जीवन खत्रीएउटा खस्रो चित्र
कलालाई कलाको रुपमा नबुझ्ने
एउटा साथी छ मेरो
उसलै पठाइदिएछ मेरो ठेगानामा
एउटा विचित्रको खस्रो चित्र
ठीक यतिबेला, म यही चित्रलाई नियाली रहेछु ।
हुनसक्छ,
यो चित्र त्यो भिन्चीले बनाएको हो,
जसले मोनालिसाको नरम तस्बिर छाम्दा छाम्दा
वाक्क भएर यो खस्रो चित्र बनाउन रहर गर्यो ।
वा हुनसक्छ,
दुःखको अन्तिम इनारमा डुबेर कुनै कविले लेखेको
सवसे दुखद कविताको दुखी पात्रको तस्बिर हो यो ।
जे पनि हुन सक्छ ।
एउटा मानव आकृति जस्तो यो चित्र
खुब नियालिरहेछु,
पातहरूले छाडी गएका नाङ्गो रूखजस्तो छ टाउको
जहाँ दुखको सिङ्गै पहाड, टोपी बनेर उभिएको छ ।
दर्जनौँ सन्धि सम्झौताहरूले सिमाना खुम्चिएको
कुनै विपन्न देशजस्तो छ निधार
जहाँ अभावका किरङ मिरङ धर्साहरू टाँस्सिएका छन् ।
पाखोबारीझैँ पाटै पाटा परेका छन् दुई गाला
जहाँ पीरका योद्धाहरूले परेड खेलिरहेछन् ।
लाग्छ, उसका कानहरूलाई
भोकको सारङ्गी बाहेक अरु धुन थाहै छैन
उसको नाकले अभाव बाहेक अरु सुगन्ध जान्दैन
आँखाले केवल भयका साँघुरा खोल्सा खाल्सी देख्छन्
मुखले पनि निरिहताको भजन सिवाय केही बोल्दैन् ।
गहिरिएर हेर्छु, झन् डर लाग्छ !
कुन बैगुनी कलाकारले, कुन कुरुप भाँडोमा भेट्यो
यति विघ्न अभावका रङहरू ?
यति विघ्न अँध्यारो मसी
यति विघ्न व्यथा, उल्झन सुहाउने क्यानभास
यति विघ्न कहाली चोपिन सक्ने कुची
आँखा भरि भरि हेर्छु
चित्रको पछिल्तिरको पुरानो घर
सायद यही मानव आकृतिको होला ।
तर, घरको लालपुर्जा घरमै होला कि ? कुनै महलमा ?
चित्रको दाहिनेतिरको सानो केटो उसैको छोरो होला ।
तर ऊ स्कुल नगएर, किन क्यानभासमा ?
हुन सक्छ परिक्षा शुल्क विलम्बका कारण
स्कुलले आजै फिर्ता गरिदिएको होस् ।
उसकी श्रीमती ? छैन त चित्रमा
कतै एक्लै छोडेर उसलाई, मुग्लान त झरिन ?
कि कुनै महलको भित्री कोठामा कैद भई ?
जे पनि हुन सक्छ ।
अहो, खासमा कुन मुर्खले कोर्यो यो असुहाँउँदो चित्र
भेट्न पाए सोध्न हुन्थ्यो
के, दुःखका अनगिन्ती सागर, एउटै खोलामा अटाउँन सक्छ ?
के अभावमा अनेकौँ घान, एउटै जाँतोले पिधीँ भ्याउँछ ?
कि एउटा भोकले मात्र निल्नुपर्छ अभावका गाँसहरू ?
कि एकजोडी हातहरूले मात्र सम्याउन सक्छन्,
तारे भीरैभीरको जिन्दगी ?
कि एकजोडी पैताललाले मात्रै हिडीँ भ्याउँछन्,
तरबारको धार ओच्छ्याइएका बाटाहरू ?
यिनै प्रश्नहरूका बीचमा अल्झिरहेका बेला
छोराको एउटै कुराले झस्याङ बनायो ।
भन्यो, “बाबा, ऐना हेरेर किन एक्लै बर्बराउनु भको ?”
रामेछाप
Subscribe
Login
0 Comments
Oldest






































