साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बालअधिकार

Nepal Telecom ad

एक शिक्षकको बहादुरीले विद्यार्थीको स्वस्थ्य कानको जाली निकम्मा हुने गरी गयो । कोठाभित्र भएको उनको यो विद्वताले बाहिर पनि ठाउँ पायो । यस समाचारबाट एक जना वरिष्ठ बालअधिकारकर्मी अत्यन्त मर्माहत हुन पुगे, उनको मुटु छियाछिया पर्यो, हृदय चर्कियो । पाकेको खाना पनि माया मारेर उनी सरासर विद्यालय हाताभित्र छिरे । ठूलासाना (प्रधानाध्यापक, शिक्षक, शिक्षिका) सबैलाई भेला पारेर शारीरिक सजायको विरुद्धमा चोटिलो प्रवचन दन्काए ।

सबै जना मन्त्रमुग्ध भए । यो उनीहरूको लागि जीवनको पहिलो गहकिलो, मुटु छुने र मर्माहत प्रकृतिको प्रवचन बन्न पुग्यो । प्रधानाध्यापक सहित सबै उनीप्रति अनुगृहीत भए, पश्चाताप गर्दै माफी पनि मागे । आगामी दिनमा यस्ता प्रवृत्ति छिर्न नदिन ढाट नै लगाइदिने कसम पनि खाए । बालकको बिग्रिएको कान सहित पढाइको सम्पूूर्ण खर्चभार विद्यालयले जिम्मा लियो । बिदाइ हुनुपूूर्व प्रधानाध्यापक र विद्यार्थी मुक्याउने शिक्षकले वरिष्ठ कर्मीसँग १० औँला जोडी बिन्ती चढाए–

“हामी बालअधिकारको विषयमा पूरै भोका छौँ । हजुरको ज्ञानको भण्डारको अलिअलि रस लिन पाए हाम्रो पनि मति थप सुध्रन्थ्यो कि !” यी प्रंशसनीय वचनबाट सम्बोधित हुन पाउँदा उनी पनि गमक्क फुले । परिचयपत्र भिडाए र घरमा आउन निम्ता पनि दिए ।

समयको चाँजोपाँजो मिलाएर प्रधानाध्यापक शिक्षकसहित ज्ञान थप्न हिँडे । बालविज्ञले दुवैलाई विलासी महलमा स्वागत गरे । ढोकादेखि नै भित्री कोठा सबै बालबालिकासम्बन्धी गतिला महावाणीले भरिएका थिए–
“बालबालिका मुलुकका कर्णधार हुन् । उनीहरूप्रति बालमैत्री व्यवहार गरौँ !”
आदिआदि ।

“अथिति देवो भव !” पाहुनालाई सत्कार गर्न झुत्रोमैलो पहिरनमा सानी बालिका चारओटा कपमा कफी लिएर बैठक कक्षमा प्रस्थान गरिन् । वरिष्ठकर्मी धाराप्रवाह दिइरहेका थिए– बाल अधिकारको पक्षमा ! अरू आज्ञाकारी स्रोताको भूमिकामा थिए । कफी बोकेर छिरेकी बालिका अकस्मात अल्झिएर लडिन् । चारओटा कप धेरै भए । गुजुल्टिएको कफी निस्फिक्री पौडँदै निमेषभरमै त्यहीँ बिलायो । वरिष्ठकर्मीकी धर्मपत्नीलाई बालिकाको त्यो अशोभनीय व्यवहार सहय भएन । तीनलोक चौध भुवन देख्ने गरी गाला चड्काइन् र मधुर वाणी ओकलिन्–
“तेरा टोड्का छैनन्, कहाँ हेरेर हिँड्याथिस् ?”
त्यसपछि वरिष्ठकर्मी पनि के कम, आफ्नो अपार योग्यता र औकात पस्किहाले । छुटेका बाँकी लोक र भुवन देख्ने गरी अर्को गालामा थपे–
“यसको चारानाको सोमत छैन ।”
त्यसपछि बालिकालाई ती फुटेका कप जस्ताको तस्तै बनाउँने आदेश दिँदै टुटेको धाराप्रवाह जोडे ।

–विस्थापित शुक्रराज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x