लक्ष्मण गाम्नागेबाबुरामको नयाँ भेष
आधुनिक कृष्णजीको भेषमा पूर्वकमरेड बाबुरामजी मधेसवादी नेताहरूको बैठकमा प्रकट भएर भन्न लागेछन्, ‘हे ! मधेसवादी दलका नेतागण हो, यता सुन । तिमीहरू थाकेको, गलेको, निरास भएको, कार्यकर्ताले पनि साथ छाड्दै गएर आन्दोलन सेलाउँदै गएको ज्ञान मलाई प्राप्त भएकाले तिमीहरूलाई जगाउन म यहाँ प्रकट भएको हुँ । तिमीहरूले बालेको टायर निभ्न लागेको देखेर साथमा अलिकति पेट्रोल बोकेर आएको हुँ । तिमीहरूले सरकारसँग सम्झौता गरेर क्रान्तिलाई विसर्जन पो गरौला कि भनेर सम्झाउन आएको हुँ । आफ्नो नयाँ शक्तिलाई शक्तिशाली बनाउने ध्येयका साथ धमिलो पानीमा माछा मारिहालौँ भनेर आएको हुँ ।
तिमीहरू निरास नहोऊ वत्स ! यत्रा ५० जना वीरहरूले ज्यान गुमाइसके, तिनीहरूको सहादतलाई त्यत्तिकै खेर नफाल । अरू ५०औँ जनाको ज्यान गएर केही फरक पर्दैन तर तिमीहरूले आन्दोलन फिर्ता लियौ भने देशमा तेल आउन थाल्छ, ग्यास आउन थाल्छ, जनताले राहत पाउन थाल्छन्, हाहाकार हराउँछ, सरकारले सास फेर्न थाल्छ । ओली र प्रचण्डहरू हाँस्न थाल्छन् । त्यस्तो अवस्था तिमीहरूले कसरी सहन्छौ ? म पनि त त्यो चाहन्न ।
हामी मिलेर नयाँ शक्तिको निर्माण गर्नुपर्छ । राजेन्द्र महतोजी, ठाकुरजी, उपेन्द्रजी जस्ता नयाँ शक्तिसँग म सहकार्य गर्न चाहन्छु । नयाँ शक्तिहरू मिलेर देशलाई स्वर्ग बनाउनुपर्छ । हामीले बनाएका थियौँ नि, त्यस्तै । चार महिना होइन, चार दशक लड्नुपरे पनि लड । खबरदार, बरू मर तर उधारो सम्झौतामा सही नगर !
भारतले साथ नदिँदैमा नआत्तेऊ, म छु । मेरो शक्तिमाथि विश्वास गर । म जनताका लागि १२ वर्षसम्म हतियार लिएर लडेको मान्छे हँु । तिमीहरू चार महिनामै थला बस्न नखोज । उठ, जाग, यो सरकारलाई सास फेर्न नदेऊ, यो देशलाई हुँडलिराख, जनतालाई चैनले सुत्न नदेऊ । एउटा माग पूरा हुन हुन खोजेजस्तो भयो भने अर्को माग तेस्र्याइहाल । छोड्दै नछोड ।
मेरै नेतृत्वमा बनेको भए पनि यो संविधान शतप्रतिशत मधेसविरोधी छ, यसलाई जलाएको जलाई गर । तिमीहरूको एक नम्बर शत्रु त्यो ओलीका पुत्ला डढाएको डढाई गर । त्यसलाई सिंहदरबारबाट झारेर तिमी–हामीले कब्जा नगरुन्जेल मधेसले अधिकार पाउने छैन । त्यसैले आन्दोलन चर्काऊ । नाका नछोड । राजमार्गमा आगो बालिराख । बजार, कलकारखाना समाप्त पार । स्कुल, कलेज किन खोलेको ? तुरुन्त बन्द गर । ठूला पार्टी र तिनका मतियारहरू मधेसतिर छिरे भने तिनीहरूका खुट्टा भाँचिहाल । थला बसाल । छोड्दै नछोड ।’ यति सुनेपछि मधेसवादी नेताहरू सलाई बोकेर सडकतिर निस्कन्छन् ।
यता काठमाडौँतिर पनि छन् आधुनिक कृष्णहरू, जो पत्रपत्रिका, सामाजिक सञ्जाल र सार्वजनिक समारोहहरूमार्फत युद्धका लागि सरकारलाई उकासिरहन्छन् । उग्र मुद्रामा सरकारलाई अर्ति दिँदै भन्छन्, ‘हे सरकार तँ आफ्नो शक्तिको पहिचान र्ग । तँसँग के छैन, पुलिस छ, सेना छ, हतियार छ । तैँले चाहिस् भने दुई दिनमा ती मधेसी दलका नेताहरूलाई सिध्याएर आन्दोलनलाई ध्वस्त बनाउन सक्छस् । खबरदार, बरू आन्दोलनकारीजति सबैका घुँडा फुकाल् तर तिनीहरूसँग घुँडा नटेक् ! तिनीहरूलाई चाहिनेभन्दा बढी दिइसकिएको छ । बारम्बार तिनीहरूलाई वार्तामा बोलाइराख्ने होइन, डोजर लगाएर पेल् ।’ यति सुनेपछि सरकार डोजरमा इन्धन भर्न थाल्छ ।
अब भन्नूस्, यो देशमा शान्ति कहिले आउँछ ?
नेपाल, पुस २४, २०७२
Subscribe
Login
0 Comments
Oldest







































