सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जुहीको जात्रा

Nepal Telecom ad

गाउँखाने कथामा शोध गर्ने धून के जागेथ्यो, सामलतुमल र घरायसी बन्दोबस्तले गर्दा मनको बह कतै नकह भएको छु । उकाली–ओराली पार गर्दै गाउँ पुग्यो, गाउँलेमाझ बस्यो, कुराको कुटुरो फुकायो, गाउँखाने कथा हाल्यो अनि सबै कष्ट मेट्यो । अहिलेसम्म जम्माजम्मी नौ क्यासेट हाँसो बटुलेछु ।

यसैबीच हास्सेबेङ्गेकार तथा जुहीका धाईसुसारे चूडामणि रेग्मीको झापाबाट फोन आयो— पोखरामा माघे सङ्क्रान्तिमा विश्व शाक्य महापुरण लाग्ने भएको छ, जसरी नि’ पुग्नुप¥यो । पुराणमात्र लागेको सुने पनि कुदिहाल्ने हाम्रो बानी, त्यसमा महापुराणै भनेपछि त चुप लागेर बस्ने कुरै भएन । हुन पनि त्यो दिन पशुपति महापुराणका रचनाकार विश्वको जन्मदिन पनि रहेछ । उनका लागि तुक्तक जुर्यो–
कोही तेर्सापट्टिको ठेट्ना भन्थे उहिले
कोही पोखराको पुड्को मान्छे भन्थे पहिले
धत् यस्तो लेखक–कलाकार पनि कहीँको हुन्छ ?
काठमाडौँ, नेपाल हुँदै विश्व नै भएको छ ऊ अहिले ।

मुक्तक भनेको त मुक्तक हो, तर यो तुक्तक भनेको के हो ? भन्नुहोला । तुरुन्त लेखेको कामचलाउ मुक्तक हो तुक्तक । विश्व शाक्यले आफूलाई पुड्को महसुस गरेर पुड्को मान्छेका पुड्का कविता छपाएछन् । उनी कसरी पुड्को ? कोभन्दा पुड्को ? त्यत्रो लेख्ने, त्यत्रो देश–दुनियाँ देख्ने लेखक–कलाकार कसरी पुड्को ? उनका आँखा अलिक चिम्सा छन् र उनी नजिकको वस्तुलाई सानो वा पुड्को देख्दा हुन् । म त उनलाई पोखराको धरहरै ठान्छु, उनका अगाडि अरू हास्सेबेङ्गेकार होचा छन्, पुड्का छन् । यो सोरै आना साँचो हो ।

यो जुहीले पनि पुष्टि गरिहाल्यो नि । जुहीले ५४औँ अङ्क विश्व शाक्य महापुराणका रूपमा निकाल्यो, जुन शिवपुराणभन्दा सानो नहोला । अर्को पुस्तक पनि उनका कृतिको मूल्याङ्कन गर्दै छापियो । दुवैको माघे सङ्क्रान्तिमा घुम्टीखोली भयो । सोही एकाहका औसरमा मोहनराज शर्माको सम्मान गरियो – वात्स्यायनको पूजाआजा भयो – कपिल लामिछाने, नरनाथ लुइँटेल, चूडामणि खनाल, भरत भट्टराईलाई पनि हास्सेबेङ्गेकार भनी सम्मान गरियो । अरू पुस्तक पनि त्यहाँ लोकार्पण गरिए, साहित्य गोष्ठी भए । एकाह भए पनि आखिर पुराण त पुराण नै हो नि ! एकथोक गरेर पुग्ने भए पो !

साँझ एक्लै उभिएको मौका छोपी विश्व शाक्यले खुसुक्क भने— साँच्चै म हास्सेबेङ्गेकार भएकै हो त ? तपाईं त पर्ध्यापक ! मैले भनें— अझ पनि शङ्का लाग्या’छ भने फेरि अर्को महापुराण लगाउनु पर्ला । उनले हतार–हतार भने— ए त्यसो भए त भो’भो’ पुग्यो ।

उनको यो नम्रता र भद्रता होला । यो पनि भएन ! यहाँ कोही अग्लिन हिल जुत्ता लगाएर हिँड्छन्, कोही बोके हिल उक्लन्छन्, त्यतिले नपुगेर कोही बाँसैमा चढ्छन् । कोही उचाइ पाएर पनि नम्रताको नाममा नुहेर हिँड्ने ? त्यसैले म विश्व शाक्यलाई एकसूत्रीय अल्टिमेटम दिन चाहन्छु— ज्यादा नुहेर नहिँड्नू, नत्र…. ।

