साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोहन विक्रम सिंहलाई युद्धप्रसाद स्मृति पुरस्कार

Nepal Telecom ad

कविवर युद्धप्रसाद मिश्रको २३ औँ स्मृति दिवसको अवसरमा २०७० फागुन ६ गते नेपाली प्रगतिवादी साहित्य एवम् वामपन्थी राजनीतिज्ञ मोहनविक्रम सिंहलाई ‘युद्धप्रसाद मिश्र स्मृति पुरस्कार तथा सम्मान’ अर्पण गरियो ।
प्रतिष्ठानका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षतामा सम्पन्न विशेष समारोहको प्रमुख अतिथि वरिष्ठ पत्रकार भैरव रिसालले उक्त सम्मान अर्पण गर्नुभएको थियो । समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती, कविवर मिश्रसँग नजिकबाट सङ्गत गर्ने गोविन्द ज्ञवाली, प्रा.डा.जीवेन्द्र देव गिरी, प्राज्ञ के.के.कर्माचार्य, साहित्य सन्ध्याका अध्यक्ष राम विनय र मोहनविक्रम सिंहकी जीवन सङ्गिनी दुर्गा पौडेल उपस्थित हुनु हुन्थ्यो ।
कविवर मिश्र तथा सहिदको सम्झनामा एक मिनेट मौन धारण गरी आरम्भ गरिएको कार्यक्रममा डिल्लीराज अर्यालले शब्द स्वागत गर्नु भएको थियो भने स्रष्टा जगन्नाथ आचार्यले कविवर मिश्रका केही कविता वाचन गर्नु भएको थियो ।
स्रष्टा एवम् राजनीतिज्ञ मोहनविक्रम सिंहको व्यक्तित्वका बारेमा भगवानचन्द्र ज्ञवालीले चर्चा गर्नुहुँदै सिंह २००९ सालमा राहुल सांकृत्यायनसँग भेट गरेपछि कम्युनिस्ट विचारधाराप्रति आकर्षित हुनु भएको बताउनुभयो । उहाँले सिंह अनुवाद साहित्य, समालोचना तथा सौन्दर्य चिन्तनका क्षेत्रमा समेत दख्खल राख्नु भएको तथ्य प्रकाश पार्नु भयो ।
पार्टीको निर्णयानुसार सार्वजनिक समारोहमा सम्मान ग्रहण नगर्ने भनी अनुपस्थित सिंहकी जीवन सङ्गिनी दुर्गा पौडेलले सिंहद्वारा प्रेषित लिखित मन्तव्य समारोहमा पढेर सुनाउनु भएको थियो । कविवर मिश्रसँग लामो सङ्गत गर्नु हुने गोविन्द ज्ञवालीले अभावका बिच पनि त्यो समयमा काम गर्दा सुखानुभूति हुने गथ्र्याे तर अहिले समय फेरिएको छ, राजनीति फेरिएको छ, हामीले ढाल्नु पर्ने भनेको व्यवस्था पनि ढलेको छ तर जनताको जन जीविकामा तात्विक अन्तर आउन सकेको छैन र समग्रमा आजको समय सुखद हुन सकेको छैन, कविवर मिश्रको सपना जस्तो समाज बनाउन सकिएको छैन भन्ने धारणा राख्नु भयो ।
डा.बालचन्द्र मिश्रले मिश्र प्रतिष्ठान स्थापना तथा अक्षय कोष स्थापनाका बारेमा प्रकाश पार्नु भयो । प्रमुख अतिथि भैरव रिसालले कविवर मिश्र निष्ठा र इमानका धरोहर हुनु भएको धारणा राख्दै यस्तो गरिमामय समारोहमा प्रमुख अतिथि हुन पाएको र साहित्य तथा राजनीतिका शीर्षस्थ व्यक्तित्वलाई सम्मान गर्न पाएकोमा खुसी लागेको बताउनु भयो ।
समारोहका अध्यक्ष वासुदेव अधिकारीले २००८ सालदेखि अथक साधना गर्ने वरिष्ठ नेता एवम् स्रष्टा मोहनविक्रम सिंहलाई उहाँको योगदानको कदर गर्दै सम्मान गरिएको धारणा सहित समारोहमा उपस्थित सबैलाई हार्दिक धन्यवाद दिनु भयो ।
मिश्रको सालिकमा माल्यार्पण गरी आरम्भ गरिएको कार्यक्रमको सञ्चालन मिश्र प्रतिष्ठानका सदस्य डा.नारायण गड्तौलाले गर्नु भएको थियो ।

–रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x