अनिल KH पौडेल’खबरदार !
अन्धकार छ मध्याह्नमा
लाट्कोसेराहरू सल्बलाएका छन्
टुकी बालेर नागरिकहरू
राष्ट्रको मानचित्र रूँगिरहेछन्
रोबोटले घुमाइरहेछ उता जिन्दगी
अस्पतालको शय्यामा
अप्रेसनका औजारहरू शिथिल छन्
सिङ्गो देश
नालापानी भाग–दुईको पीडामा छ
मन्दिरमा घण्ट बज्दैनन्
सडकमा सवारी चल्दैनन्
हात–खुट्टा बाँधेर छिमेकीले
मैत्रिपूर्ण भ्रमणको निम्तो पठाएको छ
यतिबेला
बाँदरको पुच्छरलाई
लौरो हो भनेर समाउलास् सरकार !
खबरदार !
खुट्टो कमाउलास् सरकार !
हामी
दाउरा बाल्न तयार छौं
हामी
गुइँठा गाल्न तयार छौं
पानी र जवानीको नाममा
ऋृषिमनको शिशी समाउलास् सरकार !
खबरदार !
खुट्टो कमाउलास् सरकार !
ढुङ्गेयुग आओस् –सही
सत्ययुग आओस् –सही
जङ्गल जाउँला
कन्दमूल खाउँला
तेलसित शकुनीको झेल साट्लास् सरकार !
ग्याससित पहिचानको प्यास साट्लास् सरकार !
रामराज्यको मालिक मांसाहारी भएको बेला
हामीलाई
प्रश्नका जङ्गलमा उभिएर
आगो ओकल्न मन लागेको छ–
हाम्रो भोटो
छोटो भयो भन्ने तिमी को ?
हाम्रो छानु
सानु भयो भन्ने तिमी को ?
अर्काको जङ्गे पिलरमा
आफ्नो लँगौटी हल्लाएर
हाम्रो हत्केलाको रेखा
बाङ्गो भयो भन्ने तिमी को ?
हाम्रो राष्ट्रिय पोशाक
नाङ्गो भयो भन्ने तिमी को ?
बन्धुत्वको गीतमा
कुटुम्बघाती सङ्गीत घोलिएको छ
विषवृक्षमा फलेको फल
उपहारमा आयो भनेर समाउलास् सरकार !
खबरदार !
खुट्टो कमाउलास् सरकार !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































