सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मोदी बन्न भारतबाट दाह्रीजुँगा : मनोज गजुरेल

Nepal Telecom ad

२१ मंसिर, काठमाडौं । नेपाल टेलिभिजनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनय गर्न नदिएर के भो ? चर्चित हास्य कलाकार मनोज गजुरेलले यसअघि नै मोदीको ‘क्यारिकेचर’ गरिसकेका छन् ।
नेपालका प्रायः सबै नेताहरुको ‘क्यारिकेचर’ गरिसकेका गजुरेलले भारतीय योगगुरु रामदेव र कतारका सेखको समेत अभिनय गरेका छन् ।
गजुरेलले सुरुमा उपराष्ट्रपति परमानन्द झा बन्न प्रयोग गरेकै ड्रेस लगाएर मोदी बन्ने जमर्को गरेका थिए । तर, ऐनामा हेर्दा आफैंलाई हाँसो लागेपछि उनले मोदी बन्नका लागि बागबजारमा गएर नयाँ लुगा सिलाए ।
मोदी बन्न प्रयोग गरिएको दाह्री, जुँगा र कपाल भने भारतबाटै आयात गरिएको गजुरेलले अनलाइनखबरलाई बताए । सरकारी टेलिभिजनले दीपकराज गिरीको तीतोसत्यलाई रोक लगाए पनि युट्युवमा मनोज गजुरेललाई नक्कली मोदीका रुपमा हेर्न कसैले रोक लगाउन सकेन ।
तपाईमा नक्कली नरेन्द्र मोदी बन्ने सोच कसरी आयो ?
– जतिबेला भारतीय राजनीतिमा मोदीको उदय हुँदै थियो, प्रधानमन्त्री नियुक्त भएलगत्तै उनको प्रभाव क्रमसः बढ्दै गएको मैले बुझेको थिएँ ।
पहिला पनि बाबा रामदेव र कतारका सेखलगायत थुप्रै प्रतिष्ठित विदेशीहरुको नक्कल गरिसकेकाले विदेशका चर्चित व्यक्तित्वका विषयमा व्यंग्य गर्दा राम्रै हुन्छ भन्ने लाग्यो । त्यस्ता व्यंग्यहरु दर्शकले रुचाएको अनुभव गरेको थिएँ । मैले सोचें, मोदी पनि त्यस्तै लोकपि्रय पात्र हुन सक्छन् ।
मोदी बन्नु अगाडि के-के गर्नुभयो ?
-अहिले हामीजस्ता कलाकारलाई इन्टरनेटले निकै सजिलो बनाइदिएको छ । मैले पनि मोदीका बारेमा जान्न र बुझ्नका लागि यही प्रविधिको भरपुर उपयोग गरें । मैलेभन्दा अगाडि नै अरु कसैले नक्कल गरेको छ कि भनेर युट्युबमा सर्च गरेर भिडियो पनि खोजें । तर, कसैले गरेको रहेनछ । केही भेटिँन । अनि आफ्नै स्टाइलले मोदी बनें ।
पहिलोपटक मोदीको गेटअपमा उभिँदा कस्तो लाग्यो ?
– जब मोदी बनेर ऐना अगाडि उभिएँ, निकै झुर लाग्यो आफैंलाई । किनकि मैले उपराष्ट्रपति परमानन्द झा बन्दा लगाएको ड्रेसअप र दार्‍ही प्रयोग गरेर मोदी बन्न खोजेको थिएँ । तर, हुँदो रहेनछ ।
पछि ऐना हेरेपछि पो थाहा भयो, परमानन्द झा बन्दा लगाएकै ड्रेस लगाएर मोदी बन्न खोज्दा त म मुस्लिम धर्मगुरु जस्तो पो देखिएँ । पछि एकजना मेकअप म्यान भाइले दार्‍ही मिलाइदिएपछि भने निकै सजिलो भयो ।
पछिपछि पर्फेक्ट मोदी बनिहालें नि । कतिपय स्टेजमा उभिँदा लाग्थ्यो, मनोज गजुरेल नभएर साँच्चै मोदी नै बोलिरहेको त छैन ?
अहिले पनि त्यही परमानन्द झाकै पालाको ड्रेसले काम चलाउनु भा छ कि ?
– कहाँ हुनु नि । बागबजारमा रहेको एउटा बुटिकमा गएर अर्डर गरेर ड्रेस बनाएको छु । मेरी श्रीमतीले पनि ड्रेस बनाउन निकै सघाएकी छिन् । दार्‍ही जुँगा, कपालका बारेमा त चिन्तै छैन । सबै भारतबाटै आयातीत ।
खासमा मोदी कस्ता मान्छे हुन् तपाईको बुझाइमा ?
– मान्छेलाई कन्भिन्स गराउने अद्भुत क्षमता छ उनमा । हरेकपटक बोल्दाखेरि उनको शब्द चयन र सम्पेषण एकदमै चुस्त हुन्छ । म कहिलेकाँही कल्पना गर्छु, मोदी राजनीतिज्ञ नभएर बैज्ञानिक भएको भए कस्तो हुन्थ्यो होला ?
उनी सबै हिसाबमा सिपालु छन् । हामी मख्ख पर्ने गरी हाम्रा बारेमा राम्रा कुरा गरिदिन्छन् । उनले त्यसो भने भन्दैमा मख्ख परेर मात्रै चाहिँ हुन्न है । एउटा भनाइ नै छ नि कुटनीतिज्ञहरु जे बोल्छन्, त्यो गर्दैनन् ।
तपाईले अहिलेसम्म को कोमाथि व्यंग्य गर्नुभयो ?
– मैले माधवकुमार नेपाल, शेरबहादुर देउवा, लोकमानसिंह कार्की लगायतको व्यंग्य उहाँहरुकै अगाडि गरेको छु । उहाँहरुले आफैंलाई व्यंग्य गरेको हेरेर मरीमरी हास्ँनुभएको छ । रमाइलो मान्नु पनि भएको छ । तर, त्यही कुरा कर्मचारीले बुझ्दैनन् ।
नेपाल टेलिभिजनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यंग्य गरिएकै कारण तीतोसत्य सिरियलको प्रसारण रोकिनुलाई तपाई के भन्नु हुन्छ ?
– यो एकदमै अप्रजातान्त्रिक कदम हो । नेपाल टेलिभिजनको पछिल्लो कदमले कलाको मर्ममाथि प्रहार गरेको छ । मोदी हुन् या अरु कोही । संसारका जतिसुकै प्रभावशाली व्यक्तिमाथि पनि कलाकारले व्यंग्य गर्छन् । व्यंग्य गर्नु, उनीहरुका विषयमा कार्टुन बनाउनु कलाकारको हक पनि हो ।
बेला-बेलामा नेपाली नेतामाथि व्यंग्य गर्ने कलाकारलाई प्रशासनले हस्तक्षेप गर्छ किन होला ?
– हाम्रा कर्मचारीको मानसिकताको कारण यस्तो भएको हो । लौ यसले व्यंग्य गरेछ । अब मसँग यो मान्छे रिसाउने पो हो कि भनेर सोच्ने कर्मचारी धेरै छन् । उनीहरुसँग कुन हदसम्म व्यंग्य गर्न पाइन्छ भन्ने ज्ञान हुँदैन । तर, देशको कुनै ठूलो मान्छेका बारेमा व्यंग्य गरेपछि मेरो जागिर जाने पो हो कि भन्ने चिन्तामा हुन्छन् ।

अनलाइन खबर डटकम २०७१ मंसिर २१

Fitkauli Publication Books comming soon
Nepal Telecom ad