मुन पौडेलसुखी जीवनका उपाय
लुतो भिरी नै सक्नुभएको छ भने सधैं आरतीको थाल लिएर कुनै देउता अगाडि घन्टी बजाउनु साटो श्रीमतीलाई आरती देखाएर घन्टी बजाउनुस् र सधैं संस्कृतको स्लोक 'त्वमेव माता च भट्याउने गर्नुस्, सुखी रहनुहुन्छ ।

मुन पाैडेल :
महात्मा गान्धीले पनि भनी सकेछन् भोको पेटले राम भन्दैन, रोटी रोटी भन्छ । त्यसैले सुखी रहन वा हुन सबभन्दा पहिले मानिसले आफूसँग भएको भुँडीरूपी थैलोलाई नभरी हुँदैन। यो पहिलो शर्त हो तर भुडी भर्नका लागि जे भए पनि हुन्छ, एक माना च्युरा भए पनि पुग्छ, एक थाल ढिंडो भए पनि पुग्छ, इटालियन पिजा भए पनि पुग्छ र एक कचौरा ममको डल्ला भए पनि पुग्छ । अर्थात् भुँडीलाई सुखी राख्न भुँडीमा जे ठुसे पनि हुन्छ तर यतिले मात्र सुखी होइँदैन । सुखी हुन शान्ति चाहिन्छ र शान्ति भन्ने चिज परेवासँग हुँदैन । तपाईंको घर झुपडी होस् वा महल, पाटी होस् वा सत्तल, शान्ति नभई घर घर हुँदैन र तपाई आरामले बस्न सक्नुहुन्न । घरको शान्ति, तपाईंको शान्ति र घरछिमेकसमेतको शान्तिको स्रोत एउटै व्यक्ति हुन्छ र त्यो तपाईं होइन ।
शक्तिको स्रोत, शान्तिको स्रोत र क्रान्तिसमेतको स्रोत तपाईंकी एक मात्र दुलही, प्राण-पियारी र श्रीमती मात्र हुने भएकी हुनाले तिनलाई रिझाएर फकाएर, सुम्सुम्याएर राख्न सक्नु भो भने मात्र तपाईं सुखी हुन सक्नु हुन्छ, तर सबैलाई थाहा छ, तपाईलाई पनि थाहा छ र संसारैलाई थाहा छ कि श्रीमती भन्ने प्राणी त्यो चिज होइन जसलाई सहजै आफ्नो आकारमा राख्न सकियोस् । अर्थात् श्रीमतीलाई फुल्याएर फकाएर राख्नु भनेको कुकुरको पुच्छरलाई ढुङ्ग्रोमा हालेर सोझो पार्ने प्रयास गर्नुसरह नै हो। जुन असम्भव छ ।
एउटा कथा सुन्नुभएको छैन ? एउटी सासू र बुहारी सधैं बाजाबाज गरेर झगडा गर्थे अरे । सासूले एकथोक भनी भने बुहारीले दुईथोक जवाफ दिन्थी अनि झगडाले भयङ्कर रूप लिन्थ्यो । एक दिन बुहारीलाई एउटीले सल्लाह दिइछ- सासूले सराप्न थाल्यो कि तिमी मुखभरि कनिका हालेर चपाउन थाल्नु, झगडै हुँदैन । बुहारीले त्यसै गरेकी त झगडै बन्द भएछ । कनिका मरीमरी चपाउन थालेपछि सासूको सराप पनि सुनिन कम हुँदोरहेछ, मुखमा कनिकाको बुझो भएको कारण बुहारीले जवाफ फर्काउन छोडिछन् । सासू एकहोरो कति चिच्याउनु, जवाफै नआएपछि । तपाई पनि चुप लाएर बस्नुस्, उचित अनुचित केही नभन्नुस्, अन्यथा बोल्यो कि पोल्यो हुन्छ ।
