सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आँखा नदेख्नेहरू

Nepal Telecom ad

एक दिन अकबरले बिरबलसँग सोधे– बिरबल यो दुनियामा आँखा देख्नेको सङ्ख्या ज्यादा छ,कि अन्धाको ?
बिरबलले भने– आँखा देख्नेहरूको भन्दा अन्धाहरूको सङ्ख्या ज्यादा छ ।
अकबरले सोधे–कसरी ? के तिमी यो कुरा साबित गर्न सक्छौ ?
बिरबलले भने– तुरन्त त म यो कुरा साबित गर्न सक्तिनँ । यदि तपार्इंले मलाई भोलिसम्मको समय दिनुभयो भने सक्छु ।
भोलिपल्ट बिरबल बीच बजारमा बसेर जुत्ता सिलाउन थाले । उनले आफ्नो छेउमा दुईजना व्यक्तिलाई कागज र कलम लिएर बसाए । बिरबललाई अचानक त्यो अवस्थामा देखेर त्यस बजारका मान्छे एक ठाउँमा भेला भए । र बिरबलसँग बारम्बार एउटै प्रश्न गर्न थाले– हन बिरबल मन्त्रीजी यो तपाईंले के गर्नु भएको ?
कागज र कलम लिएर बिरबलको छेउमा बस्ने दुई व्यक्तिहरू प्रश्नकर्ताको धमाधम नाम टिप्न थाले ।
जब अकबरको कानमा बिरबल बीच बजारमा बसेर जुत्ता सिलाइरहेको खबर पुग्यो, अकबर पनि त्यो ठाउँमा पुगे । र उनले बिरबलसँग सोधे– हन यो तिमीले के गरेको बिरबल ?
बिरबलले अकबरको सवालको जवाफ दिन उचित सम्झेनन् । तर उनले आफ्नो छेउमा कागज र कलम लिएर बसेका व्यक्तिलाई अकबरको नाम लेख्न लगाए । यो कुरा सुनेर अकबरले ती व्यक्तिको हातबाट कागज र कलम खोसे र हेर्न थाले । त्यसमा लेखेको थियो– अन्धाहरूको सूची ।
अकबरले बिरबलसँग सोधे– यो के हो बिरबल, यसमा मेरो नाम किन लेखेको ?
महाराज तपाईले देख्नु भएको थियो, म बीच बजारमा बसेर जुत्ता सिलाउँदै थिएँ । फेरि पनि तपाईले अञ्जान बन्दै मसँग सवाल गर्नु भो– तिमीले यो के गरेको बिरबल ? तपाईं देख्न सक्नुहुन्थ्यो, किनकि तपाईका दुबै आँखा सद्धे थिए । तर पनि तपाईले दृष्टिविहीनझैं सवाल गर्नु भो । महाराज अब त तपाईंलाई मेरा कुरामाथि विश्वास भयो होला । संसारमा आँखा हुनेको भन्दा अन्धाको सङ्ख्या ज्यादा छ भनेर ।
बिरबलको कुरामा अकबर मौन सहमतिका साथ मन्द–मन्द मुस्कुराई दिए ।
सङ्कलन : गीता थापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad