टिपनटापनफरक मत !
एक दिन एउटा बूढोले गाँसबासको लागि आपतमा परेको जस्तो देखिने बटुवालाई बनको छेवैको आफ्नो घर अगाडि साँझपख भेट्यो । {{read_more}}
“आउनोस्, एक छाक मेरैमा खानोस्, बास यतै बस्नोस् । भोलि लाग्नुहोला, जता जानु छ !” बूढोले बटुवालाई आफ्नो घर बोलायो ।
बूढोले अगेनोमा खाना पकाउँदै कुरा गर्दा बटुवाको राजनीतिक आस्था र धर्मबारेको विचार उसकोभन्दा भिन्नै भएको चाल पायो । खाना तयार भएपछि बूढोले बटुवालाई उति वास्ता नगरिकन केही खान त दियो तर सुत्नलाई ठाउँको अल्लि समस्या भएको जनाएर अन्त कतै बास खोजे उचित हुने कुरो पो राख्यो । बटुवालाई पनि उसको स्वभाव असहज लाग्यो र आफ्नो बाटो ततायो ।
यो सबै देखिराखेकी बूढाकी अशक्त बूढीले बिछौनाबाट उठेर भित्तोमा टाउको अडेस लगाउँदै बूढालाई प्रश्न गरिन्, “आफैले बोलाएर आएको बटुवालाई किन त्यस्तो नराम्रो व्यवहार गर्यौ तिमीले बूढा ?”
“किन उसले मेरो राजनीतिक विश्वास र धर्मभन्दा फरक मत राख्यो त ?”
“तर मेरा प्यारा बूढा, मैले त मेराभन्दा थुप्रै फरक विचारहरू साठी साठी बर्षसम्म थेगेको छु । तिमीले एक रात पनि सहन सकेनौ, हगि ?” बूढीले आफ्नो मनको बह पोखिन् ।
–डिकेन्द्र ढकाल
Subscribe
Login
0 Comments
Oldest





