श्रीमती भनेका भगवतीका रूप हुन् र भगवती कति किसिमका हुन्छन्, तपाईंलाई थाहै होला । नभए दुर्गा सप्तशती पढ्नुस् । यिनीहरूले कुन बेला कुन भगवतीको रूप लिन्छन् भन्नै गाह्रो छ । छिनमै मोहिनी रूपमा भएका यिनीहरू महाकालीको रूपमा परिवर्तित हुन्छन् । यिनीहरूको व्यवहार, चालढाल, कटाक्ष र माया कुन बेला परिवर्तन हुन्छ, भगवान्ले पनि भन्नै सक्दैनन् । तुरुन्तै लक्ष्मीजस्ता देखिएका यी सरस्वती तुरुन्तै परिवर्तित हुन्छन् र सरस्वतीबाट महाकालीका रूपमा आउन पनि यिनलाई बेर लाग्दैन । त्यसैले यिनलाई चलाउनु, जिस्काउनुभन्दा हो-मा-हो मिलाउनु जाती तर त्यसो गर्दा पनि सुख पाइँदैन र पो मान्यो। सबभन्दा राम्रो जोइटिङ्ग्रे भइदिनु, सबभन्दा राम्रो ।
तपाईंकी प्राण प्यारी पत्नीलाई खुस चल्यो भने एकाबिहानै नुहाईवरी कपालबाट तपतप पानी चुहाउँदै तपाईंको ओछ्यानमै बेड टी पुऱ्याउन बेर लाउँदिनन् तर कुनै दिन तपाईं एकाबिहानै उठ्नु भो र तपाईंलाई चियाको तलतल लाग्यो भने तपाईं के गर्नुहुन्छ ? बुद्धिमान् हुनुहुन्छ भने चुपचाप चियाको प्रतीक्षा गर्नुस् र होइन तपाईलाई बोल्नैपर्छ र तपाईंले “के हो आज चियासिया खान पाइँदैन कि क्या हो” भन्नुभयो भने तपाईंको बिहानी बर्बाद। किनकि त्यति सुन्नेबित्तिकै तपाईंकी सुन्तली म्याक्सी घिसार्दै आउँछिन् र चिच्याउँछिन्- ‘मान्छेलाई बिहान उठेदेखि सास लिन फुर्सद छैन । धारामा पानी नआएर फोहोर भाँडाहरू असरल्ल छन् । एउटा नोकर खोजेर ल्याउनुभन्दा हुतिहाराहरू एउटा नोकर खोज्न सक्दैनन् । किन खोज्थे ? एउटी सित्तैंकी कमारी छँदैछ नि घरमा । वरको सिन्को पर कोही नसार्ने । छोराछोरी केके न महाभारत गरेको जस्तो अझसम्म पनि सुती नै रहेका छन् । उहाँलाई चाहिँ बसीबसी चिया मात्रै चाहिन्छ ।’ र एकछिनपछि व्यास्स एक कप चिया ठस्काउँछिन् । तपाई त्यो चियाको कप हेरेर मक्ख पर्दै यस्तै हो भनेर चुप लागेर चिया खान थाल्नु भो भने बिहान मात्र बर्बाद हुन्छ, दिन सप्रिन्छ । चुइँक्क पनि बोल्नु भो भने दिनरात पूरै बर्बाद ।
श्रीमती सुमर्न साह्रै गाह्रो हुन्छ । जसले यिनलाई सुमर्छ त्यो पनि पछुताइरहेको हुन्छ, सुमर्न नपाउने पनि पछुताई नै रहेको हुन्छ, खोई कतातिरका पेडाजस्तो । घररूपी फिल्मकी प्रोड्युसर, डाइरेक्टर सबका सब श्रीमती नै हुन् भनेर पूर्णरूपमा यिनकै निर्देशनमा सारा थोक चल्न दिनु भो भने सुटिङ निर्वाधरूपमा चल्छ, म पनि त फाइनान्सर हुँ भनेर फुर्तीफार्ती लाउन थाल्नु भो भने डाइरेक्टरले सुटिङ प्याकअप गरेर माइत हिँड्दिन बेर हुँदैन । सबभन्दा ठूलो कुरा नबोल्नु, बोल्यो कि पोल्यो ।
अब एउटा उदाहरण हेर्नुस्, कुनै दिन लोग्नेस्वास्नी कुनै पार्टीमा जान तयार भइरहेको अवस्थामा श्रीमतीले दुईचारवटा साडी झिकेर ‘कुन लाऊँ ?” भनेर सोधिन् भने नसुन्याजस्तो गरेर चुप लाग्नुमै भलाइ हुन्छ । ‘जुन राम्रो लाग्छ त्यै लाऊ” वा “ऊ यो चाहिँ लाऊ जे भन्नुभयो भने पनि तपाईंको कल्याण छैन। “ऊ त्यै लाऊ न त’ भनेर कुनै साडीलाई देखाएर भन्नुभो र त्यो तपाईंले किनिदिएको चाहिँ साडी पन्यो भने महाभारत परिहाल्छ । ‘हजुरले किन