पुस २९ गते म भैरहवाबाट पोखरा नदीपुर पुग्दा त्यस्तै साडे पाँच बजेको हुँदो हो, काठमाडौँंबाट मोहनराज शर्मा, जीवेन्द्रदेव गिरी, भरत भट्टराई, नरनाथ लुइँटेल र अरू खुद्रा मानिसहरू पनि ठ्याक्कै त्यहीँ पुगे । उता झापा, मोरङ र सुनसरीका एक बस साथीहरू पनि त्यहीँ टुप्लुक्किए । पोखराका साथीहरू तयारीका लागि त्यहीँ शाक्य भवनमा झुम्मिएका थिए । एकाह भने पनि पुराण त पुराणै हो । पुराण र परीक्षितको साइनो अकाट्य छ, तर त्यस पुराणमा परीक्षित देखिएनन् । परीक्षित को होला भनेको त भोलिपल्ट आकाशमार्गबाट दीक्षित पो टुप्लुक्क आइपुगे । उनै कमल दीक्षित ।

माघ १ गते बिहानै चिया सुक्र्याएर महेन्द्रगुफातिर लाग्यांै, तर बाटैमा परेछ प्यासीको घर । उनका भाइसित भेट भयो । सोधेको प्यासी त त्यहीँ रहेछन् । उनीसित भलाकुसारी गरी हामी चमेरी गुफातिर लाग्यौँ । प्यासी पनि त देख्दा पुड्का छन्, तर उनको राजनीतिक उँचाइ कम छैन । दिउँसो ११.५९ बजे भनेको भन्दा एक मिनेट अगाडि मुख्य कार्यक्रम थालियो— नाङ्लामा लेखिएको ‘थालनी’ देखाएर । जुहीको कार्यक्रम अनौठो छ । चूडामणि रेग्मी सुरुमै दुई शब्द बोलेर पाखा सर्दा भए । अनि ….. घिमिरे र कृष्ण सुवेदी ‘निराकार’ले उद्घोष गर्न थाले । भैरहवामा एउटा निराकार छाडेर त्यहाँ पुग्दा अर्को निराकार हाजिर । कमल दीक्षित, जीवेन्द्रदेव गिरी, वात्स्यायन, मोहनराज शर्मा, हरिहर खनाल, विश्व शाक्य, अनिरुद्ध तिमसिना, कुन्ता शर्मा, कपिल लामिछाने, नरनाथ लुइँटेल, भरत भट्टराई, रविलाल अधिकारी, पुण्य खरेल, होम सुवेदी, पद्मराज ढकाल, प्रेम छोटा, यमबहादुर पौडेल, के.पी. ढकाल, उपेन्द्र पागल, हनिफ मियाँ, डी.आर.पोखरेल, पोषराज पौडेल, मननराज पोखरेल, ज्योति शर्मा अदिति आदि करिब डेढदुई सय लेखक–कलाकारको उपस्थिति रहेको सो कार्यक्रम भव्यतापूर्वक तर नयाँ ढङ्गले सम्पन्न भयो । औपचारिक कार्यक्रम भए पनि प्रमुख अतिथि कमल दीक्षित के–के भनेर–गरेर हँसाइरहन्थे । कार्यक्रम भनेकै बेलामा सकियो र साँझ शाक्य भवनमा साहित्यगोष्ठी जम्यो ।

माघ २ गते पोखरादेखि नारायणगढसम्म जुही–टोलीसँगै आएँ । त्यहाँका साथीहरूले व्यवस्था गरेको भुजा चामचुम पारी साथीहरू सप्तगण्डकी क्याम्पसतिर तम्सिए, जहाँ साहित्यिक भेटघाट हुनु थियो । होमनाथ सापकोटा मुस्कान छर्दै थिए । यात्रामा कहिले जात्रा हुन्छ, कहिले मात्रा बढी हुन्छ । जुहीको यात्रा मेरा लागि एउटा प्रश्न बन्यो । हास्यव्यङ्ग्य साहित्यमा योगदान गरेको भनेर मलाई सम्मान त गरियो, तर उही विश्व शाक्य झैं म पनि रनभुल्लमा छु कि के म पनि साँच्चिकै हास्येबेङ्गेकार भएँ त ?

दुईचारवटा किताब मलाई दिंदै छुट्टिने बेलामा अलिक गम्भीर मुद्रामा चूमरेले भने— लु, यही लैजा, यसैलाई बेच, यसैलाई बोकाएर ले ! सुन्ने अरू जिल्ल थिए, तर गाउँखाने कथाको खोजीमा लागेको मलाई त्यसको अर्थ बुझ्न कठिन परेन । अनि, जुहीको जात्रा नारायणीपारि छाडेर र पश्चिम भैरहवातिर हानिएँ ।

भैरहवा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा