साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गठबन्धनका गाँठागुँठी

अहिले त्यही गाँठागुँठी पारेर गाँस्या डोरीले गतिलो गाँठो त बनाएका छन् तर पुरानो र फुस्किरहने डोरीले गठबन्धन गरेकोमा गाँस्नेहरूले हाँस्ने अवसर पनि पाएका छन् !

Nepal Telecom ad

गणतन्त्र गतिलो गर्नलाई गठबन्धनको गाँठो गहन हुनुपर्छ भन्छन् । गतिलोसित गठन गरेर गँठ्याउन सकिएन भने गठबन्धननै गुम्सिएर गनाउन पुगेको गतानुभवको गन्ध गैसक्या छैन । कस्तो गठबन्धन गरेका हुन् ? गर्राभित्रैका गतिलाले पनि गठबन्धनको गन्ध निस्कन लाग्यो भन्न थाल्या छन् ! गम्किनु पर्ने गणतन्त्र, गतिछाडा गठबन्धनको गञ्जागोलमा गुम्सियो भनेर गिडिने र गुननाम हुने गाउँलेहरूका आफन्त गिँडुवाका गठबन्धनले गणतन्त्र गर्त (खाडल) मा गाडिन गयो भन्दै गहभरि आँशु गरेर गुनासो गर्दैछन् ।

ठगबन्धनको गाँठो फुस्केर गहिराइमा गोडामात्र गाडिन पुग्योभने कोही गठबन्धीनै गोही बनेर गजेन्द्रको गोडा गुमाइदिन बेर छैन । बन्धन त लोकतन्त्रको बाधक नै मानिन्छ । किन हो हिजोआज गठबन्धनमा गँठिनेहरूभित्रकै मध्ये कोही गमक्क, कोही गुपचुप छन् त कोही गनायो भन्दै हिँड्या छन् ! त कोही गोजीकै गुमायौँ पनि भन्दारहेछन् ! होइन गोर्खेलौरी कसेर गुरिल्लाले गोली छोडेपछिको साँठगाँठ गरेर ६० र ४० जोडेर शतप्रतिशत भैहाल्यो अब अरुलाई त शून्य प्रतिशत भाग लगायौँ भन्ने घोषणा गर्छन् ! चुनावी भाषणमा कसले पो सत्य बोल्या छ र ? गठबन्धन गर्‍यौँ भनेर मात्तिने र मध्यस्त भएर मत दिनेका माझमा मनमुटाब भए के होला ? गौँडामा बसेर गठबन्धीहरूले गवेषणको ऐना हेरे आफूलाई चिन्थे ।

भाषणमा भने भएभरका भावभङ्गीमा भट्याउने भगिरथहरूले त घोषणापत्र बनाएर नेपालमा हजारौँ मेगावाट बत्ती बाटो जलमार्ग स्थलमार्ग, कृषिमा उत्पातको उत्पादन गरेर हालको असी हजार प्रतिव्यक्ति आयलाई बढाएर पाँचलाख भन्दा बढी आय बनाई सिंगापुर, जापान, स्वीजरल्यान्डलाई उछिन्ने चुनाबी घोषणा पत्रमै छापिसके । अब काम गर्न मात्र बाँकी त हो नि ! यस्ता काम फटाफट गरे ५० वर्ष त लाग्ला ! चाँडै सरकार ढल्यो भने हामीले काम गर्न पाएनौँ । नत्र सिंगापुर बनाउँथ्यौँ भन्ने गरेकै छन् । गठबन्धनको यस्तो गतिलो घोषणापत्र निस्किसक्यो । अब त यो घोषणापत्र हेर्दा हालको गठबन्धन गनाउने होइन बनाउनेतिर पो जालाजस्तो कागजको हात्ती बनिसक्यो !