भन्नु त्यो लाउन । बाह्र वर्षमा जम्मा एउटा साडी किन्द्या छ कत्ति न राम्रो जस्तो । अनि घरीघरी त्यै लाऊ । मान्छेका स्वास्नीले कस्ता लाएर आउँछन, लोग्नेले महिनैपिच्छे एकसेएक साडी किनिदिन्छन्, लाउँछन् । आफ्नो त भाग्यै यस्तै’ भन्दै तपाईकी श्रीमतीले साडी हुत्याउदै पार्टीसार्टीलाई भँडखालामा हाल्छिन् । तपाई भिजेको छुचुन्द्रोजस्तो लुसुक्क परेर त्यहाँबाट भाग्नुबाहेक अर्को उपाय हुँदैन ।
हाम्रो नेपाली समाजमा घरकी, लोग्नेकी, लोग्नेको श्रीसम्पत्तिको मालकिन र विक एकज्युटिन को त भने श्रीमती । श्रीमती लोग्नेको टोपीदेखि मोजासम्म र बैतृको वातादेखि खल्तीसम्मकी मालकिन । कुन पुरुष हूँ भन्ने पतिमा त्यो उक्त छ कि जसले श्रीमतीलाई डाँटेर, ठगेर दुई पैसा कतै लुकाओस् । उल्टो अफ्नो नामको जग्गा, घरलगायत सञ्चयकोषको रकम पनि श्रीमतीको नाम गरिदिएका हुन्छन् । जुन मै हुँ भन्ने मनुवाले कमाउने म, त्यसको नाममा केको एक्यु’ भनेर फुर्तिफार्टी लाएर हैकमवादी प्रकृति नै देखाउँछ, त्यसको दुःखको दिन सुरु भयो भन्दा नै हुन्छ । हाम्रो समाजमा श्रीमती एउटा यस्तो प्रकारको लुतो हो जो फाल्न त सकिदैन सकिंदैन, उल्टो जिन्दगीभर कन्याइरहनुपर्छ । पश्चिमी मुलुकमा एउटा मन परेन, पारपाचुके गन्यो र अर्को ल्यायो। त्योसँग पनि चित्त बुझेन भने त्यसलाई पनि मिल्काइदियो र आनन्दले बस्यो । यहाँ त एक पटक बिहे गरेपछि श्रीमती भन्ने चिज लिसो टाँसेको जस्तो टाँस्सिरहन्छ र जीवनभर छोड्दैन । लोग्नेले जिन्दगीभर लिसोको राम्रो व्यवस्थापन गरिरहनुपर्छ ।
तपाई करोडपति हुनुहोस् वा ज्यामी । पैसाले तपाई कदापि सुखी हुन सक्नुहुन्न । तपाईकी घरकी रानी यदि प्रसन्न छिन, सन्तुष्ट छिन् भने एक थाल दिँडो खान पाए पनि तपाई सुखी रहन सक्नुहुन्छ तर तपाईको प्राण प्यारीको चित्त बुझेको छैन वा तपाईंले बुझाउन सक्नुभएको छैन भने तपाईंको घर नर्कमा परिणत हुन पुग्छ । पैसाको खोलो बगाइदिनुभयो भने पनि शान्ति प्राप्त हुँदैन । त्यसैले सुखी रहन एउटै मन्त्र छ । सम्भव छ भने यो स्वास्नीरूपी लुतो नै नभिर्नु । यो सम्भवै छैन । लुतो भिरी नै सक्नुभएको छ भने सधैं आरतीको थाल लिएर कुनै देउता अगाडि घन्टी बजाउनु साटो श्रीमतीलाई आरती देखाएर घन्टी बजाउनुस् र सधैं संस्कृतको स्लोक ‘त्वमेव माता च भट्याउने गर्नुस्, सुखी रहनुहुन्छ । श्रीमतीले जे भन्छिन्- ‘सदर, जे गर्छिन्-सदर, जे ख्याउँछिन-सदर, जे सुनाउँछिन् सदर, जे गाउँछिन् – सदर गर्नुभयो र सँगसँगै खैजडी बजाउन थाल्नु भो भने सधैं सुखी रहनुहुन्छ । सुखी रहने अन्य कुनै उपाय छैन।
०००
जनकपुरधाम, हाल- काठमान्डू
मधुपर्क / २०६६ माघ
भुसुक्कै (२०८०)
Subscribe
Login
0 Comments
Oldest





































