साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आशा र अपेक्षा हराएको सूचना

Nepal Telecom ad

३ महिना नाघेका, ६ महिना नकटेका, अन्दाजी ४ महिनाजतिका, होचा–होचा अग्ला, मोटा–मोटा पातला, तनका गहुँगोरा, मनका सप्तरंगी, बोली सुन्दा केही गर्लान् जस्ता, व्यवहार हेर्दा पाक्दै नपाकी झर्लान् जस्ता, नेपाली जनताका होनहार दिदीबहिनी ‘आशा र अपेक्षा’ विगत केही समयदेखि हराएकाले पाउनुहुने महानुभावहरूले नजिकका नेपाली जनतालाई बुझाइदिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

सीधा कुरा गर्ने, प्रस्ट विचार राख्ने, धेरैले राम्रो मानेका, थोरैले उपेक्षा गरेका, दिउँसो सिंहदरबारको कुर्सीमा विराजमान हुने, बेलुका बालुवाटारमा बास बस्ने, बोल्दा हँसाउने, नबोल्दा थला बसाउने, बाहिर कुनै रिस नदेखाउने, भित्र केही थाहा नभएकी अपेक्षा र आशा एकाएक हराएपछि नेपाली जनता निराश भएकाले त्यसको खोजबिनका लागि सार्वजनिक अनुरोध गरिएको हो ।

उनीहरू दुवै जना विगत लामो समयदेखि बेपत्ता भएका थिए । संविधानसभाको लामो प्रयासपछि भेटिएका आशा र अपेक्षा पछिल्लो पटक संविधान घोषणास्थलमा देखिएका थिए । संविधानको घोषणासँगै खुसी भएर नाचेका, केही गर्लान् भनेर आशा साँचेका यी दुई बहिनी सरकारको विस्तारसँगै कहिले देखिने, कहिले हराउने जानकारी परिवारका सदस्यहरूले दिएका छन् ।

मन्त्रीहरूले नाकाबन्दी खुल्छ भन्नासाथ झुलुक्क झुल्कने आशा पेट्रोलको लाइन देख्नासाथ लुसुक्क हराउन थालेको आशा र अपेक्षाकी साथी निराशाले बताइन् । प्रधानमन्त्रीले देशले काँचुली फेर्छ भनिरहँदा उहाँकै अगाडि खुसीले हाँसिरहेकी आशा मधेस आन्दोलको अराजकता नरोकिएपछि रुँदै भागेकी थिइन् । सरकारले शान्ति–सुरक्षा कायम गर्छु भनेको सुनेर बजारमा निस्किएकी अपेक्षा भीडले भक्कुमार चुटेपछि सार्वजनिक ठाउँमा नदेखिएको बताइएको छ ।

नेपाली जनताको हराएको आशा र अपेक्षा खोज्न नेपाल सरकारले पनि पहल गरेको थियो । प्रधानमन्त्री स्तरबाटै गरिएका सबै पहल नाकाम भएपछि आशा खोज्ने जनस्तरीय प्रयास गरिएको हो । यसपटक आशा नभेटिने हो भने नेपाल घरमा घोर अनिष्ट हुने ज्योतिषिहरूले बताएका छन् । तसर्थ बिनाबर्दीका सबै नागरिकलाई हराएका आशा र अपेक्षा खोज्ने अभियानमा सहभागी हुन पनि अनुरोध गरिन्छ ।

आशा र अपेक्षा खोज्न गठित सरकारी आयोगले भने आशा नहराएको, अपहरण पनि नपरेको, बरु सरकारको काम–कारबाही देखेर बेहोस भै कतै ढलेको हुन सक्ने अनुमान गरेको छ । उनीहरूलाई खोज्न सरकारका मन्त्रीहरू हेलिकप्टर चढेर जिल्ला–जिल्ला घुमिरहेको, उद्घाटन, शिलान्यास तथा विमोचन कार्यक्रममा सहभागी भैरहेको तर कतै नभेटिएकाले मन्त्रीहरू ढल्न लागेको आशंका गरिएको छ ।

आयोगको रिपोर्टलाई आधार मान्दै प्रधानमन्त्री कार्यालयले भने आशा खोज्न छुट्टै प्रक्रिया अघि बढाएको छ । सो प्रक्रियाअन्तर्गत प्रधानमन्त्रीले आशा जगाउने अनौठा र अपत्यारिला मन्त्रहरू उच्चाहरण गर्ने गरेको बताइन्छ । घरघरमा ग्याँस लाइन वितरण गर्ने, हावाबाट बिजुली निकाल्ने, इन्टरनेटबाट ग्याँस सप्लाई गर्ने, सेटेलाइटबाट पानी अपलोड गर्ने, वाईफाईबाट चामल डाउनलोड गर्नेजस्ता आशा खोज्ने अभियानकै अंश हुन् भन्ने गजुरियल अनुमान छ ।

आशा गायब काण्डमा तीन थरी विचार आएका छन् । सरकारका प्रतिनिधिहरू भन्छन्, नेपाली जनताको आशालाई दुष्ट छिमेकीहरूले लुकाएर नेपाल र नेपालीलाई धोका दिइरहेको छ । छिमेकीका प्रतिनिधिहरू भन्छन्, तिम्री आशा तिम्रै कुकर्मका कारण कुलेलम ठोकेकी हो, तर जनता भन्छन्, नेपाली जनताको आशालाई सत्ता राजनीतिको राष्ट्रिय, अन्तर्रा्ष्ट्रिय र क्षेत्रीय डम्पिङ साइटमा सामूहिक रूपले फ्यालिएको छ । गजुरियल ठम्याइ पनि यही छ ।

आशालाई नजिकबाट जान्नेहरूको भनाइ भने अलि फरक छ । आशा न अपरहणमा परेकी छिन्, न त बेहोस भएकी छिन् । उनी अभिभावकको अभावमा भौंतारिइरहेकी छिन् ।

आफ्नो आशा र भरोसाको सुरक्षा अरूबाट गरुन्जेल आशाहरू हराइरहनेछन् ।

साप्ताहिक, माघ १, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x