साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्थ न मन्त्री पदमा गई….

Nepal Telecom ad

नेता रामशरण महत उत्कृष्ट अर्थमन्त्री घोषित भएका छन्, त्यो पनि विश्वभरका अर्थमन्त्रीहरूमध्ये । घोषणा कुनै ऐरेगैरे अनलाइनले होइन, दि बैंकर म्यागजिनले गरेको हो । त्यो पनि नेपालको होइन, बेलायतको । आउनुहोस्, नेपाल र नेपालीले गर्व गर्न लायक यो सु–समाचारको गजुरियल विश्लेषण गरौं ।

कुन महान् कार्यका लागि उनी सम्मानित भए त ? दि बैंकर भन्छ, नेपालमा आएको भूकम्पको सही व्यवस्थापन गरेकाले, अन्तर्राष्ट्रिय समुदायको ध्यान खिच्ने गरी भाषण गरेकाले, भूकम्पपीडितलाई सजिलै राहत पुर्याएकाले, युवाहरूलाई सजिलै ऋण उपलब्ध गराएकाले, चुनौतीको पहिचान गरेकाले, स्रोतको परिचालन चुस्त ढंगले गरेकाले, चुनौतीको पहिचान दुरुस्त बनाएकाले, अर्थतन्त्रको प्रभावकारी बचाउ गरेकाले उनी विश्वकै उत्कृष्ट अर्थमन्त्री भएको जानकारी दि बैंकरले गराएको छ ।

सिन्धुपाल्चोकका भूकम्पपीडितको अवस्था हेर्छु, दि बैंकरको तर्क कतै पुष्टि हुँदैन । बारपाकको स्थिति देख्छु, पटक्कै मेल खाँदैन । अर्थतन्त्रका चुनौती कसैले भन्न सकेको छैन । चिसोले कठ्यांग्रिएका बालबालिकाको अनुहार सम्झन्छु, कुनै कोणबाट विश्वास लाग्दैन । सिंगो देशको अर्थतन्त्र नियाल्छु, बारम्बार अर्थमन्त्री भएका माननीय महतको उत्कृष्टता पत्ता लगाउन सक्दिनँ ।

नेपाली युवाले खाडीमा बगाएको पसिनालाई देखाएर अर्थमन्त्रीले देशको आयस्रोत बढ्यो भन्न मिल्दैन । दाताहरूले अनुदान ओइर्याए भनौं भने भूकम्पमा भत्किएका छानो टाल्न सकिएको छैन । स्रोतको सही व्यवस्थापन भयो भनौं उनकै पीएको जस्तापाता काण्ड बिर्सन सकिँदैन । अर्थतन्त्र प्रभावकारी बनाए भनौं भने वर्षौंदेखि जस्ताको तस्तै छ । मौका पाएनन् भनौं सबैभन्दा धेरै पटक अर्थमन्त्री बन्ने उनै हुन् ।

गजुरियल विश्लेषक बडो अन्योलमा छ । नखाऊँ भने दि बैंकरको सिकार, खाऊँ भने अर्थमन्त्रीको अनुहार, को हो ? तिम्रा सबै कुरा झूट हुन् भनौं बेलायतको पत्रिकाको रिपोर्ट पर्यो, सत्य मानौं नेपाली नेताको कुरो पर्यो । विदेशीलाई सुनाऔं आफ्नो नेता र आफ्नै देशको इज्जत जाने, चुप लागेर बसौं भूकम्पपछिको नेपाल र नेपालीमाथि अन्याय हुने । कस्तो आपत् ।

दि बैंकरको रिपोर्ट खण्डन नहुने गरी नेपालको वास्तविक अवस्था पनि प्रस्ट पार्ने गरी यो समाचारलाई व्याख्या गर्नुपर्ने दायित्व गजुरियलमाथि आएको छ ।

सम्भवत दि बैंकरको रामशरणीय विश्लेषणको अर्थ यस्तो होला । भूकम्पको सही व्यवस्थापन गरे भन्नुको अर्थ निजी सचिव र आफन्तले राम्रैसँग कमाए भन्न खोजेको हुनुपर्छ । अन्तर्राष्ट्रिय समयुदायको ध्यान खिच्ने गरी भाषण गरे भन्नुको मतलब माइकबिनै चर्को आवाजमा बोल्न सक्ने अर्थमन्त्री भन्न खोजेको हुनुपर्छ भन्ने गजुरीयल अनुमान छ ।

त्यसैगरी समस्याको सही पहिचान गर्न सक्ने अर्थमन्त्री पनि भनिएको रहेछ । यसको अर्थ, भुइँचालोलाई कसैले भूकम्प भने, कसैले धर्ती कम्पनका रूपमा चित्रित गरे । रामशरण मात्र यस्ता अर्थमन्त्री हुन् जसले भुइँचालोलाई अर्थक्वेक भनेर अन्तर्राष्ट्रलाई सही पहिचान गरेकाले उत्कृष्ट अर्थमन्त्रीमा छनोट गरिएको हुनुपर्छ ।

त्यसैगरी दि बैंकर भन्छ, चुनौतीको सही पहिचान गर्न सक्ने विश्वकै एकमात्र अर्थमन्त्री हुन्— रामशरण महत । पक्कै पनि मन्त्रीपद भनेको चुनौतीपूर्ण पेसा हो । जुनसुकै बेला यो खुस्किन सक्छ । मौका हुँदै दृश्य–अदृश्य तरिकाले व्यक्तिगत तथा पारिवारिक भविष्यको व्यवस्थापन गर्नुपर्छ भन्ने उहाँले दुनियाँभरिका अर्थमन्त्रीहरूलाई सन्देश दिनुभएकाले उहाँ वर्षकै उत्कृष्ट अर्थमन्त्री घोषित हुनुभएको गजुरियल विश्लेषण छ ।

अन्त्यमा, रामशरण महतज्यू सम्मानित हुनुभएकोमा रिस, लाज, क्षोभ व्यक्त गर्नुहुने हे नेपाली दाजुभाइहरू, व्यर्थै किन गाली गर्नुहुन्छ ? यो त सारा नेपालीका लागी खुसीको कुरा हो । मिलेर, मिलाएर, पिएर, पिलाएर, चन्दाको लोभमा, धन्दाको लोभमा, शिष्टाचार गरेर, भ्रष्टाचार गरेर, ख्याल गरेर, झेल गरेर, अगाडिको द्वारबाट, पछाडिको द्वारबाट जहाँबाट जसरी भए पनि उत्कृष्ट हुने त हाम्रै नेपाली रामशरण दाइ त हुन् नि । भूकम्पपीडितको गाउँ खाने कथा बिर्सनुहोस्, अर्थमन्त्रीको देश खाने कथा सम्झनुहोस् र पेट मिचिमिची हाँस्नुहोस्, अर्थ न बर्थ मन्त्री पद खाई, भूकम्पपीडितको भुँडीमा मुसा, अर्थमन्त्रीको घाँटीमा सम्मानको टाई ।

साप्ताहिक, पुस २३, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x