएसम्म सर्बत्र टिप्यो र ह्वार्रै दन्कियो । एक पटक कोठै उज्यालो भयो ।

पराशर रिजाल :
श्रीमति भेजिटेरियन भएको हुँदा अण्डा उसको घर भान्सामा कहिलेकाहिँ मात्र आउँछ । हिजो विहान मौका पारेर उ सुटुक्क झोलाभित्र लुकेर घरमा आयो । आउनासाथ पाहुना झैं भएर स–सम्मान फ्रिजको एक कुनामा आशन जमाएर बस्यो । यसले विहानको नास्ता वा दिउँसोको भान्सा मिठो बनाइदेला भन्ने उसलाई लागेको थियो । आज बिहानै श्रीमति बाहिर निस्किएको मौकाछोपी यसलाई नास्ता नै बनाएर किन नखाने भन्ने उसले सोच्यो । बरु उसिन्ने कि अम्लेट बनाउने त त्यहाँनेर उसलाई अलिबेर दुविधा भयो । एकैछिन् सोच्यो, हैन बिहान विहानै छ, यतिबेला अम्लेट भन्दा उसिनेरै खानु ठिक होला, भन्ने निश्कर्ष निकाल्यो र उसिन्ने तयारी तर्फ लाग्यो ।
सबैभन्दा पहिला स्टोभ बाल्यो । भाँडामा पानी हाल्यो । अण्डा राख्यो । छिनैमा घट्घट् गर्दै उम्लियो । केहीबेर पछि अन्दाज गर्यो, अब चाहिँ पाकिसक्यो । अण्डा झिक्यो । उसलाई लाग्यो कोही नभएको मौकामा लिभिँग रुममै बसेर सानसित किन नखाने । उतै लिएर गयो । गजक्कन बस्यो । अब बोक्रो उप्काउन थाल्यो । मनलाई खान एकदमै हतारो हुँदै थियो । पख पख भन्दै एकछिन चुपलाग्न मनलाई थुम्थुम्याउने कोशिस गर्यो । सोच्छ, यो मनको गति भन्दा कति जुम्सा उसका ती हातहरू, बोक्रो छोडाउने क्रममा साम्साम्–सुम्सुम् गरेर निकैबेर त्यसै त्यसै गोज्याग्रिँए । बल्ल बल्ल मेलो समात्यो । अलि अलि गर्दै दुइ पटक मात्र बल गरेर बोक्रो के उप्काएको थियो, बिचको पहेंलो कोर भाग निचोरिएर बाहिर निस्कियो । धत्तेरिका पाकेकै रहेनछ भन्दै रोक्न छेक्न खोज्दै थियो उछिट्टिएर अघि नै हात र आफ्नो कपडामा लतपति सकेछ । लगाएको कपडा पहेंलै भयो । लौ बर्बाद भयो भन्दै कपडा जस्तै उसको अनुहार पनि पहेंलियो ।
त्यतिमै कथा टुँगिएन । अण्डा हातबाट चुहिएर बसेको चकटी, भुईंको कार्पेट सबैतिर पोतियो । उसले मास्टर डिग्रि गरेर ठूलै पदमा जागिर पाइ विशेष हैसियत बनाइसकेको थियो । हैन यति सानो छुसी कामले पनि कति हेपेको भन्ने लाग्यो । लौ बित्याँस पर्यो भन्दै हतार हतार दौडँदै किचेन तर्फ लाग्यो । बिच बाटामा पनि त्यो चुहिन छोडेन । छि लाजमर्दो ! उसलाई दिक्क लाग्यो । बल्ल तल्ल भाँडामाथि उसको हात पुग्यो । अब त्यो चुहिन पनि कम भयो । तर अब खाने कसरी त ? जति बचे पनि त्यसलाई त्यसै छोड्ने उसलाई इच्छा थिएन , जसरी पनि खाएरै छोड्छु भनेर कस्सियो । अधकल्चो भएको थियो । त्यसो भए अझै पकाउनु ठीक होला भन्ने लाग्यो ।
अब उसिन्ने कि फ्राइ गर्ने त । उसिन्दा भित्र पानी छिर्न सक्छ । अम्लेट बनाउन बोक्रो छोडाउन सकिँदैन । दोधार भयो । बोक्रो उक्काउन बल लगाइ हेर्यो, दुइ फ्याक भयो । पहेंलो भाग अझै चुहिँन छोडेन । जे भए पनि अब अम्लेट बनाउनुको विकल्प रहेन । तेल तताउन तावा बसायो । अलि अलि गरेर उक्काउँदै तावामा हाल्यो । उता तेल फन्किएर, चड्किएर पड्किन थाल्यो । वरिपरि तेल उछिट्टँदैछ । उ टाढा भाग्दै नजिक आउँदै गर्दैछ । कसैले यो आपत देख्छ कि भन्ने पनि लाग्दैछ ।
उसले बोक्रोतिर टाँसिएको पनि अलिअलि कोट्याउँदै हाल्न थाल्यो । अन्तिममा बुद्धि आयो चम्चा प्रयोग गर्दा कसो होला भन्ने । एउटा चम्चा निकाल्न लम्किएको थियो त्यहाँ भए जति चम्चा सबैमा अण्डा दलियो । जे भए नि ध्यान अन्डाबाट हटेन । चम्चाले मिलाएर बिस्तारै कोट्यायो, अण्डाको बाँकी भाग अप्ठ्यारो नमानि सरक्कन निस्कियो । त्यसबेला उसले आफ्नो बुद्धिको खुब तारिफ गर्यो । निस्किएको अण्डाको भाग खुत्रुक्क ताबामा खस्यो । तावाको तेल चट..ट..ट गर्दै उछिट्टियो र उसको हत्केला पछाडि टाँसिएर दुइ तीनवटा फोकाहरू उठे । आगोको ज्वालाले तेललाई भेट्टाएसम्म सर्बत्र टिप्यो र ह्वार्रै दन्कियो । एक पटक कोठै उज्यालो भयो । उसको आँखि भौँका रौं र परेलाहरू सबै डढे ।
ऐनामा झट्ट हेर्दा आफैंले आफैंलाई नचिनिने जस्तो भयो । क्षणभरमै किचेन लगायत सबै कोठाभरी धुवाँ फैलियो । बिचरा उ, अण्डा र कोठा सवै काला निला भए । के भएको हो यस्तोे भन्दै तरकारी किन्न गएकी श्रीमति किचेनमा फुत्त भित्र छिरी र घर भित्र कुहिरीमण्डल भएकोले हतार हतार झ्याल ढोका सबै खोली । धुवाँ सर्बत्रबाट पुत्पुताउँदै बाहिर निस्कियो । उसले होइन, केही होइन अण्डा पकाएको यस्तो भयो भन्दै परिस्थितिलाई सामसुम पार्ने प्रयत्न गर्यो । श्रीमतिले उसको शरीर, चकटी, कार्पेट भुईं र चम्चा सबैतिर नजर दौडाइ अनि थर्काउँदै भनी अनि यो सब चाहिँ के भएको नि । बिचरा ऊ अभियुक्त जस्तै ङिच्च मात्र गर्यो ।
उसलाई लाग्यो, भात पकाउन त कति सजिलो थियो, चामल पखालेर पानी हालेर बसाइदियो । कुकरले आफैं सिटी बजाएर पाकेको जनाउ दिन्छ, थाहा भइहाल्थ्यो । अण्डा पकाउन चाहिँ असाध्यै गाह्रो रहेछ ! निकै अनुभवी हुनु पर्ने रहेछ ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































