साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्तरआधुनिक चकचके बच्चो

Nepal Telecom ad

बच्चो भन्नेबित्तिकै ठूलो होइन सानो भन्ने स्वतः बुझिन्छ । बच्चो स्वभावैले चकचके हुन्छ र ठाउँकुठाउँ रोइकराइ गरिहाल्छ । यो बच्चाको नैसर्गिक बानी नै हो । संसारका यावत् जीवजन्तु, प्राणी सबका बच्चा हुन्छन् नै । माउबाट बच्चो जन्मने र बच्चो बढेर माउ हुने प्राकृतिक नियमै हो तर यहाँ कुरो गर्न लागिएको बच्चो त्यस्तो होइन । यो प्रसङ्ग तारेमाउबाट घट्दै गई पछिल्लो समयमा बच्चो भएको अतारे उत्तरआधुनिक बच्चाको हो । यो बच्चो कुनै मानव वा पशुको जीवित सन्तान नभएर ठाउँकुठाउँ नहेरी रोइकराइ गर्ने निर्जीव बच्चो हो । निर्जीव बच्चो पनि कतै रोइकराइ गर्छ ? यो त ढाँट कुरा हो भन्ठान्नु होला तर धरोधरम कुरा साँचो हो । आजको तथाकथित उत्तरआधुनिक विनिर्माणवादी भनाउँदो युगमा जे पनि हुन्छ, नहुने कुनै कुरै हुँदैन !

जीवित बच्चाहरू क्रमशः बढ्दै ठूला हुन्छन् । ती भोकाएपछि रोइकराइ गर्छन् र खुवाइपियाइ गरेपछि खेल्न थाल्छन् वा मस्तसँग सुत्छन् तर यो बच्चो त बढ्नाको सट्टा दिनानुदिन खिइएर झन्झन् सानो हुँदै जाँदोछ । यो अघाउन्जेल कान निमोठ्नेबित्तिकै खुब कराउँछ र भोकाएपछि चुप लाग्छ । यसलाई बोल्न–कराउन खाना खानै पर्छ । नअघाई यो बोल्नै सक्तैन तर यसले खानेकुरा जीवित बच्चाको भन्दा पूरै फरक छ । यसले ठोस वा तरल वस्तु नखाएर बिजुली मैँयालाई नै खाइदिन्छ । खान पनि निकै बेर लगाउँछ । एकडेढ घन्टा बिजुली मैँयामा मुन्टो जोताएर निकालेपछि कराउन सुरु गर्छ । भरखर जन्मेका बेला एकडेढ घन्टा खाएपछि बारचौध घन्टा फेरि खान माग्दैन । पछिपछि त्यसको खाने समय बढ्दै जान्छ र भुँडी पनि बिग्रिँदै जान्छ ।

अब भन्नु होला यो कसको र कस्तो बच्चो हो भनेर ? चिन्ता नगर्नुहोस् । यो अरू कसैको नभएर तपाईं हामै्र बच्चो हो । चाकमा नाक जोडेर कराउँदै हिँड्ने यस बच्चाको जन्म गर्भाधानबाट भएको होइन । यो त बजारमा जताततै किन्न पाइन्छ । फुटपाथमा समेत सुताइराखेको हुन्छ । तपाईं आफ्नो क्षमताअनुसारको मोल तिरेर यसलाई किन्न सक्नुहुन्छ । मोटो, नाके आदि अनेक नामधारी यस मोइ खाने बालको मोल पनि केही सयदेखि लाखौँसम्म पर्छ । बच्चो किनेपछि त्यसलाई रुवाउन तँछाडमछाड गरी लाइनमा बसेर हल्का लाठीचार्जसमेत बेहोर्दै केही प्रक्रिया पूरा गर्नु पर्छ । त्यसपछि त सुरु भइहाल्छ उसको करामत । तिनका सङ्ख्या जति भए पनि रुवाउने मूल थलोचाहिँ एउटै खास ठाउँ हुन्छ ।

यस बच्चाको लिङ्गभेद हुँदैन, जसले बोक्यो त्यही लिङ्गको हुन्छ । प्रतिगामी कालमा यसलाई मूल ठाउँमै बिर्काे लगाएर नबोल्ने बनाइयो भने लोकतान्त्रिक कालमा पूरै बिर्काे खोली अति गरेर खति गरियो र नसुनिने बनाइयो । नबोल्नु र नसुनिनु कुरा झन्डै उस्तैउस्तै भए पनि नबोल्नु प्रतिगमन हो भने नसुन्नु लोकतान्त्रिक अभ्यास हो ।

यसका रूपरङ्ग र कामबारे पनि तपाईं परिचितै हुनुपर्छ । सुरुमा पल्ला मुलुकबाट यहाँ आइपुग्दा यो बच्चो सीमित व्यक्तिका पहुँचमा मात्र थियो । हातैमा बच्चो बोकेर बडो ठाँटका साथ देखाउँदै हिँडिन्थ्यो । जब यसको जन्ममा परिवार नियोजनको प्रक्रिया हटाइयो, तब यसको सङ्ख्या अत्यधिक बढ्यो र रातदिन बढ्दैछ पनि । मेरो, तेरो, टेली, झेली आदि अनेक नामबाट बच्चाहरू बढ्दा छन् । बाबुआमाविनै जन्मिने आयातित सन्तान भएपछि यस्ता बच्चा अझ कति जन्मिने हुन् टुङ्गो छैन । सहरबजारमा त यो छ्याप्छ्याप्ती नै भइसक्यो भने अलिअलि गर्दै गाउँघरतिर पनि छिर्दैछ ।

यतिखेर यो बच्चो नरुवाइ हिँड्ने मान्छे असभ्य र पाखे हुने स्थिति छ । अहिले जोसुकैलाई पनि बच्चो बोकेर रुवाउँदै हिँड्नु प्रतिष्ठाको विषय बनेको छ । हाल यो फेसनसो वा सुन्दरी प्रतियोगिता जत्तिकै बन्नपुगेको छ । एउटै घरमा पनि उम्रेदेखि खुम्रेसम्मका सबलाई यो चाहिने भइसक्यो । घरझगडाको बिउ पनि बनिसक्यो । लेखपढ, कमाइधमाइ शून्य, परिवारभित्रै एकअर्कामा एसएमएस भन्यो, के भन्यो, ट्वाइँटुइँ ग¥यो, करामत देखायो बस्योे बस ! यति मात्र कहाँ हो र ? स्वास्नीले लोग्नेलाई बेला न कुबेला सताउन र फोनको बिल बढाउन पनि यसले चौपट्टै मदत पु¥याएको छ । यसरी बच्चो रुवाउने होडबाजी जताततै व्याप्त… !

दैनिक गुजारा चलाउन धौधौ पर्ने आयस्रोतविनाका अर्थात् दुई पैसाको आम्दानी नहुने लन्ठुलाललाई समेत यो बच्चो नभई नहुने भयो । सङ्ख्या वृद्धिसँगै बच्चो हराउने र लुट्ने काम पनि बढ्दोछ । अहिले यसलाई बच्चा पाइसकेका माउले भन्दा बच्चा नपाएका ठेउकाठेउकीहरूले बढी माया गर्न थालेको देखिन्छ । यतिखेर यो लभेरियाको अचुक साधन बनेको छ र यसले लभालभमा समेत पर्याप्त सहयोग पु¥याएको छ । यसले लभोलोजीको विकास मात्र होइन कहिलेकाहीँ त कुटान–पिसानसम्मको स्थिति पनि पैदा गराएको देखिन्छ । एक ठाउँमा हुँदा अर्काे ठाउँमा छु भनेर ढाँट्न र मुटु साट्न पनि खुब सजिलो बनाएको छ यसले । अब यो स्थिति धेरै समय नरहने हल्लाले मुटु साट्नेको मुटुमा ढ्याङ्ग्रो बज्न पनि थालिसकेको छ । जे होस् अहिलेलाई कतै निस्कने बेला बच्चो गोजीमा हाल्यो हिँड्यो । ड्रिङ्किङ र किसिङका बेला मिटिङमा भनिदियो बस अनि काम दनादन… !

यस बच्चाले बोलेर मात्र होइन, लेखेर पनि कुरा ओसारपसार गर्छ । त्यसमा कुनै सीमा छैन । एकैछिनमा संसारभर पुग्छ । सुनिँदैछ अब त यसले मान्छे नै ओसार्न थालिसक्यो रे ! हेरौँ अलि पछि केके ओसार्ने हो ? यसको पेटभित्रै फोटो खिच्ने र मेल गर्ने साधन पनि घुसिसकेकाले यो कसैका लागि भरपर्दाे त कसैका लागि डरमर्दाे पनि छ । कहिलेकाहीँ अचानक कराएर एकाग्रता भङ्ग गरी झस्काउने र मस्काउने छुट्टै पिर पनि छँदैछ ।

गेमसेम भनी बाटामा एकसुरले बच्चो खेलाउँदै हिँड्दा र गफ हाँक्दै गाडी चलाउँदा हुने दुर्घटना र यमलोकको यात्राबारे कुरो गरी साध्यै छैन ! सुरुसुरुमा मानिसहरूको जमात देख्नेबित्तिकै बच्चै नकराई मोटरसाइकल, बस वा पैदल यात्रामा पनि यताउति हेर्दै ठूल्ठूलो स्वरमा मस्किँदै एकोहोरो फत्फताउने चलन व्याप्त थियो । अहिले त्यो क्रम सभासमारोहमा व्याप्त छ । अझ भनौँ यतिखेर यस बच्चाले बढी चकचक गर्ने ठाउँ सार्वजनिक सभासमारोह, बैठक आदि भएका छन् र त्यस्ता ठाउँमा यसलाई रुवाउनै पर्छ । कुनै सभासमारोह वा सार्वजनिक भेलामा जानुभन्दा अगि श्रीमान्, श्रीमती वा अरू त्यस्तै कसैलाई खास समयमा मिसकलबाटै भए पनि बच्चो रुवाउने सर्त गरेर हिँड्यो, बस बच्चो रुन थालेपछि फुर्ती नै अर्काे ! उताको आवाज सुन्नु प¥या छैन, हलोहलो गरी चिच्यायो, सबैलाई आफूतिर फर्कायो, सभ्यताको प्रदर्शन ग¥यो, बस !

यसको व्याप्ति अहिले विद्यालय, विश्वविद्यालयका कक्षाकोठामा समेत भइसकेको छ । यतिखेर कक्षामा पढाउँदा पढाउँदै कुनै ठिटाठिटीका चाकमा नाक रगेड्दै अनि कुनैका फिलामा किला गाड्दै गोजी बच्चाहरू रुनकराउन थाल्छन् र तिनीहरू एकएक गर्दै बाहिरिन्छन् । कक्षा सिद्धिँदा शिक्षकका अगाडि डेस्कबेन्च मात्र हुने स्थिति पनि आइसक्न लाग्यो । यसले डेटिङ र भेटिङमा मात्र होइन चिटिङमा समेत खुब सहयोग पु¥याउन थालेको छ । यसमा बिजुली हुलाकसमेत भएका कारण यसबाट चिट ओसारपसार गर्न खासै ट्याम लाग्दैन ।

विद्यालयमा मात्र होइन यसले न्यायालयमा समेत प्रत्यक्ष प्रभाव पार्न थालेको सुनिन्छ । यही बच्चामार्पmत न्यायालय शौचालयमा पुग्नासाथ लेनदेन पक्का, मुद्दा हारको जित र जितको हार ! अनि गरिन्छ निष्पक्ष न्यायको वकालत !

