साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाह्रखरी कथा प्रतियोगितामा मनोजबाबु पन्तकाे कथा प्रथम

मनोजबाबु पन्तको ‘बुढो लाकुरीको रुख’ प्रथम, प्रमोद प्याकुरेलको कथा ‘काँचुली’ दोस्रो र विजय हितानको कथा ‘चेपाङ, चमेरो र चिउरी’ तेस्रो भएका हुन् ।

Nepal Telecom ad

काठमाडौं, २०८० पुस ०८ । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको कथा प्रतियोगिताको पाँचौँ संस्करण ‘डिश होम १२खरी कथा लेखन प्रतियोगिता-२०८०’ विजेताको घोषणा र विजयीलाई पुरस्कार प्रदान गरेको छ ।

आइतबार काठमाडौंमा सम्पन्न विशेष कार्यक्रममा पाँचौँ संस्करणको कथा प्रतियोगिताको विजेता घोषणासँगै ‘उत्कृष्ट कथा-२०८०’ पनि लोकार्पण गरिएको छ ।

सो कथासंग्रहमा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्रेषित ८ सय ४३ कथाहरूमध्येबाट उत्कृष्ट ठहरिएका २५ कथा समावेश गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रथम, द्वितीय र तृतीय कथाकारहरू मनोजबाबु पन्त, प्रमोद प्याकुरेल र विजय हितानलाई क्रमशः रु. एक लाख, साठी हजार तथा चालीस हजार नगद पुरस्कार प्रमाणपत्र तथा ट्रफी प्रदान गरे ।

मनोजबाबु पन्तको ‘बुढो लाकुरीको रुख’ प्रथम, प्रमोद प्याकुरेलको कथा ‘काँचुली’ दोस्रो र विजय हितानको कथा ‘चेपाङ, चमेरो र चिउरी’ तेस्रो भएका हुन् ।

सोही अवसरमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले ‘बाह्रखरी उत्कृष्ट कथा २०८०’ कथाकृतिको लोकार्पण गरे ।

यस कथा सङ्ग्रहमा २५ उत्कृष्ट कथाका साथै चार वरिष्ठ आख्यानकर्मी भागीरथी श्रेष्ठ, भाउपन्थी, डा. राजेन्द्र विमल र गणेश रसिकका कथा पनि समाविष्ट छन् ।

बाह्रखरी कथा लेखन प्रतियोगिता २०८० मा उत्कृष्ट २५ कथाकारहरूमा अनिता पन्थी, उमा शर्मा, जेएन दाहाल, डिल्लीरमण पौडेल, तैँ तैँ धिताल, त्रिभुवनचन्द्र वाग्ले, दिनमान गुर्मछान, दिव्य गिरी, दीपक लोहनी, प्रमोद प्याकुरेल, मनोजबाबु पन्त, महेश चौलागाईं, रबर्ट जोशी, रमा सुवेदी, रमेशजंग थापा, राजेन्द्र अधिकारी, राजेश सुवेदी, विक्रम नेपाल, विजय हितान, वसन्तबायुङ राई, शंकर धिताल, डा. श्रीधर खनाल, सञ्जय घिमिरे, सोमनाथ दाहाल र हिरा लामा रहेका छन् ।

कथा प्रतियोगिताको पाँचौं संस्करणका उत्कृष्ट कथाकारहरूलाई पूर्व प्रधान न्यायाधीश श्रेष्ठसँगै डिश मिडिया लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ, नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहसहित बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, प्रबन्ध सम्पादक राजेश केसी, विशेष सम्पादक हरिबहादुर थापा, विचार सम्पादक तथा आन्तरिक निणर्ायक समूहका संयोजक गोविन्द अधिकारीलगायतले खादा, प्रमाणपत्र, नगद र ट्रफी प्रदान गरे ।

कार्यक्रममा यस वर्षका अतिथि कथाकारहरूलाई पनि सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

डिश होम फाइबर नेट, बाह्रखरी कथा २०८० को टाइटल स्पोन्सर रहेको थियो भने नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक, नेपाल आयल निगम प्रायोजक रहेका थिए ।

कथा लेखन प्रतियोगिताको पाँचौं संस्करणमा विजयी उत्कृष्ट २५ कथा तथा अतिथि कथाकारहरूकोे कथासहित २९ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा-२०८०’ पब्लिसिङ् पार्टनर फाइन प्रिन्टले बजारमा ल्याएको छ । यस कृतिको सम्पादन आख्यानकार नयनराज पाण्डेले गरेका हुन् ।

१२खरी बुक्सले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुईवटा मूल्याङ्कन समिति गठन गरेको थियो । बाह्य निर्णायकहरूमा प्रा.डा. सावित्री कक्षपती संयोजक रहेकी थिइन् भने आख्यानकारहरू महेशविक्रम शाह र सुविन भट्टराई सदस्य रहेका थिए । आन्तरिक मूल्याङ्कन समिति बाह्रखरीका विचार सम्पादक अधिकारीको संयोजकत्वमा रहेको थियो ।

साहित्यमा लोकप्रिय विधा हुँदाहुँदै पनि पछिल्लो समय कथा लेखनप्रतिको आकर्षणमा देखिएको कमीले गर्दा बाह्रखरी मिडियाले विश्वव्यापी कथा प्रतियोगिताको आयोजनालाई महत्त्व दिँदै आएको हो । यस प्रतियोगितामा अग्रजदेखि समकालीन तथा युवापुस्ता समेतका कथाकारको सहभागिता रहने गरेको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x