साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सगरमाथाको गहिराइ

Nepal Telecom ad

यो संसारको
कुनै महान् चित्रकारलाई
यो विश्व नै पोत्न पुग्ने रङ चाहिए
मेरो देशका गुराँससँग सापटी माग्नु
म त गुराँसको देशको मान्छे
तर
यो कुरा पछि गरौंला कि
मैले खाने चामलको रङ किन्न
म आफूचाहिँ अरब आएको छु ।

यो संसारको
कुनै महान् परोपकारीलाई
यो विश्वकै फोहोर पखाल्न पुग्ने पानी चाहिए
मेरो देशको नदीसँग सापटी माग्नु
तर
यो कुरा पछि गरौंला कि
मेरो घिटघिट गर्दै गरेको छोरोको घाँटीलाई चाहिने
दुई थोपा औषधि किन्न
म आफूचाहिं अरब आएको छु ।

विद्युत् उत्पादनमा
संसारको सबैभन्दा बढी क्षमता राख्ने मेरो देशले
मेरो बिदाइमा आएकी
मेरी श्रीमतीको आाखाबाट खसेको आँसु
भेला गरेर एकैचोटि टर्वाइनमा खसायो रे

एक मेगावाट बिजुली निकाल्यो रे
तर
मेरो देशको आकाशमा
अझै पनि काला ताराहरू चम्किरहन्छन् ।

मलाई थाहा थियो
खाडीमा पैसाको बाढी आउँदैन भनेर
तर
भन्दिनेले
मेरो प्वाल परेको छानोबाट
राति तारा र्झछन् भन्दिए

भन्दिए
ताराका टुक्राले मेरो परिवारलाई
टुक्राटुक्रामा फुटाउनेछन्
मेरो मनमा गाँठो पर्यो
त्यो पनि सुर्क्याउनेबिनाको
भन्दिनेले पैसामा बाआमाले पनि
छहारी फेर्छन् भन्दिए ।

सोचें
तातेताते गराउने बुबाको हात किन्नुपर्यो भने ?
हाऽहाऽहाऽ लोइलोइलोइ गराउने
आमाको काख किन्नुपर्यो भने ?
बहिनीले निःशुल्क टाउकोमा ठुङ हान्दिन भनी भने ?
दिदीले सुनाउने सुनकेशरी रानीको
कथाको पैसा तिर्नुपर्यो भने ?
मैले त मेरो ईश्वर पनि पर देख्न थाले
यस्तो लाग्यो ऊ ईश……वर होइन ईश…..पर थियो
तर
म त बुद्धको देशको मान्छे
त्यसैले शान्त भएर अरब आएको छु ।
मैले मलाई जन्माउने देवता छोडेर
म आएको यो अरबमा रबचाहिं कहाँ छ ?
यो मरूभूमिमा मरुँ भन्ने मान्छे मात्र भेट्छु
जब घडीमा बाह्र बजेको देख्छु
यस्तो लाग्छ
यो घडीका तीनैवटा काँटाहरू
सामूहिक आत्महत्या गर्दै छन् ।

यो रूवाजस्तो मन बालुवासँग लड्दालड्दा
यहाँ मेरो जवानी पग्लिन्छ
घरमा रूँदारूँदा
श्रीमतीको सिरानी पग्लिन्छ ।
ए देश !
सगरमाथाको शिखरमा उभिएको
संसारको सबैभन्दा अग्लो मान्छे म
आज खाडीमा गाडिएको छु
कसैले बाहिर निकाल मलाई !
म मर्नुअघि
मेरा बूढा भएका बुबाका
नङ नदुखाईकन काट्न चाहन्छु
म मर्नुअघि
मेरी आमाले पकाएको माली गाईको
बिगौती चाख्न चाहन्छु
म मर्नुअघि
मेरी श्रीमतीको ओठमा मेरै लागि मात्र
फक्रिएको गुरास हेर्न चाहन्छु
म मर्नुअघि
मेरी छोरीले
उसकी आमाले तिखारी दिएको पेन्सिलले
पहिलोपल्ट लेखेको “क“ हेर्न चाहन्छु ।

ए देश !
मेरी आमाले बनाएको
सानो काठको बाकस भर्ने पैसा बोकेर
म अरबबाट घर फर्के भने त ठीकै हो
तर
त्योभन्दा ठूलो रातो काठको बाकसमा
म आफैं भरिएर फर्के भने…..!!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सगरमाथाको गहिराइ

सगरमाथाको गहिराइ

नवराज पराजुली
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x