भूपी शेरचनघुम्ने मेचमाथि अन्धो मान्छे
(भूपी जयन्तिका अवसरमा सादर शब्दश्रद्धा सहित)
दिनभरि
सुकेको बाँसझैँ
आफ्नो खोक्रोपनमाथि
उँघेर,
पछुताएर,
दिनभरि
रोगी मलेवाझैँ
आफ्नो छाती आफ्नै चुच्चोले ठुँगेर,
घाउहरु कोट्ट्याएर,
दिनभरि
सल्लाघारीझैँ एकलासमा
अव्यक्त वेदनाले सुँक्क सुँक्क रोएर,
दिनभरि
पाते च्याउझैँ
धरती र आकाशको विशालतादेखि टाढा
एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर,
एउटा सानो छाताले आफूलाइ ढाकेर,
साँझमा जब नेपाल खुम्चिएर काठमान्डौ
काठमान्डौ डल्लिएर नया सडक
र
नयाँ सडक असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर, टुक्रिएर,
अखबार चिया र पान को पसल बन्छ,
किसिम किसिमका पोशाकमा
ओहोर दोहोर गर्छन् ! थरिथरिका हल्लाहरू,
फुल पारेको कुखुराझैँ कराउँदै
हिँड्छन अखबारहरू
र
ठाउँ ठाउँमा अन्धकार पेटिमा उक्लिन्छ
मोटरहरूको प्रकाशदेखि तर्सेर,
अनि असङ्ख्य मौरीको भुनभुन र डसाइदेखि आत्तिएर
म उठ्छु
न्यायको दिनमा प्रेतात्माहरू उठेझैँ
र
नपाएर बिस्मृतिको लेथे नदी,
रक्सीको गिलासमा हामफाल्छु
र
बिर्सन्छु आफ्नो पूर्वकथालाई
पूर्वजुनी र मृत्युलाई
यसरी नै सधैँ
चियाको किटलीबाट एउटा सूर्य उदाउँछ
सधै रक्सीको रित्तो गिलासमा एउटा सूर्य अस्ताउँछ
घुमिरहेकै छ म बसेको पृथ्वी —पूर्ववत्
फगत म अपरिचित छु
वरिपरिका परिवर्तनहरूदेखि,
दृश्यहरूदेखि,
रमाइलोदेखि,
प्रदर्शनीको घुम्ने मेचमाथि
करले बसेको अन्धो जस्तै ।
Subscribe
Login
0 Comments
Oldest









