उता रुखमुनि बस्नेहरूले पनि आफ्नै रुखको अस्तिनै हँसिया हत्यौडाले छिमोलेर ओइलाएको डाला गाईलाई खुवाउन भनी रुखमुनि गाई बाध्न थालेका छन् । गाई बन्धन हो कि गठबन्धन हो ? यस्तै गाँठोबन्धन तराईतिरका गाई्, गधा, घोडा, खच्चडहरूलाई पनि छहारीको गठबन्धनमा हरियो घाँस देखाइँदै गरेको देखिन्छ । उनीहरूलाई पनि शून्यको अगाडि ९ थप्नलाई नौटङ्की त गर्नैपर्‍या होला ।

गहिरिएर हेर्दा गठबन्धनका गाँठागुँठीभित्र प्रत्यक्ष अप्रत्यक्ष गमार, गोर्खे, गुरिल्ला, ग्वाँचे, गद्दू, गुण्डो, गबुल्लो, गनगने गतिछाडा समेतलाई गाजेमाजे पारेर गञ्जागोल गरेर गठबन्धनको गाँठो कसेको जस्तो छ ! गठबन्धनको गाँठो पनि गहननै हुने रहेछ । धेरै कस्यो गुम्सिने, थोरै कस्यो गुम्ने । बिरालाले बच्चा बोक्याजस्तै गरी सन्तुलन मिलाउनु पर्ने । बिराले बानी त यिनीहरूलाई पनि पर्‍या छ । साठी र चालिस गरेर सयमा सयै भाग लगाएपछि त अरू पल्टन, पाटी, प्रतिपक्षी पडोसी एकातिरबाट हेर्दा ती सबै शून्यमा पुग्ने भए ! यसै भएर पो अर्को ठूलो पाटीले हाम्रो भाग खोस्ने षडयन्त्र गठबन्धनले गर्‍यो भनेर आत्या रेछन् । कोही भन्छन् मान्छे ढालिरहेको हँसिया हत्यौडाले रुख ढाल्छ रे ! कोही भन्छन् चर्को घामले पोलेपछि मतमान्छेहरू रुखको छहारीमा बस्न आउँछन् रे ! कोही भन्छन् जाडो याममा घाम मन पराउने धेरै हुन्छन् रे ! गठबन्धनको गवेषण गर्दात मतको मति र गणतन्त्रको गति गहन गहिराइतिर गति बढाएको देखिन्छ ।

चोरीचकारी, भ्रष्टाचार, घुसखोरीदेखि शासनप्रशासन न्याय नैनिकतासम्मकालाई चलेको छ स्वार्थको गठबन्धन । गठबन्धन गर्ने डोरीको गाँठो पनि गलिसक्यो भन्या ! कहिले त्यही डोरी गाँसगुँस पारेर गाछी र बाच्छीमा गठबन्धन भएको पनि देखियो । कहिले त्यही डोरीले हँसिया हत्यौडा र रुखलाई संगठन गरेर गाजेमाजे पारेको पनि देखियो । अहिले त्यही गाँठागुँठी पारेर गाँस्या डोरीले गतिलो गाँठो त बनाएका छन् तर पुरानो र फुस्किरहने डोरीले गठबन्धन गरेकोमा गाँस्नेहरूले हाँस्ने अवसर पनि पाएका छन् !

पुरानो डोरीको पहिलेपहिलेदेखिकै गाँठागुँठी सबैतिरबाट देखिन थालेको छ । आगामी मङ्सिरसम्म यो गठको बन्धन नचुँडाउने होभने हातहातमा घिउ घसेर गाँठागाँठामा सम्बन्धित सबैले समाउनै पर्छ नत्र गठबन्धनको गाँठो फुस्किएर पछारिन बेर छैन । सबैलाई चेतना भया ।

०००
७ मङ्सिर २०७४
‘नागरिक’ दैनिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टाउकाकै खेल, टाउके नै खेलाडी !

टाउकाकै खेल, टाउके नै...

घिमिरे ‘मैदेली’
धन्य नेता नेपालका !

धन्य नेता नेपालका !

घिमिरे ‘मैदेली’
सुशासन कि घुशासन ?

सुशासन कि घुशासन ?

घिमिरे ‘मैदेली’
कुर्सी, कमिसन र प्रशासन

कुर्सी, कमिसन र प्रशासन

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x