साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुँङे लडाईं

Nepal Telecom ad

जुङा, जुँगा, जुँघे, जुँगे, जुँङे भन्नाले लामा र धेरै जुँगा भएको पुरुष जुँगादार हुन्छन् । त्यस्तै एक प्रकारको हाम्रो खेतको मार्सी, बुढीमार्सी भन्ने धान पनि जुँगेधान हुन्छ । लोग्नेमान्छे उमेरदार भएपछि माथिल्लो ओठ र नाकका बीचको भागमा उम्रने रौंको गुजुल्ने लहरलाई जुँगा भनिन्छ । धान, मकै, गहुँ, जौं आदिमा हुने रौँ जस्तो लामो बस्तुलाई पनि त्यसको नामको पछाडि धानको जुँगा, मकैको जुँगा आदि भनिन्छ । ती पनि रौँंजस्तै लामालामा जुङेदार नै हुन्छन् । तर केही भाले तथा पोथी पशुहरू जस्तै कुकुर, बिराला, बाघ, चितुवा आदिका पनि ओठमा ठाडाठाडा लामालामा रौँ हुन्छन् र त्यसैलाई पनि जुँगा भनिन्छ । तर पशुको थुतुनामाथि उम्रने तीखातीखा काँडे रौँले उनीहरूको हुँकारसँगै गजक्क फुलेर आफैँ अस्तित्व देखाउने गरेका छन् । मुठेजुँगे भनेर राम्रैसित जुँगा उम्रिसकेको वयस्क भैसकेको, उमेरदार र आफ्नो लोकभलो साट्नसक्ने समर्थ जमामर्द भनिन्छ ।

त्यस्तै–त्यसै जुँगाको अस्तित्वले मान्छेको आफ्नै अस्तित्वलाई मेट्न खोजेको छ । विनलादेनको जुँगाले अमेरिकाको पेन्टागन भत्कायो । अमेरिकाको जुँगाको अस्तित्वले विश्वको जुँगा हल्लाएको छ । मुसरफको जुँगाले पाकिस्तान हल्लायो भने अहिले वकिल र न्यायाधीशको अस्तित्वले वा जुँगाले मुसरफको जुँगा हल्लाउँदै यसरी प्रथम र द्वितीय विश्वयुद्ध पनि जुँगाउने अस्तित्वले जन्माएको हो । तर हिरोसिमा र नागासाकीमा बम पट्केर जापानको जुँगामा द्वितीय विश्वयुद्धले मरुभूमि बनाएपछि भने आफ्नो जुँगेमुठे बनाउन लागेको जापानले अहिले विश्व जुँगाको होडमा आफूलाई उभ्याएको छ । चीनले पनि त्यसरी नै आफ्नो जुँगाको ताउ लगाउँदै विश्वको बजारमा बाउ बन्ने जमर्को जुँगामै राखेको छ । यसरी जुँग्गाले प्रगति पनि गरेको छ भने अवन्नति पनि भएकै छ । कतै जुँगा धेरै मोलेर बिग्रिएको छ भने कतै आफ्नो जुँगा भन्दा अर्काको जुँगा ठूलो भयो भनेर इस्र्याले अर्काको जुँगा पोलेर बित्तिएको छ । यो जुँगाको लडाँइले धेरैको जुँगा पोलिएको छ । साना साना बच्चाको, महिलाको र निर्धाको त कहिल्यै नआउने गरी घरानियको जुँगाले खरानिया बनाइदिएको छ ।

नेपालको राजनीति पनि त त्यही हो नि ! एमाले र मालेको फूर्तिमा जुँगाको लडाइँ थियो । ओहो ! त्यसले यति सुन चो¥यो उसले यति चिनी चो¥यो, देश फो¥यो पार्टी तोड्यो भन्दै खेलमा पनि जुँगाको ठूलो ठूलो गर्जन यो हुन्थ्यो बा ! पछि आफ्नै जुँगा उखेलेर एमालेले मालेको जुँगा त नाङ्गै बनाएपछि ओहो तपाइँकै जुँगा ठूला–तपाइँकै जुँगा रङ्गीन, तपाइँकै जुँगामुठे, हामी त जुठेल्नाकै जुठे भनेर बम्बै गएकी चेली फर्केझैँ पोइल गएकी जोइ फर्केझैँं नाङ्गै ओठ कोइ फर्के भने अझैं कसैकसैले त दशैँमा जमरा उमारेझैँ आफ्नो जुँगा उमार्छु भनेर जुँगा उतार्ने होडमा, एक ठाउँमा जान यो अप्ठेरो दुईचार ठाउँमा गएपछि केको लाज भनेर जुँगा उमार्ने धुनमा छुनमुन गरेर आफ्नै अस्तित्व कायमको दौडमा आफ्नै बित्ताका दुरीमा कुदाइदिए । अहिले काङ्ग्रेसको पनि त्यही हो । आफ्नो जुँगा बनाउने दाउमा बाउको सरेमोनियल छोरीले भिरिन् ! बाउको जुँगा उखेलिएको के थाहा ! शेरको चाल बिल्लीको भैसक्यो । अरुको जुँगाको उखेलाइमा मुडुलै भएर जुठेल्नो समेत फोहर हुँदैछ, कठैवरा, बिरामी चरा ! अब रुखबाट लडेर जुठेल्नो, जुठेल्नोबाट फेरि रुख ! चराको पनि थुतुनामा जुँगा हुँदोरहेछ ।

