फित्काैली डटकमनतिजासहित कालजयी लघुकथाको सँगालो प्रकाशित
पाँच उत्कृष्ट लघुकथामा राजकुमार कार्कीको ‘आमा’, अल्पविराम पोखरेलीको ‘आमाको मन’, कुञ्जदेवी उपाध्यायको ‘प्रस्ताव’, सुनिता निरौला पौडेलको ‘सम्मान’ र अम्बिका बास्तोलाको ‘मालिक’ रहेका छन् ।

उदयपुर, ०८० असो १२ । कालजयी लघुकथा अभियान २०८० को अन्तिम नतिजासहित कालजयी लघुकथाको सँगालो प्रकाशित भएको छ । लघुकथा प्रतिष्ठान नेपालले नव वर्षारम्भ अर्थात् २०८० बैशाख १ गतेदेखि कुशे औँशी अर्थात् भाद्र २८ सम्म लघुकथा प्रेषण गर्न सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।
उक्त अभियानमा ११५ लघुकथा पोस्ट भएका थिए । तीमध्ये नवोदित स्रष्टाका पाँच लघुकथालाई उत्कृष्ट कालजयी लघुकथा भनी नतिजा सार्वजनिक गरिएको हो । ती पाँच उत्कृष्ट लघुकथामा राजकुमार कार्कीको ‘आमा’, अल्पविराम पोखरेलीको ‘आमाको मन’, कुञ्जदेवी उपाध्यायको ‘प्रस्ताव’, सुनिता निरौला पौडेलको ‘सम्मान’ र अम्बिका बास्तोलाको ‘मालिक’ रहेका छन् ।
प्रतिष्ठानको सहप्रकाशन ‘सन्दर्भ’ पत्रिकाको अङ्क-५ मा स्थापित र अग्रजका कालजयी लघुकथाहरू समेटिएका छन् । खेमराज पोखरेलको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति क्रियाशील थियो ।
लघुकथाकारको नाम र ठेगाना हटाई तीन दर्जन लघुकथा निणर्ायककहाँ पठाइएको थियो । नामको प्रभावबाट निणर्ायकहरू मुक्त होऊन् भनी उक्त विधि अपनाइएको जानकारी प्रतिष्ठानकी संस्थापक लक्ष्मी रिजालले बताइन् ।
नवोदित सर्जकलाई प्रोत्साहन होस् र अन्यलाई पनि लघुकथा लेखन अभियानमा सहभागी हुन जाँगर चलोस् भनी उत्कृष्ट पाँच लघुकथा घोषणा गरिएको जानकारी सन्दर्भ पत्रिकाका प्रधान सम्पादक नन्दलाल आचार्यले दिए । लघुकथा प्रतिष्ठानकै सहप्रकाशन ‘सन्दर्भ’ लघुकथा प्रधान डिजिटल पत्रिका हो ।
‘कालजयी लघुकथा अभियान-२०८०’ मा सहभागी भएका र ‘सन्दर्भ’ अङ्क-५ मा प्रकाशन भएका लघुकथाको वणर्ानुक्रम सूची पनि सार्वजनिक गरिएको छ । सूची अनुसार ११५ वटा लघुकथा रहेका छन् ।
त्यसै गरी प्रतिष्ठानले जेष्ठ नागरिक बारे असोज १४ गते चेतनामूलक लघुकथा पोस्ट गर्न आह्वान गरेको छ । जेष्ठ नागरिकलाई समाजको चेतनाका संवाहक ठान्दै लघुकथा लेखेर र प्रशिक्षण दिएर लघुकथा प्रतिष्ठानले विश्व जेष्ठ नागरिक दिवस मनाउने निणर्य गरेको छ ।
प्रतिष्ठानको दोस्रो वार्षिकोत्सब यही कार्तिक ३ गते पर्छ । सो अवसरमा बुढ्यौली विषयक लघुकथाको आह्वान यस अघि नै गरिसकेको बताउँदै प्रतिष्ठानकी संस्थापक लक्ष्मी रिजाल भन्नुहुन्छ- जेष्ठ नागरिकको बारेमा आह्वान गरिएको यो अनुरोधको लक्ष्य भनेको ३ गतेकै कार्यक्रमको तयारी सम्बन्धमा हो ।
आफ्नो दोस्रो वार्षिकोत्सव अवसरमा लघुकथा प्रतिष्ठान, नेपालले कार्तिक ३ का लागि भने बुढ्यौली विषयक लघुकथा आह्वान गरेको छ ।
संविधान दिवसको अवसर पारेर जारी प्रेस विज्ञप्तिमा भनिएको छ- सम्मानजनक जीवन जिउने हक संविधानद्वारा प्रदत्त मौलिक हक हो । वृद्धवृद्धाले समाजमा सम्मानित स्थान भेटून् र उनीहरूका बारेमा सकारात्मक सोच्न आजका पुस्ता वाध्य होऊन् भनी लघुकथा मार्फत जागरण ल्याउने प्रयास गरिएको हो ।
यस अवसरमा प्रतिष्ठानको सहप्रकाशन ‘सन्दर्भ’ पत्रिकाले ‘बुढ्यौली विषयक लघुकथा अङ्क-७’ निकाल्ने जनाएको छ । यस अघि नै लघुकथा प्रतिष्ठानले अपाङ्ग विषयक लघुकथा अङ्क-१, प्रथम वार्षिकोत्सव विषयक लघुकथा अङ्क-२, छुवाछुत तथा जातिय विभेद विरुद्ध विषयक लघुकथा अङ्क-३, नारी विषयक लघुकथा अङ्क-४ र कालजयी विषयक लघुकथा अङ्क-५ प्रकाशन गरिसकेको छ ।
जेष्ठ नागरिक अङ्क-६ भने प्रकाशनको तयारीमा रहेको कुरा सम्पादक मनोहर पोखरेलले जानकारी दिएका छन् ।
यसैबीच पोष्ट भएका बुढ्यौली विषयक लघुकथाहरू मध्ये उत्कृष्ट ठहर्याइएको लघुकथाका रचनाकारलाई दामासाही नगद रू. १५ हजारले पुरस्कृत गर्ने घोषणा एजिङ नेपालका अध्यक्ष तथा जेष्ठ नागिरकको क्षेत्रका राष्ट्रिय-अन्तर्राष्ट्रिय अभियन्ता चट्याङ मास्टर (कृष्ण मुरारि गौतम)ले यस अघि नै गरिसकेका छन् । यसबाट पनि लघुकथाकारहरूमा चासो बढेको अनुभव ‘सन्दर्भ’ पत्रिकाका प्रधान सम्पादक समेत रहेका नन्दलाल आचार्यको छ ।
०००
Subscribe
Login
0 Comments
Oldest








































