फित्काैली डटकम‘पाका नागरिक विषयक लघुकथा अभियान-२०८०’ सञ्चालन हुने
अभियानमा उत्कृष्ट ठहर्याएका पाँच लघुकथालाई उत्कृष्ट र एक लघुकथालाई सर्वोत्कृष्ट ठहर गरी नगदसहित प्रमाणपत्रले विभूषित गरिने छ ।

उदयपुर, २०८० पुस ०८ । लघुकथा प्रतिष्ठान नेपालले राष्ट्रिय जेष्ठ नागरिक दिवस सन्दर्भमा यही पुस ११ गते ‘पाका नागरिक विषयक लघुकथा अभियान-२०८०’ सञ्चालन गर्ने भएको छ । यस अभियानमा अग्रज, समकालीन र अनुज तीनै समूहका लघुकथा प्रेषण हुने अपेक्षा लिइएको छ ।
नवोदित लघुकथाकार वा प्रतियोगी भनी सङ्केत गरिएका लघुकथाको मूल्याङ्कनका लागि तीन सदस्यीय निर्णायक समिति गठन गरिएको छ । निर्णायक समितिकाे संयोजकमा नरनाथ लुइँटेल र सदस्यहरूमा मेघराज पौड्याल, सुशीला राई रहेका छन् । तीनै जना निर्णायक लामो समयदेखि भाषासाहित्यमा कलम चलाउँदै र साहित्यिक संस्थाहरूको नेतृत्व सम्हाल्दै आएका छन् ।
अग्रज तथा स्थापित र अभियानमा भाग मात्र लिएका लघुकथाकारहरूका लघुकथाहरू प्रतियोगितामा सामेल गराइने छैन । उक्त लघुकथालाई समेत समेटेर जेष्ठ नागरिक सेरोफेरोका सबै लघुकथा ‘सन्दर्भ’ लघुकथा प्रधान पत्रिकाको नयाँ अङ्क प्रकाशन हुने बताइएको छ ।
अभियानमा उत्कृष्ट ठहर्याइएका पाँच लघुकथालाई उत्कृष्ट र एक लघुकथालाई सर्वोत्कृष्ट ठहर गरी नगदसहित प्रमाणपत्रले विभूषित गरिने छ । एजिङ नेपालका अध्यक्ष चट्याङ मास्टर अर्थात् कृष्णमुरारी गौतमद्वारा आर्थिक तथा बौद्धिक सहयोगमा प्रतिष्ठानले यस खाले अभियान सञ्चालन गरेको परिकल्पनाकार नन्दलाल आचार्यले बताएका छन् ।
अभियानमा सामेल हुन तलका नियम पूरा गर्नुपर्ने छ-
१. ‘पाका नागरिक विषयक’ लघुकथा लघुकथा प्रतिष्ठान, नेपालको पृष्ठमा पोस्ट भएको हुनुपर्छ ।
२. सन्दर्भ राष्ट्रिय जेष्ठ नागरिक दिवस भनी उल्लेख हुनुपर्छ ।
३. लघुकथा जेष्ठ नागरिक सेरोफेरोमा रचित हुनुपर्छ ।
यस प्रतियाेगिता सम्बन्धी कुनै थप कुरा बुझ्न परे प्रतिष्ठान व्यवस्थापन समूह (मलन समूह) अर्थात् मनोहर पोखरेल, लक्ष्मी रिजाल र नन्दलाल आचार्यसँग सम्पर्क राख्न सकिने बताइएको छ ।
०००
– लक्ष्मी रिजालद्वारा सम्प्रेषित
Subscribe
Login
0 Comments
Oldest






