त्यसैले जुँगा उमार्ने सोखले हुँकार दिँदा बन्दुक, भाला खुकुरी, जङ्गल, विदेश आदिलाई साथी बनाए पनि बाह्रतेह्र वर्षमा फेरि दाजुभाइ नै चाहिने ! हुन त दाजुभाइकै लागि त हो नि यो जुँगा ! यो कान्ति !! यो सिंंहासन !!! थोडी आफ्नै लागि हो र ? त्यसैले त गद्दीको जुँगा उखेलेको र गद्दीमा मन्दी र मन्दीमा जुँगाको ठण्डी देख्नु भएन ! पहिला पहिला त्यहाँबाट यहाँका जुँगानै देखिन्थेनन् । आजकल बल्लतल्ल यहाँका जुँगामात्रै देखिन थालेका छन् । थालेका मात्रै हुन् र ? कुन जुँगाले हाम्रो जुँगा उमार्छन् भनेर दशैँका जमरा उम्रेझैँ उम्रेलान् भनेर निरिह हेराई हेर्न थालेका छन् । भीमसेन माइलाले दुर्योधनको जाङ ताकेर टाङ तोडेझैँ नेपाली जनताले पनि सिंंहासनको आङ ताकेका छन् ! त्यसैले त विश्वको ध्यान यहाँ र यहाँको ध्यान विकाशमा भएको गर्वमा सर्व भएको छ । यो पनि त जुँगे खेल नै हैन र ? यहाँको जुँगाको चिन्ता अरुले गरेझैँ अरुको पनि जुँगामा यहाँका नेताले तेल पनि तोरीको शुद्ध तोरीको तेल लगाएर चिल्ला पार्नु कम कुरा हो र ?

एक पटक हाम्रा एउटा प्र.म ले जुँगा मुसार्दै यी हेर्नोस् त ! पहिला मोटा–मोटा जुँगा भएका देख्दै डरलाग्दा टेरेरिष्टलाई देखेर हामी डराउँथ्यौं तर आज तपाइँ हाम्रो समु हामीले ल्याएका तीनै मोटा–मोटा जुँगे कस्ता सरल छन् । तिनका विचार कस्ता तरल छन् । भन्दा देशले नै आफ्नो जुँगा चलाएर शान्तिको सास फेरेको थियो ।

यो जुँगाले पनि उसैलाई सत्तामा पु¥याएको छ भने कसैलाई भत्ता दिलाएको छ । एक पटक हाम्रा एउटा जुँगे हल्दारको कानसम्म पुगेको जुँगाको ठडाइले राजा वीरेन्द्रको मनसम्म पग्लेछ र उनले यो जुँगालाई भत्ता दिनु भनेर बत्तिस सालतिरै पचास रुपैयाँको भत्ता बढेर पछि पाँचशयसम्म पुगेछ ! त्यो राजाको पाउ छोएको जुँगा हो ! विष्णुको अवतारको पाउ छुने जुँगा भनेर हल्दारले त्यो जुँगाले सत्ता पाएभन्दा बढी भएछ र खुसीले गद्गद् ! तर मोफसलका र मुफ्तका चप्पल लगाएर सत्तामा पुगेका र भत्तामा डुबेर पजेरो र प्राडो चढेका नेता भने कहिल्यै न खुसी छन न त सन्तोष नै । सम्पत्तिको होडमा जोड चलाएर जुँगाको ताउ लाउने नेताले बाउको सम्पत्तिमा ढिँडो पेटभरी खान नपाएको झोँकमा जुँगे भोकले कहिले पार पाउला ? जे होस् अब सत्ता र भत्ताको खुसीमा ढुसी नलाग्ने गरी संविधानसभाले जुँगे लडाइँ, लडाएर कुन जुँगालाई फुटपाथमा रहेका जुँगालाई दरवारमै राख्ने हो हेर्न बाँकी छ ! राम्रो काम गर्नेलाई मर्द भनिन्छ भने उसका जुँगा हेर्न लायक हुन्छ भनिन्छ तर जुँगेमुठेले उल्टा काम ग¥यो, काम बिगा¥यो र गफ मात्रै छाँट्यो । अथवा बेकामी भयो भने तीन तिघ्रो स्वादे जिब्रो भनिन्छ ! तर हाम्रा नेता के हुन् भनेर हेर्न भने संविधानसभाको जुँगे लडाइँले नै निर्णय गर्ला !
नैकाप, काठमाडौँ– हाल अमेरिका
फित्कौली अङ्क १७ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दमदार दमडी

दमदार दमडी

सर्वज्ञ वाग्ले
साँढे

साँढे

सर्वज्ञ वाग्ले
नेता बन छोरा

नेता बन छोरा

सर्वज्ञ वाग्ले
मुर्ख समाज !

मुर्ख समाज !

सर्वज्ञ वाग्ले
जस्तो आफू उस्तै च्यापु

जस्तो आफू उस्तै च्यापु

सर्वज्ञ वाग्ले
0
Would love your thoughts, please comment.x
()
x