यतिखेर बपौती र क्षतिपूर्ति मात्र हैन फिरौती, तिरौती, मरौती, भरौतीसम्मका सब काम यसैबाट सुसम्पन्न हुने गर्छन् । सर्तअनुसार मिसकलबाटै पनि काम तमाम हुन थाल्या छ । धन्य छ यस फिस्टे बच्चाको करामत । माउ हुँदासम्म यसले यति बिघ्न चर्तिकला त गर्न सकेको थिएन । माउहरू लहरामा बेरिएर कोठाभित्रै बस्थे । अहिले खिइएर फिस्टे बच्चो हुँदा त यत्रायत्रा चर्तिकला गर्न थालिसक्यो भने अझ झिँगे नै भएपछि यसले केके करामत देखाउने हो, हेर्दै जाऊँ । नमरी बाँचे कालले साँचे ती दिन देख्न पनि उति धेरै कुर्नु नपर्ला ! यस्तो पराक्रमी र करामती उत्तरआधुनिक चकचके बच्चाको सदैव जय होस् ।

सोमरस पिएर पूरै सडक आफ्नै बाबुको बिर्ता ठानी लर्बरिँदै हिँड्ने महापुरुषझैँ बच्चाका पुच्छरमा लहरो जोडेर कानमा घुसाई व्यस्त सडकमा समेत किचिएर मर्ने कुरातिर पनि ध्यानै नदिई आजका ठेउकाठेउकी झुम्दै हिँडेको देख्दा युवा जनशक्तिले अनाहकमा ज्यान गुमाउने सोचाइले म चिन्तित छु । तत्काल दुर्घटनामा नपरे पनि निकट भविष्यमै हामीकहाँ बहिराको सङ्ख्या पर्याप्त वृद्धि हुने पक्का छ । यस कुराबाट भने म खुसी नै छु । यसमा मेरो खुसीको कारण मेरा पुत्ने छोराछोरी काने डाक्टरी पढ्दै गरेकाले तिनीहरूले जागिर पाउने र पढ्दाको डोनेसन असुल गर्ने सम्भावना बढ्नु अनि मेरी सालीका पसलबाट काने यन्त्र प्रशस्तै बिक्ने पक्का हुनु हो ।

यी सबै कुराबाट तपाईं ठान्नुहोला यो त बच्चो विरोधी प्रतिगामी रहेछ भनेर । कुरा त्यसो पटक्कै होइन । जरुरी काम परेका बेला यो बच्चो आवश्यक पनि छ तर जुनसुकै बेला हामी जोसुकैलाई त्यत्तिकै जरुरी पर्ने भए हाम्रो हविगत यस्तै हुन्थ्यो त ? कामै भएर बच्चो कराएको भए त यतिखेरसम्म हामी यहीँ हुन्थ्यौँ र ? साँच्चिकै काम परेका बेला बच्चाबाट कुरा गर्नुभन्दा सम्बन्धित ठाउँमा पुगेरै आउनु छिटो हुने स्थिति पनि त छँदैछ नि ! कहिलेकाहीँ रुवाइमा इधरउधर भएर फलानाको सरुवा भयो भनेको फलानाको स्वर्गे भयो भन्ने सुनेर रुवाबासी मच्चिने र काजक्रिया थाल्ने स्थिति पनि छ ! यति हुँदाहुँदै जमानाअनुसारको बच्चो मलाई पनि मन पर्छ । मैले पनि देखासिकीबाटै एउटा बच्चो किनेको छु । सुरुमा लिन कत्रो सकस परेको थियो । अलिक बुढो भएकाले होला मसँग हुँदा त यो उति कराउँदैन । तपाईंकहाँ पुग्नेबित्तिकै यसले उत्पात मच्चाउन सक्छ । यसमा मेरोचाहिँ रहर पुगिसक्यो । त्यसैले म बच्चो बेच्ने सुरमा छु । कसैलाई चाहिएको भए त्यही बच्चामार्फत तुरुन्त सम्पर्क गर्नुभए हुन्छ । बरु सस्तैमा दिउँला । त्यसपछि त तपाईंको लभालभसम्बन्धी चलखेल फटाफट चालु गरे भइहाल्छ… !

शारदा (१/१०, २०६४ कात्तिक) बाट 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x