साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आज्ञापालक कमरेड आँखा खोल्छ

Nepal Telecom ad

सोह्र वर्षपछि
मेरा आँखामा फर्किएको छ त्यो ज्वाला
जसको रापले कुनै दिन
डढेको थियो कालो संविधानको पुस्तक

सोह्र वर्षपछि फेरि
युद्धबन्दी छ दिमागको किल्ला
काटिएका छन् हातका औँलाहरू
गायब छ केशमा शिरको सौन्दर्य

बिउँझिएर उठेका छन्
मृत संविधानका अक्षरहरू
र, टाँसिदै छन् नयाँ संविधानका अक्ष्रमाथि
जसरी अखबारको पेस्टरले
पुरानै नक्सामा टाँस्छ नयाँ तस्बिर

सुन्दर मुलायम बगैँचामा
सुँगुरहरूले गरिदिएका छन् सर्वत्र फोहोर
तमसुकमा तहबिलदारले जाली अङ्क थपेजस्तै
शमशेर गणका मौसमी प्रेतहरूले
लेखिदिएका छन् त्यसमाथि– प्रजातन्त्र

भर्खरै प्रेमको नतिजामा
असफल युवतीजस्तै थकित समयको यो मोडमा
सोह्र वर्षपछि
बारम्बार म आफैंसँग सोधिरहेछु–
लुटाहा र सामन्तमा
कसले बढी चुसिरहेछ देशलाई ?
सुँगुर र शासकमा
को बढी फोहोरी छ देशमा ?
सरकार र हत्यारामा
कसले बढी घाउ दिइरहेछ देशलाई ?

सोह्र वर्षपछि म सोच्दै छु–
प्रेमका नाममा बेइमानी नगरेसम्म
दुष्ट प्रेमिकालाई त्यागेर
सहृदय वेश्यासँग
सम्बन्ध गाँस्न म स्वतन्त्र छु
स्वतन्त्र छु, मेरो ब्रह्मसँगै स्वतन्त्र विचरण गर्न
र, राज्यको अनुहारमा फर्किएको
जङ्गली आँखा विरुद्ध आँखा लडाउन ।

सोह्र वर्षपछि
कमरेड शासकका आँखाबाट
एकाएक गायब छ निद्रा
ठुटे लोकतन्त्रवादीका आँखामा
हाँस्दै छ कौटिल्य

कमरेड शासकलाई थाहा छ
ठुटे क्रान्तिकारी
र, प्रतिक्रियावादीलाई पनि थाहा छ
गणतन्त्रको जग, डाँठ र जटामा
छ मेरै रगत
यो इँटा, यो छड, यो कङ्क्रिट
गरिब वृद्धको धर्सा परेको निधारजस्ता
बुट्टेदार यी आधुनिक झ्यालढोका
बनेका हुन् मेरै हाडमासुले

सोह्र वर्षपछि
यो छुवाछुतमुक्त गणतन्त्रमा
म कसरी उही अछुत कामी भएँ
जसले चुलो छोएको निहुँमा
फेरि ज्यान गुमाउनु पर्छ ?
म कसरी उही चमारे सार्की भएँ
जसले फेरि सिनो उठाउनु पर्छ ?
म कसरी उही डुमबहादुर दमाइँ भएँ ?
जसले फेरि तपाईंको बाजा बजाउनु पर्छ
म कसरी उही गोरुमुखे गाइने भएँ ?
जसले फेरि तपाईंको कर्खा गाउनु पर्छ ?
म कसरी उही बादी भएँ
जसले फेरि अपमानका सहस्र पाना पल्टाउनु पर्छ ?
म कसरी उही पटमूर्ख कमैया भएँ
जसले फेरि तपाईंको सेवामा
आफैंलाई गुमाउनुपर्छ ?

त्यो गाउँ,
जहाँ हेर्दाहेर्दै खरानी पारियो मेरो घर
चौपायासरह मारिए मेरा बाबुआमा
खुलमखुला
बलात्कृत भई बहिनी
जसलाई जिउँदै जलाइयो रूखको ठुटाजस्तै
तिनको एउटै दोष,
परिवारको एउटा जवान
अर्थात् म मित्र विश्वकर्मा थिएँ विद्रोही

स्वाभिमान, आत्मसम्मान, मुक्ति
र, न्याय
जसका लागि लडेको थिएँ म
बनेपछि गणतन्त्रको महल
सोह्र वर्षपछि एकाएक
म कसरी लुटिनमात्र
लायक भएँ आफ्नै मित्रहरूबाट ?
आँखा जुधाउन हिम्मत गर्नुस् !
म कसरी तपाईंको
थोक व्यापारको सामग्रीमात्र भएँ, कमरेड ?

सोह्र वर्षपछि मेरा आँखामा
फर्किएको छ त्यो ज्वाला
जसको रापले कुनै दिन
डढेको थियो कालो संविधानको पुस्तक ।

‘नागरिक’ अनलाइनबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x